अमेरिका–रूस शिखर बैठक

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध समाप्त गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रयासको बिहीबार प्रशंसा गरेका छन्। यो बयान त्यस्तो समयमा आएको हो जब दुवै नेताहरू शुक्रबार अलास्कामा हुने महत्त्वपूर्ण अमेरिका–रूस शिखर बैठकको तयारी गरिरहेका छन्। ट्रम्प र पुटिन अलास्कास्थित अमेरिकी सैन्य अड्डामा भेट्नेछन्। यस क्रममा युक्रेनमा युद्धविरामको विषयमा छलफल हुनेछ।

शिखर सम्मेलनलाई लिएर शीर्ष सरकारी अधिकारीहरूसँग बिहीबार भएको बैठकपछि क्रेमलिनले जारी गरेको भिडियोमा पुटिनले भने— ट्रम्प प्रशासनले वैमनस्यता समाप्त गर्न निकै सक्रिय र इमानदार प्रयास गरिरहेको छ र सबै सरोकारवालाको हितमा हुने समझौता गर्ने प्रयासमा छ।

पुटिनले यो पनि सुझाव दिए कि परमाणु हतियार नियन्त्रणसम्बन्धी अमेरिका सँगको एक समझौतामार्फत ‘हाम्रो देशहरू बीच, युरोपमा र समग्र रूपमा विश्वमा दीर्घकालीन शान्ति’ स्थापना गर्न सकिन्छ।

रूसको वार्ता अघि पूर्वानुमान नगर्न आग्रह

रूसी समाचार संस्था ‘इन्टरफ्याक्स’का अनुसार, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने— शुक्रबारको शिखर सम्मेलनमा कुनै कागजातमा हस्ताक्षर गर्ने योजना छैन र वार्ताको नतिजा बारे पूर्वानुमान लगाउनु ‘ठूलो गल्ती’ हुनेछ। क्रेमलिनका अनुसार, ट्रम्प र पुटिनबीचको बैठक स्थानीय समयअनुसार बिहान ११:३० बजे सुरु हुनेछ।

ट्रम्प–पुटिन भेटमा के हुने छ

रूसी राष्ट्रपति पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले पत्रकारहरूलाई जानकारी दिँदै भने— ट्रम्प र पुटिनले पहिलो चरणमा आमनेसामनेको बैठक गर्नेछन्, त्यसपछि दुवै प्रतिनिधिमण्डलबीचको बैठक हुनेछ। त्यसपछि ‘वर्किङ ब्रेकफास्ट’ मा छलफल जारी रहनेछ र अन्त्यमा संयुक्त पत्रकार सम्मेलन हुनेछ।

राष्ट्रपति उता अमेरिकी डोनाल्ड ट्रम्पले भनेका छन्— यदि पुटिनसँगको भेट ‘सफल’ रह्यो भने उनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बोलाएर दोस्रो चरणको बैठकको व्यवस्था गर्नेछन्। तर, जब पत्रकारहरूले सोधे— यदि कुरा मिल्यो भने जेलेन्स्की अगाडिको वार्ताका लागि तयार हुनेछन् कि? ट्रम्पले जवाफ दिए— उनी यसबारे कुनै अनुमान लगाउने छैनन्।

युक्रेनी र रूसी अधिकार क्षेत्रबारे ट्रम्पले भनेका छन्— युक्रेन र रूसबीच सीमासम्बन्धी ‘समझौता’ हुनु आवश्यक छ। यी कुरा उनले फक्स न्युज रेडियोसँगको अन्तर्वार्तामा भनेका हुन्।

ट्रम्पले यो पनि भनेका छन्— यदि कुरा आफ्नो योजनाअनुसार भएन भने उनी संयुक्त पत्रकार सम्मेलन नगरी, एक्लै पत्रकारहरूलाई सम्बोधन गर्नेछन्। तर क्रेमलिन र ह्वाइट हाउस दुवै पक्षले भनेका छन्— भोलि वार्तापछि दुवै नेता संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

(एजेन्सीहरुको सहयोगमा)

Image: https://www.aljazeera.com