हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

नेताहरुसँग नारिएर फोटो खिच्न पलाउन नसकेका रहर !

निक्कै लामो भूमिगत, अर्धभूमिगत राजनीतिक जीवनपछि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह करिब ९२ वर्षको उमेरमा आएर पूर्ण रुपमा उभयगत भएछन्– यो निक्कै राम्रो कुरा हो ।

मोहनविक्रम सिंहसँगको मेरो भेट २०४८ सालताका भएको थियो । त्यसबेला मैले उनीसँग संरचना साप्ताहिकको लागि अन्तर्वार्ता गरेको थिएँ । जमाना आजभोलिको जस्तो डिजिटल रेकर्डरको वा मोबाइलमै रेकर्ड गर्ने सुविधाको थिएन । सानो चक्का लाग्ने सोनीको टेप रेकर्डर थियो । असन–रक्तकालीतिरको एउटा घरमा मसालको सम्पर्क कार्यालय थियो । त्यहाँ मैले उनको अन्तर्वार्ता गरेको थिएँ ।

छिटो छिटो तर धारा प्रवाह रुपमा बोल्ने सिंहको अन्तर्वार्ता क्यासेटमा रेकर्ड त गरियो तर कार्यालयमा आएर उतार्न खोज्दा क्यासेटमा स्याँ... आवाज मात्रै आउँछ, बोलेको कुरा नदारत । परेन फसाद ! एक त भूमिगत नेता, बल्लतल्ल जोरजाम मिलाएर गरेको अन्तर्वार्ता, त्यो पनि रेकर्डमा आवाज नै छैन ! शायद पुस माघको जाडो महिना थियो । अहिले जस्तो तातो खालको जाडो महिना पनि थिएन, धारामा पानी जमेर बरफ जम्ने खालको जाडो महिना हुन्थ्यो । खल्खल्ती पसिना आएर पूरै जिउ निथ्रुक्क भिज्यो !

संयोगको कुरा, त्यसबेला मसालले अपनाएको राजनीतिक लाइनलाई नजिकबाट नियाल्ने अध्ययन गर्ने काम गरिएको थियो । त्यही आधारमा सिंहलाई सोधिएको प्रश्न र उनले दिएको जवाफलाई सम्झनाको भरमा लिपिबद्ध गर्ने काम गरियो । त्यो अन्तर्वार्ता संरचना साप्ताहिकमा प्रकाशित भयो । तर मेरो त्यसबेलाको सम्झनाले अन्तर्वार्तालाई न्याय गर्न सक्यो कि सकेन, मनमा द्विविधा भने रहिरह्यो ।

त्यो अन्तर्वार्ता प्रकाशित भएको करिब ६ महिनापछि फेरि सिंहसँग संक्षिप्त भेटघाट गर्ने मौका मिल्यो । मैले उनलाई छापिएको अन्तर्वार्ताबारे जिज्ञासा राखें । उनले संक्षिप्त जवाफ दिए– एकदम ठीक छ, कतिपय ठाउँमा त मैले बोलेको कुराहरुलाई झनै सुसङ्गत बनाएर छापिएका छन् ।

उनको यो जवाफले मनमा ढुक्क भयो ।

सम्भवत: त्यसपछि सिंहसँग पत्रकारिताको सिलसिलामा भेटघाट भएन । तर भूमिगत भए पनि असन–इन्द्रचोकतिर काँधमा सुतीको (?) झोला भिरेर लखरलखर हिँडिरहेका अग्ला कदकाठीका मोहनविक्रम सिंहलाई आक्कलझुक्कल देख्दा मनमा प्रश्न भने उठिरह्यो– म जस्ता पत्रकारले त सहजै चिनिने गरी हिँड्ने सिंहको यो ‘भूमिगत–अर्धभूमिगत’ तरिका कतिको सुरक्षित छ होला ? के राज्यले चाह्यो भने उनलाई सहजै समात्न सक्दैन होला ?

करिब २७ वर्षपछि सिंहसँग फेरि कुराकानी–अन्तर्वार्ता गर्ने मौका मिल्यो । त्यसबेला पनि अर्धभूमिगत नै रहेका सिंहको तस्विर भने खिच्न पाइन्थ्यो यद्यपि मसाल पार्टीले ‘निर्णय गरिनसकेकोले’ भिडियो खिच्न भने निषेध थियो । पूरै तयारीका साथ भिडियो अन्तर्वार्ता गर्न हिँडेका हामी खिन्न बनेका थियौैं । तर सिंहले पार्टीले भिडियो खिच्ने कुरा खुला गरेपछि सबैभन्दा पहिले मलाई त्यो अवसर दिने वचन दिए ।

नभन्दै केही समयपछि मसाल पार्टीले अर्धभूमिगत अवस्थामै सिंहको भिडियो अन्तर्वार्ता गर्ने कुरालाई खुला गर्यो । त्यसको लगत्तै सिंहले मलाई फोनमार्फत यो कुराको जानकारी गराए । उनलाई पहिलो भिडियो अन्तर्वार्ता गर्न कान्तिपुर दैनिकले सम्पर्क गरेका रहेछन् ।तर उनले मलाई दिएको वचनअनुसार पहिलो भिडियो अन्तर्वार्ता गर्न सकिने कुराको जानकारी गराए । त्यसअनुसार सहकर्मी रोहित दाहालले लिएको मोहनविक्रम सिंहको पहिलो भिडियो अन्तर्वार्ता २०७६ पुस २१ गते रातोपाटीमा प्रशारित भयो ।

त्यसको केही समयपछि फेरि सिंहसँग कुराकानी गरिएको थियो । त्यो कुराकानी नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे केन्द्रीत रहेर गरिएको थियो । त्यो तत्कालीन समयमा मैले कार्यकारी सम्पादकको भूमिका निर्वाह गर्दाको रातोपाटी डटकममा प्रकाशित भएको थियो । सहकर्मी फणिन्द्र नेपालका साथ मैले गरेको त्यो कुराकानी २०७७ साउन ७ गतेको रातोपाटीमा पुष्पलाललाई गद्दार घोषित गर्नु गल्ती थियो, त्यसलाई पछि हामीले सच्यायौं शीर्षकमा  आलेख बनाएर छापिएको थियो ।

त्यसै अवसरमा मैले उनलाई २७ वर्षअघि क्यासेटमा रेकर्ड गरिएको अन्तर्वार्ता रेकर्ड नभएको तर सम्झनाको भरमा उतार गरेर छापिएको कुराको ‘रहस्योदघाटन’ गरिदिएँ । तिख्खर सम्झनाका धनी सिंहले मन्द मुस्कानका साथ ‘त्यो अन्तर्वार्ता सही ढङ्गले नै छापिएको’ बताउनु भयो ।

त्यसैबेला नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर सिंहसँग फोटो खिच्ने सहकर्मी फणिन्द्र नेपालको अनुरोधमा सिंहसँग हामीले फोटो खिचेका थियौं ।

प्रसङ्गवश भनिहालुँ, पत्रकारिताको यात्रामा मैले धेरैजना नेताहरुसँग अन्तर्वार्ता कुराकानीहरु गरें तर फोटो खिचाउने रहर भने कहिल्यै जागेन । धेरैजसो पत्रकारहरुलाई नेतासँग फोटो खिचाउने रहर हुने गरेको मैले देखेको छु । फेरि त्यसरी फोटो खिचाउनु कुनै गलत कुरा पनि होइन । खै किन हो कुन्नि, मलाई चाहिँ त्यसरी फोटो खिचाउन असहज लागिरह्यो । जिन्नगीमा पहिलो पटक मैले नेतासँग उभिएर फोटो खिचाएको कमरेड बाबुराम भट्टराईसँग हो ।  भीषण जनयुद्धपछि माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आउने तरखर गरिरहेको बेलामा प्रचण्ड, बाबुरामहरु गोदावरीस्थिति एक रिसोर्टमा बसेको बेलामा मूल्याङ्कन मासिकको लागि कुराकानी गर्न हामी (राजेन्द्र महर्जन, चन्द्रलाल गिरी, ध्रुव बस्नेत र म) उनीहरुसँग भेटघाट गर्न गएका थियौं । त्यही बेलामा डा. भट्टराईको प्रस्तावमा हामीले संयुक्त फोटो खिचाएका थियौं । त्यसबेला उनले ठट्यौंलो पारामा भनेका थिए– ‘शान्ति प्रक्रियामा हामी आएका छौं, भोलि के हुने हो थाहा छैन । अहिले मौका मिलेको बेलामा साथीहरुसँग यसो फोटो खिचाइराखौं !’

सिंह र भट्टराई बाहेक मैले फोटो खिचाएको नेता माधव नेपाल हुन् । रातोपाटीकै लागि उनको अन्तर्वार्ता गर्ने क्रममा तत्कालीन सहकर्मी बबिता शर्माको प्रस्तावमा हामीले फोटो खिचाएका थियौं ।

समकालीन नेपाली राजनीतिमा सर्वाधिक चर्चित प्रचण्डसँग फोटो खिचेर पोष्ट्याउनेहरु मनग्गे भेटिन्छन् । मेरो पनि उनीसँग  निक्कै लामो समयसम्म भेटघाट र हिमचिम रह्यो तर खै किन हो कहिल्यै पनि फोटो खिचाउने रहर पलाएन । माओवादी पार्टीको आधिकारिक पत्रिका ‘संश्लेषण मासिक’ तथा माओवादी सुप्रिमोका तीनवटा पुस्तकहरु प्रचण्डका संकलित रचना भाग– १ र २ तथा सैन्य रचनाको लेआउट–डिजाइन र ‘भूमिगत सम्पादन’ गर्दाको बेला होस् या त्यस अघिपछि मूल्याङ्कन, रातोपाटीमा काम गर्दाका क्षणहरुमा होस्– अनगिन्ती पटक प्रचण्डसँग भेटघाट, कुराकानी तथा छलफलहरु भए । किताबको सिलसिलामा त घण्टौं उनीसँग छलफलहरु भए । म आफू स्वयंले उनका हज्जारौं तस्विरहरु खिचें, उनलाई मोडलिङ गराइगराइकन पनि फोटोहरु क्यामेरामा कैद गरें तर किन हो कुन्नि कहिल्यै उनीसँग उभिएर फोटो खिचाउने विचार नै पलाएन ।

त्यसो त उनीसँगै उभिएर फोटो खिच्ने रहर अझै पनि छैन । कदाचित त्यो रहर पलाइहाल्यो भने पनि प्रचण्डलाई भेट्न पूर्ववत जस्तो सहज मौका र अवसरहरु पाउने सम्भावना निक्कै कम छ ।  अहिले उनी मेरो सहज सम्पर्क र पहुँचबाट कोशौं टाढा पुगिसकेका छन् । मेरा लागि जनयुद्धका कमाण्डरको रुपमा चर्चित प्रचण्डसम्मको पहुँच जति सजिलो थियो, खुला राजनीतिमा आएर भूतपूर्व प्रधानमन्त्री प्रचण्डको हैसियत बनाएका प्रचण्डसम्मको पहुँच त्यति सहज छैन । त्यसो त हिजो प्रचण्डसँगै जनयुद्ध लडेका उनका थुप्रै सहकर्मीहरुकै लागि पनि प्रचण्डसम्मको पहुँच दुरुह बनेको कुरा बेलाबखत पढ्दै सुन्दै आएकोले पनि होला, तत्काल उनको सम्पर्कमा पुग्ने रहर र इच्छाहरु पलाइहाल्ने छाँट पनि छैन !