फिलिस्तिनी चरा

मान्छेभित्रबाट मान्छे झिकिदिएपछि
मान्छे माछा हुँदो रहेछ
मान्छे माछा भएपछि
माछाले माछा खाए जस्तै
मान्छेले मान्छे खाँदो रहेछ।
मान्छेभित्रबाट मान्छे झिकिदिएपछि
मान्छे नरभक्षी हुँदो रहेछ
मान्छे नरभक्षी भएपछि
मान्छेले मान्छे खाँदो रहेछ ।
फिलिस्तिनी चरा हेर त
फिलिस्तिनी बचेरा हेर त
तिनको आतमा अन्न छैन
तिनको प्यासमा पानी छैन।
मान्छेभित्रको मान्छे झिकिदिएपछि
मान्छे नकाबी बाज हुँदो रहेछ
मान्छे नकाबी बाज भएपछि
फिलिस्तिनी बचेराहरु
सास चल्ने कङ्काल हुँदो रहेछ।
हेर त
यो कोरिदै गरेको इतिहासको आँखा हेर त
हामी फिलिस्तिनी धर्तीमा
कङ्काल जस्ता चरा हेरिरहेका छौं
हामी फिलिस्तिनी आकाशमा
सुङुर जस्ता बाजहरु हेरिरहेका छौ।
हेर त
यो कोरिदै गरेको इतिहासको आँखा हेर त
हामी फिलिस्तानलाई अभिमन्यु बनाएर
चक्रब्यूहमा एक्लो फसिरहेको फिलिस्तिन हेरिरहेका छौं
कोही चीनको अग्लो पर्खालबाट हेरिरहेका छौं
कोही साइबेरियाको मैदानबाट हेरिरहेका छौ
कोही कुरानको आँखाबाट हेरिरहेका छौं
कोही बाइबलको आँखाबाट हेरिरहेका छौं
कोही गीताको आँखाबाट हेरिरहेका छौं
कोही बुद्धको आँखाबाट हेरिरहेका छौं
जे होस्
फिलिस्तिनी आकाशमा नाचीरहेका बाजहरुको नृत्य
हामी मान्छेका मौन आँखाहरुबाट हेरिरहेका छौं
हामी धर्मशास्त्रका मौन आँखाहरुबाट हेरिरहेका छौं।
मान्छेभित्रबाट मान्छे झिकिदिएपछि
मान्छे बलात्कारको चित्कारमा पनि मौन हुँदो रहेछ
अनि पो जन्मिँदो रहेछ फिनिक्स चरो ।
मान्छेभित्रबाट मान्छे झिकिदिएपछि
मान्छे नरभक्षी हुँदो रहेछ
अनि पो जन्मिँदो रहेछ फिनिक्स चरो ।
मान्छेभित्रबाट मान्छे झिकिदिएपछि
मान्छे फगत सौदागर हुँदो रहेछ
अनि पो जन्मिँदो रहेछ फिनिक्स चरो।
प्रतिक्रिया