पृथ्वीमा ताजा पानीको भण्डार अभूतपूर्व रूपमा घट्दैछ

पृथ्वीको तापक्रम तीव्र रूपमा बढिरहेका कारण पानी वाष्पीकरण भइरहेको छ। यसै कारण मानिसहरू भूमिगत पानीको दोहनमा झन् निर्भर भइरहेका छन्। यसले गर्दा जमिनमा रहेको ताजा पानी समुद्रतर्फ सर्न थालेको छ र यो प्रक्रियाले "महादेशीय सुक्खा" (continental drying) को प्रवृत्ति बढाइरहेको छ।

अत्यधिक भूमिगत पानीको पम्पिङ, सतही पानीको वाष्पीकरण र ग्लोबल तापमान वृद्धिका कारण हिमनदी तथा जमीनभित्र जमेको बरफ (permafrost) पग्लँदा झनै धेरै पानी महादेशहरूबाट समुद्रतर्फ बगिरहेको छ। यसले विश्वका धेरै मानिसका लागि ताजा पानीको उपलब्धतामा गम्भीर संकट उत्पन्न गराइरहेको छ भने समुद्रको सतह पनि तीव्र गतिमा बढ्न थालेको छ।

एरिजोना स्टेट युनिभर्सिटीका जय फामिग्लिएट्टी र उनका टोलीले उपग्रहबाट लिइएको गुरुत्वीय डाटा प्रयोग गरी सन् २००२ देखि २०२४ को बीचमा महादेशमा सञ्चित पानीको परिमाण कसरी घट्दै गएको छ भन्ने कुरा अध्ययन गरे। यो अध्ययनमा नदी, भूमिगत जलकुण्ड, हिमनदी र हिउँको पाटीसम्मका सबै स्रोतको पानी समावेश गरिएको थियो।

उनीहरूले देखेअनुसार, धेरै क्षेत्रमा ताजा पानीको ह्रास अत्यन्त चिन्ताजनक छ। जलवायु परिवर्तनका कारण सुक्खा क्षेत्रहरू केवल अझ सुक्खा मात्र हुँदै गएको छैन, ती क्षेत्रहरू प्रत्येक वर्ष ८ लाख वर्ग किलोमिटरभन्दा बढी विस्तार भइरहेका छन्, जुन बेलायत र फ्रान्सको संयुक्त आकार बराबर हो।

टोलीले चारवटा “मेगा-सुक्खा” क्षेत्र पहिचान गरेको छ, जहाँ पहिले अलग-अलग देखिएका सुक्खा क्षेत्रहरू अब आपसमा जोडिँदै एकसाथ व्यापक सुक्खा भूभाग बनिरहेका छन्। तीमध्ये उत्तर क्यानडा र रसियामा यस्तो ह्रास हिमनदी, स्थायी बरफको पग्लाइ र हिउँको मात्रा घटेसँग जोडिएको छ।

अन्य दुई क्षेत्रमा भने मुख्य कारण भूमिगत पानीको अत्यधिक दोहन हो, विशेष गरी सिँचाइका लागि गरिने पम्पिङ। ती क्षेत्रहरूमा अमेरिकाको दक्षिणपश्चिमी भाग, मध्य अमेरिका, र पश्चिम युरोप तथा उत्तर अफ्रिकाबाट सुरु भई उत्तर भारत र चीनसम्म फैलिएको भूभाग पर्छ। अध्ययनअनुसार, तातो मौसम र खडेरीले झनै चर्काउने भूमिगत पानीको ह्रासले कुल पानी सञ्चयमा देखिएको गिरावटको करिब ६८ प्रतिशत हिस्सा ओगट्छ।

यो पानीको सर्ने क्रम यति ठूलो भएको छ कि यसले समुद्री सतह बढाउने प्रमुख कारणमध्ये एक बनेको छ।

अनुसन्धानले देखाएको छ कि सन् २०१५ यता, महादेशहरूबाट हराएको पानीले अण्टार्कटिका वा ग्रीनल्यान्डका हिउहरू पग्लँदा बगेको पानीभन्दा पनि बढी समुद्री सतह बढाएको छ, जसले वर्षेनी समुद्र सतह करिब एक मिलिमिटरले उचालिरहेको छ।

यो पनि पढ्नुहोस्

‘एलार्मिष्ट’ बनेको हैन, तर कुरो ‘एलार्मिङ’ नै छ

तराईको खडेरीले गरेका खतरनाक संकेतहरु

अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा लेखेका छन्, “यी सबै प्रवृत्तिले हालसम्म जलवायु परिवर्तनको प्रभावबारे सबैभन्दा गम्भीर सन्देश दिन्छ।”

“महादेशहरू सुक्दै छन्, ताजा पानीको आपूर्ति घट्दैछ, र समुद्री सतह तीव्र रूपमा बढ्दैछ।”

भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युटका मानूशिर शिरजाईका अनुसार, यी प्रवृत्तिहरूको जानकारी विगतमै थुप्रै पृथक् क्षेत्रहरूमा पाइन्थ्यो। तर, यो अनुसन्धानको महत्त्वपूर्ण पक्ष भनेको यसले समस्या वैश्विक स्तरमा कसरी उभिएको छ भन्ने देखाउनु हो। उनी भन्छन्, “हामी न त पानी उत्पादन गरिरहेका छौं, न त नष्ट। हामी केवल पानीको पुनःवितरण गरिरहेका छौं। तर यो पुनःवितरण सही दिशामा गइरहेको छैन।”

कोलम्बिया युनिभर्सिटी, न्युयोर्कका बेन्जामिन कुक भन्छन्, “अबको प्रमुख कार्य भनेको विस्तृत अध्ययन गरेर वास्तवमै भूमिगत पानीको ह्रासलाई कुन कुराले प्रेरित गरिरहेको हो भनेर छुट्याउनु हो।”

“जलवायु परिवर्तन र भूमिगत पानीको ह्रास बीचको सम्बन्ध स्पष्ट छुट्याउन अझ गहिरो अनुसन्धान आवश्यक छ।”

स्रोत: New Scientist