‘एलार्मिष्ट’ बनेको हैन, तर कुरो ‘एलार्मिङ’ नै छ

तराईको खडेरीले गरेका खतरनाक संकेतहरु

तराईमा देखिएको खडेरी, आधा पनि हुन नसकेको धान रोपाँई, खानेपानीको अभाव  र औसत भन्दा बढी पानी पर्न सक्ने मौसमको जबर्जस्त (५० देखि ६५ प्रतिशत) पुर्वानुमानको विपरीत साउनको दोस्रो हप्ता लाग्दा सम्म यस बर्षको मनसुनमा जुन अस्वभाविक कमी देखियो, यसबारे केही कुरा गर्नै पर्ने भयो।  ‘एलार्मिष्ट’ बन्न खोजेको नभनौँ, तर कुरो ‘एलार्मिङ’ नै देख्दछु।

पहिले खडेरी कै कुरा गरौँ । तराईमा झण्डै २ दशकदेखि देखिँदै आएको पानीको समस्यालाई गम्भीरतापूर्वक सम्बोधन नगर्दा र चुरे संरक्षण गरे सबै ठीक भइहाल्छ भन्ने सजिलो र धेरै हदसम्म अप्रमाणित विषयमा अलमलिँदा अहिले यतिखेर ‘अब के गर्ने?’ ‘रोपाँई हुन सकेन भने के खाने?’ ‘बालबच्चा कसरी पाल्ने?’ भन्ने अवस्थामा आइपुग्यौँ। हिउँदलाई पर्खौँ भने गएको ३ हिउँद सुख्खा थिए, यस बर्ष पनि सुख्खा नहोला भन्न सकिन्न। अन्न भण्डारमा अनिकाल हुने छाँट देखियो।

तराईमा झण्डै २ दशकदेखि देखिँदै आएको पानीको समस्यालाई गम्भीरतापूर्वक सम्बोधन नगर्दा र चुरे संरक्षण गरे सबै ठीक भइहाल्छ भन्ने सजिलो र धेरै हदसम्म अप्रमाणित विषयमा अलमलिँदा अहिले यतिखेर ‘अब के गर्ने?’ ‘रोपाँई हुन सकेन भने के खाने?’ ‘बालबच्चा कसरी पाल्ने?’ भन्ने अवस्थामा आइपुग्यौँ।

मौसममा अस्वभाविक परिवर्तन हुन सक्छ भनेर जलवायुको क्षेत्रमा काम गर्ने संस्थाहरुले भन्दै आएका थिए। नेपालमा जलवायु परिवर्तनको सबै भन्दा ठूलो प्रभाव भनेको ‘खडेरी’ हो र यसले बिगत २५ बर्ष देखि नेपालका किसानहरु पीडित भएकाछन् भनेर त सरकार कै जलवायु सर्भेक्षण प्रतिबेदनले पहिले सन् २०१६ र पछि सन् २०२२ मा भनिसकेको थियो। सर्भेक्षणमा तराईका ६६ प्रतिशत उत्तरदाताले खोला खोल्सीमा पानी घट्यो भनेर भने। त्यस्तै २९ प्रतिशत उत्तरदाताले खोला खोल्सी पुरै सुकेको भनिसकेका थिए। अझ मधेश प्रदेशमा त पानी घट्यो भन्नेहरु ७० प्रतिशत थिए भने पुरै सुक्यो भन्नेहरु ३० प्रतिशत थिए। यो ३ वर्ष अघिको सर्भेक्षण हो । पानीमा ध्यान केन्द्रित गर्दै चाहिने कदम चाल्न यी जानकारी पर्याप्त थिए, तर खडेरी छलफलको विषय समेत बनेन। याद गरौँ, कुनै ठूला नदी नभएको मधेश प्रदेशमा पानीको स्रोत पहिलेदेखि कम हो। त्यसैले त पुर्खाले त्यत्रा बिघ्न ठूला ठूला पोखरी बनाए।  केही त कारण थियो होला?    

दोस्रोमा, अब कुरा गरौँ घट्दो भूमिगत जलभण्डारको। तराईको भूमिगत जलभण्डार गङ्गा बेसिनको एक भाग हो, र उद्गमस्थलको पनि। मोटामोटीरुपमा भूमिगत जलप्रणाली हाम्रो तराईदेखि भारतको बिहार र उत्तरप्रदेशसम्म एउटै भूमिगत पोखरी सरह हो। पोखरीमा जताबाट पानी झिके पनि सबैतिर पानी घट्छ। स्वभाविकै छ, पानीको माग सीमा वारिपारि अत्यधिक बढेको छ । जनघनत्व र उद्योगआदिको हिसाबले पारी अझ धेरै छ। त्यसैले हाम्रो भूमिगत जलस्तर द्रुतगतिमा घट्नुमा सीमापारीको दोहन बिर्सन मिल्दैन ।

तराईका सिँचाई कुलो, धान खेत आदिबाट पनि बर्षाको बेला पुनर्भरणमा टेवा पुग्छ । तर कुलो र धान खेतमा कमी आएको छ। बढ्दो बस्ती, उद्योग, बाटोघाटो आदिका कारण बर्षाबेला बग्ने भलपानीको मार्ग परिवर्तन भएरपनि पुनर्भरणलाई प्रभावित गरेको हुन सक्छ।

तेस्रो हो भूमिगत जलभण्डारको पुनर्भरण। भावर हुँदै बग्ने कोशीदेखि कर्णालीसम्मका सबै ठूला साना नदीहरुले बाह्रै महिना, चौबीसै घण्टा तराईलगायत गङ्गा बेसिनको भूमिगत जलभण्डार पुनर्भरण गर्छन् । यसको अलावा, तराईका सिँचाई कुलो, धान खेत आदिबाट पनि बर्षाको बेला पुनर्भरणमा टेवा पुग्छ । तर कुलो र धान खेतमा कमी आएको छ। बढ्दो बस्ती, उद्योग, बाटोघाटो आदिका कारण बर्षाबेला बग्ने भलपानीको मार्ग परिवर्तन भएर पनि पुनर्भरणलाई प्रभावित गरेको हुन सक्छ। तर जहाँसम्म चुरेको कुरो छ, यो पहाड आफै सुख्खा पहाड हो। त्यसमा पनि चुरे पहाड भारतीय प्लेटले घचेडेर ऊचालिने क्रममा यसका भित्री तहहरु उत्तरतर्फ ढल्केकाले बर्षाको समयमा चुरे पहाडभित्र रसाउने पानीसमेत उत्तरतिर रसाउँछ र भित्री खोलाहरु हुँदै ठूला नदीमा मिसिएर बाहिर निस्कन्छ। पुनर्भरणमा यसको योगदान भन्ने गरिएको जस्तो छैन।

समुद्रको जलस्तर बढ्नुमा यस अघि ध्रुवीय हिँउ पग्लेर जलस्तर बढेको भनिन्थ्यो, तर यथार्थमा ध्रुवीय हिँउ पग्लेर भन्दा बढी योगदान स्थलीय जलभण्डारको गिरावटको रहेको देखियो, जुन आफैंमा छक्क पार्ने निष्कर्ष हो।

चौथो हो हामीले भोगेको तर ख्याल नगरेको कुरो। बिगत केही समयदेखि संसार भरिनै स्थलीय पानी (terrestrial water) भण्डारमा निकै कमी आएको छ। कतिसम्म भने, समुद्रको जलस्तर बढ्नुमा यस अघि ध्रुवीय हिँउ पग्लेर जलस्तर बढेको भनिन्थ्यो, तर यथार्थमा ध्रुवीय हिँउ पग्लेर भन्दा बढी योगदान स्थलीय जलभण्डारको गिरावटको रहेको देखियो, जुन आफैंमा छक्क पार्ने निष्कर्ष हो।

यसको अर्थ हाम्रा स्थलीय जलभण्डार (भूमिगत समेत) पनि घट्दै गएको छ। पहाडमा मुल सुकेको, खोला खोल्सी सुकेको त केही दशकदेखि भोग्दै आएकै हौँ ।  बिगत ३ दशकदेखि पहाडमा साउने मूल हराएको र २ दशकदेखि पाँचखाल उपत्यकाको झिकु खोला सुकेको बिषयमा त थुप्रै पटक लेखेको छु। साउने मूल हराउनु भनेको पहाडको भूमिगत जलभण्डार भरिएको छैन भन्ने संकेत हो। वातावरणका बिद्यार्थीहरुलाई जलाधार बिज्ञान पढाउने सिलसिलामा सन् २००७ देखि सन’ २०१९ सम्म हरेक वर्ष लगेर निरन्तर सुकेको झिकु खोला देखाएको छु। अनि बिद्यार्थीले प्रत्येक पटक ‘खोला किन सुक्यो?’ भनि सोध्दा ‘कारण यही भन्ने त थाहा छैन, तर भुटानमा समेत मुल सुकेको सुन्दा हामीले बुझेको (वन विनाश, सडक निर्माण) भन्दा फरक कुरा भइराखेको हुन सक्छ, something big is happening to our water regime that we aren’t aware of’ भनी भन्थे। तर अब शायद कारण स्पष्ट हुँदै आयो। तराईको बिग्रदो जल प्रणाली र घट्दो भुमिगत जलस्तरको  विषयलाई स्थलीय पानी (terrestrial water) भण्डारमा आएको कमीको कोणबाट पनि हेर्नु पर्छ। त्यो हो भने, पानीको बिषय निकै गम्भीर भइसकेको छ। यो सामान्य सुख्खा हैन। बर्षामा आएको विचलन झन असामान्य छ। 

तराईको बिग्रदो जल प्रणाली र घट्दो भुमिगत जलस्तरको  विषयलाई स्थलीय पानी (terrestrial water) भण्डारमा आएको कमीको कोणबाट पनि हेर्नु पर्छ। यदि त्यो हो भने, पानीको बिषय निकै गम्भीर भइसकेको छ।

पाँचौ विषयले हो जसले मलाई ‘स्थिति एलार्मिङ छ’ भन्ने ठाँउमा पुर्यायो। विगत लामो समय देखि जलवायु परिवर्तनको मुख्य कारण कार्बन उत्सर्जन भन्दै बस्यौ र त्यसैको न्यूनिकरणमा ध्यान केन्द्रित गर्यौँ। तर हालका दशकमा भएको ग्लोबल वार्मिङको बढोत्तरिमा अर्को एक विषय जिम्मेवार रहेको खुलेको छ, त्यो हो हावामा भएको एरोसोल अर्थात हानिकारक मानिएका धुलोदेखि अन्य वायु कण (समुद्रि नुन, ज्वालामुखिबाट निस्रित खरानी, विरुवाबाट फैलिने पराग जस्ता जैविक पदार्थ, ब्याक्टेरिया) वा धुँवा कण (जिवाश्मा इन्धनको प्रयोग गर्दा निस्कने सल्फेट, ब्ल्याक कार्बन वा दाउरा बाल्दा निस्कने कार्बन आदि) । वातावरण स्वच्छ बनाउने दशकौँको प्रयासले हावामा एरोसोलको मात्रा खासगरी सन् २००५ पछि उल्लेखनीय रुपमा कम भयो।  सन् २०२० पछि समुद्री जहाजमा प्रयोग हुने तेल सल्फर मुक्त हुनु पर्ने प्रावधानले एरोसोलमा थप कमी आयो। यसले हावा स्वच्छ त भयो तर बादल बन्न चाहिने धुलोको कणको कमीले गर्दा बादल बन्ने क्रम नै घट्न गयो। हावामा भएको बाष्प यिनै धुला वा अन्य वायु कण को वरिपरि जम्मा भएपछि बादल बन्दछ।

वातावरण स्वच्छ बनाउने दशकौँको प्रयासले हावामा एरोसोलको मात्रा खासगरी सन् २००५ पछि उल्लेखनीय रुपमा कम भयो।  सन् २०२० पछि समुद्री जहाजमा प्रयोग हुने तेल सल्फर मुक्त हुनु पर्ने प्रावधानले एरोसोलमा थप कमी आयो। यसले हावा स्वच्छ त भयो तर बादल बन्न चाहिने धुलोको कणको कमीले गर्दा बादल बन्ने क्रम नै घट्न गयो।

खराब मानिँदै आएको र धेरै हदसम्म वातावरण र स्वास्थ्यकोलागि हानिकारक हुने एरोसोलले पृथ्वीलाई चिसो राख्दै जलवायु स्थिर राख्न पुर्याउने योगदानको महत्व अहिले स्पष्ट हुन थालेको छ। बादलको सेतो परतले सुर्यको किरणलाई फर्काउने (परावर्तन गर्ने) काम पनि गर्ने भएकोले बादल कम भएपछि सुर्यको किरणको केही भाग परावर्तन हुने कुरो पनि घट्न गयो।  सुर्यको किरण जुन पहिले केही पराबर्तन हुन्थ्यो, हुन पाएन, फलतः पुरै ताप सिधै पृथ्वीमा आउन थाल्यो। बिगतमा १ वर्ग मिटरमा ०.६ वाट बराबरको उर्जा आइपुग्थ्यो भने अब त्यो बढेर १.२ वाट बराबरको उर्जा आइरहेको छ। यसलाई स्पष्ट गर्दै अनुसन्धानकर्ताहरु भन्छन्, यस अघि दैनिक ४ लाख हिरोसिमा एटम बम बिस्फोटबाट निस्कने उर्जा बराबरको ताप वायुमण्डलमा थपिने गरकोमा बादलमा आएको कमीले अहिले दैनिक ८ लाख हिरोसिमा एटम बम बिस्फोट बराबरको उर्जा थपिएको छ। यसले बिगत २ दशकमा ग्लोबल वार्मिङको दर दोब्बर भएको छ, जबकि स्वच्छ उर्जाको बढ्दो प्रयोगले कार्बन उत्सर्जनमा कमी नआएको भने हैन। 

जलवायु परिवर्तनको कारण, परिवर्तनको दर, र यसबाट उत्पन्न हुने जोखिम आदिका बारेमा अहिले सम्म बुझिएको, सोचिएको, र अनुमान गरिएका विषय भन्दा फरक परिस्थिति तर्फ मौसम प्रणाली अगाडि बढेको देखिँदैछ।

कुरो यतिकैमा टुङ्गिएन, किनभने पृथ्वीमा आइपुग्ने तापको ९० प्रतिशत भन्दा धेरै हिस्सा अन्तत्वगत्वा महासागरहरुले सोस्ने गर्दछ। अहिले ग्लोबल वार्मिङको दर दोब्बर भएकोले महासागरको तापक्रम पनि त्यही दरमा बढेको छ। भूमध्यसागरमा १ महिना अगाडि जूनको समयमा हुने भन्दा ५ डिग्रि सेन्टिग्रेड बढीको तातो लहर चल्यो।  सन् २०२३ र २०२४ सबै भन्दा ताता वर्ष रहे । अनुसन्धानकर्ताहरु सागरहरुको यो तापक्रम बृध्दिलाई पृथ्वीको जलवायुमा अत्यन्त प्रतिकूल प्रभाव पार्ने गरि आधारभुत परिवर्तनको शुरुवात ठान्न थालेका छन् । यसले गर्दा हालसम्म गरिदैँ आएको मौसम प्रणालीको पूर्वानुमान गलत साबित हुन थालेको छ। तापक्रमको यो दरको बृध्दिले महासागरमा स्थायी प्रकृतिको परिवर्तनको सङ्केत गरेको हुन सक्छ । अर्थात, जलवायु परिवर्तनको कारण, परिवर्तनको दर, र यसबाट उत्पन्न हुने जोखिम आदिका बारेमा अहिलेसम्म बुझिएको, सोचिएको, र अनुमान गरिएका विषयभन्दा फरक परिस्थितितर्फ मौसम प्रणाली अगाडि बढेको देखिँदैछ। यस वर्ष देखिएको मनसुनको अस्वभाविक ब्यबहार कतै त्यसकै संकेत नहोस !

स्रोत: https://waterwedoing.wordpress.com