मारिने निश्चयको भूमिगत जीवन

सशस्त्र आन्दोलनको झण्डामुनि भूमिगत हुँदा अरु साथीहरुले के सोंचे होलान थाहा भएन, मैले चाहिँ वस्तुतः आफु मारिने छु भनेर निश्चय गरेको थिएँ। त्यसमा बाँच्नको लागि संयोगले गौण सम्भावना उपलब्ध गराउन पनि सक्दथे, परन्तु वस्तुगत रुपमा मारिने स्थिति सतप्रतिशत थियो। विजयको कुरा त सिद्वान्तमा मात्र हुन्थ्यो। जसवारे निम्न तथ्यहरुको स्मरण जरुरी लाग्दछ।

पहिलो, नेपाल उपत्यका (काठमाडौं) मा यलम्बरदेखि गस्तीसम्मको समयलाई शान्त झैं देख्न सकिन्छ। उप्रान्त पाटनको च्यासलमा आठ सय किराती योद्वाहरु मारिएको, दुर्गाहाङ याक्खाराई अनुसार पूर्वको किरात राज्यमाथि गोर्खालीले आक्रमण गर्दा ४२ घडा (गाग्री) बारुद खपत गरेको, त्यसैकारण चौध सय किराती महिला तथा बालबालिका अरुण नदीमा हाम्फाली मर्नु परेको, अरु चौध सय किराती योद्वालाई छाला काढी मारिएको, गोर्खा शासन विरुद्व विद्रोह गरेका अटलसिं खम्बूले आफ्ना कुलबंश नाता परिवारसहित मृत्युदण्ड भोग्नु परेको एवं माझकिरात क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्मको नेतृत्व गरेका जननायक रामप्रसाद राईको रहश्यमय हत्या भएको ऐतिहासिक पृष्ठभूमिमा किरात गणराज्यका निम्ति अश्त्र उठाउने किराती नेतृत्वले आफू बाँच्नेछु, भनेर सोंच्नै सकिँदैनथ्यो।

माझकिरात क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्मको नेतृत्व गरेका जननायक रामप्रसाद राईको रहश्यमय हत्या भएको ऐतिहासिक पृष्ठभूमिमा किरात गणराज्यका निम्ति अश्त्र उठाउने किराती नेतृत्वले आफू बाँच्नेछु, भनेर सोंच्नै सकिँदैनथ्यो।

दोस्रो, राजनीतिक संघर्षमा जब बम र बन्दुक प्रयोग गरिन्थ्यो, तुरुन्त आतङ्ककारी तथा विध्वङ्सात्मक गतिविधि नियन्त्रण ऐन आकर्षित हुन्थ्यो। तत्कालीन माओवादीलाई एउटा मात्र अभियोग लाग्दथ्यो, त्यो आतङ्ककारी अभियोग हुन्थ्यो। तर, किरात गणराज्यका निम्ति बन्दुक उठाउने हामीलाई दुईवटा अभियोग स्वत: लाग्दथ्यो, त्यसमा आतङ्ककारीमाथि बाहुन-क्षेत्री मास्ने निकृष्ट अभियोग थपिन्थ्यो।

खतरनाक प्रपञ्च भन्नुपर्छ, जुन किरातीले आफ्नो लोकतान्त्रिक अधिकार खोज्दछ, उसलाई कम्तिमा बाहुन-क्षेत्री मास्ने अभियोग लगाइहालिन्थ्यो। त्यस्तो अभियोगलाई कुनै कशर बाँकी नराखी, किरात भूमिका अधिकाङ्श बाहुन-क्षेत्रीले राजाज्ञा ठान्दथे र विद्रोही किरातीका सम्बन्धमा भ्रम छर्ने, घेरा हाल्ने, सखाप पार्ने अभियानमा ती जुटिहाल्थे। हरिनन्द पोख्रेलदेखि यस्तो गतिविधि जारी रहेको इतिहास प्रष्टै छ।

तेस्रो, सशस्त्र संघर्षमा मर्ने र मार्ने कुराको स्थिति समानान्तर रहन्छ। मर्न तयार योद्वाले दुस्मनलाई मार्न सक्छ। दुस्मनलाई मार्न जाँदा दुस्मनले आफुलाई मार्न सक्छ। रक्तपातपूर्ण युद्वको विशेषता हो यो।

आदिवासीका पूर्खाले आवाद गरेको भूमिमा गलत शासकहरुको अत्याचार टुलुटुलु हेरेर बाँच्नु भन्दा मारिनु श्रेयस्कर ठानियो र २०५४ साउन ७ गतेदेखि शाहसपूर्वक सशस्त्र विद्रोहको झण्डा उठाइयो।

अत: किरात गणराज्य स्थापनाको घोषित लक्ष्यमा बन्दुक उठाउने, अझ त्यसको नेतृत्व गर्ने किराती कसरी बाँच्न सक्थ्यो? त्यसर्थ मैले के बुझेको थिएँ भने प्रत्यक्ष लडाइँमा संयोग जिम्मेवार हुनेछ। तर, दुस्मनद्वारा म पक्राउ परिहालेँ भने मैले जीवित रहन पाउने कुरै आउदैन। किनभने, स्थानीय प्रशासनमा को थिए अथवा को हुन्थे?

परन्तु, आफ्नो जीवनवारे यसरी सम्पूर्णतामा ज्ञात हुँदा हुँदै पनि आत्मघातक ठहरिने सशस्त्र संघर्षको आयोजना किन गरियो? किनभने, हामीले नै लडेर ल्याइएको बहुदलीय प्रजातन्त्रमा कांग्रेस-एमालेहरुले दलाल तथा एकलजातीय पुँजीवाद अभ्यास गर्न थाले। उत्पीडित जनताको पहिचान र अधिकार कुण्ठित गरियो। देशका प्राकृतिक स्रोत विदेशीलाई सुम्पने हर्कत बढे। त्यसर्थ त्यसको प्रतिरोधमा बन्दुक उठाउने हिम्मत गरियो। आदिवासीका पूर्खाले आवाद गरेको भूमिमा गलत शासकहरुको अत्याचार टुलुटुलु हेरेर बाँच्नु भन्दा मारिनु श्रेयस्कर ठानियो र २०५४ साउन ७ गतेदेखि शाहसपूर्वक सशस्त्र विद्रोहको झण्डा उठाइयो।

हामीले नारा घन्काएका थियौं; शाहसले मर्ने शाहसले बाँच्ने, तर दुस्मनको सामू कहिल्यै नझुक्ने!

किराती इतिहासको पाँच बुँदे संश्लेषण र गम्भीर तयारी

खासगरी, गोर्खा-किराती प्रतिरोध युद्वमा गोर्खालीको जीत तथा किरातीको हारका कारकतत्व के थिए र सिंहदरबार विजयसम्म पुगेको रामप्रसाद राईको अवसानका कारण के थिए, भन्ने वारेमा गम्भीर अध्ययन गरियो। त्यस आधारमा अढाइसय बर्षयताका इतिहासको निम्न बुँदामा संश्लेषण गरियो:

१. विचारधाराको हकमा पृथ्वीनारायण शाह नेतृत्वको गोर्खाली सेनासंग भारतबाट आयातीत् अतिहिंसात्मक हिन्दू विचारधारा थियो भने किराती सेनासंग साँस्कृतिक महत्वको मुन्धुम विचारधारा,

२. संगठनमा जय गोर्खाको नारा दिएका गोर्खालीसंग विशाल एकीकृत फौज थियो भने किराती राजाहरुसंग थुमवादी संगठन,

३. युद्व प्रविधिमा गोर्खालीसंग भारतबाट आयातीत् तथा सिन्धुलीमा अंग्रेजबाट खोसेका भरुवा बन्दुक थिए भने किराती सेनासंग धनुकाँण मात्र,

४. पृथ्वीनारायण शाहसंग सिक्किमको घाउ नबल्झाउने जस्तो अन्तर्राष्ट्रिय कुटनीतिक चातुर्य थियो भने किरातीहरुसंग त्यस स्तरको कुटनीतिक पहल देखिँदैन र

५. राजनीतिक संगठन मातहत फौजी कार्वाही गर्नु पर्नेमा रामप्रसाद राईहरुले विशुद्व फौजी संगठनमा आफूलाई सीमित गरे।

शक्ति सन्तुलनको उपरोक्त पृष्ठभूमिमा गोर्खालीको जीत र किरातीको हार प्रमाणित देखिन्छ।

अत: इतिहासको उपरोक्त घटनाबाट गम्भीर शिक्षा लिएर विशेषतः निम्न काम प्राथमिक बन्नु पर्नेमा हामीहरु केन्द्रित रह्यौं:

१. वैज्ञानिक विचारधारा अख्तियार गर्नुपर्छ,

२. सम्भव बृहत्तर जनसम्बन्ध र संगठन खडा गर्नुपर्छ,

३. विकसित परिस्थितिमा, जनसमुदाय आधारित लो टेकबाट हाई टेकको युद्व प्रविधितर्फ जोड गर्नुपर्छ,

४. अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध तत्काल सम्भव नरहे पनि अन्तर्राष्ट्रिय घटनाक्रमवारे पर्याप्त जानकार रहनु पर्छ र

५. राजनीतिक संगठन मातहत फौजी कामलाई स्थापित गर्नुपर्छ।

उपरोक्त संश्लेषणका आधारमा हामीले सशस्त्र आन्दोलन उठान गर्यौं। यद्यपि, वैचारिक-राजनीतिक नै किन नहोस्, गम्भीर तयारीवारे दुस्मनलाई जानकारी नहोस्, भनेर तत्कालमा उपरोक्त बुँदाहरु लिखित प्रकाशन भने गरिएन।

सीमा र गतिशीलता: खम्बुवान हुँदै किरात गणराज्य आन्दोलन

२०४५/४६ सालमा सोलु-राजविराज कारावासमा हुँदा वर्ग र जातीय सवालवीच एकीकृत मुक्तिका निमित्त किरात कम्युनिस्ट पार्टी गठनवारे मैले निश्चय गरेको थिएँ। राजकाज मुद्दामा दस महिना कारावासपछि तारेखमा छुटेर बाहिर आउँदा विचार मिल्ने साथी एक जना पनि पाउन सकिएन। एक सदस्यीय पार्टी हुन्छ, भन्ने मलाई थाहा थिएन। अन्यथा किकपा गठन पक्का थियो।

विभिन्न मानिससंग छलफल गर्दै अघि बढ्दा वर्ग र जातीय मुक्तिका लागि कम्युनिस्ट पार्टीको ठाउँमा जातीय मुक्तिको राजनीतिक पार्टी भन्नेमा पुगियो।

त्यसरी एमएस थापा र गोरेवहादुर खपाङ्गीसंग जनमुक्ति मोर्चा गठनमा सहभागी भइयो। तर, लगत्तै थाहा भयो, थापा र खपाङ्गी राजावादी रहेछन। पिण्ड छुट्याउदै विकल्प खोज्न लागियो। किनभने, म प्रष्ट गणतन्त्रवादी थिएँ।

विभिन्न मानिससंग छलफल गर्दै अघि बढ्दा वर्ग र जातीय मुक्तिका लागि कम्युनिस्ट पार्टीको ठाउँमा जातीय मुक्तिको राजनीतिक पार्टी भन्नेमा पुगियो।

त्यसक्रममा वीर नेम्बाङसंग भेट्न पुगेँ म। उनले लिम्बुवान मुक्ति मोर्चा गठन गरेको जानकारी थियो। मैले प्रस्ताव राखेँ- किरात मोर्चा बनाऔं, तपाईं नेतृत्व गर्नुस्, ज्यान दिएर म सहयोग गर्छु। तर, नेम्बाङजीले स्वीकार गरेनन्। बरु भने- खम्बुवान गर्नु हुन्छ भने म सहयोग गर्छु, किरात हो भने कुनै सहयोग गर्दिनँ।

किन? मैले सोधेँ। उनको जवाफ थियो, भारत रिसाउँछ।

उप्रान्त वीर नेम्बाङको सहयोग प्राप्त गर्नलाई यता खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) गठन गरियो।

खरामोको नेतृत्वमा संगठन र संघर्ष जोडले उठाइयो, यद्यपि भावी स्वायत्तता किरात गणराज्य हुने भनिएको थियो, नेम्बाङजीले कुनै सहयोग गर्नु भएन। लिम्बुवानमा आन्दोलन उठाउने कुरा त परै रह्यो।

यता आपत बढ्दै गयो। रेडियोमा समाचार भन्छ, फलाना क्षेत्रमा कम्बिङ अपरेशन गर्ने सुरक्षा फौजको निर्णय!

हाम्रो संगठनको जनाधार तथा राखनधारण मलाई सम्पूर्ण अवगत छ; खोटाङ-भोजपुरको वीच भाग, सोलु र उदयपुरको पूर्वी भाग एवं सेल्टरका लागि सुनसरी, मोरङ र झापाका सीमित घरहरु।

जातीय मुक्ति खोज्नेले कम्युनिस्ट पार्टीको नेतृत्व मान्नैपर्छ,भन्ने भक्तराजहरुको चर्को गीत थियो। संकट उत्पन्न भइरह्यो, भौगोलिक सीमितताका कारण न्यायपूर्ण अन्दोलन सखाप पो हुने हो कि?

माओवादी कार्यकर्ता बनेर भक्तराज कङ्दङ्वाले लिम्बुवान मोर्चा गठन त गर्नु भयो, उहाँले पनि (माओवादी तर्फबाट) हाम्रै छाला काढिरहने! कारण, जातीय मुक्ति खोज्नेले कम्युनिस्ट पार्टीको नेतृत्व मान्नैपर्छ,भन्ने भक्तराजहरुको चर्को गीत थियो। संकट उत्पन्न भइरह्यो, भौगोलिक सीमितताका कारण न्यायपूर्ण अन्दोलन शखाप पो हुने हो कि? कठोर सामरिक चुनौती बढिरह्यो। यसरी जारी सशस्त्र आन्दोलन व्यवस्थित पार्न २०५७ देखि मेचीसम्म भूगोलको किरात मोर्चावारे छलफल सुरु गरियो।

अन्ततः किराती इतिहासको पाँच बुँदे संश्लेषणमध्ये दोस्रो बुँदालाई समातेर खम्बुवान-लिम्बुवान मोर्चा एकताबाट २०५८ मा किरात राष्ट्रिय मोर्चामा रुपान्तरित भयौं। खरामो स्वतन्त्र छापामार संगठन थियो भने लिरामो तत्कालीन माओवादी पार्टीको सहायक संगठन।

किन बन्नु पर्यो, माओवादी?

यो प्रश्नको पहिलो सार्वजानिक जवाफ किरात राई यायोक्खाको राष्ट्रिय सम्मेलन, काठमाडौंमा बोलेको थिएँ, मैले। त्यहाँ मोहन बैद्यवाला वक्ताहरुले मलाई सराप्दै प्रश्न गरेपछि त्यसरी बोल्नु परेको थियो। आफ्नो सामाजिक सञ्जालमा २०७७ मा आएर विस्तृत लेख लेखेको थिएँ। जसको शीर्षक थियो, ‘हुनेखाने राईहरुको रमिताको परिणाम’।

उपरोक्तवारे चर्चा गरौं।

पहिलो कारण त्यही हो, जुन हुनेखाने राईहरुले रमिता हेरेर बसे। संगठन गर्दा सुरुमा म एक जना थिएँ। क्रमश: दुई, तीन, चार जना हुँदै कार्यकर्ता संख्या बृद्वि भयो र यसो गर्नै पर्यो। त्यत्तिसम्म गाउँले किसानले आफ्नो भाग काटेर हामीलाई खाना दिए। त्यत्ति संख्याको कार्यकर्ताले भीषण प्रकारको सशस्त्र आन्दोलन हुनै सक्दैनथ्यो। अब हामीहरु गाउँले किसानको सीमा बाहिर पुग्यौं।

सामान्यतः २०५०, विशेषतः २०५४ देखि २०५७ सम्म दस लाख रुपैयाँको खोजीमा लाग्यौं। जसले, सुरुमा केही थान अत्याधुनिक हयियार जुटाउन तथा सहजै सरकारी बैंक कब्जा गर्न सकियोस्। जसले, पर्याप्त आधुनिक हतियारको जोहोबाट कम क्षतिमा सर्वप्रथम भोजपुरस्थित शाहीसेनाको ब्यारेक कब्जा गरौं र अघि बढौं। २०५७ देखि २०५९ सम्म ३० लाखको खोजीमा भौतारियौं। यत्तिसम्म कि सशस्त्र भूमिगत संगठनको केन्द्रीय अध्यक्ष मैले काठमाडौंदेखि कोचिला क्षेत्रका शहरभित्र पटक-पटक मानिस भेट्न जानुपर्यो। नढाँटी भन्दा दार्जीलिङ र सिक्किमतिर अनेक पटक, गोहाटीदेखि कोहिमासम्मका राईहरुसंग एक पटक भेट्न पुगियो। तर, लगातार परिणाम हात लाग्यो शून्य!

दोस्रो, किरातीका छोरा-छोरीलाई यता जुटौं न भन्यो, ह्वार्ह्वार्ति माओवादीतिरै ओइरिने। उता गएर बेस्कन हाम्रै भण्डाफोर गर्ने र

तेस्रो, तत्कालीन माओवादीले बा बा किरात राज्यको माग हामी स्वीकार गर्छौं, आउनुस न माओवादीमा जुटेर लडौं, भनिरहने।

जनयुद्वकालीन माओवादीलाई किराती दस्ता आवश्यक ठहर्नुको कारण पूर्वी नेपालमा हामीहरु जत्तिको वैचारिक-राजनीतिक क्षमताको नेतृत्व उहाँहरुसंग थिएन।

उपरोक्त तीन परिस्थितिमा पाँच बुँदे संश्लेषणको माग मूलतः संबोधन हुने देखियो र बन्यौं, माओवादी!

किराती क्रान्तिकारीलाई माओवादी आवश्यक परेकोवारे थप भनिरहनु परेन। जनयुद्वकालीन माओवादीलाई किराती दस्ता आवश्यक ठहर्नुको कारण पूर्वी नेपालमा हामीहरु जत्तिको वैचारिक-राजनीतिक क्षेमताको नेतृत्व उहाँहरुसंग थिएन।

हामी क्रान्तिकारीहरु जुट्यौं र गणतन्त्र नेपाल स्थापनामा ऐतिहासिक योगदान पुर्यायौं। कुनै गीतले भने झैं हामीले के विरायौं?

मलाई यो पनि बिघ्नै थाहा छ कि नेताहरुले सिद्वान्तमा जोड दिन्छन् जनताहरु व्यवहारमा, नेताहरुले रणनीतिमा जोड दिन्छन् जनताले कार्यनीतिमा एवं नेताहरुले अन्तर्वस्तुमा जोड दिन्छन त जनताले रुपमा।

गोर्खाली विरुद्व लड्ने, राणाशासन विरुद्व लड्ने किरातीका सन्तान आफ्ना लागि नेतृत्वको आँट नगर्ने, हामी जस्तो अत्यन्तै दुर्गम गाउँ तथा गरिब परिवारमा हुर्केर आएको मानिसले नेतृत्व गर्नैपर्ने अनि यो भएन त्यो भएन, भनेर भ्रम छर्ने षड्यन्त्रकारी धमिराहरुलाई के भनौं?

ठाडै स्वीकार गर्नु पर्दछ, जुन दिनदेखि म आन्दोलनमा छु, राजनीतिक अन्तर्वस्तु लेस पनि तल परेको छैन बरु सुदृढ हुँदै अघि नै बढेको छ। तर, रुप पक्षमा भने उत्तारचढाव अवश्यै छ। यो म वा कुनै व्यक्तिको इच्छाले भइरहेको होइन, बरु आवश्यकताको सिद्वान्तमा गतिशीलता समीकरण भनेर यसलाई बुझ्नु पर्छ।

अर्को, किराती सामुदायिक सन्दर्भमा रोचक के भने नेपालमा राईबाट राजनीतिक संगठनको केन्द्रीय अध्यक्ष बन्ने पहिलो व्यक्ति गोपाल किराती नै होला। गोर्खाली विरुद्व लड्ने, राणाशासन विरुद्व लड्ने किरातीका सन्तान आफ्ना लागि नेतृत्वको आँट नगर्ने, हामी जस्तो अत्यन्तै दुर्गम गाउँ तथा गरिब परिवारमा हुर्केर आएको मानिसले नेतृत्व गर्नैपर्ने अनि यो भएन त्यो भएन, भनेर भ्रम छर्ने षड्यन्त्रकारी धमिराहरुलाई के भनौं? जनसाधारणमा प्रष्टीकरण तथा षडयन्त्रकारीहरुको भ्रमपूर्ण आरोपहरुको खण्डन बाहेक म संग अरु के हुन सक्छ!

अन्त्यमा,

१. आलेखमा खाने कुराको चर्चा जुन गरिएको छ, त्यो उदाहरणका लागि हो। लड्नका लागि खानै पर्छ, तर खाएर मात्र लडाइँ हुँदैन। सशस्त्र लडाइँ एक अर्थमा समानान्तर सत्ताको स्थिति हो, जसले पुरानो सत्ता विरुद्व लड्छ। सत्ताका निमित्त के कत्ति अनि कस्ता संयन्त्र र सो अनुकुल जनशक्ति चाहिन्छ? लडाइँको नेतृत्व गर्ने अथवा लडाइँको वास्तविकता बोध गर्नेलाई मात्र ज्ञान हुन सक्दछ।

शाहीसत्ता माओवादीसंगको भिडन्तमा मुख्यतः अल्झियो, पूर्वमा हामीलाई सहज बन्यो। अन्यथा शासनको ऐतिहासिक प्रवृत्ति हेर्दा विगत आन्दोलनवारे, यसरी बाँचेर किरातीले आत्मसंस्मरण लेख्न पाउँथ्यो कि पाउँदैनथ्यो?

पूर्वको किराती क्रान्तिकारी भन्दा दर्जनौं गुणा शक्तिशाली थिए, तत्कालीन माओवादी। तर, शाही सेनाको हेलिकप्टर खसाल्ने मेसिन जोहो गर्न किन सकिएन? नाईटभिजन नामका दुई चारवटा हेलिकप्टर खसाल्न सकिएको भए युद्वस्थिति के हुन्थ्यो? स्वतन्त्र विचार गरियोस्।

२. ऐतिहासिक भौक्तिकवादीले नढाँटी भन्नुपर्छ, पूर्वमा हामीले आफ्नो तयारी गरिरहेका थियौं, पश्चिममा माओवादीले आफ्नो तयारी गरिरहेको थिएछ। शाहीसत्ता माओवादीसंगको भिडन्तमा मुख्यतः अल्झियो, पूर्वमा हामीलाई सहज बन्यो। अन्यथा शासनको ऐतिहासिक प्रवृत्ति हेर्दा विगत आन्दोलनवारे, यसरी बाँचेर किरातीले आत्मसंस्मरण लेख्न पाउँथ्यो कि पाउँदैनथ्यो? जवाफ अन्तर्विरोधको जटिल नियमभित्र खोज्नु पर्छ। यद्यपि यो इतिहासको विषय हो।

३. सशस्त्र आन्दोलनमा नेतृत्वले कैयन विषय बोलिहाल्न मिल्दैन। किनभने, कतिपय अभिव्यक्तिले दस्तालाई विघटनको सिकार तुल्याइदिन सक्छ। त्यसैले आन्दोलन उठान र निरन्तरताका बखत वस्तुतः आफू मारिने शब्द बोलिएन। परन्तु, आफु मारिएको स्थितिमा बाँचेका साथीहरु कसरी अघि बढ्नेवारे मार्गचित्र दिइएको चाहिँ हुनैपर्छ।

त्यसरी आफू मारिने स्वनिश्चयताको मूल्यमा समर्पित भूमिगत जीवनको एक स्पष्टीकरण हो, प्रस्तुत आलेख। ईमानदारजनका निमित्त संक्षेप स्पष्टीकरण तथा भ्रम छर्ने षडयन्त्रकारीका निमित्त सजीव खण्डन हो यो। आगे समाजवादी लोकतन्त्रको कार्यदिशामा तेस्रो जनआन्दोलन प्रस्तावित जो छ।

(लेखक किराती देशभक्त समाजवादी मोर्चाका अध्यक्ष हुन्।)