लास

लासहरु कफन जस्तै अभिनय गर्दैनन् !

 

मलाई  अचेल  लासहरु  मनपर्छन्

लासहरु  आफू जे होइन  त्यो हुनुको अभिनय गर्दैनन् ।

 

मलाई अचेल लासका मनमुखहरु मनपर्छन्

लासका मनमुखहरु समानान्तरमा चल्छन्  ।


मलाई अचेल लासका  मुटु र ओठहरु मनपर्छन्

लासका मुटुहरुले  फूल टिप्दै

लासका  ओठहरुले फूल चुम्ने अभिनय गर्दैनन् ।


मलाई अचेल लासका आँखाहरु मनपर्छन्

लासका आँखाहरु

आँखाभित्र पर्खाल लुकाएर

आँखाबाहिर आकाश  देखाउने अभिनय गर्दैनन् ।

 

मलाई अचेल लासका खुट्टाहरु मनपर्छन्

लासका खुट्टाहरु पैतलामुनी फूल राखेर

पैतालाबाहिर बगैचा बनाउने अभिनय गर्दैनन्  ।

 

मलाई अचेल लासका टाउकाहरु मनपर्छन्

लासका टाउकाहरु

टाउकोभित्र पिँजडा राखेर

टाउकोबाहिर  आकाश छुने  अभिनय गर्दैनन् ।

 

मलाई अचेल  लासका हातहरु मनपर्छन्

लासका हातहरु माछालाई  नै  ढढिया थापेर

माछालाई  नै आकाश देखाउने अभिनय गर्दैनन् ।

 
मलाई अचेल लासका  हातहरु  अति  मनपर्छन्

लासका हातहरु चरालाई नै पासो थापेर

चारालाई नै आकाश देखाउने अभिनय गर्दैनन् ।

 

मलाई  अचेल लासका हातहरु मनपर्छन्

लासका हातहरु देशमा डडेलो लाएर

देशमा दमकल चलाउने अभिनय गर्दैनन् ।

 

हो लासहरु यस्तै हुन्छन्

लासहरु चिरनिन्द्रामा सुतेर

जिउँदो हुनुको अभिनय गर्दैनन् ।

 

लासहरु मृत्यु जस्तै तथ्य हुन्

तथ्यहरु  अभिनय गर्दैनन्  ।