फरक सोचको एक नयाँ कृति ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’

पठन संस्कृतिमा डिजिटल संस्कृति हावी भएको यो समयमा पनि श्याम अधिकारीद्वारा लिखित “आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली” नामको पुस्तक केही फरक सोचका साथ पाठक सामु निकै सबल रुपमा देखापरेको छ । डिमाइ साइजका एक सय २३ पृष्ठ एवं लगभग ३६ हजार दुई सय शब्दमा समेटिएको यो पुस्तक ऐतिहासिक महत्वको छ । वेदहरूका बारेमा विश्लेषण गरेर लेखिएका कृतिहरू अरु पनि छन्, तर ऋृग्वेदकै जगमा टेकेर वेदप्रतिको हालसम्मको आम धारणा भन्दा फरक दृष्टिमा नेपाली सरल भाषामा आएको यो पहिलो कृति हुनाले यो ऐतिहासिक महत्वको हुन गएको हो ।
पुस्तक कालजयी पनि छ । कुनै पुस्तक कुनै कालखण्डका लागि मात्र उदाहरणीय र पठनीय हुन्छ । समय घर्किएपछि त्यसको कुनै महत्व रहँदैन । तर यो ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ पुस्तक सुदूर भविष्यसम्मका लागि पठनयोग्य, कौतुहल जगाउने र पढ्न चाखलाग्नेखालको छ, कुनै रूढीगत विषयमा तार्किक निष्कर्ष निकाल्नुपर्दा यो पुस्तकको खोजी गर्नैपर्ने देखिन्छ, वास्तवमा के हो त ? भनेर अध्ययन गर्न चाहने र अनुसन्धान गर्न चाहने जोसुकैले जहिलेसुकै यो पुस्तक पढ्नै पर्ने छ । काल परिवर्तन भएकै आधारमा मात्र यसमा लेखिएका कुराहरू फरक सावित हुन सक्तैनन्, त्यसैले श्याम अधिकारीको यो पुस्तक कालजयी छ भन्ने म ठान्छु । पुस्तकमा लामा छोटा गरी १३ वटा लेख र ऋग्वेदका महत्वपूर्ण सूक्तिहरू सङ्कलित छन् । शीर्षकले लेखको मजबूनको प्रतिनिधित्व अलि कमै गरेको छ ।प्रगतिपुस्तक सदन काठमाडौबाट मूल्यरु २५०। मा पाइने जानकारी गराइएको यो पुस्तकमा शीर्षकहरू :
१. आर्यजाति र ऋग्वेद, २. ऋग्वेदको युगचरण, ३. आदिम समाजमा दान, ४. देवगणको पहिचान यज्ञ, ५. देव–आर्य सभ्यता र मातृसत्ता, ६. आदिम व्यवस्थाका केही झलक, ७. आर्यजातीय समावेशिता र वर्णव्यवस्था, ८. ऋषि, पुरोहित, विप्र र ब्राह्मण, ९. ऋग्वेदमा बौद्धिक चिन्तन, १०. नारी–पुरुष सम्बन्ध ११. देवगणभित्र सत्तासङ्घर्ष, १२. नियम र अनुशासनका देवता वरुण, १३ उपनिषद्, ब्रह्मज्ञान र भक्तिधारा १४. सामाजिक प्रणालीका बारेमा झलक दिने ऋग्वेदका केही सूक्तहरू रहेका छन् ।
‘आर्यजाति र ऋग्वेद’ शीर्षकको लेखमा भनिएको छ: कुनै खास सभ्यता र संस्कृतिलाई मान्दै आएको एक ऐतिहासिक मानव समुदाय आर्य समुदाय हो, जुन अफगानिस्तानदेखि इन्डोनेशिया, मौरिसससम्म फैलिएको छ । आर्य समुदायका मानिस बसेको ठाउँ आर्यावर्त हो । आर्य शब्दले कुनै मानव अनुवंशलाई होइन, मूलतः सभ्यता र संस्कृतिलाई नै जनाउँछ । पौराणिक कालको देवसमुदाय नै अहिलेको आर्य समुदाय हो । आर्यगणको सभ्यता भनेकै देवगणको सभ्यता हो । ऋग्वेद आर्यहरूको मात्रै होइन, सम्पूर्ण मानव जातिकै सबैभन्दा पुरानु ग्रन्थ हो ।
लेखकले वेद कुनै एक कालखण्डको सिर्जना होइन, कुनै एकले रचना गरेको होइन, यो अपौरुषेय नै पनि होइन । परन्तु हाम्रा पूर्वजहरूले जानेबुझेका, भोगेदेखेका, सुनेसुनाएका कुराहरूको संग्रह हो, त्यसैले स्रुति हो र कतिपय ऋचा कोही कसैले रचना गरेका सूक्तहरूको सङ्कलन हो । त्यसैले सिर्जना पनि हो भन्नुभएको छ । तेसमा भएका सबै कुरा सही र उपयुक्त हुन सक्तैनन् । वेदमा भएका सबै ठीक छन्, वेद इतिहास हो भनेर ठोकुवा गर्न मिल्दैन, लेखकको भनाइ छ । यसमा यो पङ्तिकार पनि सहमत छ । हाम्रा शास्त्रहरू, विद्वानहरू धेरै यसमा सहमत छन् । सुनेका कुरा मात्रै होइन, लेखेकै कुरा पनि कालान्तरमा उपयुक्त नहुने, फरक अर्थ लाग्ने हुन सक्छ । कहिले त हास्यास्पद पनि लाग्छ, अश्लील र अनर्थकारी पनि बन्न सक्छ ।
ऋग्वेदको युगचरण नाउँको दोस्रो लेखमा उहिलेकाहरूले गरेजसरी हिजोकाले जे गरेका थिए, र जसरी उनीहरूको कल्याण गरेका थियौ, हामी पनि त्यसै गर्छौँ, हे इन्द्र ! हामीलाई पनि त्यस्तै कल्याण होस् भन्ने भाव ऋग्वेदमा देखिने हुनाले यसका ऋचाहरूमा तीन चरणको युगबोध पाइन्छ भन्ने लेखकको ठम्याइ पुष्टी भएको छ ।
प्राकृत्तिक शक्तिलाई कसरी र किन देवत्वकरण गरियो ?, राज्यसंयन्त्रको आवश्यकता र निर्माण किन र कसरी भयो ? ब्राह्मण, गुरु, पुरोहितहरू देवदूतका रूपमा कसरी स्थापित भए ? दान ब्राह्मणलाई नै दिनुको कारण केहो ? वर्णव्यवस्था कसरी सिर्जना भयो ? राज्यसत्ता र पौरोहित्यसत्ता अर्थात ब्राह्मण र क्षत्रीयबीच बारम्बार परस्पर सम्मान र द्वन्द्व किन भएको हो ? दान भनेको के हो ? कर भनेको के हो ? यो कसरी सुरु भयो ? जस्ता जटिल प्रश्नहरूको तर्कपूर्ण जबाफ पुस्तकले दिएको छ । अण्डा पहिले कि कुखुरा ? भन्नेखालका अनुत्तरित प्रश्नबारे लेखकले ऋग्वेदको आधारमा कुखुरा नै पहिले हो भन्ने किटान गर्नुभएको छ ।
हिजो आज यज्ञ भनेको हवन, पूजा, पुराणवाचन जस्ता धार्मिक अनुष्ठानहरू हन् भन्ने आम धारणा छ । यसलाई चिर्दै मानवहितका लागि कुनैपनि उद्देश्यले गरिने युद्ध, व्यापार, खेती, उद्योग, आदि सबै कर्म यज्ञ हुन्, लेखकले स्पष्ट गर्नुभएको छ । हो कर्म नै तपस्या हो । धर्म भनेकै कर्म हो । कर्तव्य हो । जिम्मेवारी हो । यज्ञ भनेको पनि त्यही हो । सहभागितामूलक सकारात्मक कार्य सबै यज्ञ हुन् । योग र यज्ञ दुवै योजक हुन् । यज्ञबाट योजना बन्छ । योजनाअनुसार कर्म हुन्छ । कर्म अर्थात धर्म देश, काल, परिस्थिति र क्षमताअनुसार फरक हुन्छ । धर्म भनेको कानुन पनि हो । कानुन अनुसार पाएको जिम्मेवारी पूरा गर्नु धर्म निर्वाह गर्नु हो । यस्ता कर्मकाण्डीय अफबाह देवदूत मानिएका ऋषि, ब्राह्मण, पुरोहित आदिले आफ्नो पेशा सुरक्षित बनाउन फैलाइदिएका मात्र हुन् । अनि दानलाई पनि करका रूपमा राखेका हुन् । लेखकको यो विश्लेषणमा यो पाठक पूर्णतः सहमत छ, र पनि लोकलाजले, समाजमा अड्मिल्दो भइन्छ भन्ने डरले यस्ता रुढीवादको पालन नगरी रहन भने सकिँदैन । धर्म भनेको अफीम हो भन्नुको कारण पनि यही हो ।
शुरुमा आमा–छोरा र बाबु–छोरी दाजू–बहिनी र दिदी–भाइबीच पनि यौनसम्पर्क हुन्थ्यो, पारिवारिक सत्ता मातृसत्तात्मक थियो । अहिलेजस्तो पहिचानका लागि बाबु, कुल र गोत्र चिनिनु जरूरी थिएन, तर आमा चिन्नु अनिवार्य थियो । वरुण र मित्रका समयदेखि नाताभित्र र अनमेल उमेरबीच यौनसम्बन्ध निषेध हुँदै आयो । एकनिष्ठ विवाहको प्रारम्भ पनि वरुणबाटै भएको मानिन्छ । नरबलिजस्तो कुप्रथा पनि वरुणदेवका पालादेखि नै हटेको हो, लेखकले खुलाइदिनुभएको छ । तर तिथिमितिको चलन नहुनाले कहिलेदेखि भन्ने स्पष्ट छैन । यसको खोजी गर्न सकिए प्रमाणिक इतिहास बनाउन सजिलो हुन्थ्यो ।
आदिम अवस्थाका केही झलक शीर्षकको लेखले ऋग्वेदले गरेको चित्रणअनुसार तात्कालीन आर्यसमुदायको जीबन, रहनसहन स्पष्ट उतारेको छ । रक्तसम्बन्ध र सामाजिक आवश्यकताका दृष्टिले तेतिबेलै आर्यसमुदाय मिश्रित र समावेशी भइसकेको पनि उल्लेख छ । साथै ऋषिहरूले वेदका लागि आफूले रचना गरेकै ऋचा भएपनि त्योे अदृश्य शक्ति ईश्वरीय सत्ताबाट सुनेको वा प्रकट भएको भनेर विश्वास दिलाउन र आफ्नो कथित देवदूतको पेशा जोगाउन श्रुति भन्ने गरेको पनि खुलाइको छ ।
इन्द्रका सभामा मन्त्रीका रूपमा एक हजार ऋषि थिए । उनीहरूले नै इन्द्रलाई कामको निर्देश गर्थे । त्यसैले इन्द्रलाई सहस्राक्ष भनिएको हो । इन्द्र वास्तवमा राजा थिएनन्, उनी युद्धसरदार थिए । उनको नेतृत्वमा पुरहरू ध्वस्त गरिएकाले उनलाई पुन्दर, पुरारी आदि नाउँ दिएको हो भन्ने लेखकको विश्वास छ । त्रिपुर नष्ट गरेकाले रुद्र पनि त्रिपुरारी बनेका छन् । विराट स्वरूप भनेको राज्यसत्ता हो, समाज हो, त्यसैले यसका हजारौँ हात, हजारौँ आँखा, हजारौँ कान भएका हुन् भन्ने लेखकको ठोकुवा छ बौद्धिक चिन्तन नामको लेखमा ।
नारी र पुरुष सम्बन्ध शीर्षकमा विभिन्न उपमा दिँदै ऋग्वेदमा उल्लिखित युवा–युवतीबीचको पे्रमसम्बन्धका कुरा त्यो बेलामा पानीबाट बिजुली निकालेको कुरा, हबाइजहाज र पानीजहाज निर्माण गरिएका कुरा लेख्नुभएको छ, तर अहिलेको पुस्ताले भाषिक एवं शैक्षिक कारणले जान्न नसकेर आफ्नो वीरासत बुझ्न पाएका छैनन् । लेखकले दर्शाउनुभएका धेरै उदाहरणहरूमध्ये ऋग्वेदको एउटा प्रशंग उल्लेख गरौँ — घोषा नाउँ गरेकी ऋषि भन्छिन् – युवा पतिले युवा पत्नीको योनिबाट प्राप्त गर्ने सुखबाट म अपरिचित छु । पत्नीलाई माया गर्ने स्वस्थ र बलिष्ठ पतिका घरमा पुग्न पाऊँ भन्ने मलाई रहर छ । यस्तो कुरा आफन्त एवं विश्वासयोग्य व्यक्तिसँग अहिले पनि गरिन्छ । जसरी अहिले हामी राज्यका अधिकारी एवं समाजका प्रतिष्ठितहरूसँग आफ्नो माग, गुनासो र समस्या राख्छौँ, त्यो बेला पनि तेसै गरी देवगणको नेतृत्व गरिरहेका इन्द्र विष्णु आदि र देवदूत वा देवताका प्रतिनिधि हौँ भन्ने ऋषिमहर्षिहरूसँग माग, गुनासो र समस्या राख्थे । घोषाले पनि त्यही गरेकी हुन् । तर त्यो बेला जीवीत रहेका इन्द्रादिहरूसँग तेसै बेलाका मानिसले निवेदन गरे भन्दैमा अहिले पनि इन्द्रको प्रार्थना गरेर, विष्णुसँग वरदान मागेर सबै इच्छा पूरा हुन्छ भन्नु हास्यास्पद कुरा हो । वेद भन्नु नै ज्ञान हो । अरु पुराण, शास्त्र जति छन्, ती सबैले पनि ज्ञान नै दिने हो । परन्तु बगैँचामा काँडाघारीजस्तै ग्रन्थमा पनि अनावश्यक र अड्मिल्दा कुरा अनायासै आइदिन्छन् । कतिपय कुरा कालान्तरमा हटाउनै पर्ने पनि हुन्छ, जसरी धान गोड्दा गहुँकोबोट उखेल्छौँ गहुँ गोड्दा धानको बोट फाल्छौँ । वेद पुराणहरूमा यस्ता कुरा धेरै छन्, तिनलाई पर्गेलेर कुन कति ठीक, कुन कति बेठीक तर्कपूर्ण अभिव्यक्तिद्वारा छुट्याइदिनु लेखकको दायित्व हो, यो पुस्तकमा त्यो दायित्व पूर्णतः पूरा भएको छैन ।
धन भनेको धनै हो तर धनका लागि जुवा कहिल्यै नखेल बरु खेती गर यस्तो उपदेश पनि ऋग्वेदमा छ । यस भनाइले तेती बेला धन आर्जन गर्न पनि जुवा खेलिँदो रहेछ, जुवा खेल्दा हारिन पनि सक्छ, तेसैले बरु खेती गर्नू जुवा नखेल्नू भनेर सुझाव दिएको बुझिन्छ । तेतिबेलाको समाजले खेतिलाई प्राथमिकता नदिएकाले यस्तो उपदेश दिनुपरेको हुनसक्छ । र पनि खेतीबालीमा पनि असिना, खडेरी, बाढीपहिरोले धोका दिन सक्छ भनेर यही प्रकरणमा त्यो बेला लेखिएको रहेनछ ।
पुस्तकलाई अझ परिष्कृत र विश्वसनीय बनाउन सामान्य पाठकका हैसियतले मैले दिन चाहेका सुझावहरू:
— ऋग्वेदमा भएका तुक र बेतुकका कुरा छुट्टयाइएको भए अझ वेश हुन्थ्यो ।
— कुनै घटनाका सम्बन्धमा तिथिमिति लेख्ने चलन त्यो बेला थिएन । त्यसैले अचेल अध्ययन गर्दा सम्वत सुरु हुनुभन्दा अघिको समय जनाउनुपर्दा ‘विक्रम पूर्व’ ‘इश्वी पूर्व’ ‘यति वर्ष उतिवर्ष अघि’ भन्ने र लेख्ने चलन छ । क्रमिक विकासको सिलसिलाबद्ध अध्ययन र लेखनका लागि अनिवार्य हुने मिति खोज्न आवश्यक छ । मिति टुङ्गो लाग्न नसके पनि अनुमानित कालखण्ड निस्किन सक्छ, त्यति हुँदा पनि पाठकका लागि निकै सजिलो हुन्थ्यो ।
— पुस्तक लेखनका लागि आधार र श्रोतका रूपमा जुन लेख, पुस्तक र अन्य सामग्री प्रयोग गरियो, र जो जोसँग छलफल, राय लिइयो, ती सबैको प्रचलित प्रक्रिया (APA Guidelines,7th Edition एपीए गाइडलाइन्स्, सातौँ संस्करण) अनुसार सङ्केत, उद्धरण, सूची, मिति आदि तोकिएकै ढाँचामा दिनपाएको भए पुस्तक अझै बढी विश्वसनीय, प्रामाणिक आधारयोग्य र गहन अनुसन्धानबाटै तयार भएको रहेछ भन्ने पुष्टि हुन्थ्यो ।
— जुन विषयमा लेखियो, त्यसबारे यसअघि कसले के लेखे, भनेका थिए र त्यो लेखाइ, भनाइ र अहिलेको लेखाइ, भनाइमा भिन्नता, खण्डन–मण्डन के छ, कारणसहित त्यो उल्लेख भइदिएमा पाठकहरूको अन्योल घटाउन अझ बढी मद्दत पुग्थ्यो ।
— शीर्षकभित्रका विषयवस्तुलाई विषयगत आधारमा उपशीर्षक दिएर यही प्रकरण नं. १७ मा जस्तै (१७.१, १७.२) वैज्ञानिक सङ्केतीकरण गर्न पाए झन् गजब हुन्थ्यो ।
— संस्कृत नबुझ्ने पाठकका लागि पाठमा दिइएका सबै वैदिक ऋचाहरूको मूल पाठ र नेपाली अनुवाद भैदिएको भए पाठक बढी लाभान्वित हुने थिए ।
संस्कृत नै भए पनि अहिले उपलब्ध वेदको भाषा अपरिष्कृत र धेरै ठाउँका, धेरै समयको अन्तरालका धेरै मानिसले सुनेर र लेखेर गरेको संग्रहबाट सङ्कलित भएको हुनाले वेदको चूरो बुझाउन, रूढीवादले गाँजिएको समाजलाई यथार्थ बताउन, संस्कृत नजानेकाले वेदका कुरा जानून भनेर लेखकले बडो परिश्रमसाथ जुन पुस्तक तयार गर्नुभयो, त्यो अत्यन्त गौरवको विषय हो । प्रशंसनीय कार्य हो । यसका लागि लेखक धन्यवादका पात्र हुनुहुन्छ ।
(वनेपास्थित शव्दयात्रा प्रकाशनद्वारा आयोजित प्रस्तुत पुस्तकको अन्तर विमर्श कार्यक्रममा यो लेख पाठ गरिएको हो ।)
प्रतिक्रिया