फुटबल जस्तो जिन्दगी !

साठीको डिलमा उभिएँ,
उमेरको तानातानले थिच्दै गर्दा
झस्किएर फर्किएँ—
नियालें आफ्नै जीवनलाई
र एकाएक लाग्यो,
म त साँचिकै फुटबल नै त रहेछु!
फरक यत्ति हो—
कहिले सानो मैदानमा उछालिएँ,
कहिले अथाह ठुलो पिचमा लडिरहेँ।

 

कहिले कुनामा,
कहिले पराईको खुट्टामा।
खुट्टादेखि खुट्टासम्म,
लातदेखि लातसम्म—
मानौँ नियतिमा लेखिएको हो
धक्का मात्र पाइरहनु।

कसैले लाइन बाहिर हाने—
थ्रो हुनुपर्ने म?
कसैले खुटामा हाने—
फ्रिकिक भोग्ने म नै?

कहिले फ्रिकिक,
कहिले कर्नर,

कहिले पेनाल्टी,
कहिले लङ सट,
कहिले सर्ट सुट।
थोरैजनाले लो हेड गरे,
धेरैले त सीधै गोल गरे!

जस–जसले जे–जे गरे,
प्रहार त
म माथि नै गरे।

अब त लाग्छ,
जिन्दगी र फुटबल उस्तै रहेछ—
फरक केवल मैदानको आकार।

गोलपोस्ट त म छिर्छु,
गोल पनि भइदिन्छ
तर—
विजयीको नाममा
अरू नै छन्!