३२ वर्ष नपाएको शिक्षा, केही घण्टामा पाएँ

साँझको समय थियो, करिब ६ बज्न लागेको या बजिसकेको थियो। समय कति भयो भन्नेमा खासै ध्यान थिएन। मेरो साथी महेश रावलसँग म विद्यालय जीवनदेखि स्नातक तहसम्मको सहयात्री हुँ। उहाँको विद्यालयबारे सामाजिक सञ्जाल र अन्य माध्यमहरूबाट सुनेको थिएँ-गर्व लाग्दथ्यो। सोच्थें, "मेरो साथीले पाएको जिम्मेवारी यस्तो उत्कृष्ट रूपमा निभाएको छ।" तर प्रत्यक्ष रूपमा त्यो विद्यालय हेर्ने मौका भने अहिलेसम्म जुटेको थिएन।
यसपटकको यात्रामा केही विद्यालय पुग्ने कार्यक्रम थियो-बच्चा, किशोरकिशोरी, युवा, विद्यालयका प्रमुख, समुदायका अगुवा तथा सरोकारवालासँग भेटघाटको सिलसिलामा म जुम्लाको कनकासुन्दरी, सिजा र हिमा गाउँपालिकाका केही गाउँहरूमा हप्ता दिन बिताउँदै थिएँ। त्यही क्रममा साथी महेशसँग फोनमा कुरा भयो। उहाँ मलाई लिन स्वयम् हिमा गाउँपालिकासम्म आउनुभयो। उहाँलाई यसरी कष्ट दिएँ भनेर म दोधारमा थिएँ, तर त्यही सन्दर्भमा म एउटा अद्वितीय विद्यालय-हिमा आधारभूत विद्यालय, कोइरेली पुग्न सकें।
विद्यालयतर्फको बाटोमै लाग्दा लाग्यो-"म त कुनै पर्यटकीय गन्तव्यतिर जाँदैछु।" मुख्य गेटमा पुग्दा भने लाग्यो, "यो त कुनै महोत्सवको आकर्षक द्वार हो!" मनमा कौतूहल जाग्यो-"यदि बाहिरी दृश्य यति सुन्दर छ भने भित्र त कस्तो होला?"
गेट खोल्दै विद्यालय परिसरमा प्रवेश गर्यौँ। एकैछिनमा लाग्यो-"म त शान्त, रमणीय, ज्ञानमय तपोभूमिमा आइपुगेछु।" जता आँखा डुलाएँ, त्यतैतर्फ कलात्मक सजावट, सुव्यवस्थित संरचना र सुन्दरता देखिन्थ्यो-यति लोभलाग्दो कि मन रोकिन्थ्यो।
विद्यालयका एकमात्र स्थायी शिक्षकले अफिस कोठा खोल्नुभयो। त्यतिबेला मलाई लाग्यो-म कुनै संस्कारसंपन्न समारोहको ज्ञानमय संसारमा प्रवेश गरें। यत्रा-यात्रा ज्ञानशालाहरूमा पुगें, तर यति सफा, व्यवस्थित, सुरुचिपूर्ण र समर्पणयुक्त वातावरण अहिलेसम्म कतै देखिन।
त्यहाँ मैले सिकें-अतिथिको स्वागत कस्तो हुन्छ, नियम बनाउने मात्र होइन पालना गर्ने संस्कृति कस्तो हुन्छ, एउटा अफिस कसरी सभ्यतापूर्वक सञ्चालित हुन्छ। लाग्यो-कसैले केही गर्छु भन्ने मनोबल लिएर अघि बढे असम्भव भन्ने कुरा केही हुँदैन। प्रेरणा, स्रोत, सहयोग नभए पनि दृढ इच्छाशक्ति, अनुशासन, लगनशीलता र निरन्तरता भए पर्याप्त हुन्छ।
जब कक्षाकोठाहरू हेर्दै क्रमशः इसिडी हुँदै कक्षा ५ सम्म पुगियो, मनमा उत्साह, ईर्ष्या, कौतूहल र संवेदनाका विभिन्न तरङ्गहरू उठ्न थाले। बिहानको नित्यकर्म, सरस्वती वन्दना, प्राणायाम, पूजा, कक्षाकोठाको साजसज्जा, व्यवस्थापन, सिकाइ सामग्री, कक्षाव्यवस्था, शैक्षिक नियम, उल्लंघन शुल्क, सहायता खुत्रुक्कीसम्म-सबै यति सचेत, यति अनुशासित कि आफैं अचम्मित लाग्दथ्यो।
विशेष सिकाइ कोठा खुल्दा लाग्यो-"म त कुनै विश्वविद्यालयको भ्रमणमा छु।" मलाई लागिरहेको थियो-म कुनै म्युजियममा छुँ, जहाँ साना बालबालिकाको हातले सृजिएका सृजनाहरू छन्। त्यो दृश्य-पर्दा हेर्दै, फोटो खिच्दै, मनमनै "वा!" भन्दै अवलोकनकर्ताजस्तै भइसकेको रहेछु म।
त्यो घण्टा मेरो जीवनकै एउटा पाठशाला बन्यो। सच्चा अर्थमा सिकाइ के हो भन्ने यथार्थ बुझियो।
शिक्षा प्रणालीको कटु यथार्थ र बालसृजनाको सन्देश
आज विश्वविद्यालयहरूमा गएर विद्यार्थीहरूसँग संवाद गर्दा थोरै मात्र काम लाग्ने कुरा सुनिन्छ। करोडौं रुपैयाँ अध्ययन-अनुसन्धानमा खर्च हुन्छ, तर त्यसले न राज्यलाई, न जनतालाई, नत खुद अनुसन्धानकर्तालाई उत्तर दिन सक्छ-"सार के हो?" भनेर।
हाम्रो शिक्षामा, कृषि, स्वास्थ्य, रोजगारी, नीति, व्यवहार...सबैतिर अल्झन छ। हामीले सुधार किन गर्न सकिरहेका छैनौँ? राज्यदेखि नागरिकसम्म सबैको भूमिका के हुनुपर्थ्यो? कर्तव्य के हो? अधिकार कति प्रयोग गर्यौं?
उत्तर खोज्दा कागजी डिग्रीधारीहरूको बिल्ला मात्रै देखिन्छ। पार्टीगत पहुँच, विदेशी 'साँठगाँठ', गैरसरकारी आवरणभित्रको स्वार्थको खेल मात्र देखिन्छ। तर यस विद्यालयका ११-१२ वर्षमुनिका बालबालिकाको सृजनाले मलाई (र हामी सबैलाई) आफ्नै धरातल सम्झाइरहेको छ।
बालसृजनाबाट शिक्षा र चेतना
उदाहरणका लागि-"यदि भोकमरी आयो भने बाँच्ने उपाय के?" ती बालबालिकाले प्रकृति प्रदत्त फलफूल, जडिबुटी, पालुवाहरूको संकलन गरेर हस्तलिखित रूपमा अभिलेख राखेका छन्। खाद्यबालीहरू, जडिबुटी, फलफूल, घरेलु सामग्री (हलो, जुवो, कोदालो, ओखल आदि) सबै नमुना बनाएर संग्रहालयझैँ सजाएका छन्।
पढ्न, बुझ्न, प्रश्न गर्न, सिक्न सकिने हस्तलिखित पुस्तकहरू छन्। गाउँदेखि सिंहदरबारसम्मको संरचना, अधिकार, जिम्मेवारीको डेमो छ। सामाजिक विभेद, छुवाछुत, बालविवाह, कुलत, दुर्ब्यसनजस्ता कुरालाई अन्त्य गर्ने चेतनामूलक गतिविधिहरू छन्-जुन रमाइलो मात्र होइन, सिकाइको स्रोत बनेका छन्।
त्यहाँ आधुनिक प्रविधि पनि प्रयोगमा छन्। जुन कुरा मैले अहिलेसम्म विश्वविद्यालय वा कक्षा कोठामा पाएन।
अन्त्यमा...
म आज ३२ वर्षको भएँ। मैले ३२ वर्षसम्म नपाएको "शिक्षा" केही घण्टामै पाएँ। यो मेरो जीवनको अविस्मरणीय साँझ बन्यो। म कुनै औपचारिक कक्षामा थिएन, तर त्यो घण्टाभर मैले शिक्षा के हो भन्ने आत्मिक अनुभूति पाएँ।
त्यही कारणले आज त्यो विद्यालय नजिकैका दुई निजी विद्यालय बन्द भइसकेका छन्। त्यो सामुदायिक विद्यालयले न केवल अभिभावकको मन जित्यो, समग्र सामुदायिक शिक्षामा उत्कृष्ट उदाहरण प्रस्तुत गर्यो।
यदि यस्तै ढंगले सामुदायिक विद्यालयहरू सञ्चालित भए-शिक्षामा अभूतपूर्व परिवर्तन सम्भव छ।
अन्त्यमा, मलाई यस्तो प्रेरणादायी अनुभव दिनुभएकोमा विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

कसको निर्देशनमा चलेको हो यो बेथिति ?

उत्तर कोरिया - पर्दा पछाडिको दृश्य

कृत्रिम गर्भाशयको युगमा धार्मिक जन्म अवधारणाको पुनर्विचार

बन्धक विवेक र अन्धभक्तिको उत्सव

हृदयमा मायाको प्रतिबिम्ब, मुहारमा सूर्यको प्रकाश

सिन्डिकेटको पुनरागमन कि प्रविधिको प्रतिरोध?

भक्तिपन्थको राजनीतिक पुनर्जागरण: विवेकको लोप र झोलेगिरीको उत्कर्ष

प्रतिक्रिया