पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?

मानव शरीरका धेरै कामहरुको क्षमता र प्रकृति लिङ्गका आधारमा भिन्न हुन्छन्। तीमध्ये एक- मुटुको धड्कन दर पनि हो । मुटुको मुख्य काम शरीरमा अक्सिजनयुक्त रक्त प्रवाह गर्ने हो । सामान्यतः हामीलाई लाग्न सक्छ– सबैको मुटु एकै गतिमा धड्कन्छ होला। तर, वैज्ञानिक तथ्यहरुले देखाएअनुसार औसत रुपमा महिलाको मुटु पुरुषको भन्दा बढी गतिमा धड्कन्छ।
यसो हुनुका पछाडि जैविक, हार्मोनिक र शारीरिक संरचनासम्बन्धी कारणहरू छन्।
सर्वप्रथम, महिलाको मुटु पुरुषको तुलनामा सानो आकारको हुने गर्छ। यसले गर्दा प्रत्येक धड्कनमा मुटुले पम्प गर्न सक्ने रक्तपरिमाण पुरुषको भन्दा महिलामा थोरै कम हुन्छ। शरीरमा चाहिने कुल रक्त प्रवाह बराबर गर्नको लागि, सानो मुटुले बढी पटक धड्कनु पर्ने हुन्छ। यसैले आरामको अवस्थामा समेत महिलाको मुटुको धडकन दर औसतमा ७०-८० धडकन प्रति मिनेट हुने गर्छ, जबकि पुरुषको मुटु प्रायः ६०-७० को दरमा धड्कन्छ।
यो तथ्य अमेरिकन हार्ट एशोसिएसन लगायतका संस्थाहरूले प्रमाणित गरिसकेका छन्। सन् १९९९ मा जर्नल अफ एप्लाइड फिजियोलोजीमा प्रकाशित एक अध्ययनले पनि यही निष्कर्ष दिइएको थियो । त्यसमा उल्लेख भएअनुसार पर्याप्त मात्रामा रगत शरीरमा पठाउनका लागि महिलाहरूको मुटुको धड्कन पुरुषको तुलनामा केही बढी नै हुने गर्छ ।
त्यसो त यसरी महिलामा मुटुको धड्कन बढी हुनुमा शारीरिक बनावट मात्र होइन, हार्मोनको भूमिका पनि महत्त्वपूर्ण हुने गर्छ। महिलाको शरीरमा विद्यमान एस्ट्रोजेन हर्मोनले उनीहरूको स्वचालित स्नायुतन्त्र (autonomic nervous system) मा प्रभाव पार्छ। यसले विश्रामको अवस्थामा अङ्गहरुको सन्तुलन कायम गर्ने तन्त्रिका प्रणाली (parasympathetic tone) लाई कम गर्ने हुँदा हृदयको गति स्वाभाविक रूपमा केही बढ्ने गर्छ। विशेषगरी रजोनिवृत्तिको समय वा महिनावारी चक्रको केही चरणहरूमा यो प्रभाव अझ तीव्र रूपमा देखिन सक्छ।
उता, पुरुषमा टेस्टोस्टेरोन हर्मोनको प्रभावले यो तन्त्रिकाको गतिविधिलाई बढाइदिन्छ । त्यसको परिणामस्वरुप हृदयगतिलाई थोरै घटाउँछ।
त्यसबाहेक, महिलाहरूको आधारभूत मेटाबोलिक दर (Basal Metabolic Rate, BMR) पनि पुरुषभन्दा केही फरक देखिन्छ । यसले उनीहरुमा शरीरको ऊर्जा आवश्यकता बढाउँछ। हृदयले शरीरका अङ्गहरूमा तीव्रतापूर्वक अक्सिजनयुक्त रगत पुर्याउनुपर्ने भएकाले यसको गतिमा स्वाभाविक रूपमा केही वृद्धि हुन्छ।
यद्यपि, यो फरक स्वास्थ्यको दृष्टिकोणले सामान्य मानिन्छ। महिलाको उच्च हृदयगति कुनै रोगको संकेत होइन- यो त उनीहरूको जैविक संरचनाको स्वाभाविक हिस्सा हो। तर यदि धडकन अत्यधिक तीव्र छ (उदाहरणका लागि, १०० bpm भन्दा माथि निरन्तर भइरहन्छ) भने स्वास्थ्य परीक्षण गराउनु राम्रो हुन्छ । त्यसले मुटुको कुनै समस्या छ कि भन्ने कुरालाई पत्ता लगाउन सहयोग पुग्छ ।
निचोडमा भन्दा महिलाको मुटुको धडकन दर औसतमा पुरुषको भन्दा उच्च हुनु स्वभाविक शारीरिक क्रिया हो । यसो हुनुको कारणमा मुटुको आकार, एस्ट्रोजेन हर्मोनको प्रभाव, र शरीरको ऊर्जा आवश्यकताको भिन्नता जस्ता पक्षहरू जिम्मेवार छन्। यो भिन्नता सामान्य हो र स्वास्थ्यको दृष्टिले कुनै चिन्ताजनक अवस्था होइन । बरु यस कुराले महिला र पुरुषको शारीरिक बनावट तथा कार्यप्रणालीबीचको गहिरो जैविक सम्बन्ध र भिन्नतालाई समेत प्रस्ट पार्छ।

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

सरसफाइ मन पराउने ध्रुवीय भालु

‘रासायनिक बम’ हान्ने बोम्बार्ड बीटल !

मानव सभ्यताको इतिहासमा सबैभन्दा अशुभ धातु सुन

विश्वकै सबैभन्दा बढी सुन उत्पादन गर्ने क्षेत्र

प्रतिक्रिया