पछिल्ला १२ दिनको युद्धले सिकायो कि इरानले आणविक हतियार नबनाउनु मूर्खता थियो
इजरायल गहिरो संकटमा परेको छ: प्रोफेसर जोन मियरसाइमर

अहिले इजरायल सैन्य दृष्टिले पश्चिम एशिया क्षेत्रमै ठुलो दादागिरी गर्न सक्ने हैसियतमा छ। हामीले इजरायल र संयुक्त राज्य अमेरिकाबीचको गठबन्धनको महत्वलाई कम आँक्नु हुँदैन। यी दुई देश क्षेत्रभित्र एक ‘ट्याग टिम’ जस्तै रूपमा काम गर्छन्। यो कुरा इजरायलका लागि एकदमै शक्तिशाली आडभरोसा हो।
इजरायल निर्माण भएपछिको कालखण्ड हेर्दा इजरायलले सधैँ आफ्ना अरब छिमेकीहरूलाई तहस नहस पार्ने गहिरो इच्छा राख्दै आएको छ। एक डेढ वर्षयता सिरियामा जे भयो, त्यो नै इजरायलीहरूले इरानमा गर्न चाहन्छन्।
उनीहरू आफ्ना छिमेकीहरूलाई टुक्र्याउन चाहन्छन्, सम्भव भएमा पूर्ण रूपमा टुक्रा टुक्रा पार्न। जब इजरायलीहरू इरानमा 'शासन परिवर्तन' को कुरा गर्छन्, त्यसको अर्थ सत्ता परिवर्तन मात्र होइन। उनीहरू इरानलाई उसको संघीय संरचना अनुसार टुक्र्याउन चाहन्छन्।
इजरायल निर्माण भएपछिको कालखण्ड हेर्दा इजरायलले सधैँ आफ्ना अरब छिमेकीहरूलाई तहस नहस पार्ने गहिरो इच्छा राख्दै आएको छ।
उदाहरणका लागि, इजरायल लामो समयदेखि कुर्द राष्ट्र बनाउने चासोमा छ। इजरायललाई कुर्द स्वराज्य बनाउने कुरामा यति धेरै रुचि हुनुको कारण के हो भने, कुर्द राज्य बनाइँदा इराक, इरान, सिरिया र यहाँसम्म कि टर्की पनि टुक्रिन सक्नेछ। यो उनीहरूको दीर्घकालीन लक्ष्य हो – विभाजित गरेर विजय हासिल गर्ने (divide and conquer) नीति।
यो बुझ्न जरुरी छ कि इजरायल यस क्षेत्रमै सबैभन्दा शक्तिशाली राज्य बन्न चाहन्छन् । उनीहरूको विश्वासमा यस्तो हैसियत प्राप्त गर्न तीनवटा मुख्य उपाय छन्।
पहिलो – अमेरिका सँग मिलेर काम गर्नु।
दोस्रो – क्षेत्रमै उनीहरूसँग मात्र आणविक हतियार होस्।
तेस्रो – परम्परागत सैन्य शक्तिमा सबैभन्दा अगाडि रहनु।
र चौथो – आफ्ना प्रतिद्वन्द्वीहरूलाई टुक्र्याउनु वा अमेरिका माथि पूर्णत निर्भर रहने अवस्थामा पुर्याउनु ।
यो कुरा उनीहरूले जोर्डन र इजिप्टमा लागू गरिसकेका छन्। यी दुवै देशहरुले इजरायलका सन्दर्भमा निर्णय लिनु भनेको ठूलो आर्थिक जोखिम मोल्नु हो, किनकि उनीहरू अमेरिकी सहयोगमा निर्भर छन्। अमेरिका तिनीहरूलाई स्पष्ट सन्देश दिन्छ – इजरायलको विरोध गरे, तिमीहरूलाई आर्थिक रूपमा सजाय दिइनेछ।
यही रणनीति सिरिया, लेबनान, इरान, इराकजस्ता देशहरूका लागि पनि लागू हुन्छ। त्यहाँको मूल लक्ष्य भनेको ती देशहरूलाई ध्वस्त बनाउने, टुक्र्याउने र अस्थिर बनाउने हो। गहिराइमा पुगेर हेर्दा यही हो इरानमा “शासन परिवर्तन” को वास्तविक उद्देश्य !
तर इजरायलले इरान विरुद्ध सुरु गरेको आक्रमण अभियानको असर एकदमै उल्टो परेको छ। इरानको नेतृत्वमा कडा धारको शक्तिहरू बलियो भएका छन्। रिभोल्युसनरी गार्डले अझ मजबुत पकड बनाएका छन्। अयातोल्ला खोमेनी सार्वजनिक जीवनबाट लगभग हराउनु परेको छ – त्यसैले देश संचालन गर्ने स्पष्ट स्थितिमा उनी छैनन्।
इजरायलले इरान विरुद्ध सुरु गरेको आक्रमण अभियानको असर एकदमै उल्टो परेको छ। इरानको नेतृत्वमा कडा धारको शक्तिहरू बलियो भएका छन्।
सबै प्रमाणले इरानी जनता झन राष्ट्रिय झण्डा वरिपरि गोलबद्ध हुन थालेका देखाउँछ। यस्तो असर हामीले विगतमा धेरै पटक देखिसकेका छौँ – जब कुनै देशले अर्को देशमा शासन परिवर्तनका लागि हवाई बम आक्रमण गर्छ, त्यसले प्राय: "राष्ट्रको पक्षमा एकमत हुने" (rally around the flag) प्रभाव पार्छ।
इतिहास हेर्ने हो भने, हवाई आक्रमणमार्फत शासन परिवर्तन कहिल्यै सम्भव भएको छैन। त्यसैले इजरायली हवाई आक्रमणबाट इरानमा शासन परिवर्तन सम्भव हुन्छ भन्ने कुरा गम्भीर तर्क होइन।
गत १२ दिनको घटनाक्रम हेर्दा पनि यो कुरा स्पष्ट छ – इरानको शासन ढल्ने स्थिति आएको छैन। बरु त्यो १२ तारिखको अवस्थाभन्दा अझ बलियो बनेको छ ।
यो इजरायलको असफलता हो।
यस्तै कुरा लिबिया सन्दर्भमा पनि भयो। त्यहाँ जमिनमै युद्ध सुरु भइसकेको थियो। गद्दाफीविरुद्ध विद्रोह सुरु भइसकेको थियो। त्यसपछि मात्र बाह्य हवाई शक्तिले हस्तक्षेप गर्यो। यस्तो अवस्थामा मात्र सफल शासन परिवर्तन हुन सक्छ। तर जमिनमै विद्रोह छैन भने हवाई शक्तिमा मात्र भर परेर शासन परिवर्तन गर्ने कुरा असम्भव हो।
इराकको सन्दर्भमा पनि हेर्नुहोस् – हवाई आक्रमणबाट शासन परिवर्तन सम्भव भएको भए, चकित पार्ने र त्रास उत्पन्न गर्ने रणनीति (shock and awe) अभियानमै सफल भइसक्थ्यो। तर त्यो भएन। अमेरिका जमिनमै पसेर शासन उल्टाउन बाध्य भयो, त्यसपछि महिनौंसम्म नयाँ सत्ता खोज्दै हिँड्नुपर्यो।
अहिलेसम्म पनि उनीहरू सफल भएका छैनन्।
र, पछिल्लो १२ दिनको घटनाक्रमपछि, इरानी शासनले आन्तरिक असन्तुष्टिहरूलाई झन बलपूर्वक दमन गर्ने अवसर पाएको छ – र ती समूहहरूलाई अब सहजै आवाज उठाउन दिनेवाला छैन। तथापि, आगामी ६ महिनामा वा १२ महिनामा इरानमा कुनै विद्रोह हुँदैन भन्न सक्दिनँ। इरानभित्र के हुन्छ, त्यो समयसँगै खुल्ने कुरा हो।
अहिले इरानमा कुनै जनविद्रोहको प्रमाण छैन। साथै, त्यहाँ यस्तो अवस्था भविष्यमा पनि यथावत् रहोस् भन्ने गहिरो स्वार्थ राख्ने शासन छ । त्यसैले, त्यहाँ चाँडै शासन परिवर्तन हुन गइरहेको छ भन्ने मलाई लाग्दैन। तर प्रश्न उठ्छ–यदि साँच्चै शासन परिवर्तन भयो भने के हुन्छ? त्यसपछि के त्यस्तो सुखद अन्त्य हुनेछ?
कसैलाई लाग्न सक्छ– इरानमा नयाँ शासन आउनेछ र त्यसले भन्नेछ–“हामीलाई आणविक हतियार चाहिँदैन, हामी इजरायल वा अमेरिकालाई कुनै पनि प्रकारको समस्या दिन चाहँदैनौं, हामी इजरायलका निर्देशन अनुसार शान्तिपूर्ण व्यवहार गर्नेछौं ?”
तर त्यो कहिल्यै हुनेवाला छैन।
१९७९ मा इरानमा क्रान्ति हुँदा, त्यहाँका शाहलाई हटाइएको थियो। महत्त्वाकांक्षी आणविक कार्यक्रम लिएर अघि बढेका शाह आणविक हतियार बनाउन दृढ थिए। इरानको दृष्टिकोणबाट हेर्दा, आणविक हतियार राख्नु रणनीतिक रूपमा पूर्णतः तर्कसंगत देखिन्छ।
इजरायलका पूर्व प्रधानमन्त्री तथा रक्षामन्त्री एहुद बाराकले पनि एकपटक भनेका थिए कि इरानले आणविक हतियार बनाउन खोज्नुको कारणमा निकै ठूलो रणनीतिक बुद्धिमत्ता लुकेको छ। त्यो बयानलाई एकछिन सोचेर हेरौं– बाराक निकै बुद्धिमान व्यक्ति हुन् र उनको विश्लेषण ठीकै थियो। इरानका लागि आणविक हतियार राख्नु अत्यन्तै तर्कसम्मत निर्णय हो।
म इरानको राष्ट्रिय सुरक्षा सल्लाहकार भएको भए, इरानसँग आजको मितिमा आणविक हतियार हुनेथियो। पछिल्ला १२ दिनको युद्धले सिकायो कि इरानले आणविक हतियार नबनाउनु मूर्खता थियो।
मैले धेरैपटक सार्वजनिक रूपमा भनिसकेको छु–म इरानको राष्ट्रिय सुरक्षा सल्लाहकार भएको भए, इरानसँग आजको मितिमा आणविक हतियार हुनेथियो। पछिल्ला १२ दिनले सिकायो कि इरानले आणविक हतियार नबनाउनु मूर्खता थियो। अहिलेको पाठ भनेको यही हो–आणविक हतियार बनाउनुहोस्। यदि तपाईंको साथमा त्यो हतियार हुन्थ्यो भने, इजरायली वा अमेरिकीहरूले तपाईंमाथि हमला गर्ने आँट गर्दैनथे।
अनि, तपाईंलाई भन्नैपर्छ, यदि शाहका छोरा फेरि सत्तामा फर्किए भने पनि, थुप्रै पैसा राखेर बाजी लगाउन सक्छु कि केही समयपछि उनी पनि आणविक हतियार बनाउनमा गम्भीर हुनेछन्। किनभने रणनीतिक दृष्टिले त्यो अत्यन्तै उपयुक्त निर्णय हुनेछ।
इजरायलभित्रका अधिकांश मानिसहरू (चाहे उनीहरूको विश्लेषण सही होस् या गलत) यो निष्कर्षमा पुगेका छन् कि उनीहरू स्थायी आपतकालीन अवस्थामै बाँचेका छन्। छिमेकीहरू र प्यालेस्टिनीहरूको तर्फबाट आउने युद्धको खतरा तत्काल हट्नेवाला छैन।
तर, इजरायलभित्र त्यो खतरा कसरी सामना गर्ने भन्ने विषयमा गम्भीर मतभेदहरू छन्। अहिले गाजामा युद्धविरामको विषयमा ती मतभेद स्पष्ट देखिन्छन्। थुप्रै मानिसहरू इजरायलले युद्धविराम स्वीकार गर्नुपर्छ भन्ने पक्षमा छन् । तर प्रधानमन्त्री नेतान्याहू अहिलेसम्म त्यसको विरोधमा छन्।
हामीले बुझ्नैपर्ने कुरा के हो भने, इजरायलको आन्तरिक स्थिति र उसले बाहिरी संसारसँग कसरी व्यवहार गर्छ भन्ने कुरा अलग–अलग हुन्।
गाजाको विषयमा पनि स्थिति यस्तै छ। इजरायलमा केन्द्रमा पर्ने धेरैजसो मानिसहरू चाहँदैनन् कि इजरायल गाजामा नै बसिरहोस्। उनीहरू भन्छन्– गाजा त बाघको गुफा हो, त्यसबाट बाहिर निस्कनु बेस हुन्छ। तर अर्कोपट्टि, दाहिने ध्रुवका मान्छेहरू छन् जो चाहन्छन् गाजाका सबै प्यालेस्टिनीहरूलाई मारिदिऊन्, जातीय रूपमा सफा पारिदिऊन् र त्यहाँ यहूदी बस्ती बनाइदिऊन्। उनीहरूलाई लाग्छ–गाजा पनि पवित्र भूमिकै हिस्सा हो।
हामीले बुझ्नैपर्ने कुरा के हो भने, इजरायलको आन्तरिक स्थिति र उसले बाहिरी संसारसँग कसरी व्यवहार गर्छ भन्ने कुरा अलग–अलग हुन्।
मैले लामो समयदेखि जिकिर गर्दै आएको छु– इजरायल एक जातीय भेदभावपूर्ण (apartheid) राज्य हो। यस्ता राज्य चलाउनका लागि, तपाईंले प्यालेस्टिनीहरूलाई "अमानव" बनाउनु पर्छ अर्थात् मान्छेभन्दा तल्लो स्तरमा राख्नु पर्छ। तिनीहरू जनावरजस्तै व्यवहार गरिन्छन्। यस्ता समाजमा तपाईंले ती दोस्रो या तेस्रो दर्जाका मानिसहरूलाई अत्यन्तै क्रूर तरिकाले दमन गर्नुहुन्छ। यो अवस्था इजरायलमा धेरै समयदेखि चलिरहेको छ।
इजरायल एक जातीय भेदभावपूर्ण (apartheid) राज्य हो। यस्ता राज्य चलाउनका लागि, तपाईंले प्यालेस्टिनीहरूलाई "अमानव" बनाउनु पर्छ अर्थात् मान्छेभन्दा तल्लो स्तरमा राख्नु पर्छ।
इजरायलीहरूले वर्षौंदेखि प्यालेस्टिनी बन्दीहरूलाई यातना दिँदै आएका छन्, भयानक कामहरू गर्दै आएका छन्। अक्टोबर ७ मा जुन घटना भयो, त्यो त यी सबै अमानवीय व्यवहारहरूको एक कठोर उत्कर्ष थियो। अहिले त झन् ती व्यवहारहरू अझै हद नाघेर अगाडि बढेका छन्। प्यालेस्टिनीहरूलाई अत्यन्तै नृशंस तरिकाले व्यवहार गरिँदैछ।
र, पश्चिमका अधिकांश मानिसहरूलाई त विश्वास नै लाग्दैन कि इजरायलीहरू यस्तो गर्दैछन्। किनभने यो सब कुरा एक उदार लोकतन्त्रबाट अपेक्षा गरिने व्यवहारसँग एकदमै मेल खाँदैन।
तर तपाईं इजरायलीहरूले आफैंले यो विषयमा कसरी सोच्छन् भनेर हेर्नुहुन्छ भने, त्यो निकै अचम्मको कुरा देखिन्छ। किनभने यस्ता क्रियाकलापहरूलाई समर्थन गर्नेहरूको संख्या त्यहाँ अत्यधिक छ। हालै इजरायलको च्यानल १२ ले एउटा सर्वेक्षण गर्यो– त्यसमा इजरायलीहरूसँग सोधिएको थियो: के एउटा इजरायलीले आतङ्ककारीलाई बलात्कार गर्नु ठीक हो?
सोधिएको प्रश्नको जवाफमा ४७ प्रतिशत इजरायलीहरूले भने, "हो, ठीक हो।" र ४२ प्रतिशतले भने, "होइन, ठीक होइन।" अब, यसले इजरायली समाजको मनोविज्ञानबारे के भन्छ? यो भयावह छ। तर यही हो, तपाईंले जस्तो समाजसँग व्यवहार गरिरहनुभएको छ।
त्यही सन्दर्भमा, इजरायली मानवअधिकार संगठन ‘बेत्सेलेम’ ले एउटा नयाँ प्रतिवेदन प्रकाशित गरेको छ– शीर्षक छ Welcome to Hell (नरकमा स्वागत छ)। यस प्रतिवेदनमा ७ अक्टोबर यताको इजरायली जेलहरूमा प्यालेस्टिनीहरूमाथि भइरहेका दुर्व्यवहारहरू विस्तारपूर्वक वर्णन गरिएका छन्।
हामीले उनीहरूलाई (इजरायललाई) आलोचना गर्यौं भने पनि, त्यो आलोचना धेरै अस्पष्ट भाषामा हुन्छ। किनभने हामी कहिल्यै स्पष्ट रुपमा कठोर हुन चाहँदैनौं।
त्यो प्रतिवेदन स्पष्ट गर्छ– ७ अक्टोबरपछि भएका घटनाहरू पहिलेको भन्दा धेरै तीव्र र हिंसात्मक रूपमा भएका हुन्। तर त्यसले यो पनि सम्झाउँछ कि ७ अक्टोबरभन्दा पहिलादेखि नै ती कैदीहरू अत्यन्तै क्रूर व्यवहारको शिकार भइरहेका थिए।
र, हामीले उनीहरूलाई (इजरायललाई) आलोचना गर्यौं भने पनि, त्यो आलोचना धेरै अस्पष्ट भाषामा हुन्छ। किनभने हामी कहिल्यै स्पष्ट रुपमा कठोर हुन चाहँदैनौं। यही हो, यो प्रणाली कसरी काम गर्छ भन्ने।
सत्य के हो भने, इजरायलीहरूले, विशेष गरेर जब कुरा प्यालेस्टिनीहरूको हुन्छ, लगभग जे चाह्यो त्यही गर्न सक्छन्। यदि तपाईं इजरायल र चीनबीचको सम्बन्धको कुरा गर्दै हुनुहुन्छ भने, अर्थात् क्षेत्रीय सन्दर्भबाहिरको विषय हो भने, अमेरिकासँग केही हदसम्म दबाब प्रयोग गर्ने विकल्प हुन्छ।
तर तपाईं इजरायल र प्यालेस्टिनीबीचको सन्दर्भमा कुरा गर्दै हुनुहुन्छ भने, त्यो भने इजरायलको हातमा नै हुन्छ। इजरायल त्यहाँ जे गर्न चाहन्छ, लगभग त्यही गर्न सक्छ।
अब इरानको कुरा गर्दा, इजरायलले कसरी आफ्नो बाह्य वातावरणसँग व्यवहार गर्छ भन्ने बुझ्न सन्दर्भ उपयोगी हुन्छ। यहाँ प्रस्ट देखिन्छ–संयुक्त राज्य अमेरिका इरानसँग युद्धमा जान चाहँदैन। तर त्यस्तो अवस्था भइसकेको छ जहाँ इजरायलीहरूले जानाजान यस्ता सैन्य कदम चाले, जसले अमेरिकालाई इरानसँगको युद्धमा तान्ने उद्देश्य राख्थ्यो।
दुई पटक यस्तो भयो। पहिलोपटक अप्रिल १ मा–जब इजरायलले दमास्कसस्थित इरानी दूतावासमाथि आक्रमण गर्यो। दोस्रोपटक जुलाई ३१ मा–जब तेहरानमा इस्माइल हानियालाई निशाना बनाइयो। यी दुवै घटनामा अमेरिकाले इजरायललाई रोकिन भन्न असफल रह्यो, र ती आक्रमणपछि पनि हामीले इजरायलको आलोचना गरेनौं।
यो हाम्रो सामान्य व्यवहार जस्तै भएको हो। हामी जान्दथ्यौं कि यस्ता कारबाहीपछि गम्भीर प्रतिक्रिया आउँछ, र अहिले पनि उनीहरू (इरान र तिनीहरूको गठबन्धन) पूर्ण प्रतिघात गर्ने बताएका छन्। मलाई लाग्छ, उनीहरूले जे भनेका छन्, त्यो गर्नेछन्।
त्यसो त, उनीहरूले आफ्नो निर्णय परिवर्तन गर्न सक्ने सम्भावना सधैं रहन्छ। अमेरिका पनि उनीहरूलाई आक्रमण सीमित बनाउन निकै गम्भीर प्रयास गर्दैछ। हुन सक्छ, इजरायलले अहिले आक्रमण सीमित राख्नका लागि केही उचित कारणहरू फेला पारेको होस्। ती कारणहरू के–के हुन्, मलाई थाहा छैन। तर उनीहरूले सार्वजनिक रूपमा भनेका छन्– अब त इजरायलमाथि पूरै शक्ति लगाएर आक्रमण गर्नेछौं।
र मलाई लाग्छ, त्यो सम्भावित छ। साथै, यो पनि सम्झनुपर्छ– इरान मात्र होइन, इजरायललाई आक्रमण गर्ने तयारी गरिरहेको एक्लो शक्ति होइन। हिजबुल्लाह पनि इजरायलमाथि हमला गर्ने वाचा गरिसकेको छ।
र त्यससँगै, तपाईंले सम्झनुपर्ने कुरा के हो भने– त्यहाँ दुईवटा हत्या पनि भएका थिए। त्यो पनि सन्देश दिनकै लागि।
यहूदीहरूले जुलाई ३० मा दक्षिण बेरुतमा एक हिज्बुल्लाह नेताको हत्या गरे। त्यसको भोलिपल्ट, जुलाई ३१ मा, उनीहरूले ट्रानमा इस्माइल हनियाको हत्या गरे। अनि फेरि, अगस्त १ मा उनीहरूले घोषणा गरे कि मुहम्मद, जसको हत्या गरेको दाबी उनीहरूले जुलाई १३ मा गरेका थिए, वास्तवमै मारिएको पुष्टि भयो।
इजरायलीहरूले अहिले जुन रणनीति अपनाइरहेका छन्, त्यो decapitation strategy हो–अर्थात् विपक्षी संगठनहरूका शीर्ष नेतृत्वहरूलाई निशाना बनाएर हत्या गर्ने रणनीति।
तपाईंले ध्यान दिएर हेर्नुभयो भने, उनीहरूले जुलाई ३० मा दक्षिण बेरुतमा एक नेताको हत्या गरे, जुलाई ३१ मा ट्रानमा अर्को नेताको हत्या गरे, अनि अगस्त १ मा पुरानो हत्या सफल भएको औपचारिक घोषणा गरे।
इजरायलीहरूले अहिले जुन रणनीति अपनाइरहेका छन्, त्यो decapitation strategy हो–अर्थात् विपक्षी संगठनहरूका शीर्ष नेतृत्वहरूलाई निशाना बनाएर हत्या गर्ने रणनीति। उनीहरू विश्वास गर्छन् कि यस्ता हत्या र नेतृत्व परिवर्तनले उनीहरूको पक्षमा केही ठोस सैनिक सफलता ल्याउँछ।
तर यो सोच भ्रमपूर्ण छ। Decapitation strategy मा आधारित धेरै अध्ययनहरू छन् जसले देखाउँछ कि एउटा नेताको हत्या गरेपछि अर्को नेता तुरुन्तै आइसक्छ। अनि त्यो नयाँ नेता इजरायलसँग शान्ति गर्न तयार हुन्छ भन्ने सोच त गम्भीर बहसकै विषय पनि होइन।
क्षेत्रका अधिकांश देशहरूमा इजरायलप्रति जनतामा गहिरो आक्रोश भए पनि शीर्ष नेतृत्व तटस्थ, वा कतिपय अवस्थामा, समर्थनकै भावनामा हुन्छ। यी देशका शासकहरू जनताको रिसलाई दबाएर आफू सत्ताबाट नहट्ने रणनीति अपनाइरहेका छन्।
तर उनीहरूले यो रणनीति किन अपनाइरहेका छन्? किनकि उनीहरूसँग अर्को विकल्प छैन। गाजा होस् वा हिज्बुल्लाह, इरान, हमास–सबैसँगको समस्याबाट बाहिर निस्कने मार्ग उनीहरूसँग छैन।
यहाँ यो कुरा बुझ्न जरूरी छ कि क्षेत्रका अधिकांश देशहरूमा (उदाहरणका लागि इजिप्ट र जोर्डनमा) इजरायलप्रति जनतामा गहिरो आक्रोश भए पनि शीर्ष नेतृत्व तटस्थ, वा कतिपय अवस्थामा, समर्थनकै भावनामा हुन्छ। यी देशका शासकहरू जनताको रिसलाई दबाएर आफू सत्ताबाट नहट्ने रणनीति अपनाइरहेका छन्।
तर टर्की अपवाद हो। त्यहाँका शासक– राष्ट्रपति एर्दोआन र उनका विदेशमन्त्री समेत जनता जति नै या त्यो भन्दा बढी इजरायलका गतिविधिबाट आक्रोशित छन्। खासगरी गाजाका घटनापछि उनीहरूको अमेरिकाविरोधी भावना पनि निकै तीव्र छ ।यो कुरा पनि बिर्सनु हुँदैन कि अहिले टर्कीमा अमेरिकाविरोधी भावना अत्यधिक स्तरमा पुगेको छ।
यस अवस्थामा खब के-के सम्भावित संकटहरू बढ्न सक्छन् भनेर कल्पना गर्न गाह्रो छैन। तर समस्या के हो भने, कसैले पनि ठ्याक्कै भन्न सक्दैन कि इरानले के गर्नेछ, हिज्बुल्लाह के गर्नेछ।
मानौं इरान र हिज्बुल्लाह दुबैले इजरायलमाथि आक्रमण गरे। तर ती आक्रमणहरू धेरै ठूलो नभई सीमित प्रकृतिका भए भने–त्यस अवस्थामा इजरायलको प्रतिक्रिया कस्तो होला?
संभावना धेरै छ कि इजरायलले आफ्नो प्रतिक्रियालाई सीमित राख्नेछैन। इजरायलले escalation dominance–अर्थात् आक्रमण र प्रतिआक्रमणको प्रत्येक चरणमा आफैंले नियन्त्रण कायम राख्न–सधैं प्राथमिकता दिएको छ। उनीहरू विश्वास गर्छन् कि यस्तो हावी रणनीतिले नै विपक्षीलाई डराउँछ।
त्यसैले, यदि इरान वा लेबननबाट आएका आक्रमणहरू सीमित भए पनि, इजरायलले ठूलो र कठोर प्रतिक्रिया दिने सम्भावना उच्च छ। अनि त्यसपछि फेरि प्रश्न उठ्छ: हिज्बुल्लाहले के गर्नेछ? इरान के गर्नेछ? टर्कीको प्रतिक्रिया के हुनेछ? रूसले के गर्नेछ?
यी सबै प्रश्न खुला छन्। किनभने, साँचो भन्नुपर्दा, कोही ठोकुवा गर्न सक्दैन कि अब के हुन्छ र यो सबै अन्ततः कहाँ पुग्छ।
चीनको प्रत्यक्ष संलग्नता अपेक्षा गर्न सकिँदैन होला। तर रूस भने पहिले नै संलग्न भइसकेको छ– जसरी भनिएको छ, उनीहरूले इरानलाई थलमा प्रयोग हुने वायु प्रतिरक्षा प्रणाली, राडार, र इलेक्ट्रोनिक जामिङ उपकरण दिइरहेका छन्।
तर यति उपकरणहरू इरानलाई ढिलो चरणमा प्राप्त भइरहेको हुँदा के यी उपकरणहरू चलाउन रूसीहरूले नै सहायतामा खटिनुपर्ने हो? यो निश्चित त छैन, तर यस्तो भए अचम्म मान्नुपर्ने केही छैन।
अमेरिकाले अप्रिल १४ मा इरानले आक्रमण गर्दा इजरायललाई सहयोग गरेका थियौं, र भविष्यमा पनि सहयोग गर्ने अपेक्षा छ। ठीक त्यसैगरी, रुस इरानलाई सहयोग गर्दैछ। यस्तै गरेर हामीले चीन, रुस, इरान र उत्तर कोरियालाई अझ नजिक ल्याउँदैछौं– एक किसिमको axis of resistance गठन गर्दै।
र यसको अन्त्य कतै देखिँदैन। यो स्थितिलाई निरन्तरता दिनु अमेरिका वा पश्चिमी विश्वको हितमा होइन।
मैले पहिले पनि भनेको छु, यदि इजरायलले इरानमाथि ठुलो हमला गर्यो भने, त्यसले इरानलाई आणविक हतियार विकास गर्न अझ शक्तिशाली प्रेरणा दिनेछ। इरान अहिले नै आणविक हतियार बनाउने नजिक छ। हामीले–र इजरायलले–गरेको हरेक कामले त्यसको सम्भावना झनै बढाइरहेको छ।
अब प्रश्न उठ्छ–के रूसले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न सघाउनेछ? धेरै पैसा राखेर त्यसमा शर्त लगाउन सकिंदैन।
हामी अहिले साउदी अरबले पाकिस्तानबाट आणविक हतियार लिन सक्ने सम्भावनाबाट पनि डराइरहेका छौं।
हामीलाई विश्वास छ कि साउदी अरेबियाले पाकिस्तानलाई आणविक बम विकास गर्न आर्थिक सहयोग दिएको थियो। र त्यसको बदलामा, यदि साउदी अरेबियालाई कहिल्यै आणविक हतियार आवश्यक परे, भने चीनले ती हतियार साउदी अरेबियालाई दिनेछ भन्ने बुझाइ छ।
साउदी अरेबियाले पहिले नै स्पष्ट रूपमा भनेको छ–यदि इरानले आणविक हतियार बनायो भने, उनीहरूले पनि त्यस्ता हतियार बनाउनेछन्। यही सन्दर्भमा पाकिस्तानसँगको सम्बन्ध महत्त्वपूर्ण बन्छ।
हामी यसो भन्छौं भन्दैमा पाकिस्तानले साउदीलाई सीधै आणविक हतियार दिनेछ भन्ने निश्चित छैन। तर इरानको कुरा गर्दा, उनीहरूसँग निकै उन्नत आणविक पूर्वाधार (infrastructure) छ। उनीहरू हाल ६० प्रतिशतसम्म युरेनियम समृद्ध गर्दैछन्।
६० प्रतिशतदेखि ९० प्रतिशतसम्म (weapons-grade uranium) समृद्ध गर्नु त्यति ठूलो फड्को होइन। अनि एकचोटि ९० प्रतिशत स्तरमा पुगेपछि, उनीहरूसँग पर्याप्त युरेनियम हुनेछ कम्तिमा एउटा, सायद दुई वा तीन बम बनाउनका लागि। र यो प्रक्रिया लामो समय लाग्ने पनि होइन।
चाहे अमेरिकाले होस् वा इजरायलले यो रोक्न अत्यन्त कठिन हुनेछ।
त्यसैले हामी जे गर्दैछौं, त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ–इरानलाई आणविक हतियार बनाउन उक्साउने प्रेरणा नदिनु। उनीहरूलाई nuclear threshold पार गरेर nuclear weapons state बन्ने अवस्थामा नपुर्याउनु।
र त्यसको सबैभन्दा राम्रो तरिका के हो भने–उनीहरूमाथि सैन्य आक्रमण नगर्नु। किनभने जब तपाईं कुनै राष्ट्रमाथि आक्रमण गर्नुहुन्छ, तब तपाईं त्यस राष्ट्रलाई ultimate deterrent–अर्थात् आणविक हतियार–प्राप्त गर्ने अत्यन्त शक्तिशाली कारण दिनुहुन्छ।
जसले गर्दा म भन्न खोजिरहेको कुरा सरल छ–अहिले यो जस्तो घटनाक्रम अगाडि बढिरहेको छ, त्यसले इरानले आणविक हतियार बनाउने कि नबनाउने भन्ने निर्णयमा गम्भीर प्रभाव पार्न सक्छ। त्यसकारण सबैले यस कुरालाई मननमा राख्नुपर्छ ।
Ture Divine Wisdom बाट अनुदित . Image: https://www.theamericanconservative.com

विद्यादेवी भण्डारीको पुनरागमनः पदको विखण्डन र पुस्तान्तरण

पश्चिम एशियामा अमेरिकी उपस्थिति: विश्व शान्तिको पहरेदारी कि साम्राज्यवादको स्वा…

इरानको सम्भावित जवाफ: स्ट्रेट अफ हर्मुज नाकाबन्दी र परमाणु बमको परीक्षण?

मध्यपूर्वको सङ्कटमा युद्ध र शान्ति : एक विश्वपरक दृष्टिकोण

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

प्रतिक्रिया