प्रेम त सञ्जीवनी बुटी हो

देहालय प्रेमालय हुने भए
नगरबधु आम्रपाली
प्रेमको खोजीमा
भिक्षुणी किन हुँदी हो प्रियमबधा ?
कहिल्यै आम्रपाली उभिएको धर्तीमा
आफू उभिएको कल्पना गर त
स्त्री हुन कति गाह्रो छ है, प्रियमबधा !
स्त्री आगो हुन कति गाह्रो छ है प्रियमबधा !
देहालय प्रेमालय हुने भए
आम्रपालीको उपनाम
नगरबधु किन हुँदो हो प्रियमबधा ?
कहिल्यै आम्रपाली उभिएको धर्तीमा
आफू उभिएको कल्पना गर त !
स्त्री हुन कति गाह्रो छ है प्रियमबधा !
स्त्री आगो हुन कति गाह्रो छ है प्रियमबधा !
सती हुँदै, अग्नीपरीक्षा दिदै
चिरहरण चिर्दै
स्त्रीलाई आगो हुन कति गाह्रो छ है , प्रियमबधा !
स्त्रीलाई सुनाखरी हुन कति गाह्रो छ है प्रियमबधा !
प्रियमबधा !
कहिल्यै आगोलाई सोधी हेर त
स्त्रीलाई आगोफूल हुन कति गाह्रो छ है !
प्रियमबधा !
कहिल्यै सुनाखरीलाई सोधी हेर त
स्त्रीलाई सुनाखरी भई फुल्न कति गाह्रो छ है !
म एक्लै एक्लै धुम्म आकाश हेर्दै
सखी प्रियमबधासँग
एक्लै एकलाप गरिरहेकी थिए
यत्तिकैमा मेरो छोराले
म समीप आएर सोध्यो
आमा प्रेमको उदगम के हो भनेर?
मैले मेरो छोरालाई
शितलहर निल्दै गरेको
अदृश्य सुर्जा देखाएर भने-
एकलाखमा एकजना स्त्रीसँग योनी हुँदैन
योनीहिन स्त्रीसित
प्रेम हुनु
सहचर हुनु
प्रेमको उदगम हो छोरा ।
के तिमी योनीहिन स्त्रीसित
प्रेम गर्न सक्छौ छोरा ?
मेरो छोराले शितलहर हेरेर भन्यो
सक्छु नि आमा!
किन नसक्नु ?
प्रेम त सञ्जीवनी बूटी हो
म योनीहीन स्त्रीलाई प्रेम गर्न सक्छु आमा
मैले मेरो छोरालाई नियालेर हेरें
उसले मेरो शिरमा हात राखेर बाचा गर्यो-
आमा !
योनीहीन स्त्रीका लागि
मभित्र प्रेमको उदगम भए छ भने
म उनलाई प्रेम गर्ने छु
म उनलाई विवाहको लागि प्रस्ताव गर्नेछु
म उनको अनुमतिमा उनको सहचर हुनेछु ।
प्रेम त कस्तुरी नाभी हो
म योनीहीन स्त्रीलाई प्रेम गर्ने छु आमा ।
मैले मेरो छोरोलाई विश्वासको आँखाले हेरेर भनी
तिमीले प्रेम गरिरहेकी स्त्री
योनीहीन स्त्री हुन्
त्यहाँदेखि मेरो प्रोफेसर छोरो
योनीहीन स्त्री हिँडेको बाटोमा हिँडन छोडेको छ ?
र त म गमिरहेकी छु
दर्शन छाँटनु र प्रेम हुनुमा
आकाश र जमिनको फरक रहेछ !
र त म गमिरहेकी छु
प्रेम योनीमा हुन्छ कि मुटुमा हुन्छ?
प्रेम छातीमा हुन्छ कि छ्हारीमा हुन्छ?
प्रेम मोतीमा हुन्छ कि सीपीमा हुन्छ ?
र त म गमिरहेकी छु
राधासँग स्त्री अंग नभए
के कृष्णप्रेम जन्मने थिएन ?
झुमासँग स्त्री अंग नभए
के वीरुप्रेम जन्मने थिएन ?
लैलासँग स्त्री अंग नभए
के मजनु प्रेम जन्मने थिएन ?
भनिन्छ,
यी प्रेमहरुमा देहको सम्बन्ध थिएन।
र त म गमिरहेकी छु
एउटा विशाल पिँजडामा
मार्चपास गरिरहेको मानव समाज
यसको मनोविज्ञान के होला ?
नोट - आम्रपाली बुद्धकालीन स्त्री हुन्।त्यतिबेलाको गणराज्य बज्जी संघको संसद भवनले आम्रपाली, शोडषा सुन्दरी हुन् भन्दै बलात नगरबधु घोषणा गरेको थियो । ताकि धन्नासेठहरुले आलोपालो आम्रपालीको देहलाई गिजोल्न पाउन् अर्थात बलात्कार गर्न पाउन्।
सुर्जा- सुदुर पश्चिम र कर्णालीतिर कयौं स्त्रीहरुको नाम सुर्जा हुन्छ। सायद लालपुर्जाको लाहाछाप नहुनु अघि सूर्यलाई मानव समाजले स्त्रीकरण गरेको थियो। हुन पनि सूर्य स्त्री जस्तै देखिन्छ-
सूर्य स्त्री जस्तै देखिन्छ
उषा रजस्वला जस्तो
सूर्योदय गर्भिणीजस्तो
मध्याह्न प्रसवपीडा जस्तो
साझ प्रसवपीडा भोगेकी स्त्रीले आराम गरिरहेको जस्तो।
प्रतिक्रिया