नेतृत्व हस्तान्तरण मै समस्या, छैन पुस्तान्तरणको सम्भावना !

नेपालले नयाँ युगको थालनी गर्नुपर्ने हो भने त्यो शेरबहादुर, ओली र प्रचण्ड युगको समाप्तिबाट मात्र सम्भव छ। यी अनुहारहरू राजनीति होइन, शोषणको संरचना बनेका छन्। जबसम्म तिनको प्रभुत्व अन्त्य हुँदैन, न दल बदलिन्छ, न देशको दिशा।

असार १३ गते चितवनमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा भने, “म रिटायर्ड हुन लाग्या छु।” यही भनाइमार्फत उनले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने संकेत गरे। तीन कार्यकालसम्म पार्टीको शिखरमा रहेका देउवाले पदत्यागको इच्छा प्रकट गरेपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको ढोका खुलेको अनुमान गरिएको छ। यद्यपि, देउवाको बोली र व्यवहारमा मेल कति छ भन्ने प्रश्न बाँकी नै छ। तर कम्तिमा, उनको भनाइले कांग्रेसभित्र नेतृत्वको बहसलाई औपचारिक रूपमा थालनी गर्ने अवसर दिएको छ।

विपरीत दृश्य एमाले र माओवादी केन्द्रमा देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १४ गते एक कार्यक्रममा, आफूविरुद्ध सम्भावित दावेदार विद्यादेवी भण्डारीको उपस्थितिमा नै व्यङ्ग्य गर्दै दावी खारेज गरे। ‘बम पड्किन्छ भन्ने सपना नदेख’, भन्दै उनले आफ्नो कुनै उत्तराधिकारीको सम्भावना नै अस्वीकार गरे। उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त अबको दुई कार्यकालपछिमात्र नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरे। उनले अझै “५-७ वर्ष म मर्न हुन्न” भन्दै आफ्नो इरादा स्पष्ट पारे।

यी अभिव्यक्तिहरूले पुष्टि गर्छन् कि नेपालका प्रमुख तीन दलहरू: नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र नेतृत्व हस्तान्तरणको मामिलामा गम्भीर संकटको चपेटामा परेका छन्। तीनवटै दल आफूलाई ऐतिहासिक, वैचारिक, र संगठनात्मक रूपमा बलियो भन्ने गर्व गर्छन् तर, नेतृत्व परम्परालाई लोकतान्त्रिक मूल्यमा आधारित बनाउने विषयमा गम्भीर रुपमा चुकेको देखिन्छ। ‘जनताको पार्टी’ भन्दै गर्जिने माओवादी केन्द्र र एमालेभित्र व्यक्तिगत स्वार्थ, सत्ता मोह र अधिनायकवादी सोचले गहिरो जरा गाडेको स्पष्ट देखिन्छ।

कांग्रेसबारे कम्युनिष्ट नेताहरूले विगतमा “विचारविहीन भिडको पार्टी”, “पुरातनपन्थी संस्था”,  र “शेरबहादुर देउवाको निजी कम्पनी” जस्ता आरोप लगाउँदै आएका थिए। तर, अहिले आएर कांग्रेस नेतृत्व हस्तान्तरणको बहस सतही रूपमा भए पनि अघि बढाउने अवस्थामा पुगेको छ भने, ‘प्रगतिशील’ र ‘जनवादी’ दावी गर्ने एमाले र माओवादी केन्द्र नेतृत्वलाई निजी सम्पत्तिको रूपमा जोगाउन लागिपरेका छन्।

यसैले, नेतृत्वको पुस्तान्तरण अब विकल्प नभएर ऐतिहासिक आवश्यकता बनेको छ। लोकतन्त्रको मुटु भनेको नेतृत्वको नियमित र संस्थागत हस्तान्तरण हो। यसले मात्र संस्थाभित्र ऊर्जा, वैचारिक नवीकरण, र उत्तरदायित्वको परिपक्वता ल्याउन सक्छ। तर नेपालको सन्दर्भमा यो अभ्यासजस्तो लाग्ने कुरो अपवादमा परिणत भइरहेको छ। आज पनि कांग्रेसका देउवा, एमालेका ओली र माओवादीका प्रचण्ड गरी यी तीन नेताहरू तीन दशकदेखि केन्द्रीय राजनीतिमा सक्रिय छन्। उनीहरू अझै पनि आफूलाई ‘अपरिहार्य’ ठान्छन् । यो भ्रान्तिपूर्ण सोच राजनीतिक अनैतिकताको नमूना हो।

तथापि, राजनीतिक दृश्यमा एक रोचक विडम्बना देखिएको छ जहाँ सधैँ यथास्थितिवादी भनेर आलोचना खेप्ने कांग्रेसले नेतृत्व हस्तान्तरणतर्फ केही संकेत देखाएको छ भने, परिवर्तन र प्रगतिशीलताको नारा घन्काउने एमाले र माओवादी पूर्ण अधिनायकवादी प्रवृत्तिमा लिप्त छन्। त्यसैले जनताको नाममा राजनीति गर्नेहरू नै जनताको अधिकारबाट डराउन थाल्नु विडम्बनापूर्ण मात्र होइन, चिन्ताजनक अवस्था पनि हो।

शेर बहादुरको सन्देश

नेपाली कांग्रेस, जसलाई विगतमा “गुटगत स्वार्थमा जकडिएको”, “नेतामुखी दल”, र “विचारहीन भिडको नेतृत्व” भनेर आलोचना गरिँदै आएको थियो, आज त्यो दलभित्र नेतृत्व हस्तान्तरणको आवाज पहिलोपटक स्पष्ट र सबल रूपमा उठ्न थालेको छ। पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा अबको महाधिवेशनपछि आफू नेतृत्वमा नआउने घोषणा गर्नु स्वयंमा ठूलो राजनीतिक संकेत हो। देउवाको उपस्थितिमा आयोजित कार्यक्रममा शशांक कोइराला, विमलेन्द्र निधि आदिलाई सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गर्दै नेतृत्व परिवर्तनको विषयमा खुलेर बहस थालिनु, नेपाली राजनीतिमा अपवाद मान्न सकिने घटना हो।

कांग्रेसभित्र गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रकाशशरण महतजस्ता नयाँ पुस्ताका नेताहरूले नेतृत्वमा दाबी गर्न थालेका छन्, जुन परिवर्तनको प्रारम्भिक तर ठोस आधार बन्न सक्छ।

यो प्रक्रिया पूर्ण संस्थागत संक्रमण नहोला तर पनि, नेतृत्व हस्तान्तरणको आन्तरिक इच्छा देखिनु स्वयंमा सकारात्मक संकेत हो। अझ महत्वपूर्ण कुरा, कांग्रेसभित्र गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रकाशशरण महतजस्ता नयाँ पुस्ताका नेताहरूले नेतृत्वमा दाबी गर्न थालेका छन्, जुन परिवर्तनको प्रारम्भिक तर ठोस आधार बन्न सक्छ। यदि यसलाई संस्थागत रुपमा अघि बढाइयो भने नेपाली कांग्रेस नेतृत्व हस्तान्तरणमा उदाहरणीय भूमिका निर्वाह गर्न सक्नेछ। जसको अनुकरण अन्य दलहरूले गर्न सक्ने सम्भावना समेत रहेको छ।

ओलीको अधिनायकवाद

नेकपा एमालेभित्र केपी शर्मा ओलीको राजनीतिक शैली हेर्दा लाग्छ पार्टी नेतृत्व सत्ताको विषय मात्र होइन, सत्ताको नशा समेत हो ।  ओली यतिखेर नेतृत्व हस्तान्तरण गर्ने तर्फ होइन कि पार्टी सत्तामा रहीरहने नीयतमा केन्द्रित देखिन्छन् । ७० वर्षे उमेरहदको वैधानिक प्रावधान जुन एमालेको विधानमा समावेश गरिएको भएपनि अहिले निलम्बनको अवस्थमा छ त्यसलाई बिधान संसोधन मार्फत हटाउने तयारी भएको चर्चा छ । पार्टीभित्र ७० वर्षे उमेरहद राखिएको व्यवस्थालाई उनले अहिले हटाउन चाहनु, विधानमै फेरबदल गरेर फेरि अध्यक्ष बन्ने आकांक्षा राख्नु कुनै आधुनिक पार्टीको लक्षण होइन ।  यसबाट ओली फेरि एक पटक पार्टी अध्यक्ष बन्ने रणनीतिमा रहेको कुरा स्पष्ट हुन्छ ।

पार्टीलाई “ओली केन्द्रित राजनीतिक संगठन” बनाउने उनको अभियानले न विचाराधारात्मक गम्भीरता बाँकी राखेको छ, न त वैकल्पिक नेतृत्व उब्जिने सम्भावनालाई नै बाँकी छाडेको छ ।

हाल एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस उठाउने एक्लो नाम विद्या भण्डारी हो । तर ओली समूह उनलाई रोक्न पार्टी विधानमै “मुलुकको सर्वोच्च निकायमा पुगिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नपाउने” प्रावधान राख्ने योजनामा देखिन्छ । यसरि एमालेको विधानमा "पूर्वराष्ट्रपति पार्टीको अध्यक्ष बन्न सक्दैन" भन्ने व्यवस्था हाल्ने तयारी गर्नु, विद्या भण्डारीको सम्भावित उम्मेदवारी रोक्न राजनीतिक षड्यन्त्र गर्नु, अनि पार्टीलाई वैचारिक बहसभन्दा वफादारीमा सीमित गर्नु यी सबै अधिनायकवादका स्पष्ट लक्षण हुन् ।

पार्टीलाई “ओली केन्द्रित राजनीतिक संगठन” बनाउने उनको अभियानले न विचाराधारात्मक गम्भीरता बाँकी राखेको छ, न त वैकल्पिक नेतृत्व उब्जिने सम्भावनालाई नै बाँकी छाडेको छ । पार्टीमा तर्क गर्ने, आलोचना गर्ने, नयाँ विचार ल्याउनेहरूका लागि ठाउँ छैन । केही अनुशासित र नीतिपरक नेताहरूको आवाज ओलीको एकाधिकारभित्र दबिएको छ । यो नेतृत्व न आलोचना सुन्न सक्छ, न त विकल्प तयार गर्न । यस्तो अवस्थाले एमालेभित्र "नेता होइन, मालिकको शासन" चलिरहेको कुरालाई पुष्ट गर्छ ।

पुष्पकमल र पुस्तान्तरण

माओवादी आन्दोलन नेपाली इतिहासको एउटा गहन र जटिल अध्याय हो । तर आन्दोलनको त्यो गहिरो वैचारिक जग अहिले पुष्पकमल दाहाल 'प्रचण्ड' को एकाधिकारमा सीमित भइसकेको छ । प्रचण्ड माओवादी आन्दोलनका ऐतिहासिक नायक हुन् भन्ने मान्यता एक हदसम्म स्वीकार गर्न सकिन्छ । तर, उनी विगत ३६ वर्षदेखि निरन्तर पार्टीको कार्यकारी प्रमुख रहँदै आएका छन् भन्ने कुरा आफैंमा एउटा चिन्ताजनक तथ्य हो । जसले नेतृत्व पुस्तान्तरण बारे कहिल्यै सोचेको देखिएन । सैद्धान्तिक रूपमा आफूलाई सर्वहाराको पार्टी बताउने, जनवादी नेतृत्व परिवर्तनको शिक्षा दिने माओवादीभित्रै यति लामो समयसम्म एउटै व्यक्ति पार्टी प्रमुख भइरहँदा त्यस पार्टीको वैचारिक विश्वसनीयता समाप्त भएको छ ।

सैद्धान्तिक रूपमा आफूलाई सर्वहाराको पार्टी बताउने, जनवादी नेतृत्व परिवर्तनको शिक्षा दिने माओवादीभित्रै यति लामो समयसम्म एउटै व्यक्ति पार्टी प्रमुख भइरहँदा त्यस पार्टीको वैचारिक विश्वसनीयता समाप्त भएको छ ।

पछिल्लो ३६ वर्षदेखि पार्टीको कार्यकारी प्रमुख रहँदा न त उनले विकल्प तयार गरे, न नेतृत्वको नयाँ पुस्तालाई उकास्ने प्रयास नै गरे । अझ विडम्बनापूर्ण त के छ भने उनी स्वयं भन्छन्, “अहिलेसम्म नेतृत्व गर्न सक्ने विकल्प देखिएको छैन” । यस्तो अभिव्यक्ति कुनै आधुनिक, लोकतान्त्रिक र जनपक्षीय नेताको हुन सक्दैन । यस्तो अभिव्यक्ति केवल आत्मविमोह होइन, यो एक प्रकारको राजनीतिक निरंकुशता हो । प्रचण्डले बाँचुन्जेल नेतृत्व नछोड्ने र "आर्यघाटपछि मात्र नयाँ नेता खोज" भन्ने सन्देश दिनुले माओवादीलाई एउटा व्यक्तिका वरिपरि घुमाइरहेको संकेत गर्छ । उनी आफ्नै परिवारका कुनै सदस्यलाई आफ्नो कुर्सी हस्तान्तरण गरेर राजनीतिलाई परिवारवादमा पुस्तान्तरण गर्न चाहन्छन् भन्ने लगभग अहिलेसम्म उनले गरेका निर्णय र परिवारका सदस्यहरुलाई दिएको जिम्मेवारीले पुष्टि गर्छ  । यसले पार्टीको वैचारिक भविष्य मात्र होइन, संगठनात्मक सुसंस्कृतिलाई पनि समाप्त गरिदिएको छ ।

वैकल्पिक नेतृत्वको अभाव

गम्भीर कुरा के छ भने नेपाली राजनीतिमा कुनै पनि प्रमुख दलले नयाँ युगको नेतृत्व गर्न सक्ने वैकल्पिक नेतृत्व तयार गर्न सकेका छैनन्। कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, मिनेन्द्र रिजालजस्ता नामहरू उभिए पनि उनीहरू अझै पनि सशक्त चुनौती दिन सक्ने तहमा पुगेका छैनन्। यद्यपि, नयाँ पुस्ताको चहलपहल देखिन थालेको छ। जुन सानो आशा जगाउने प्रयास भने अवश्य पनि अवश्य हो।

तर, नेकपा एमाले र माओवादी केन्द्रको त चित्र अझै भयावह छ। एमालेमा ओलीको वरिपरि घुम्ने निष्प्रभ अनुयायीहरूको लाइन त लामो छ तर नेतृत्व सम्हाल्न सक्ने सामर्थ्यवान विकल्प कोही छैन। माओवादी केन्द्रमा झन् अवस्था गम्भीर छ; नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुनसम्म, जनार्दन शर्मा देखि कृष्णबहादुर महरासम्म सबै पुरानै अनुहारहरू हुन्, जसले न त नयाँ विचार ल्याएका छन्, न त नेतृत्वमा नयाँ दिशा दिन सक्ने ऊर्जा नै देखाएका छन्।

यी दलहरूमा आजको युगअनुसार विचार, दृष्टिकोण र रणनीति निर्माण गर्न सक्ने नयाँ पुस्ताको पूर्ण अभाव देखिन्छ। यस्तो अवस्थामा पुराना अनुहारको निरन्तरता देशको भविष्यप्रति गम्भीर खतरा बन्न पुगेको छ।

नयाँ नेपाल केवल नारा

विगत दुई दशकदेखि नेपालमा परिवर्तनका अनेक घोषणा गरिए। संविधान बन्यो, गणतन्त्र आयो, संघीयता लागू भयो। तर, ती परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारी पाएका पुरानै नेतृत्वले ती सम्भावनाहरूलाई संस्थागत गर्ने होइन, आफ्नो सत्ता जोगाउने अस्त्र बनाएका छन्।

नेतृत्व हस्तान्तरण नहुनु नीति नफेरिने कुराको सुनिश्चितता हो। यो दलभित्रको बन्द वातावरण हो, जसले नवप्रवर्तनको सम्भावना बन्द गर्छ। यही कारणले देशको नीति निर्माणमा न रचनात्मक सोच पुग्छ, न जनमुखी दृष्टिकोण विकसित हुन्छ। परिणामस्वरूप, भ्रष्टाचार मौलाएको छ, न्यायालय राजनीतिक हस्तक्षेपमा रुमल्लिएको छ र जनसेवा गर्ने भनिएका शिक्षा र स्वास्थ्य क्षेत्रहरू मुनाफामुखी व्यापारीकरणको फन्दामा परेका छन्।

युवाहरूको देशप्रति भरोसा हराएर गएको छ। उनीहरू अवसरको खोजीमा विदेशिने लहरमा छन्। उत्पीडित वर्गहरू न्यायको अपेक्षामा निराश भइरहेका छन्। जनताको आशा नेतृत्वबाट होइन, क्रान्तिबाट होइन, अब गहिरो निराशाबाट विस्फोट हुने सम्भावनातिर अघि बढिरहेको छ।

नेतृत्वको नवीकरण:  ऐतिहासिक आवश्यकता

नेपाली राजनीतिमा नेतृत्वको रूपान्तरण अब कुनै वैकल्पिक बहस होइन, समयको नाङ्गो माग हो। तर दुर्भाग्यवश परिवर्तनको झण्डा बोकेका दलहरू नै आज परिवर्तनको मुख्य अवरोध बनेका छन्। कम्युनिष्ट पार्टीहरू नाममा जनवाद बोके पनि व्यवहारमा अधिनायकवादको गहिरो खाडलमा ति दलहरु परेको देखिन्छ।

‘नयाँ नेपाल’ निर्माण गर्ने सपना तब मात्र साकार हुन सक्छ जब नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व नबदलिँदासम्म नीति परिवर्तन सम्भव छैन। साथै प्रणाली सुधार र जनताको भरोसा पुनःस्थापना पनि सम्भव छैन। आजको नेपाल नयाँ सोच, नयाँ पुस्ता र नयाँ राजनीतिक संस्कृतिको खोजीमा छ। तर त्यो खोज पुराना अनुहारहरूको बन्धनमा थुनिएको छ।

यदि नेपालले नयाँ युगको थालनी गर्नुपर्ने हो भने त्यो शेरबहादुर, ओली र प्रचण्ड युगको समाप्तिबाट मात्र सम्भव छ। यी अनुहारहरू राजनीति होइन, शोषणको संरचना बनेका छन्। जबसम्म तिनको प्रभुत्व अन्त्य हुँदैन, न दल बदलिन्छ, न देशको दिशा।

यसैले, सचेत नागरिक, विवेकशील युवा र जिम्मेवार कार्यकर्ताले नेतृत्व परिवर्तनको नारा होइन, सत्ता परिवर्तनको माग होइन, संस्कार परिवर्तनको लागि विद्रोह गर्नुपर्छ। अब केवल नेतृत्वको अनुहार होइन, नेतृत्वको चरित्र, दृष्टिकोण र दर्शन नै पुनःपरिकल्पना गर्न जरुरी छ। देशले अब पुरानाहरूको ‘अवसान’ र नयाँहरूको ‘उदय’ खोजिरहेको छ ।