एनभर होक्सालाई सम्झिँदा

अप्रिल ११ तारिख एनभर होक्साको ४० औं स्मृति दिवस थियो, जो बीसौँ शताब्दीका महान् मार्क्सवादी-लेनिनवादी व्यक्तित्वहरूमध्ये एक थिए। उनले अल्बेनियाको लेबर पार्टीको नेतृत्व १९४१ मा स्थापना भएदेखि १९८५ मा आफ्नो निधन नभएसम्म गरे।

एनभर होक्साको मृत्यु अल्बेनियाली कम्युनिष्टहरू र जनताका लागि अपूरणीय क्षति थियो। यो घटनाले विश्व साम्राज्यवादलाई अग्रसर गरायो, जसले १९९१ मा सोभियत संघको पतनपछि विश्वव्यापी रूपमा कम्युनिष्टहरुमाथि आक्रामक हमला सुरु गर्यो, र प्रतिक्रान्तिकारी लहरले अल्बेनियालाई पनि बाँकी राखेन । एनभर होक्साको जीवन र कार्यले आजको कम्युनिष्ट आन्दोलनका लागि गहन अनुभव प्रदान गर्छ र मार्क्सवाद-लेनिनवादका शिक्षाहरूको विश्वसनीयता प्रदर्शन गर्छ।

एनभर होक्सा १९३० को दशकमा युवा विद्यार्थी अवस्थामै साम्यवादतर्फ आकर्षित भएका थिए। १९३० को अन्त्यतिर र १९४० को दशकमा सानो र पछाडि परेको देश अल्बेनिया, जुन यूरोपकै गरिब देशहरूमध्ये एक थियो, पहिले इटालेली फाँसीवाद र त्यसपछि जर्मन नाजीहरूको अत्याचारको शिकार भयो। युद्ध र निर्मम दमनको बीचमा एनभर होक्साले विभिन्न अल्बेनियाली कम्युनिष्टहरूलाई एकजुट गर्न महत्त्वपूर्ण भूमिका खेले र सन् १९४१ नोभेम्बर ८ मा अल्बेनियाको कम्युनिष्ट पार्टी (पछि अल्बेनियाको लेबर पार्टी नाम राखियो) स्थापना गरे।

त्यस युवा कम्युनिष्ट पार्टी चाँडै अल्बेनियाली जनताको वीर राष्ट्रिय मुक्ति संग्रामको एकमात्र अग्रणी शक्ति बन्यो। पार्टीको नेतृत्वमा अल्बेनियाली देशभक्त लडाकुहरूले आफ्नो भूमिमा ७ लाखभन्दा बढी नाजी र फासीवादी सेनालाई पराजित गरे र नोभेम्बर १९४४ मा आफ्नै स्रोत र २८,००० शहीदहरूको बलिदानबाट देश स्वतन्त्र गराए।

युद्धको अन्त्यसँगै अल्बेनियामा नयाँ राज्यसत्ताको जन्म भयो, जसले सर्वहारा वर्गको अधिनायकत्वलाई अभिव्यक्त गर्यो। एनभर होक्साको नेतृत्वमा रहेको अल्बेनियाको लेबर पार्टीको अगुवाइमा देशले युद्धपछिको पुनर्निर्माण, अर्थतन्त्र, शिक्षा र स्वास्थ्य, वैज्ञानिक तथा प्राविधिक प्रगतिका साथै जनसाधारणको जीवनस्तरमा प्रशंसनीय फड्को मारेको थियो। भूमिसुधारका माध्यमबाट ती किसानहरूलाई जमिन दिइयो, जो यसअघि जमिन्दारहरूका लागि दुखदायी अवस्थामा काम गर्न बाध्य थिए। कृषिक्षेत्रलाई जनताको आवश्यकतालाई पूर्ण रूपमा पूरा गर्ने दृष्टिकोणसहित विस्तार र वैज्ञानिक आधारमा विकास गरियो। पूर्णतः नयाँ समाजवादी उद्योग स्थापना गरियो। यूरोपमा सबैभन्दा कम साक्षरता दर भएको देशबाट, अल्बेनियाको साक्षरता दर ९० प्रतिशतभन्दा माथि पुग्यो। नयाँ राज्यसत्ताको अघि अल्बेनियामा औंलामा गन्न मिल्ने डाक्टरहरू मात्र थिए, तर समाजवाद अन्तर्गत उसले आफ्नै चिकित्सक, वैज्ञानिक र प्राविधिक जनशक्ति तयार गर्यो। कहिलेकाहीँ सम्पूर्ण जनसंख्यालाई समाप्त पार्ने मलेरियाजस्ता रोगहरू पूर्ण रूपमा निर्मूल गरिए। डाँडाकाँडा र विकट भौगोलिक बनावट भएको देशमा सडक र विद्युत् सञ्जाल विस्तार गरेर टाढाटाढाका गाउँसम्म पुर्याइयो। मुक्ति अघि अल्बेनियामा महिलाको स्थिति अत्यन्तै न्यून थियो, तर समाजवादले महिलाको दर्जालाई असाधारण रूपमा उचाल्यो, र आज अल्बेनियाका हरेक क्षेत्रमा महिलाहरू अग्रपङ्क्तिमा देखिन्छन्।

एनभर होक्साको उपलब्धि केवल अल्बेनियामा समाजवादको सफलतासम्म सीमित छैन, उनले बीसौँ शताब्दीको दोस्रो भागको परिस्थितिमा मार्क्सवाद-लेनिनवादका सिद्धान्तहरूलाई अडिग भएर जोगाउने संघर्षमा पनि तीव्र योगदान गरे।

उनको महान् कृति "साम्राज्यवाद र क्रान्ति" (१९७८ मा प्रकाशित) ले आधुनिक संशोधनवादविरुद्धको सम्पूर्ण संघर्षलाई विश्लेषणात्मक रूपमा व्याख्या गर्यो र लेनिनवादी धारणा- 'यो युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो लाई' पुनः पुष्टि गर्यो। यसले वर्तमान चरणमा साम्राज्यवादको स्वरूपका साथै सर्वहारावर्गले साम्राज्यवादलाई परास्त गरी समाजवाद निर्माण गर्न अवलम्बन गर्नुपर्ने रणनीति र कार्यनीति मूल्याङ्कन गर्यो।

स्रोत: https://frontierweekly.com