गाउँ

यो गाउँको नाम रामगढवा हो

यहाँ एक दिन बिताउने मौका पायौ भने

तिमीलाई थाहा हुनेछ

यो गाउँ र सुक्खाले खाएको खेतमा

कत्ति समानता छ

 

सखारै यो गाउँ बिउँझन्छ

खेतमा जान्छ

हलो चलाउँछ

माटो सम्याउँछ

थाकेको गोरुलाई माया गर्छ

र गीत गाउँछ

'जोवनवा हमरा बीत गइल होऽऽ'

दिनभरि कडा मेहनत गरेर

जब पेटभरी खान पाइँदैन तब

तिमीलाई थाहा हुनेछ

खेतमा थाकेको गोरुलाई माया गर्दै

गाइने गीतको अर्थ के हो

'राती यो गाउँ एक ठाउँमा भेला हुन्छ

कहिले चोकटाकहाँ

कहिले बगडाभाइकहाँ

कहिले मखनाकाका कहाँ

घुर ताप्छ

कुराकानी गर्छ

पानी परेन

बाली सप्रेन

बूढो साहू मरेन

परालको आगो तापेर एक रात

यहाँ बिताउने मौका पायौ भने

तिमीलाई थाहा हुनेछ

ब्याजको दर र बूढो साहूको लामो आयु

दुवै कत्ति दुःखदायी छ

 

तिमी रामगढवामा एक रात जरुर बिताऊ

घर-आँगनमा डुल

खेत-खलियानमा जाऊ

र यहाँका मानिसहरूसँग भेट

तिमीलाई थाहा हुनेछ

यो गाउँ र सुक्खाले खाएको खेतमा

कत्ति समानता छ

२०३७

'आगोनेर उभिएको मानिस' बाट