कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

तपाईंले कत्तिको महसूस गर्नुभएको छ- कहिलेकाहीं कागजले काटेको सानो चोट पनि हतियारले काटेको गहिरो चोटभन्दा बढी दुख्ने गर्छ। यसो हुनुको पछाडि केही चिकित्सकीय र न्यूरोसाइन्समा आधारित कारणहरू छन्।
धेरैजनाले महसूस गरेको हुनुपर्छ- कागजले औँलामा चोट लाग्दा धेरै दुख्ने गर्छ । त्यस्तो चोट सानो भए पनि धेरै दुख्नुको खास कारण औँलाको अत्यधिक संवेदनशील छालामा थुप्रै न्यूरोन र दुखाइ थाहा पाउने तन्तुहरू हुनु हो। यसकारण कागजले काट्दा औँलाका घना न्यूरोनहरू र रिसेप्टर्सलाई सक्रिय पार्छ, जसले तीव्र पीडाको संकेत मस्तिष्कसम्म पुर्याउँछ। फलत: हामीलाई धेरै पीडाको अनुभव हुन्छ ।
कागजले लाग्ने चोट छुरीको चोटभन्दा सानो देखिए पनि धेरै मानिसहरूलाई त्यस्तो चोट झनै पीडादायी लाग्ने गर्छ। यसको प्रमुख कारण कागजले पुर्याउने चोट प्रायः सतही हुन्छ, जुन छालाको माथिल्लो तहमै सीमित रहन्छ। यस्तो चोटमा प्रायः रक्तश्राव हुँदैन, जसले गर्दा नशाका टुप्पाहरू खुला रहन्छन् र तिनीहरू हावासँग, धूलोसँग वा वातावरणीय चिसोपनसँग प्रत्यक्ष सम्पर्कमा आउँछन्। जब नशाहरू खुला रहन्छन्, त्यहाँको संवेदना झनै बढी हुन्छ । यसले गर्दा चोट सानो देखिए पनि पोल्ने, चिलाउने र पीडादायी अनुभव गराउँछ।
यसको अर्को कारण कागजको बनावटसँग सम्बन्धित हुन्छ। छुरी वा ब्लेड प्रायः चिल्लो र सिधा धार भएको हुन्छ जसले छालामा सफा चोट पुर्याउँछ । तर कागजको किनार सामान्यतः सूक्ष्मरूपमा हेर्दा असमान, फाटेका र फाइबरयुक्त हुन्छन्। यस्तो असमान धारले छालामा सिधा काट्ने काम मात्र गर्दैन, बरु अनेकौं सूक्ष्म चिराहरू पनि बनाइदिन्छ । त्यसले नसामा झन बढी उत्तेजना उत्पन्न गर्छ र चोट अझ पीडादायी हुने गर्छ ।
त्यसबाहेक, कागजको निर्माण प्रक्रियामा प्रयोग गरिने ब्लीच, डाई वा अन्य प्रशोधन गर्ने रसायनहरू कागजमा बाँकी रहेका हुन्छन् । ती रसायनहरु चोटका माध्यमबाट छालामा पस्दा घाउको आसपासको भागमा थप जलन र चिलाउने भावना उत्पन्न गराउँछन्।फलत: हामीलाई बढी दुखेको महसूस हुन्छ ।
त्यसका साथै, प्रायः कागजका चोटहरू औँलाको टुप्पामा लाग्ने गर्छन्, जुन हाम्रो शरीरको सबैभन्दा संवेदनशील भागमध्ये एक हो। औँलाका टुप्पामा अत्यधिक संख्यामा नशाका समापन बिन्दुहरू (nerve endings) हुन्छन्, जसले सानो स्पर्श वा क्षतिलाई पनि तीव्र रूपमा महसुस गर्न सक्छन्। यही कारणले गर्दा औँलामा लागेको सानो चोटले पनि धेरै पीडा उत्पन्न गर्छ।
यसरी हेर्दा, कागजको चोट सानो र सामान्य देखिए पनि त्यसको गहिरो असर हुन्छ। चोट सतही भए पनि नसाहरू खुला रहने, कागजको असमान बनावटले सूक्ष्म क्षति पुर्याउने, त्यसमा हुने रसायनले घाउ चिलाउने बनाउने गर्छ । कागजले चोट प्रायः अत्यधिक संवेदनशील भागहरूमा लाग्ने गर्छ । फलत: यस्तो चोटले छुरीको चोटभन्दा धेरै पीडा दिन्छ ।

फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

सरसफाइ मन पराउने ध्रुवीय भालु

‘रासायनिक बम’ हान्ने बोम्बार्ड बीटल !

मानव सभ्यताको इतिहासमा सबैभन्दा अशुभ धातु सुन

विश्वकै सबैभन्दा बढी सुन उत्पादन गर्ने क्षेत्र

रक्सी खाएपछि हाम्रो शरीरमा के हुन्छ ?

हाम्रो आमाशयलाई किन एसिडले क्षति गर्दैन !

प्रतिक्रिया