निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

'पारिजातको निधनले गर्दा नेपाली  साहित्यले एक बहुमुखी र अत्यन्त प्रतिभाशाली साहित्यकार त गुमाएको छ एक अत्यन्त मानवीय गरिमाको भावले भरिएको, प्रखर राजनीतिक चेतना भएको बौद्धिक व्यक्तिलाई पनि गुमाएको छ ।

डा. ध्रुवचन्द्र गौतम

हामीले पारिजातलाई गुमाएको पनि आठ वर्ष भइसक्यो । आठ वर्षको अन्तरालमा पारिजात नेपाली जनमानसबाट हराउनुको सट्टा झन्झन् प्रखर, जीवन्त र बलवान् स्मृतिका रूपमा बाँचिरहनुभएको देखिन्छ । खानु–लाउनु मोजमज्जा गर्नु, बच्चा जन्माउनु मात्रको पशुवत् जीवन बाँच्नेहरू कति मरे, कति बाँचे, ती व्यक्तिहरू कसैको पनि स्मृतिमा रहँदैनन् । तर, पारिजातले त्यस्तो पशुवत् जीवनप्रति विद्रोह गरेर समाज परिवर्तनका लागि, त्यसलाई सही दिशा र तेज प्रदान गर्नका लागि आफ्नो सिङ्गो जीवनका अमूल्य घडीहरू र आफ्ना रचनात्मक कर्महरू अर्पण गर्नुभयो । त्यसैको परिणामस्वरूप शारीरिक मृत्युपछि पनि नेपाली जनमानसमा बाँचिरहनुभएको छ, पारिजात ।

'नेपाली साहित्यको इतिहासमा पारिजातको नामलाई झिकिदिने हो भने इतिहास नै अधुरो हुन्छ, अपाङ्ग हुन्छ ।’

 कवि तथा पूर्व सभामुख दमननाथ ढुंगानाले पारिजातको साहित्यिक योगदानका बारेमा गर्नुभएको सटीक मूल्याउन अरू सामाजिक सन्दर्भहरूमा पनि उत्तिकै जायज देखिन्छ । नेपालको महिला आन्दोलन, मानव अधिकार आन्दोलनदेखि प्रजातान्त्रिक र वाम आन्दोलनमा पारिजातले दिनुभएको योगदान, उहाँका चिन्तन र कर्महरूको प्रतिफलको हिसाब गर्ने हो भने सिद्धो नेपालको इतिहास उहाँको नामविना अपुरो हुनसक्छ ।

साहित्यदेखि समाजका विभिन्न क्षेत्रमा प्रशंसनीय र उल्लेखनीय योगदानहरू दिनुभएका पारिजात मूल रूपमा जनपक्षीय कलात्मक साहित्यिक सिर्जनाहरूका कारणले जनताको मनमस्तिष्कमा बाँचिराख्न सफल हुनुभएको हो । किशोर अवस्थादेखि नै कथा, कविताहरू लेख्न थाल्नुभएका पारिजात उन्नाइस वर्षकी हुँदा उहाँका दुईवटा कविताहरू २०१३ सालमा 'धरती' नामक पत्रिकामा प्रकाशित भएपछि उहाँले छपन्न वर्षको उमेरसम्म साहित्य साधना गर्नुभएको थियो । उन्नाइस वर्षको उमेरदेखि छपन्न वर्षको छोटो उमेरमै उहाँले १० वटा उपन्यासहरू, ४ वटा कथासंग्रहहरू, ३ वटा कविता संग्रहहरू, ४ वटा संस्मरण र लेख संगालोहरू प्रकाशित गराउनुभएको देखिन्छ ।

२०१४ सालमा 'आकाक्षा' नामक वैचारिक र शैलीगत पक्षमा अपरिपक्व कृति प्रकाशन भएपछि, कवितामा भन्दा उपन्यासमा बेसी रुचि भएकी पारिजातले स्नातकसम्मको अध्ययन पूरा गरिसक्दा चारवटा उपन्यास लेखिसक्नुभएको थियो : 'संघर्ष', 'मानव अन्तर्यामी', 'आँखा' र 'वरपीपल' । ती उपन्यासहरू चित्त बुझ्दो नलागेपछि उहाँले चारैवटा उपन्यासहरू जलाउनुभयो अनि अर्को महत्त्वाकाङ्क्षी उपन्यास लेख्नुभयो : शिरीषको फूल !"

मदन पुरस्कारद्वारा सम्मानित उपन्यास 'शिरीषको फूल' ले साहित्यिक क्षेत्रमा तहल्का नै मच्चायो र यो अन्ततः अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रमसमेत बन्यो । यसरी अन्तराष्ट्रिय स्तरमा प्रख्यात बन्नुभएकी पारिजातले २०३५-३६ सालको ऐतिहासिक जनआन्दोलनको सजीव चित्र उतार्ने क्रममा अर्को विख्यात उपन्यास लेख्नुभयो, 'अनिदो पहाडसंगै' । व्यापक चर्चा-परिचर्चा र बहसको थालनी गर्ने सफल यो कृति जनपक्षीय साहित्यको बेजोड उपन्यासको रूपमा लिइन्छ ।

ल्याटिन अमेरिकामा चलिरहेको क्रान्तिका नायक चे ग्वेभारालाई अत्यन्त मनपराउने पारिजातले जनमुक्ति आन्दोलनमा गाँसिने क्रममा मोहनविक्रम सिंह र निर्मल लामाको सान्निध्य पाएपछि उहाँको प्रखर राजनैतिक चेतना कलात्मक सिर्जनाका बान्कीहरूका रूपमा प्रस्फुटन भएको थियो ।

साहित्यको शिखरमा पुग्नुभएकी पारिजात २०२३ सालदेखि सुरु भएको 'राल्फा' आन्दोलनकी नेता पनि हुनुहुन्थ्यो । सामाजिक विषमताप्रति विद्रोह गर्दै गीत लेख्ने गाउने र गाउँगाउँमा घुमी जनतालाई सुनाउने, राल्फा आन्दोलनको नेतृत्व गर्दागर्दै जनताको मुक्ति आन्दोलनतिर आकर्षित हुनुभएको थियो । ल्याटिन अमेरिकामा चलिरहेको क्रान्तिका नायक चे ग्वेभारालाई अत्यन्त मनपराउने पारिजातले जनमुक्ति आन्दोलनमा गाँसिने क्रममा मोहनविक्रम सिंह र निर्मल लामाको सान्निध्य पाएपछि उहाँको प्रखर राजनैतिक चेतना कलात्मक सिर्जनाका बान्कीहरूका रूपमा प्रस्फुटन भएको थियो ।

२०३१ सालदेखि नेकपा (चौथो महाधिवेशन) का सदस्य समेत भई उहाले आफ्ना कर्म र विचारहरूलाई साहित्य तथा गीत संगीतको अभियान, महिला आन्दोलन र राजनैतिक आन्दोलनमार्फत् व्यवहारमा पोख्न थाल्नुभएको थियो । चौथो महाधिवेशनसँग आवद्ध 'वेदना' सांस्कृतिक परिवारको सांस्कृतिक यात्राअन्तर्गत गीत संगीत र नाटक लिएर राल्फाकालमाजस्तै नेपाल र भारतको भ्रमण गर्नुभएकी पारिजात इन्द्रेणी सांस्कृतिक समाज (इसास) का मानार्थ अध्यक्ष हुनुहुन्थ्यो ।

अन्त्यमा रसिलो र बेजोडको भाषा शैलीका धनी पारिजातले साहित्य सिर्जनाका साथै साहित्यिक सांगीतिक संगठनहरूको निर्माणमा पनि विशेष भूमिका खेल्नुभएको थियो । प्रगतिशील लेखक कलाकार संघका संस्थापक सदस्यका रूपमा २०३६ सालदेखि क्रियाशील पारिजात मृत्युपर्यन्त प्रलेसका राष्ट्रिय पार्षद हुनुहुन्थ्यो । ' 'साहित्य सन्ध्या' र 'प्रतिभा प्रवाह' जस्ता नियमित साहित्यिक भेलामा सशरीर उपस्थित भएर युवा लेखकहरूलाई हौसला प्रदान गर्नुहुने पारिजात युवा लेखक कलाकारहरूका लागि हरेक हिसावले 'पारिजात दिदी' बन्नुभएको पक्ष बिर्सनै सकिँदैन ।

जीवन र जगतको ठोस अध्ययन, साहित्यिक वैचारिक र राजनैतिक किताबहरूको गहन अध्ययन गर्नुभएकी पारिजातले आफ्नो क्रियाशीलतालाई साहित्यिक रचनामा मात्रै कदापि सीमित राख्नुभएको देखिदैन । २०३५-३६ सालमै नेकपा, चौमसंग सम्बन्धित अखिल नेपाल महिला संघकी अध्यक्ष, अखिल नेपाल महिला मञ्चकी संस्थापक अध्यक्ष हुनुभएकी पारिजात नारी समानताको अधिकार प्राप्तिका लागि लेखन र कर्मको प्रयोग गर्नुभएको थियो । इन्टरनेशनल फेमिनिस्ट एसोसिएसन र सोसाइटी फर मन ज्योग्राफर तथा आउटराइट जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि आबद्ध भई उहाँले महिलाहरूका हक हितको आवाज बुलन्द पार्नुभएको थियो । त्यस्तै नेपाल मानव अधिकार संगठन र एम्नेष्टी इन्टरनेशनलसँग पनि सम्बद्ध पारिजातते पछि गएर 'बन्दी सहायता नियोग’  र 'बचेरा बास'को स्थापना गरी बन्दी र बन्दीका सन्तानहरूलाई सहयोगको काम अघि बढाउनुभएको थियो ।

यी सबै सामाजिक कर्महरु, साहित्यिक लेखनहरू, सांस्कृतिक संगठनहरूसंगका सामीप्यहरूको लक्ष्य एउटै दिशातिर केन्द्रित थिए- थोत्रो, पुरानो, मक्किसकेको समाजलाई परिवर्तन गरी नयाँ, सुन्दर र स्वस्थ समाजको निर्माण गर्ने गौरवमय दिशातिर !

चैत ३ को लेखक कलाकारहरूको कालो पट्टी पर्वमा सशरीर उपस्थित भएर निरंकुश सत्तालाई बलवान चुनौती दिनुहुने पारिजातले उत्पीडक वर्गको सत्ताको शक्तिअगाडि कहिले पनि शिर निहुऱ्याउनुभएन । दृढ इच्छाशक्तिका धनी पारिजात वास्तवमा नयाँ समाजको निर्माणका लागि क्रान्तिकारी आचरण गर्ने, सुन्दर, स्वस्थ र प्रगतिमुखी संस्कृतिको रचनाका लागि विद्रोही कर्म गर्ने र जनपक्षीय, उत्पीडित वर्गीय साहित्य रचनाका, आगि आफनो कुँजो शरीरलाई इस्पातझैं तेजिलो र कडा गर्ने विद्रोही र क्रान्तिकारी शिल्पी हुनुहुन्छ ।

चैत ३ को लेखक कलाकारहरूको कालो पट्टी पर्वमा सशरीर उपस्थित भएर निरंकुश सत्तालाई बलवान चुनौती दिनुहुने पारिजातले उत्पीडक वर्गको सत्ताको शक्तिअगाडि कहिले पनि शिर निहुऱ्याउनुभएन । दृढ इच्छाशक्तिका धनी पारिजात वास्तवमा नयाँ समाजको निर्माणका लागि क्रान्तिकारी आचरण गर्ने, सुन्दर, स्वस्थ र प्रगतिमुखी संस्कृतिको रचनाका लागि विद्रोही कर्म गर्ने र जनपक्षीय, उत्पीडित वर्गीय साहित्य रचनाका, आगि आफनो कुँजो शरीरलाई इस्पातझैं तेजिलो र कडा गर्ने विद्रोही र क्रान्तिकारी शिल्पी हुनुहुन्छ । सपाङ्ग भएर पनि दृढ इच्छाशक्ति नभएका, विद्रोही स्वभाव नभएका, पटक्कै संवेदनशीलता र जनपक्षीयता नभएका र पशुवत् जीवन बाँचेर पनि आदर्श र आस्थाको रचना लेख्ने साहित्यकारहरू भन्दा भिन्नै जीवन बाँच्नु– अपराजिता भएकी पारिजात दिदी साँच्चै नै प्रेरक, स्मरणीय, सम्माननीय र उन्नत व्यक्तित्व हुनुहुन्छ । अपाङ्ग विष्णुकुमारी वाइवावाट अत्यन्त क्रियाशील, रचनाशिल्पी पारिजात बन्नुभएकी पारिजात दिदीजस्ती समग्र नेपाली साहित्यकै विशिष्ट प्रतिभा तथा नेपाली प्रगतिवादी कला साहित्य क्षेत्रकी अग्रणी व्यक्तित्वको जनपक्षीय जीवनयात्रा र उत्पीडित वर्गीय दृष्टिकोण र अथक कर्मबाट नयाँ, स्वस्थ र सुन्दर समाजको निर्माणका लागि क्रियाशील सबै पक्षले अविस्मरणीय प्रेरणा र सुदीर्घ ऊर्जा पाइरहनेछन् ।

–२०५८ सालको कान्तिपुर दैनिकमा पूर्व प्रकाशित । पारिजातको तस्विर: सिर्जना पत्रिका

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक