मैनबत्तीको मैन र सुकन्या
(सुप्रशिद्ध लेखिका पारिजातकी वहिनी सुकन्या वाइवामा समर्पित)

तप्प तप्प चुहिदै, चुहिदा चुहिदै आफैँ सम्हालिएर
आफ्नै शरीरमा खस्दै
आफ्नै शरीरमा चिसिदै, जम्दै र टाँसिदै
मैनबत्तीको मैन जस्तै
आफैँभित्रको शिखा बलेसँगै, पग्लनु थाल्नु पर्छ
मैन पग्लनु पर्छ शिखा बल्न, मैन गल्नु पर्छ प्रकाश फिजिन
शिखा बलिरहेको छ अर्थात्
मैन गलिरहेको छ, पग्लिरहेको छ र सम्हालिएर जमिरहेको छ
जब म्हेपी वरपर पुगेर हेर्छु-
आफैभित्र आफैसँग हराएकी सुकन्या, बलेको मैनबत्ती लिएर हातमा
काँचो माटो र इँट्टाको गारो मुनि, विना प्लाष्टरको सानो कोठामा
पारिजात र निर्मलसँग एकैसाथ बोलिरहे झैँ लाग्छ
सुकन्याले बोकेको मैनबत्ती, र
मैनबत्तीको उज्ज्यालोमा देखिएकी सुकन्या
किनकिन उस्तै लाग्छ।
***
२८ फागुन २०७८ (वेदना, पूर्णाङ्क ७८, वैशाख–असोज अङ्कमा प्रकाशित)
प्रतिक्रिया