विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?
पारिजातको जीवन-यात्रा र दृष्टिकोणबारेको चौतर्फी विषयमा उहाँसित लिइएको विशेष - अन्तर्वार्ता

समग्र नेपाली साहित्यकै विशिष्ठ प्रतिभा तथा नेपाली प्रगतिवादी साहित्य क्षेत्रकी अग्रणी व्यक्तित्वको नाम हो– पारिजात । एउटी सामान्य किशोरी विष्णुकुमारी वादया कसरी र कुन कुन मोड हैव जनतामाझ यति चर्चित र स्थापित प्रगतिशील साहित्यकार बन्न पुग्नुभयो ? उहाँको कठीन जीवन-यात्रामा कैले उहाँलाई यहाँसम्म ल्याइपुर्यायो ?
हामीले यहाँ ‘वेदना" साहित्यिक पत्रिकाले २०४४ कार्तिक-चैत्रमा प्रकाशित गरेको उहाँसंगको एक लामो र विशेष अन्तर्वार्ता प्रकाशित गरेका छौं । यसबाट पारिजातको विचार, स्थिति एवं अन्तर- मनका थुप्रै कुराहरु प्रकाशमा आएका छन् । सम्पादक राजेन्द्रप्रसाद अधिकारीले लिनु भएको यस अन्तर्वार्तामा २०४४ साल तिरका कतिपय घटना सन्दर्भहरु पनि उल्लेख भएका छन् । तिनीहरुले पनि उहाँलाई बुझ्न नै सघाउ पुयाउने छन् भन्ने हामीलाई लाग्दछ ।
पारिजातज्यू, जीवन के हो ?
समाज परिवर्तनको विभिन्न कालमा विभिन्न युगदृष्टा, विभिन्न दार्शनिक, विभिन्न धर्म प्रवर्तक, तथा वैज्ञानिकहरूले आफ्ना आफ्ना 'परिभाषा दिएर गएका भए तापनि यस कठीन प्रश्नको सरल प्रत्यूत्तर दिन मबाट संभव छैन । प्रकृतिमा रहेका लाखौं जीवधारीहरू मध्ये मान्छे जात (पृथ्वी बाहेक अरु ग्रह नक्षत्रहरूको संभावित प्रकृतिलाई छोडिकन) उच्च मस्तिष्कधारी र विकासशील सामाजिक प्राणी भएकोले मान्छेले मान्छेको जीवनको परिभाषा दिन सक्तैन, यसो पनि भन्न सकिन्न । यस अनन्त (Infinite ) र अन्तहीन समय (Eternity) भित्र म जीवनलाई कसरी खोजूँ ? कुनै पनि बस्तुको रूप र आकार हुन्छ, जस्तो गरिकन विन्दु, रेखा र मान्छेको जीवन पनि तर अनन्त... मलाई सदा पनि कहाली लागेर आउँछ । यस अनन्तभित्रबाट एउटा जीवनलाई चोइट्याएर परिभाषित गर्नु, के म साँच्चै दुस्साहस गर्दै यस प्रश्नको जवाफ दिन ?
यस अनन्त (Infinite ) र अन्तहीन समय (Eternity) भित्र म जीवनलाई कसरी खोजूँ ? कुनै पनि बस्तुको रूप र आकार हुन्छ, जस्तो गरिकन विन्दु, रेखा र मान्छेको जीवन पनि तर अनन्त... मलाई सदा पनि कहाली लागेर आउँछ ।
कोही भन्छन्- जीवन मायाजाल हो, कोही भन्छन्, जीवन सपना हो, कोही भन्छन्- जीवन आज हो कि भोलि, कोही भन्छन्- जीवन बग्ने नदी हो, भैगो छोडिदिउँ यी सबै । सामान्यतयाः जन्मदेखि मृत्युसम्म (त्यो अवधि चाहे लामो होस् अथवा छोटो) उमेर र अनुभूतिहरूसंग हेलिदै, परिवर्तन हुँदै, विकसित हुँदै जाने एउटा निश्चित अवधिको नाउँ हो जीवन । जीवन सधैं गतिशील छ, जीवनमा विभिन्न अनुभवहरू हुन्छन् माया, प्रेम, घृणा, भोक, शोक, यौन, संगति, विसंगति, सह- अस्तित्व, आशा, निराशा र हुन्छ- परिस्थितिहरूसंग जुझ्दै बाँच्नै चाहने एउटा प्रवल जिजीविषा । एक हत्केलामा मृत्यु लिएर जन्मेका मान्छे जात बाँचुन्ज्याल यस मृत्यु विभिषिकाप्रति अचेत जस्तै रहन्छन् । जीवनसंग जिउनुको यो कस्तो अनुबंध, अनौठो छ । तपाईहरूले मलाई जीवन के हो भनी सोध्नु भएको छ, यसको मूल्य होइन, त्यसैले म यत्ति नै भन्न सक्छु ।
जीवन सधैं गतिशील छ, जीवनमा विभिन्न अनुभवहरू हुन्छन् माया, प्रेम, घृणा, भोक, शोक, यौन, संगति, विसंगति, सह- अस्तित्व, आशा, निराशा र हुन्छ- परिस्थितिहरूसंग जुझ्दै बाँच्चै चाहने एउटा प्रवल जिजीविषा । एक हत्केलामा मृत्यु लिएर जन्मेका मान्छे जात बाँचुन्ज्याल यस मृत्यु विभिषिकाप्रति अचेत जस्तै रहन्छन् । जीवनसंग जिउनुको यो कस्तो अनुबंध, अनौठो छ ।
त्यसोभए जीवनको मूल्य के हो त ?
- जीवनप्रति अर्थपूर्ण दृष्टि राख्नु र आस्थावान हुनु नै जीवनको मूल्य हो ।
अनि मृत्यु ?
- जीवनको परिभाषा दिइसकेपछि अव मृत्युको परिभाषा दिन मलाई त्यति गाह्रो पर्ने छैन । कारण, जीवनको एक छेउ जन्म र अर्को छेउ मृत्यु हो । जन्म शुरुआत हो र मृत्यु अन्त । मर्नेलाई मृत्युबारे केही थाहा हुँदैन तर बाँच्नेहरूको निम्ति
मर्नेहरूको मृत्यु स्वभावतः दुःखपूर्ण हुन्छ । कारण, मृत्यु यस भौतिक शरीरको अन्त हो । मर्नेको संझना र संस्मरणहरू बाँच्नेहरूको मन मस्तिष्कमा ज्यूँदै रहन्छन् । यसैले दुःखको सृजना हुन्छ । जीवनलाई जस्तै युगदृष्टाहरूले मृत्युलाई पनि विभिन्न किसिमले हेरेका छन् । त्यो यहाँ उल्लेख गरिरहन नपर्ला । मृत्युलाई तीन प्रकारमा राख्न सकिन्छ- सामयिक, असामयिक र आकस्मिक । निसन्देह पछिल्ला दुई खाले मृत्यु दुःखपूर्ण हुन्छन् । जीवनको गतिशीलता एका-एक अथवा असामयिक रोकिनुले समाजमा विसंगति तथा निस्सारताको भाव उत्पन्न गराउँछ, त्यसैले सचेत युगदृष्टाहरू मानव समाजलाई यस्ता भावहरूले दुःखित नपारोस् भनी जन्मप्रति भन्दा मृत्युप्रति बढी सम्वेदनशील, तार्किक र सापेक्ष रहेका पाइएका छन् । मृत्युप्रतिका यस्ता अवधारणाहरूले जीवनलाई सारपूर्ण र मूल्यवान बनाउन संकेत प्रदान गर्दछन् । प्रकृतिमा पदार्थको उत्थान र विनाश अनिवार्य हुन्छ, फलस्वरूप जन्मसंग मृत्यु अनिवार्य छ ।
पारिजात: जीवनवृत्त जन्म : वि.सं. १९९४ लिंगिया चिया कमान, दार्जिलिङ्ग पिता : डा. के.एस. वाइवा माता : अमृत मोक्तान काठमाडौं आगमन : वि.सं. २०११ शिक्षा : स्नातक पूरा / स्नातकोत्तर अध्ययन । मदन पुरस्कार प्राप्त : २०२२ (‘शिरीषको फूल* अन्य संलग्नता : प्रगतिशील लेखक संघकी संस्थापक सदस्य, हाल राष्ट्रिय परिषद- सदस्य / मानार्थ अध्यक्ष, इसास / नेपाल मानव अधिकार संगठन केन्द्रीय उपाध्यक्ष / बन्दी सहायता नियोगकी अध्यक्ष / नेपाल तामाङ घेदुङ संघ एवं नारी सम्बन्धी विदेशस्थित विभिन्न संस्थाहरुसंग संलग्न आदि । |
उत्थान विनाशसंग किन यसरी अनुबंधित छ ?
- यसको प्रत्युत्तर फेरि उही अथाह अनन्त (Infinite ) मा कसरी परिभाषित गर्ने ? पृथ्वी आफैं पनि एकदिन आफूभित्रको तापक्रम सिद्धिएपछि आफैँ पनि नष्ट हुन्छ । भनिन्छ- भौगोलिक हिसाबले आजसम्म पृथ्वीको माथिल्लो सतह ४० माइल जति कडा भइसकेको छ (Crust of the earth), त्यसभित्र पृथ्वी अझ पनि विगलित अग्निकै अवस्थामा छ । सबै Crust भइसकेपछि पृथ्वीको भित्री उर्जा सिद्धिन्छ र पृथ्वीको अन्त हुन्छ । अब छोटकरीमा, मृत्यु मानव शरीरको भौतिक अन्त हो । अनुभूति र जीवनको अन्त । विशिष्ट जीवन बाँच्ने महामानवहरू इतिहासमा बाँच्छन् । वैज्ञानिक प्रविधिको विकास भइरहेकै छ, हेरौँ अझै के के हुन्छ । अमेरिकाको Tuft University Physics बिषय लिएर Ph. D. मा गर्न जानु भएका मुकुन्दमणि अर्यालले केही वर्ष अघि विदामा आउनु हुँदा मलाई भन्नु हुन्थ्यो “हामीले Infinite को परिभाषा लगाइसकेका छौ । म तपाईलाई यसको Radious खिंचेर देखाइदिन सक्छु ।" यति भन्नासाथ मैले अघि बोल्नदेखि उहाँलाई रोकिदिएँ । तपाईहरूले मलाई यस्तो गाह्रो प्रश्न सोधेर गुन लगाउनु भएको छ ।
तपाईको विचारमा साहित्य के हो ?
साहित्य मानव सभ्यताको सर्वोपरी र गरिमाशाली अभिव्यक्ति हो । साहित्य समाजको ऐना मात्र होइन, यो त्रिआयामिक पारदर्शी स्वरूप पनि हो । कुनै पनि देशको सभ्यताको मूल्यांकन गर्दा प्रथम यसको साहित्यको मूल्यांकन गर्नु पर्ने हुन्छ । साहित्य ऐतिहासिक अवधिको विभिन्न समाज परिर्वतनको कालमा वैचारिकता, रूप, विधा, शैली सबै पक्षमा परिर्वतन हुँदै जाने एउटा श्रृङ्खला हो ।
कुनै पनि देशको सभ्यताको मूल्यांकन गर्दा प्रथम यसको साहित्यको मूल्यांकन गर्नु पर्ने हुन्छ ।
अनि सृजना नि ?
- सृजना कला र साहित्यका विविध पक्षहरू हुन् । लिखित मात्र सृजना हुन्छ भन्ने होइन, सृजना अलिखित पनि हुन्छ ।
जीवन, मृत्यु, साहित्य र सृजना यी सबै बाँचिरहेको र भोगिरहेको युगमा व्यक्तिको अस्तित्वलाई कसरी परिभाषित गर्नु हुन्छ ?
यो प्रश्न आफैमा अलि नमिल्दो छैन र ? कुनै पनि कालमा उक्त सबै प्रकृया त चलिरहेकै हुन्छन् । अँ, समाज क्रमश: परिष्कृततातर्फ गइरहेको हुन्छ । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार समाज आफैं पनि परिचालित भइरहेको हुन्छ । यसभित्र मान्छे जात पनि समाहित हुन्छ । मात्रात्मकदेखि गुणात्मक परिर्वतनमा फड्को हान्दा मान्छेको पनि प्रमुख भूमिका रहेको हुन्छ । यस परिवर्तनकारी प्रकृयामा व्यक्तिको अस्तित्व सार्वभौम र विशिष्ट दुवै प्रकारले परिभाषित हुनसक्छ ।
‘आकांक्षा’, ‘शिरीषको फूल’, ‘राल्फा आन्दोलन’ हुँदै प्रगतिवादी लेखनसम्म आइपुगेको आफ्नो साहित्यिक यात्रालाई तपाईं कसरी हेर्नु हुन्छ ?
शारीरिक र मानसिक दुवै किसिमका भोगाईहरूबाट हेर्ने हो भने मेरो जीवनलाई म एउटा विशिष्ट जीवन बाँच्नेहरूमा राख्न चाहन्छु । तपाईहरूले जति सजिलोसंग यो प्रश्न उठाउनु भएको छ, त्यसको विपरीत मेरो यस अवधिभरिको यात्रा दश खण्ड बढी जटील र घुमावदार छ । शायद यस महाकाव्यलाई म आत्मसंस्मरणहरूमा भर्दै जान सक्छु । छोटकरीमा के भन्न सकिन्छ भने ‘आकांक्षा’ (कविता संगालो) वैचारिक तथा शैलीगत दुवै पक्षले अपरिपक्व कृति हो । उमेर र म बाँचेको त्यस समय हेरिकन त्यो स्वाभाविक छ ।
तपाईहरूले जति सजिलोसंग यो प्रश्न उठाउनु भएको छ, त्यसको विपरीत मेरो यस अवधिभरिको यात्रा दश खण्ड बढी जटील र घुमावदार छ ।
कविताभन्दा मलाई उपन्यास लेखनमा बढी रुचि थियो । स्नातकको शिक्षा लिंदासम्ममा मैले विशेष रसियाली, भारतीय र फ्रान्सेली उपन्यासहरूको प्रशस्त अध्ययन गरेँ । म नेपाली उपन्यास विधासंग पटक्कै सन्तुष्ट हुन सकिनँ । मभित्र एउटा बेजोड उपन्यास लेख्ने महत्वाकांक्षाको राक्षसले शीर उठाउन थाल्यो र आइ.ए. देखि बी.ए. पास भइसक्दा जम्मा चारवटा उपन्यासका ठेली लेखें- ‘संघर्ष’, ‘मानव अन्तर्यामी’, ‘शारदा’ र ‘वर पीपल’ । चित्त नबुझेपछि सुकन्याको आँखा छलेर सबै जलाईदिएँ । महत्वाकांक्षाको त्यो राक्षस अझ प्रवल हुँदै गयो । यता एउटा बेजोड उपन्यास लेखन नपाउँदै अर्को बेजोड राक्षस रोगले मलाई तीन वर्ष बिछ्यौनामा कैद गरिदियो । त्यसै राक्षस महत्वाकांक्षाको परिणति हो - ‘शिरीषको फूल’ । उपन्यास शुरु गर्नु भन्दा पहिले मेरो सानो इच्छा थियो गोर्खा सिपाहीलाई बदनाम गर्ने । त्यो किनभने मैले सानो छँदा गोरा सिपाहीहरुको आतंकको कथा थुप्रै सुनेकी थिएँ र दार्जिलिङ्गमा त्यस्ता अप्रिय घटनाहरु घटिरहन्थे र मलाई पछि लाग्यो यी बेफ्वाँकमा अर्काको निम्ति ज्यान गुमाउने गोर्खाहरु पनि त बदमास नै हुँदा हुन् । त्यसपछि मेरा दाइ श्री के. एस. लामा, उहाँका साथी श्री जे. एम. मोक्तान, जो डेथ भ्यालीबाट भागेर बाँचेर आएका थिए र श्री बद्री नरसिंह त्यस्तै अनुभवी विश्वयुद्धका यी तीन भूतपूर्व सैनिकहरुसंग अन्तर्वार्ता लिएर काठमाडौंको तात्कालीन क्यानभासमा लेख्न थालेको उपन्यास चर्चित पनि भयो, पुरस्कृत पनि भयो ।
महत्वाकांक्षाको त्यो राक्षस अझ प्रवल हुँदै गयो । यता एउटा बेजोड उपन्यास लेखन नपाउँदै अर्को बेजोड राक्षस रोगले मलाई तीन वर्ष बिछ्यौनामा कैद गरिदियो । त्यसै राक्षस महत्वाकांक्षाको परिणति हो - ‘शिरीषको फूल’ ।
राल्फा, जसलाई हामी सन्तति भन्थ्यौ, जुट्ने काम अति साधारण तरीकाले भएको हो । गीतप्रेमी भएको नाताले गीतकै माध्यमबाट रायन र रामेशसंग चिनजान भयो र दिनदिनै चर्चित हुँदै गएको मेरो नाउँले मेरो सम्पर्क संसार पनि दिनदिनै विशाल हुँदै गयो । यसरी आए निनु, मंजुल, विमल र केही अरु पनि । हामीमा क्रमशः आत्मीयता बढ्दै गयो । विचार विमर्शको आदान-प्रदान पनि बढ्दै गयो ।
यो त समूहका कुरा भए । तर एकातिर मेरो व्यक्तिगत जीवन सहज थिएन । म मरुभूमिको पैदल यात्रा गरिरहेकी थिएँ, मेरो कुनै ओयसीस थिएन । मनस्थिति जता छाम्यो उतै रक्ताम्य, जीवन मेरो निम्ति कोठाको बिछ्यौनामा सुत्नु थियो । मेरो यस भीषण मानसिक' यातनाको समक्ष मेरो बढ्दो लोकप्रियता मलाई उपहास गरिरहेको जोकर जस्तो लाग्थ्यो । प्रेमको वहाना, विवाहको संकल्प अनि पलायन, कामुक आँखाहरुको पोलाई, एक्लै बस्नु डर मर्दा, कतै कसैले एकाएक सकम्बरी तुल्याईदिने हो कि, कुनै इर्ष्यालुले सुतिरहेको बेला छुरा धसेर गईदिने हो कि, क्षण-क्षणको यो डर, आर्थिक कष्ट, इर्ष्या, डाहा ! खप्नै नसकेपछि म झन्झन् खुम्चिदै, सानो हुँदै राल्फाभित्र आफूलाई लुकाउँदै लगेर सोचें सुरक्षित हुँदैछु ।
एकातिर मेरो व्यक्तिगत जीवन सहज थिएन । म मरुभूमिको पैदल यात्रा गरिरहेकी थिएँ, मेरो कुनै ओयसीस थिएन । मनस्थिति जता छाम्यो उतै रक्ताम्य, जीवन मेरो निम्ति कोठाको बिछ्यौनामा सुत्नु थियो । मेरो यस भीषण मानसिक' यातनाको समक्ष मेरो बढ्दो लोकप्रियता मलाई उपहास गरिरहेको जोकर जस्तो लाग्थ्यो ।
तर राल्फाभित्र पनि म त्यति सुखी पारिजात थिइनँ । तनावको फाँसीमा झुण्डिएर बाँचिरहेकी थिएँ । यस्तो मानसिकता लिएर मैले कतिपय घोर विसंगत कविताहरु लेखें, कथाहरु लेखें । त्यति नै खेर थाहा भयो मान्छेको जिजीविषा कति प्रवल हुन्छ भन्ने कुरा । विसंगति मान्छेको जीवनको अन्त्य होइन । मभित्रको लगातार द्वन्दले ममा समाजप्रति तीव्र विद्रोहको भाव जाग्न थाल्यो । आक्रोशमा मैले हलुका शान्तिको अनुभव गर्न थालें । ठीक यति नै खेर राल्फा सन्तति पनि लोकप्रियताको चुली नाघेर आपसी अन्तर्विरोधमा जेलिन थालेको थियो । समय हाम्रो अनुकुल थिएन । विशेष प्रगतिशील खेमाका बुद्धिजीवीहरुले हामीमा चाख लिन थाले । गोविन्द भट्ट, आनन्देव भट्ट, मदनमणि दीक्षित, कृष्णप्रसाद भण्डारी आदि । विद्रोह मुखमा यसरी आइपुगेपछि हामी बाटो खोज्न बाध्य थियौं तर वातावरण दिशाबोध गराईदिन सक्षम थिएन । अन्यौलको वातावरण त्यतिखेर पनि थियो । उक्त सबै अनुभूतिहरुको आधारमा म राल्फालाई आफ्नो साहित्यिक यात्राको एउटा प्रमुख खुड्किला ठान्दछु, जसमा टेकेरै मैले जनपक्षीय यात्रा पनि शुरु गरेकी छु । राल्फा नै एउटा यस्तो माध्यम रह्यो, जसले प्रगतिशीलतातर्फ अग्रसर हुन भनौँ उन्मुख हुन र वस्तुगत दुबैतर्फबाट बाध्य तुल्याइदियो ।
२०२६ साल हिउँदमा गरेको विराटनगरको भ्रमणले मलाई अत्याइदिने स्थितिमा पुऱ्याइदिएको थियो । विशेष गरिकन ‘पंचामृत" का सम्पादकहरुसंग भएको व्यापक वादविवाद र छलफल । त्यहीं नै मैले देखिसकेकी थिएँ कि समूह (जनता) मा आफूलाई विभाजित पारेपछि मात्र यो मनस्थिति सही ठाउँमा पुग्न सक्छ, यसकारण विद्रोह हुनपर्छ, क्रान्ति हुनपर्छ । दुःखको कुरो, यसको अघि नै म भेलोर उपचारार्थ गएको बेला पत्रिकाको माध्यमबाट चे ग्वेवारा, रजिस दब्रे र हर्वट मार्कुसबाट प्रभावित भइसकेकी थिएँ । यसरी व्यवहारवाद र उग्रवादबाट आउँदा म प्रगतिवादकों हाराहारीमा बाटो बिराएको यात्री जस्तो भइरहेकी थिएँ । ऐन मौकामा कोही सहृदय प्रगतिवादी मार्गदर्शीहरुले मलाई यो बाटो हो भनी सही अध्ययनतर्फ संकेत गरिदिए । वर्गचरित्र मेरो जस्तो रहेको होस्, मैले समाजलाई सामाजिक अर्थ व्यवस्थाबाट हेर्न थालें । मेरो आफ्नै अन्तरविरोधले पनि मलाई यस स्थितिमा ल्याइ पुऱ्याइसकेको थियो । यसरी म प्रगतिवादप्रति प्रतिवद्ध भएँ ।
प्रगतिशील समीक्षक र पाठकहरुले मलाई मात्र दुई चिरा पारेर हेर्छन्: एक जनविरोधी र दुई प्रगतिवादी । यस्तो हेराइ
वैज्ञानिक हुँदैन । मेरो लेखन कसरी गतिमान भएर आएको छ, त्यसको मूल्यांकन नभईदिएकोमा मलाई गुनासो छ ।
जीवनको यस टुङ्गोमा आइसकेपछि एकाएक मानसिक कष्टहरुको करिस्मामयी तरीकाले अन्त हुन्छ भन्ने होइन । संघर्ष, अन्तरविरोध प्रत्येक व्यक्तिको जीवनमा हुन्छ नै, तथापि सामाजिक विज्ञान अर्थात् वर्ग संघर्षको ज्ञान हुन थालेपछि त्यति आश्वस्त हुन्छ, जसरी म भएकी छु ।
तपाईले आफ्ना पुराना केही कृतिहरुको पुनर्मूल्यांकनको माग गर्नुभएको छ तपाईको भनाइलाई अझ स्पष्ट पारिदिनु हुन्थ्यो कि ?
पुराना कृतिहरु भन्नाले मैले ‘आदिम देश’ र ‘सडक र प्रतिभा’का केही कथाहरुलाई लिएर भनेकी हुँ । कारण, प्रगतिशील समीक्षक र पाठकहरुले मलाई मात्र दुई चिरा पारेर हेर्छन्: एक जनविरोधी र दुई प्रगतिवादी । यस्तो हेराइ
वैज्ञानिक हुँदैन । मेरो लेखन कसरी गतिमान भएर आएको छ, त्यसको मूल्यांकन नभईदिएकोमा मलाई गुनासो छ ।
कुनैबेला तपाईले ‘शिरीषको फूल’ जलाइदिए पनि हुन्छ भन्नु भएको थियो भने, कुनैबेला मैले ‘शिरीषको फूल" लेखेर अपराधी काम त गरिनँ, पनि भन्नु
भएको छ । यसबारे तपाईंको स्पष्ट धारणा के रहेको छ ?
म आफै आज ‘शिरीषको फूल’ लाई निस्सार र घोर परपीडक उपन्यास मान्दछु तर यही उपन्यास लेखेर मैले अपराधी काम गरें भनेकी छैन । ‘जन- सम्वाद’का देवी प्र. सुवेदीसंगको भेटवार्तामा “मैले साहित्यिक अपराध गरेकी छैन" यति भनेकी हुँ ।
आफ्ना रचनाहरुमा तपाई कुनलाई उत्कृष्ट कृति मान्नु हुन्छ र किन ?
म यस प्रश्नको उत्तर दिन सक्तिनँ । जुन कृति जति सहज तरीकाले र जति गहन र व्यापक रुपमा जन संप्रेषणशील हुन्छ, त्यही कृति उत्कृष्ट हुन्छ- यो मेरो धारणा, छनौट गर्ने काम तपाईंहरुको ।
प्रगतिवादी नेपाली साहित्यको वर्तमान अवस्थाबारे तपाईको विचार ?
प्रतिगामी धारको अघि प्रगतिवादी साहित्यको धार स्पष्ट हुँदै गइरहेको तथ्यलाई स्वीकार्नु पर्छ । कविता विधा निकै अघि छ, कथा क्षेत्र पनि अब त भरपर्दो भने हुन्छ । नाटक, उपन्यास र समालोचना पछि परेका छन् । अरु व्यवहारिक समस्याहरुको निम्ति ‘वेदना’ को गताङ्कमा प्रकाशित डी. आर. पोखरेलको (परिचर्चा) कलम पढने सुझाव दिन्छु ।
विगतमा प्रगतिवादी साहित्यिक आन्दोलनमा एकताको आवश्यकता महशूस हुँदा हुँदै पनि एकता हुन नसकिरहेको स्थितिमा हालसालै सम्पन्न भएको प्र. ले.क. संघको प्रथम राष्ट्रिय सम्मेलन र प्र.ले. संघको भविष्यलाई तपाईले कसरी हेर्नु भएको छ ?
युगको एउटा निश्चित समयमा पुगेपछि एकताको आवश्यकता हुन्छ । आठ वर्षको
कठीन संघर्षपछि, प्र. ले. क. गठन भयो, खुशीको कुरा । भविष्यको निम्ति शुभकामना चिताऊँ, पदलोलुपता त्यागिदेऔं, सहयात्रीहरुलाई छिर्के हान्ने जस्तो जनविरोधी काम नगरौं । आज हाम्रो एकताले प्रतिपक्ष खेमा त्रसित भएको देखिन्छ, त्यसैले प्र.ले. संघका लेखकहरुले मोर्चाको मर्यादा र गरिमालाई आँच आउने केही काम नगरौं ।
प्रगतिशील र प्रगतिवादी शब्दलाई लिएर प्रगतिशील साहित्यकारहरुमा पनि अझै अर्थको स्पष्टता नभएको महशुस प्र. ले. क. संघको प्रथम राष्ट्रिय सम्मेलनमा पनि भएको थियो । यी शब्दहरुलाई तपाईले कसरी व्याख्या गर्नु भएको छ ?
मैले धेरै ठाउँमा धेरै भनिसकेकी छु प्रगतिशील प्रक्रिया प्रकृतिमा निहित छ । कुनै पनि पदार्थ निरन्तर परिवर्तनशील छ, त्यस्तै साहित्य पनि । पहिलेको भन्दा पछिल्लो अवस्था केही परिष्कृत र उत्कृष्ट हुँदै जानु नै प्रगतिशीलता हो ।
यसरी मानव समाज पनि क्रमशः परिष्कृतता र उत्कृष्टता तर्फ अग्रसर हुँदै जान्छ । तर साहित्यमा " प्रगतिवाद" (Progressive) शब्द कार्ल मार्क्सको अभ्युदय पछि नै विश्व वाङमयमा प्रचलित भएको हो । यसमा दुई मत हुन सक्छ जस्तो मलाई लाग्दैन । जहाँ पल्टाए पनि प्रगतिवाद शब्द राजनीति र पार्टी-सापेक्ष भएको पाइएको छ ।
यथास्थितिको विरुद्ध लेखेर समाजलाई अघि बढाउने लेखक प्रगतिशील हुन्छन् । सामान्यतया हामी यस्ता लेखकलाई प्रगतिशील भन्छौ, तर प्रगतिवादी भने पछि ‘पार्टी, पोलिटिक्स, मार्क्सिस्ट थ्योरी’ संग सम्बन्धित हुनै पर्छ ।
यहाँ एउटा उदाहरण सं. १९४७ मा अमेरिकाको राष्ट्रपतिको चुनावमा ए. वालेस नामक व्यक्ति प्रगतिवादी (Progressive) भनी उठेका थिए । तर उनी उठ्न पाएनन्, बरु गिरफ्तार भए । चुनाव कमिसनले उनलाई स्पष्ट भन्यो-
तिम्रो नीति (Policy) USSR को युद्धनीति (War Path) मा आधारित छ । यस्ता धेरै उदाहरणहरु छन् । उन्नति चाहनेहरुलाई Progressionist भनेको पाइएको छ तर Progressive होइन । यथास्थितिको विरुद्ध लेखेर समाजलाई अघि बढाउने लेखक प्रगतिशील हुन्छन् । सामान्यतया हामी यस्ता लेखकलाई
प्रगतिशील भन्छौ, तर प्रगतिवादी भने पछि ‘पार्टी, पोलिटिक्स, मार्क्सिस्ट थ्योरी’ संग सम्बन्धित हुनै पर्छ । मैले बुझेको यति हो ।
श्रष्टा पारिजात कथा, कविता र उपन्यास तीन वटै विधामा सुपरिचित र प्रतिष्ठित हस्ताक्षर हुनुहुन्छ । यी तीनै विधामा सृजनको दायित्वलाई कसरी सन्तुलित राख्नु भएको छ ? साहित्य सृजनाका तिनै विधाका तपाईंका अनुभव तथा समस्याहरुलाई प्रष्टयाइदिनु हुन्थ्यो कि ?
विधागत यस दायित्वले मेरो उमेर र अनुभवमा प्रशस्त निर्भर गरेको छ तथापि कविता विधा भने भित्रैबाट फुटेर आउनु पर्छ । आएन भने यसले युगौंको अंतराल पनि लिइदिन सक्छ । मैले २०२६ सालमा अन्तिम कविता लेखेपछि एकै चोटि २०३६ सालमा मात्र अर्को कविता यात्रा शुरु गर्न सकें । एक दशकको अन्तरालपछि । जम्मा २१ वटा कविता यस बीचमा लेखिसकेकी छु ।
कविता विधा भने भित्रैबाट फुटेर आउनु पर्छ । आएन भने यसले युगौंको अंतराल पनि लिइदिन सक्छ । मैले २०२६ सालमा अन्तिम कविता लेखेपछि एकै चोटि २०३६ सालमा मात्र अर्को कविता यात्रा शुरु गर्न सकें ।
कथा विधा मेरो निम्ति पात्र, परिवेश र स्वभावशीलता हो । यो कुनै पनि समय लेख्न सकिन्छ -पात्र फेला परेदेखि । तर उपन्यासलाई केही तन्मयता, चिन्तन र लेख्दा एकान्त चाहिन्छ । सवैभन्दा सहज बग्ने विधा मेरो निम्ति निबन्ध हो । निबन्ध पछि लेख्न थालेको हुँ र सबभन्दा बढी यही नै लेखेकी छु ।
तपाईंका कथा तथा उपन्यासका पात्रहरुले मध्यम वर्गको मात्र प्रतिनिधित्व गरेका छन् भन्ने आलोचकहरुको भनाइसँग तपाईं कत्तिको सहमत हुनुहुन्छ ?
पूर्वाग्रह र पक्षपात नराखी आलोचना गरिदिए त वेशै हुन्थ्यो तर अध्ययन नै नगरी हावाको भरमा लेख्ने तथाकथित समालोचकहरुसंग मेरो सहमति, असहमतिको के अर्थ ? यस विषयलाई लिएर मैदानमा उत्रन मेरो पनि मानहानीको प्रश्न हो ।
तपाईं रमेश, सुवानी, तोरी बारी सपना र बाटाहरुकी नायिका जस्ता पात्रहरुको चित्रणमा बढी सफल हुनु भएको र तपाईले उनीहरुलाई नै उपन्यासका केन्द्रबिन्दु बनाउनु भएको छ, तर बाटुली, गोरीमाया, त्रुरी जस्ता पात्रहरुलाई आफ्ना रचनाका प्रधान पात्र बनाउन चाहिँ नसक्नु भएको देखिन्छ नि ?
यो प्रश्न के तपाईहरुले घोत्लिएरै सोध्नु भएको हो ? परिस्थिति र पात्रहरुको भूमिकालाई बिर्सेर किन नायकनायिका - सचेत मात्र हुनु भएको ? फेरि कथाका पात्रहरुलाई किन उपेक्षा गर्नु भएको ?
जनपक्षीय रचनामा स्वैर कल्पना र अति यथार्थको कस्तो भूमिका हुन्छ ?
स्वैर कल्पना (Fantasy) मानिसको घनघोर कल्पनाशीलताको उपज हो । केही विश्वप्रसिद्ध स्वैर कल्पनाका रचनाहरुलाई यहाँ लिउँ, जसले समाजलाई मनोरन्जन भन्दा बढी केही दिन सकेका छैनन् । उदाहरणको निम्ति Sindabad The Sailor, Alladin's Lamp, Arabian Nights का कथाहरु, Alice In Wonderland, Gulliver's Travel आदि । १९८२ ताका प्रसिद्ध दक्षिण अमेरिकी उपन्यासकार Marquaze को स्पेनी भाषामा लेखिएको उपन्यासको अंग्रेजी अनुवाद One Hundred Years of Solitude? best sell मा गएको थियो र पश्चिमा मुलुकहरुमा अति लोकप्रिय भएको थियो । यस उपन्यासमा प्रशस्त मनोरन्जन भए पनि केही वास्तविकताहरुलाई स्वीकार्न कर लाग्छ । म यस उपन्यासलाई वीसौं शताब्दीको बेजोड Fantasy जान्दछु तथापि यो जनपक्षीय भने होइन ।
अति यथार्थवाद (Surrealism) को नातामा आजसम्म बढी प्रलाप नै लेखिएका छन् । मान्छेको अवचेतन मनका कुराहरुलाई स्वप्नामयी शैलीमा जथाभावी अभिव्यक्त गर्दा एक किसिमको प्रलाप बन्न सक्छ ।
Aristotle को धारणालाई म स्वैर कल्पनाको राम्रो परिभाषा मान्दछु । उनी भन्छन्, साहित्यमा स्वैर कल्पना असंभाव्यदेखि संभाव्यतर्फ गई जीवनदायी सृजना हुनु पर्दछ तर अधिकांश स्वैर कल्पना यसको ठीक उल्टो संभाव्यदेखि असंभाव्यतर्फ गएका छन् । यो भनाइदेखि आज धेरै समय बितिसकेको छ, हामी उक्त धारणाप्रति सचेत भएर लेख्यौं भने स्वैर कल्पनालाई जीवनदायी र जनपक्षीय बनाउन सक्छौं । अति यथार्थवाद (Surrealism) को नातामा आजसम्म बढी प्रलाप नै लेखिएका छन् । मान्छेको अवचेतन मनका कुराहरुलाई स्वप्नामयी शैलीमा जथाभावी अभिव्यक्त गर्दा एक किसिमको प्रलाप बन्न सक्छ । यो अभिव्यक्ति साहित्य बन्न सक्ला तर जनपक्षीय भने होइन । साहित्यमा अति यथार्थवादलाई पटक्कै नबुझी अति यथार्थवादी कविता लेखें भन्ने कविहरु र त्यस्तै नवुझीकनै फलानो अति यर्थाथवादी कवि हुन् भनी लेख्ने समालोचकहरूदेखि मलाई हाँसो उठ्छ, जसरी अति यथार्थवादी फ्रान्सेली चित्रकार Salvador Dally को घडी सेरिज चित्रकलाहरु हेर्दा हाँसो उठ्छ । अति यथार्थवाद धेरै जसो चित्रकलामा अभिव्यक्त भएको पाइन्छ ।
प्रो. यदुनाथ खनालले गरिमा २०४३ चैत्रको अन्तर्वार्तामा “कहिले निस्कन्छ त राल्फा, आयमेली पद्धति र आजकाल के उत्साह भन्ने पत्रिका देख्छु । तर एउटा ‘इन्टलेक्चुअल पावर’ प्रतिविम्बित हुने किसिमको कुनै आन्दोलन भएको देखेको छैन’’ भन्नु भएको छ । तपाईं राल्फा आन्दोलन तथा पत्रिकासंग पनि सम्बन्धित हुनु भएकोले यस भनाइ तपाईलाई कस्तो लाग्छ ?
खनालजीसंग मेरो केही असहमति छ । ‘उत्साह’लाई राल्फा र आयमेली पद्धतिसंग दाँजेर हेर्न मिल्दैन । कारण, “उत्साह" राल्फा र आयामको धेरै पछि प्रगतिशील लेखकहरुको एउटा साझा मंचको रुपमा प्रकाशित हुन थालेको साहित्यिक पत्रिका मात्र हो, कुनै दर्शन तथा आन्दोलन होइन । राल्फाबारे माथि चर्चा भइसकेको छ । आयामका प्रमुख प्रवक्ता श्री इन्द्रबहादुर राई आयामेली हुनुभन्दा पहिले शैली पक्षका राम्रा कथाकार हुन् । आयामेली भइसकेपछि उनमा दुर्बोधता आएको हो, हाल फेरि उनका कथाहरुको शैलीगत स्तर ओर्लिएको छ र राम्रै छन् । श्री राई सबै दर्शनका ज्ञाता भइकन पनि प्रगतिवादको बाटोमा काँढा बिछ्याइरहन नबिर्सने घोर प्रतिकृयावादी विद्वान् हुन् । काइला एउटा सशक्त कवि हुन्, वैचारिक पक्ष अस्पष्ट हुँदा हुँदै पनि । खनालजीले आयाम जस्तो कमजोर पक्षबाट कुन त्यस्तो “इन्टलेक्चुअल पावर" प्रतिविम्वित हुने आन्दोलनको अपेक्षा गर्नु भएको हो ? "उत्साह " अझ पनि कसीमा घोटिंइदैछ ।
श्री इन्द्रबहादुर राई सबै दर्शनका ज्ञाता भइकन पनि प्रगतिवादको बाटोमा काँढा बिछ्याइरहन नबिर्सने घोर प्रतिकृयावादी विद्वान् हुन् ।
केही शहर बाहिरका साहित्यकारहरुमा नेपाली साहित्य शहरमुखी भएको भन्ने भनाइ रहेको पाइएको छ- यसबारे तपाईको अनुभव ?
यस भनाइमा सत्यता छ र यसो हुनु दुःखको कुरा पनि हो । धेरै जसो लेखकहरु शहरकै हुने गरेका र शहरप्रति नै आकर्षित रहने हुँदा यसो भएको हो । अब त यति सम्म भइसक्यो- काठमाडौंका पत्रिकाहरुमा नछापे लेखक चिन्नै गाह्रो पर्ने । यसो भएपछि साहित्य शहरमुखी हुन्छ नै । गाउँप्रति पनि सचेत हुनुपर्ने हो, बरु बढी नै । तपाईंले बारम्वार पारिजातभित्र यौटी स्वास्नीमान्छे छे र उसलाई मैले कहिल्यै सुमसुम्याउन पाएकी छैन भन्ने गर्नु भएको छ– पारिजात भित्रकी त्यो स्वास्नीमान्छे को होला ? र तपाईं पारिजात तथा तपाईं भित्रकी स्वास्नीमान्छे बीच कस्तो सम्वन्ध रहेको छ, बताईदिनु हुन्छ कि ?
मैले जीवनमा जे जति चाहनाहरु संगालेकी थिएँ, कुनै पूरा हुन पाएनन् । मेरा थुप्रै आकांक्षाहरुको हत्या भएको छ । कुनै प्रकृतिले, कुनै परिस्थितिले, कुनै अभिभावकले र कुनै जान अनजान आफैँले । त्यसैले मलाई कहिलेकाँही लाग्छ, मेरो मनभित्र अभेद्य पर्खालपछि कुनै स्वास्नीमान्छे अवश्यै छ, मेरै प्रतिरुप हो त्यो, त्यो रुष्ट छे, असंतुष्ट छे, जसलाई सुम्सुम्याउन म पाउँदिनँ ।
यतिका व्यस्तताहरु, कोलाहलहरु, सम्पर्कहरु बीच विभाजित मेरो सही व्यक्तित्व नै आजको म सही पारिजात हुँ, मलाई त्यो भित्रकीसंग कुनै सरोकार नै छैन, तथापि म थाहा पाउँछु - मभित्र त्यो स्वास्नीमान्छे बिद्यमान छे । मैले रन-वन घुम्न पाइनँ, डुल्न पाइनँ, पकाउन पाइनँ, सिउन बुन्न पाइनँ भनी ऊ मसित ठुस्किरहेकी छे जस्तो लाग्छ- म आफैं बुझिदन यो कस्तो अनुभव हो ?
आज म अरुको दुःख र समस्याको भारी बिसाउने चौतारी र अरुहरुको तनाव र बोझ थन्क्याउने गोदाम जस्तो भएकी छु । संधैभरी म अरुको तनाव र समस्यामा अल्झिरहेकी हुन्छु, यस्तैमा काम अनि सृजना..... खै । म आफैलाई कति खेर सुमसुम्याऊँ ?
प्रसंगवश म यहाँ केही थप अनुभव पोख्न चाहन्छु । बी.ए. दोस्रो वर्षको छात्र रहँदा हस्तरेखा (Palmistry) पढ्ने धुन सवार भयो र म सारा कोर्स एकातिर थन्क्याएर हस्तरेखामा दत्तचित्त भएँ । एउटा गतिलो पुस्तक फेला पारेकी थिएँ । धर्सो कोर्नु, हिसाव गर्नु साथीहरुको हातमा प्रयोग गर्नु नै मेरो दिनचर्या बन्न पुग्यो । पछि बाबुको कडा निषेधपछि यो रुचिलाई त्यागिदिनु पर्यो । त्यसपछि मदन मेमोरियल स्कूलमा जागिर खाँदा एक दिन स्कूलको पुस्तकालयमा पी.सी. सरकारको First Book of Hand tricks फेला पारें । रुचि लाग्यो र त्यतैतिर लागें र केही प्रयोग गर्न पनि थालेकी थिएँ तर केमिकलहरु जुटाउन नपाउँदै बाबुलाई थाहा भयो र उनले त्यस्तै कडा निषेध लगाइदिए । चेस (Chess) प्रतिको प्रवल रुचिलाई त्यतिकै प्रवल इच्छाशक्तिको प्रयोग गरेर किरिया न हालेको भए शायद मेरो जीवनको मोड आज यस्तो हुने थिएन ।
आज म अरुको दुःख र समस्याको भारी बिसाउने चौतारी र अरुहरुको तनाव र बोझ थन्क्याउने गोदाम जस्तो भएकी छु । संधैभरी म अरुको तनाव र समस्यामा अल्झिरहेकी हुन्छु, यस्तैमा काम अनि सृजना..... खै । म आफैलाई कति खेर सुमसुम्याऊँ ? कत्ति खेर आफ्नो बिषयमा सोचूं ? सक्नु हुन्छ भने तपाईहरु अलि अलि शेयर किनिदिनुस् न- मेरा समस्या र तनावहरुको ।
कुनै अन्तर्वार्तामा एक जना नेपाली महिला कथाकारले पुरुष भएर जन्मिन नपाएकोमा निकै थकथकी अनुभव हुन्छ भनेर भन्नु भएको छ । तपाई पनि महिला हुनु भएकोले तपाईलाई पनि त्यस्तै लाग्छ कि ?
मेरो विचार यसको ठीक विपरीत छ । मेरो व्यक्तिगत अनुभवमा आमाको माया कस्तो हुन्छ, त्यो थाहा छैन र म आमा पनि भइनँ, त्यसैले मातृत्व पनि थाहा छैन तर मेरो हृदय वात्सल्यताले भरपुर छ । यसैकारण नारीलाई म प्रथम आमा जातमा राख्छु । अनुभूतिका आधारमा नारीहरु पुरुषहरु भन्दा धनी छन्, जस्तो गरिकन नारीले मात्र भोग्ने अनुभूति (Efiminism) रजस्वला, गर्भधारण, प्रजनन, प्रसववेदना, वात्सल्य आदिले गर्दा नारीको स्थान उच्चतम छ ।
मेरो व्यक्तिगत अनुभवमा आमाको माया कस्तो हुन्छ, त्यो थाहा छैन र म आमा पनि भइनँ, त्यसैले मातृत्व पनि थाहा छैन तर मेरो हृदय वात्सल्यताले भरपुर छ । यसैकारण नारीलाई म प्रथम आमा जातमा राख्छु ।
नारी - प्रकृतिमा यही वात्सल्य, ममता र सह-अस्तित्वको निहित रहेको हुँदा सधैं नारीलाई लिएर प्रतिस्पर्धा भाव राख्ने, झगडालु, इर्ष्यालु, वनमानुस जस्ता पुरुषलाई सह-अस्तित्वको संक्रमण गराएर आफ्नो ओढारमा नारीले नै भित्र्याए । पुरुषलाई सामाजिक बनाए, आफूले प्रकृतिबाट सिकेर श्रम गर्न सिकाए । जम्मामा, नारी नै हुन् असीम शक्ति र मायाको स्रोत, जसले मानव सभ्यताको पहिलो क्यानभासमा एउटा गरिमाशाली हस्ताक्षर कोरिदिइन् । म आफूलाई स्वास्नीमान्छे भएकोमा गौरवान्वित ठान्दछु ।
प्रेम र यौनलाई तपाईले कसरी हेर्नु भएको छ ?
प्रेम मानव मात्रमा हुने एउटा सार्वभौम अनुभूति हो । त्यसो त प्रेम अरु प्राणी जातिमा छैन भन्ने होइन । बाघ बघिनी जस्ता खुंखार र एकलकांटे प्राणी पनि वर्षको एक पल्ट उनीहरुको Mating days मा आठ नौ दिनसम्म नारिएर संगै घुमेको देख्न पाइन्छ । मान्छे जातमा त यो प्रेम बाह्रैकाल छ । प्रेमलाई लिएर समाज परिवर्तन प्रक्रियाको भित्री स्वरुप अझै संघर्षरत नै छ र मान्छेको सचेतनमा पनि विकासतर्फ नै छ, तथापि आजसम्म प्रेममा एकनिष्ठता आइसकेको छैन । परिणामस्वरुप यौन पनि एकनिष्ठ भएको छैन ।
आपसमा प्रेम भावना भएपछि यौन संबन्ध स्वाभाविक प्रक्रिया हो तर यौन सम्वन्धमा प्रेम हुनै पर्छ भन्ने कुनै जरुरी छैन । यौन सम्पर्क मान्छेले मौका हेरेर जोसुकैसंग त्यो जहाँकही पनि राख्न सक्छन् तर प्रेमको रुप यति सहज छैन ।
यौन एकनिष्ठ हुन सक्छ, यो ठोकुवा गर्न सकिदैन । कारण, यौन, मान्छेको निम्ति भोक, तिर्खा र निद्रा जस्तै अनिवार्य हुन्छ । आपसमा प्रेम भावना भएपछि यौन संबन्ध स्वाभाविक प्रक्रिया हो तर यौन सम्वन्धमा प्रेम हुनै पर्छ भन्ने कुनै जरुरी छैन । यौन सम्पर्क मान्छेले मौका हेरेर जोसुकैसंग त्यो जहाँकही पनि राख्न सक्छन् तर प्रेमको रुप यति सहज छैन । समाजवादतर्फ संक्रमण भएको समाज बाहेक अरु देशहरुमा रहेको वेश्याबृत्तिको व्यापक कारोवारले पनि यौन र मान्छेको सम्वन्ध कस्तो छ, स्पष्ट पार्छ । यस यौन सम्वन्धले गर्दा पुरुष हैकमवाला समाजमा वेश्याबृत्ति जस्तो, पुरुषलाई क्षणिक शारीरिक सुख दिएर थकित हुने पेशा गर्नु महिलाप्रति अपमानजनक र शोषणपूर्ण नीति हो । वात्सल्यले गर्दा नारीमा कामुकता कम हुन्छ, र पनि नारीले चाहेमा उनीहरुलाई यो सुविधा छैन । अमेरिकामा र यूरोपका केही देशहरुमा पुरुषहरु वेश्यावृत्ति गर्छन्, जसलाई Male Prostitute भनिन्छ । मेरो भनाइ महिलाले यौन तृप्तिको सुविधा पाउनु पर्छ भन्ने होइन । वेश्यावृत्तिको क्रमशः उन्मूलन भई समाज शिष्ट र सौम्य स्थितितिर प्रवृत्त होस् यही चाहन्छु ।
यस गरीव देशमा गरीवको पक्षमा लेख्ने लेखकको के हैशियत हुन्छ र, सोच्छु– म जस्तो अरु पनि त होलान् । पैसा एक मुष्ट आएको बेला वासी होला जस्तो हुन्छ, एक्लै खाने बानी छैन । खाँचोमा परेका प्रियजनहरुको भाग छुट्याएरै खाने गरेकी छु ।
तपाईं पूर्णतया लेखनमै अश्रित हुनुहुन्छ भन्ने हामीलाई लागेको छ । पेशागत लेखनको विकास नभैसकेको हाम्रो आजको अवस्थामा तपाईले आफ्नो कठिनाईलाई कसरी झेल्नु भएको छ ?
खै पेशा पनि के भन्नु ? पेशा भए त केही आउँछ, यहाँ त अधिकांश श्रम जन सेवामा नै गएको छ । कहिलेकाहीँ आउँछ अलि अलि, त्यो पनि न्यूनतम । यस गरीव देशमा गरीवको पक्षमा लेख्ने लेखकको के हैशियत हुन्छ र, सोच्छु– म जस्तो अरु पनि त होलान् । पैसा एक मुष्ट आएको बेला वासी होला जस्तो हुन्छ, एक्लै खाने बानी छैन । खाँचोमा परेका प्रियजनहरुको भाग छुट्याएरै खाने गरेकी छु । ऐयाशी जीवनको सपना त कहिल्यै देखिएन तर हामी एक वर्गको सुविधापूर्ण जीवनको ग्यारेण्टीको निम्ति प्रतिवद्ध छौं । श्रम गर्नेहरुले सुविधापूर्ण जीवन बाँच्न पाउनुपर्छ तर आज पर्यन्त केही असुविधा र अप्ठ्यारामा नै बाँचिरहेकी छु । कसो कसो बानी परेछ क्यारे । एउटा इमान्दार प्रकाशक भेट्टाए केही सुविधा त हुन्थ्यो होला । मानसिक अस्मिता मेरो जीवनको अनमोल वस्तु हो ।
पहिलो प्रकाशन: वेदना साहित्यिक पत्रिका (२०४४ कात्तिक–चैत्र), पुन:प्रकाशन: मूल्याङ्कन मासिक (२०५० जेठ)

घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

सावधान ! सुत्नेबेला फोन चलाउँदा अनिद्राको जोखिम बढ्छ !

घाम, बुढो र केटी

यो कस्तो गणतन्त्र ? जहाँ बग्रेल्ती राजाहरू छन् !

बर्बरताको ताण्डव !

मानव पुर्खाका खोजमा एउटा क्रान्तिकारी उपलब्धि लुसी !

प्रतिक्रिया