घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी
बहुगुणकारी वनस्पति रोजमरी

रोजमरी एक किसिमको सुगन्धित झार हो, जुन भान्छामा मसलाको रुपमा प्रयोग हुने गर्छ । त्यति मात्र कहाँ हो र ? यो त औषधीय गुणहरुको खानी पनि हो । वैज्ञानिक नाम salvia rosmarinus रहेको यो वनस्पति झारको मूलभूमि भूमध्यसागरीय देशहरू मानिन्छ । यो झार धेरै वर्ष बाँच्ने खालको हुन्छ र परम्परागत रूपमा खानामा मसलाको रूपमा पनि प्रयोग हुँदै आएको छ। विशेष गरी चिया, सुप, मासु, तरकारी आदिमा स्वाद र सुगन्ध दिन प्रयोग गरिन्छ। तर, खानाका साथसाथै यसलाई आयुर्वेद, युनानी चिकित्सा, र युरोपेली हर्बल मेडिसिन जस्ता पारम्परिक चिकित्सा प्रणालीहरूमा पनि प्रयोग गरिन्छ।
वैज्ञानिकहरूका अनुसार रोजमरीमा विभिन्न हितकारी यौगिक (compounds) हुन्छन् जसले शरीरलाई फाइदा पुर्याउने विभिन्न कामहरु गर्ने गर्छन् । त्यसमा स्मरणशक्ति बढाउने, पेट सफा बनाउने, बुढ्यौली ढिला गराउने, र क्यान्सर जस्ता गम्भीर रोगसँग लड्ने क्षमता लगायतका कुराहरु पर्दछन् ।
रोजमरीमा पाइने केही तत्त्वहरु
रोजमरीमा केही विशेष जैविक तत्वहरू (bioactive compounds) पाइन्छन्, जसले शरीरमा सकारात्मक असर पार्न सक्छ। ती मुख्य तत्वहरू यस्ता छन्:
Rosmarinic acid — यसले शरीरमा भएको सूजन कम गर्छ, अनि एन्टिअक्सिडन्टको काम गर्छ । यसले शरीरलाई हानिकारक तत्त्वहरुको खराब असरबाट बचाउँछ।
Carnosic acid — यसमा मानिसको मस्तिष्कका कोशिकालाई बचाउने र क्यान्सरसँग लड्ने गुण हुन्छ।
Carnosol — विभिन्न अध्ययनहरुले रोजमरीमा पाइने यस तत्त्वले क्यान्सरको वृद्धि रोक्न सहयोग पुर्याउने सम्भावना देखाएको छ।
Ursolic acid —यसमा घाउ निको पार्ने, सूजन कम गर्ने र ब्याक्टेरिया मार्न सहयोगी हुने प्रभाव देखिएको छ ।
Essential oils (जस्तै 1,8-Cineole र Camphor) — मस्तिष्कलाई सक्रिय बनाउने, मानसिक सतर्कता बढाउने काम गर्छ।
रोजमरीका स्वास्थ्य लाभहरू:
रोजमरीको गन्धले मस्तिष्कलाई सक्रिय बनाउँछ र स्मरणशक्ति राम्रो गराउँछ भन्ने अनुसन्धानहरूमा देखिएको छ । रोजमरीको सुगन्धले संवेदी तंत्रिका (olfactory nerve) मार्फत एसिटाइलकोलिन (acetylcholine) को स्तर बढाइदिन्छ । एसिटाइलकोलिन मस्तिष्कको न्युरोट्रान्समिटर हो, जसले स्नायुहरू र मांशपेशीहरू बीचको सञ्जालमा सन्देश पठाउने काम गर्छ । रोजमरीको प्रयोगले संज्ञानात्मक कार्यक्षमता सुधार गर्न सक्छ।
पढ्नुअघि वा काम गर्नुअघि यसको तेलको सुगन्धको वासना लिने गर्दा दिमाग तरोताजा रहने र शरीरमा स्फूर्ति बढ्ने गर्छ ।
रोजमरीमा हुने एन्टिअक्सिडन्टको प्रभावले शरीरभित्र भएका कोशिकालाई हानी पुर्याउने तत्वहरूबाट जोगाउन मद्दत गर्छ। यसमा पाइने Rosmarinic acid र carnosic acid ले कोषहरुलाई क्षति तुल्याउने खराब तत्त्वहरुको असरलाई रोकिदिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ।
रोजमरीमा रहेको carnosic acid ले दिमागको न्युरोनहरूलाई क्षति गर्ने हुनबाट जोगाउने सम्भावना देखिएको छ। यसले अक्सिडेटिभ स्ट्रेस (oxidative stress) बाट पनि हामीलाई जोगाउँछ । यो भनेको अल्जाइमर रोगको एउटा प्रमुख कारण हो । रोजमरीको सेवनले अल्जाइमर जस्ता रोगहरूलाई रोक्ने तथा त्यसको प्रभावलाई न्यून तुल्याउन सक्ने सम्भावना भएको अध्ययनले देखाउँछ।
के हो अक्सिडेटिभ स्ट्रेस ? हाम्रो शरीरभित्रका विभिन्न अङ्गहरु तथा तिनका कोषहरुले निरन्तर काम गरिरहेको हुन्छ । त्यस दौरानमा विभिन्न खालका हानिकारक तत्त्वहरु पनि पैदा भइरहेको हुन्छ । तिनलाई शरीरबाट हटाउन काम हाम्रो शरीरमा हुने एन्टिअक्सिडेन्टहरुले गरिरहेको हुन्छ । कहिले काहीँ शरीरमा हानिकारक फ्री रेडिकल्स (free radicals) अत्यधिक मात्रामा बन्छ तर तिनीहरूलाई एन्टिअक्सिडेन्टहरुले हटाउन वा न्यूनीकरण गर्न सक्दैन । शरीरमा त्यस्ता फ्री रेडिकल्सहरु अत्यधिक जम्मा हुँदै जाँदा हाम्रो शरीरका कोशिका, प्रोटिन, र DNA मा क्षति पुग्न सक्छ, जसले बुढ्यौली, क्यान्सर, मुटु रोग, मधुमेहजस्ता दीर्घ रोगहरू निम्त्याउन सक्छ। सामान्यत: यो अवस्थालाई अक्सिडेटिभ स्ट्रेस (Oxidative Stress) भनिन्छ । अक्सिडेटिभ शब्द अक्सिकरण (oxidation) बाट आएको हो। अक्सिडेटिभ भन्नाले यस्तो प्रक्रिया जनाउँछ जसमा अक्सिजनका कारण अन्य अणुहरूमा इलेक्ट्रोन हराउने क्रिया हुन्छ। स्ट्रेसलाई सामान्य अर्थमा तनाव भनेर बुझ्ने गरिन्छ। तर जैविक सन्दर्भमा यसले शरीरभित्रको कोशिकागत दबाव वा क्षतिको स्थितिलाई जनाउँछ। फ्री रेडिकल्स अत्यधिक प्रतिक्रियाशीलता (high reactivity) हुने गर्छ । अत्यन्त अस्थिर अणुहरू हुने भएकाले फ्री रेडिकल्सहरूले शरीरका स्वस्थ कोशिकाका महत्त्वपूर्ण अणुहरूबाट इलेक्ट्रोन "चोर्ने" (electron stealing) काम गर्छन्, जसले कोशिका तहमा क्षति (cellular damage) निम्त्याउँछ। फ्री रेडिकल्सले DNA को संरचना बिगार्न सक्छन्, जसले कोषहरुको म्युटेशनलाई निम्त्याउँछ।कोषहरुको त्यो म्युटेसन लामो समयसम्म थामिएन भने क्यान्सरजस्ता रोगहरू उत्पन्न गर्न सक्छन्। फ्री रेडिकल्सले कोशिकाको झिल्ली (cell membrane) लाई नष्ट गर्छन् । यसले झिल्लीमा हुने lipid peroxidation (लिपिडको अक्सिकरण) लाई उत्तेजित तुल्याउने काम गर्छ । कोशिका झिल्ली क्षतिग्रस्त हुँदा पदार्थहरूको आवागमनमा बाधा पुग्छ, र कोशिका मर्न सक्छ। फ्री रेडिकल्सले गर्ने अर्को खराबी भनेको यसले प्रोटिनहरूमा विकृति ल्याउँछन् । यसले प्रोटिन अणुहरूमा संरचनात्मक क्षति गर्दा एन्जाइमहरू, रिसेप्टरहरू, र झिल्ली प्रोटिनहरू बिग्रन्छन् र यसले शारीरिक क्रियाहरूमा बाधा पुर्याउँछ। शरीरमा फ्री रेडिकल्स थुप्रियो तर त्यसलाई सफाइ गर्न सकिएन भने मस्तिष्कमा क्षति पुग्न जान्छ । मस्तिष्कमा अक्सिजनको प्रयोग उच्च हुन्छ, तर एन्टिअक्सिडेन्ट सुरक्षा प्रणाली कमजोर हुन्छ। त्यसैले, फ्री रेडिकल्सहरुले मस्तिष्कका न्यूरोनहरू नष्ट गर्न सक्छन्, जसले अल्जाइमर, पार्किन्सन जस्ता रोगहरू निम्त्याउन सक्छ । शरीरमा फ्री रेडिकल्सहरु थुप्रिने तर तिनलाई हटाउने काम निरन्तर सुचारु भएन भने त्यसले हृदय रोगको जोखिम बढाउँछन् । खासगरी, फ्री रेडिकल्सले LDL (low-density lipoprotein) लाई अक्सिडाइज गर्छन् । यो अवस्था भनेको atherosclerosis को सुरुवात हो। यस अवस्थामा शरीरका धमनीहरू भित्र चिल्लो पदार्थ, कोलेस्ट्रोल, क्याल्सियम र मृत कोशिकाहरूको थुप्रो जम्दै जान थाल्छ । यसरी धमनीमा त्यस्ता पदार्थहरु जम्दै जाँदा त्यसले मुटुको घात (heart attack) वा पक्षघात (stroke) निम्त्याउँछ। फ्री रेडिकल्सले गर्ने क्षतिको क्रम एकचोटि सुरु भएपछि त्यसले कोशिका बिगार्छन्, बिग्रेका कोशिकाहरूले अझ धेरै फ्री रेडिकल्स उत्पादन गर्छन्, फेरि अझ धेरै क्षति हुन थाल्छ । यसरी एउटा खतरनाक चक्र शुरु हुन्छ । त्यसले चाँडो बुढ्यौली र दीर्घ रोगहरूको कारण बन्छ। त्यसो त फ्री रेडिकल्स सधैं खराब हुँदैनन् । संक्रमणबाट जोगाउन प्रतिरक्षा प्रणालीले न्युट्रोफिल्स (neutrophils) जस्ता फ्री रेडिकल्स पनि उत्पादन गर्छ। छोटोमा भन्दा फ्री रेडिकल्सको अत्यधिक वा नियन्त्रणबाहिर उत्पादन नै समस्या हो। |
रोजमरीले पाचन क्रिया सुधार गर्छ र विशेष गरी यसले चिल्लो खाना पचाउन मद्दत गर्छ। यो जडीबुटीको सेवनले पेटको पाचन रसहरुको उत्पादनलाई बढाइदिने गर्छ । त्यसैको फलस्वरुप खाना पचाउन सजिलो बनाउँछ ।
रोजमरीका पाइने Carnosol र carnosic acid जस्ता यौगिकहरूले क्यान्सर कोषहरूलाई बढ्न नदिने, वा नष्ट गर्ने सम्भावना देखाइएको छ ।
साइड इफेक्ट र सावधानी
वैज्ञानिक रूपमा धेरै अध्ययनहरूले यसको लाभ पुष्टि गरेका छन्। रोजमरी सामान्यतया सुरक्षित मानिन्छ (Generally Recognized As Safe – GRAS)। तर, सावधानीपूर्वक र मात्रा अनुसार प्रयोग नगरेमा केही साइड इफेक्टहरू पनि हुन सक्छन्। रोजमरी धेरै फाइदाजनक भए पनि अत्यधिक मात्राको प्रयोग गर्दा वा संवेदनशील व्यक्तिहरूमा केही नकारात्मक असरहरू देखिन सक्छन् । खासगरी, गर्भवती महिलाहरूले अत्यधिक मात्रामा रोजमरी खाँदा गर्भमा रहेका बच्चामा असर पर्न सक्छ।त्यसैगरी, संवेदनशील व्यक्तिहरूमा छालामा एलर्जी वा स्वासप्रश्वासमा असर हुन सक्छ।धेरै उच्च मात्रामा प्रयोग गर्दा चक्कर लाग्ने, वान्ता हुने वा स्नायु प्रणालीमा असर पर्न सक्छ। त्यसैगरी, यसले क्षारेरोगीहरुमा काम्ने समस्यालाई जागृत गराउन सक्छ । यसको बढी सेवनले वाफरिन, एस्प्रिन जस्ता एलोपेथिक औषधीहरुसँग प्रतिक्रिया गर्न सक्छ । त्यसैले नियमित औषधी सेवन गरिरहेकाहरुले रोजमरीको नियमित प्रयोग गर्नुपूर्व आफ्ना चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

सावधान ! सुत्नेबेला फोन चलाउँदा अनिद्राको जोखिम बढ्छ !

घाम, बुढो र केटी

यो कस्तो गणतन्त्र ? जहाँ बग्रेल्ती राजाहरू छन् !

बर्बरताको ताण्डव !

मानव पुर्खाका खोजमा एउटा क्रान्तिकारी उपलब्धि लुसी !

प्रतिक्रिया