साम्यवाद र व्यक्तिगत स्वतन्त्रता

पूँजीवादीहरु जुन व्यक्तिगत स्वतन्त्रताको ढोल पिट्छन्, त्यसको सक्कली रुप के हो ? त्यो स्वतन्त्रता समाजका कतिलाई प्राप्त भइरहेको छ त ?

साम्यवाद के चाहन्छ ?

शोषक र शोषितको भेदलाई मेटेर उत्पादनको साधन - मेशीन, भूमि, कच्चा पदार्थ तथा उत्पादित वस्तुहरुको स्वामी व्यक्तिलाई होइन, समाजलाई बनाउनु,

- सबै व्यक्तिहरुलाई योग्यता अनुसार काम गराउनु,

- जीवनका लागि आवश्यक बस्तुहरु, यन्त्रहरुको उपयोगबाट मिल्ने अवकाश र मानसिक विकासको अवसरलाई अपेक्षा अनुसार सबैलाई समान रुपले वाँड्नु !

माथिका प्रथम र दोस्रो जवाफ हेरेर कयौं मानिसहरु भन्छन् –

“उफ्फ ! त्यसो भए साम्यवाद व्यक्तिगत स्वतन्त्रताको ठूलो शत्रु हो ! त्यसको लागि व्यक्ति त यन्त्रको पुर्जा भन्दा बढी होइन रहेछ । त्यसैले व्यक्ति समाजको हातको कठपुतली मात्र हो।"

यसको उत्तरमा साम्यवादीहरुले भन्ने छन् –

साम्यवादले पूँजीवादको कैयौं गुना वढी व्यक्तिगत स्वतन्त्रता दिन्छ । यो कुरा बताउनका लागि पूँजीवादको सक्कली रुप हेर्नु पर्दछ ।

पूँजीवादीहरु जुन व्यक्तिगत स्वतन्त्रताको ढोल पिट्छन्, त्यसको सक्कली रुप के हो ? त्यो स्वतन्त्रता समाजका कतिलाई प्राप्त भइरहेको छ त ?

स्मरणीय छ - सम्पूर्ण स्वतन्त्रताहरुको जननी हो आर्थिक स्वतन्त्रता ! त्यो आर्थिक स्वतन्त्रता कतिलाई प्राप्त छ त ? केवल उनीहरुलाई मात्र प्राप्त छ, जोसंग धन छ, अर्थात् जो पूँजीपति हो । के यो कुरा होइन र ?

पूँजीपतिले हजारौँ मजदूरहरुलाई किन्न सक्दछ, हो, दासलाई जस्तो होइन, बरु त्यसभन्दा पनि नराम्ररी किन्न सक्दछ ! दासको लागि हरेक हालतमा पनि मालिक खाना- कपडा दिनको लागि बाध्य थियो, किनकि त्यसो नगर्ने हो भने उसको त्यस व्यक्तिमाथि परेको पूँजी डुब्ने भय हुन्थ्यो ।

तर मजदूरको लागि ?

जवसम्म मजदूर स्वस्थ हुन्छ, काम सक्दछ, जवसम्म उसबाट काम लिंदा नाफा हुन्छ, तबसम्म उसको श्रमको आधी-तिहाई मजदूरी दिएर उसबाट काम लिइन्छ । यदि बजार मन्द भयो भने र मजदूरी घाटा-व्यापार हुन थाल्यो भने पूँजीपतिले त बस्, कारखानाको ढोकामा ताला लगाइहाल्छ । हजारौ मजदूर जसबाट उनीहरुको घरबार खोसिएको हुन्छ, जसबाट उनीहरुको हातको काम खोसिएको हुन्छ - ती भोकै किन नमरुन् !

मजदूर विरामी भयो भने वा बूढो भयो भनेतापनि स्वस्थ अवस्थाको एक-एक थोपा रगत पनि चुसेर पीउने मालिक त्यस मजदूरलाई बेरंग जवाफ दिनका लागि पूरै स्वतन्त्र छ । हजारौं मजदूर तथा उनीहरुको परिवारले यो कस्तो व्यक्तिगत स्वतन्त्रताको स्वर्गीय आनन्द लुटिरहेको ! शायद तपाई उनीहरुलाई यसकारणले स्वतन्त्र भन्नु हुन्छ, किनकि आँखा छलेर उनीहरु आत्महत्या गर्न सक्छन् ! मजदूरहरुलाई छाडौं, खोज्दै जाने हो भने अरु पनि कतिपय व्यक्तिहरुले यस्तो व्यक्तिगत स्वतन्त्रताको उपयोग गरिरहेको पाउनु हुनेछ !

मजदूर विरामी भयो भने वा बूढो भयो भनेतापनि स्वस्थ अवस्थाको एक-एक थोपा रगत पनि चुसेर पीउने मालिक त्यस मजदूरलाई बेरंग जवाफ दिनका लागि पूरै स्वतन्त्र छ । हजारौं मजदूर तथा उनीहरुको परिवारले यो कस्तो व्यक्तिगत स्वतन्त्रताको स्वर्गीय आनन्द लुटिरहेको !

के तपाई भन्न सक्नु हुन्छ- संसारमा कुन चाहि साधन वा व्यक्ति पूँजीपतिहरुद्वारा किनिएका छैनन् ? के समाचार-पत्रहरुले जनताको अगाडि स्वतन्त्र विचार राख्न सक्छन् ? के बेलायत र अन्य मुलुकका करोडपतिहरुले, पत्र-पत्रिकाका मालिकले पत्रकारिता कलालाई आफ्नो हातको कठपुतली बनाएका छैनन् ? अखवारहरुलाई पहिले अलिकति केही स्वतन्त्रता थियो होला, तर आजभोलि त त्यो पूँजीपतिहरुको गुलाम भएको छ ।

भारतमा पनि जुन अखरवारहरुले स्वतन्त्रता र क्रान्तिकारी विचारहरुको वकिल बनी आफ्नो जग मजबूत गरे, ती अखवारहरुले पनि सफलता प्राप्त भएपछि नै आफ्नो प्रबृत्ति बदल्नमा ढीला गरेनन् । अब त्यो समय त्यति धेरै टाढा छैन, जब यहाँका अखवारहरुले पनि अन्य देशका जस्तै पूँजीपतिहरुको हातमा गई, उनीहरुकै भलाइको कुरा गर्नु नै आफ्नो कर्त्तव्य ठान्नेछन् । हामीकहाँ अहिले पूँजीपतिहरुको यस कुरामा धेरै कम मात्रै ध्यान जानुको कारण थियो लाभको कम संभावना र पूँजी डुव्ने डर ! जुन अखवारको अधिक भन्दा अधिक आम्दानी पूँजीपतिहरुको लागि विज्ञापनबाट हुन्छ, ती अखवारहरुले कहाँसम्म आफ्नो स्वतन्त्रता कायम गरीराख्न सक्छन् ? अहिले भारतीय पूँजीपतिहरु अखवारहरु र प्रेसहरुमाथि अधिकार जमाउनका लागि अति नै धेरै अग्रसर भइसकेका छन् ।

के लेखक र कविहरुलाई पूँजीपतिहरुले किनेका छैनन् त ? संसारमा त्यस्ता मानिसहरुको संख्या अति नै नगन्य छ, जसले आफ्नो प्रतिभा र कलम बेचेर नखाएको होस् । जे जति औंलामा गन्न पनि गाह्रो हुने गरी केही स्वतन्त्र कलमका धनीहरु यस संसारमा पाइन्छन्, ती सैकडौं व्यक्ति मानिसहरुको जीवनमा भएको स्वतन्त्रता-संग्रामका अवशेषहरु हुन्, जो असफल भएर, कुनै प्रख्याति र उल्लेखविना नै यस संसारबाट विलीन भएका थिए !

के लेखक र कविहरुलाई पूँजीपतिहरुले किनेका छैनन् त ? संसारमा त्यस्ता मानिसहरुको संख्या अति नै नगन्य छ, जसले आफ्नो प्रतिभा र कलम बेचेर नखाएको होस् ।

र राजनीतिज्ञ ?

राजनीतिज्ञहरु त अझ बढी पूँजीपतिहरुका दासहरु हुन् । संसारका राजनीतिज्ञहरुलाई हुर्नुस् त, तपाईलाई यो कुरा राम्ररी नै थाहा हुनेछ । सबै देशका मन्त्रीमण्डलहरुमा कारखाना, बैक र प्रेसका मालिकहरुकै वर्चश्व त भरमार रुपमा छ !

राजनीति त शक्तिको स्रोत हो । त्यसैले त्यसलाई पूरै रुपमा हत्याउनु पूँजीपति मालिकहरु आफ्नो अत्यन्त आवश्यक कर्तव्य ठान्दछन् । पूँजीवादी देशहरुको संसदका चुनावहरु केवल पैसाकै भरोसामा लडिन्छन् । जहाँ मतदाताहरुलाई रुपियाँ पैसा घूसको रुपमा दिइदैन - त्यस्ता देशहरु अत्यन्त कम छन् - त्यहाँ पनि बोली र प्रेसलाई किनेर राखिन्छ । यातायातका साधनहरु मोटर, हवाई जहाज, रेलहरुमा पानी भै पैसा बगाइन्छन् ।

गाउँका अनपढ अज्ञान मानिसलाई पनि थाहा छ - चाँदीका मोहरहरुको वर्षा नगरीकन कुनै पनि व्यक्ति चुनावमा जित्न सक्दैन !

के जोसंग पैसा छैन, केवल आफ्नो योग्यता, त्याग र सेवाको भरोसामा तिनीहरुले चुनावमा कहिले पनि सफलता प्राप्त गर्न सक्दैनन् ? गाउँका अनपढ अज्ञान मानिसलाई पनि थाहा छ - चाँदीका मोहरहरुको वर्षा नगरीकन कुनै पनि व्यक्ति चुनावमा जित्न सक्दैन !

"प्रजातान्त्रिक" संस्थाहरुका लागि यही मतदान नै व्यक्तिगत स्वतन्त्रताको उदाहरणको रुपमा बताइएको छ । जबसम्म एक व्यक्तिको हातमा अपार धनराशि हुन्छ र हजारौं व्यक्तिहरु गरीव र आश्रयहीन हुन्छन्, तबसम्म मत सम्मतिको खरीद विक्री नभइरहन सक्दैन ।

के पण्डित, मौलवी, पादरीहरु व्यक्ति स्वतन्त्रताका मालिक हुन् ? उनीहरुको त अस्तित्व समेत पूँजीपतिहरुको कृपामाथि निर्भर छ । उनीहरुका ठूला-ठूला मन्दिर, घर, लामा लामा धोतीहरु, आश्रम विलाशी वस्त्र र आभूषण, सबै सबै पूँजीपतिहरुकै देन हुन् । जहाँ सबै भन्दा कम स्वतन्त्रताको आशा गर्न सकिने ठाउँ छ, हो, ती यही धर्मका ठेकेदारहरु र उनीहरुका धार्मिक संस्थाहरु हुन् ।

देशका राजा - महाराजाहरुकहाँ त प्रजाको लागि व्यक्तिगत स्वतन्त्रताको शव्द नै प्रयुक्त हुन सक्दैन । त्यहाँ त जनताको ज्यान माल, इज्जत आबरु सबै अन्नदाता राजा-महाराजाहरुको मुट्ठीमा हुन्छ ।

तपाई धप्प बल्दो मशाल लिएर संसारको कुना काप्चामा खोजेर आउनुस् । तपाईले व्यक्तिगत स्वतन्त्रता कुनै पनि पूँजीवादी देशमा खोजेर पनि पाउन सक्नु हुन्न, तब यो केवल एउटा व्यर्थको शब्द मात्र हो भनेर तपाईलाई थाहा हुनेछ । अथवा यदि त्यो शब्द कही कतै सार्थक रहेछ भने त्यो पनि मुट्ठीभरका धनी-मानी पूँजीपतिहरुको लागि मात्रै सार्थक हुन्छ ! त्यहाँ यस्ता लम्बाचौडा शव्दहरुबाट जनतालाई बहकाउने - भड्काउने उद्देश्य पूर्ति गर्ने गरिन्छ र सोझासीधा मानिसहरु “कागले कान लग्यो " भनेर प्रचार गरेपछि आ-आफ्नो कान नछामीकन कागको पछि पछि दौड्ने गर्दछन् । उनीहरुले सम्झनु- वुझनु पर्दछ - जबसम्म संसारको सबैभन्दा ठूलो शक्ति - धन केवल मुट्ठीभर मानिसहरुको हातमा केन्द्रित रहीरहन्छ, तबसम्म उनीहरुले उनीहरुभन्दा ठूला- सपना सबै प्रकारको मानिसहरुलाई किनवेच गर्ने काम गरिरहन्छन्, किन-बेच गरिएको मानिस कहिले स्वतन्त्र हुन सक्दछ र ?

हो, अब त थाहा भो होला, तपाईको "व्यक्तिगत स्वतन्त्रता" धोखा दिनलाई प्रयोग गरिएको पर्दा हो । साम्यवादले धनलाई व्यक्तिको हातमा रहन दिँदैन र आर्थिक दृष्टिले सबैलाई समान बनाउँदछ । त्यसैले साम्यवाद निश्चित रुपमा व्यक्तिगत स्वतन्त्रताको ठूलो सहायक हो !

-राहुल सांकृत्यायनद्वारा लिखित “साम्यवाद ही क्यों ? " पुस्तकबाट सान्दर्भिक अंशको अनुवाद