घाम, बुढो र केटी

दिनहरू श्वेत अग्निबाट तातेका थिए । धर्ती रापिएको थियो, बोटवृक्षहरू पनि तातेका थिए । सुकेका भारहरू पाइतालामुनि सऱ्याकसुरूक गर्थे । साँझपखमात्र शितल हुन्थ्यो ।

यही बेला बेगवान कातुन नदीको किनारमा गाउँको एउटा बुढो बाहिर निस्किन्थ्यो र एउटा रूखको फेदमा बसेर घामतिर हेर्ने गर्थ्यो ।

पहाडबाट तल ओर्लिंदै गरेको सूर्य साँझपख विशाल र रातो देखिन्थ्यो ।
बुढो स्थिर मुद्रामा बसिरहेको हुन्थ्यो । खैरो वर्णको सुकेर चाउरी परेको काखमा उसका हातहरू अडिएका हुन्थे । पानीदार मलिन आँखामा अनुहारभरि चाउरिएका रेखाहरूसहित पातलो गर्दन, सेतै फुलेको सानो टाउकोमा नीलो सुतीको कमिजभित्र चुच्चा कुमका हाडहरू जिङरिङ्ग देखिन्थे ।

एकदिन यसरी नै बसिरहेको बेला उसले आफूलाई बोलाएको आवाज सुन्यो :

‘नमस्कार, हजुरबा !’

बुढोले शिर हल्लायो ।

उसको नगिचै आएर एउटा सानो समतल बाकस बोकेकी केटी बसी ।

‘आराम गर्नुभएको ? ’

बुढोले पुनः शिर हल्लायो र भन्यो : ‘आराम गरेको ।’

तर केटीतिर हेरेन ।

‘म तपाईंको मुहारचित्र बनाउँछु, हुन्छ ?’ केटीले सोधी ।

‘के रे ?,’ बुढोले बुझेन ।

‘तपाईंको चित्र बनाउने ? ’

बुढो केहीबेरसम्म चुप लाग्यो घामतिर एकदृष्टि लगायो र परेलाबिनाका राता आँखाका पलकहरू झिम्क्यायो ।

‘म राम्रो देखिन्न यो उमेरमा’ ऊ बोल्यो ।

केटीले निकैबेरसम्म बुढालाई हेरिरही । त्यसपछि कोमल हत्केलाले उसको सुक्खाखैरा हातलाई सुमसुम्याउँदै बोली : ‘सत्य !  तपाईं अति सुन्दर हुनुहुन्छ, हजुरबा ।’

‘किन र ? ’ केटी अलिकति अत्तालिई । ‘होइन, तपाईं सुन्दर हुनुहुन्छ हजुरबा ।’

‘अझ रोगी पनि छु ।’

केटीले निकैबेरसम्म बुढालाई हेरिरही । त्यसपछि कोमल हत्केलाले उसको सुक्खाखैरा हातलाई सुमसुम्याउँदै बोली : ‘सत्य !  तपाईं अति सुन्दर हुनुहुन्छ, हजुरबा ।’

बुढो विस्तारै खिसिक्क हाँस्यो ।

‘त्यसो हो भने बनाऊ न त ! ’

केटीले आफ्नो बाकस खोली।

बुढोले हत्केलाले छेक्दै खोक्यो ।

‘सायद, सहरबाट आएकी हौ कि ? ’ उसले प्रश्न गर्‍यो ।

‘सहरबासी हुँ ।’

‘यस्ता कामका लागि पैसा तिर्छन होला हैन ? ’

‘कहिलेकाहीँ । राम्रो कामका लागि तिर्छन् ।’

‘कोसिस गर्नुपर्छ ।’

‘म कोसिस गर्छु ।’

दुवै चुप लागे ।

बुढाले घामतिरै हेरिरह्यो । उसको अनुहारलाई कुनाबाट केटीले चित्र कोर्न थाली ।

‘तपाईं यही गाउँको बासिन्दा हो, हजुरबा ? ’

‘यहीँको ।’

‘यहीँ जन्मेको ? ’

‘यहीं, यहीं ।’

‘तपाईं अहिले कति वर्षको हुनुभयो ? ’

‘वर्ष त ? ८० ।’

‘ओहो ! ’

‘धेरै,’ सहमति जनाउँदै बुढो विस्तारै हाँस्यो । ‘तिम्रो नि ? ’

‘पच्चीस ।’

फेरि दुवै चुप लागे ।

‘कस्तो घाम !,’ सुस्तरी बुढो बोल्यो ।

‘कस्तो ? ’ केटीले बुझिन ।

‘ठूलो ।’

जति जति घाम अस्ताउँदै गयो, उति उति नै पहाडका चित्रहरू कोरिए । मानौं पहाड गतिमान छ । यसपछि उपत्यकामा नदी र पहाडको बीचमा रातो छाया ओझेल पर्दै पहाडबाट एउटा चिन्तनशील छाया अघि बढ्यो ।

‘ए.... अँ। सुन्दर ठाउँ छ यो ।’

‘अनि ऊ... त्यहाँको पानी कस्तो... ऊ त्यो किनारको...
अँ अँ रगत मिसाएजस्तै ।’

‘हो र ! ’, केटीले पारिपट्टिको किनारमा हेरी । - ‘ए हो त ।’

घामले अल्टाइको टाकुरा छोयो र टाढाको नीलो संसार विस्तारै विलिन भइरहेको थियो । जति जति घाम अस्ताउँदै गयो, उति उति नै पहाडका चित्रहरू कोरिए । मानौं पहाड गतिमान छ । यसपछि उपत्यकामा नदी र पहाडको बीचमा रातो छाया ओझेल पर्दै पहाडबाट एउटा चिन्तनशील छाया अघि बढ्यो । त्यसपछि बुरबुरखानको चुचुरोपछाडि गएर घाम पूर्ण रूपमा डुब्यो । तत्क्षणै त्यतापट्टिबाट चम्किला खैरा किरणहरूको बेगमान पंखा हरियो आकाशमा उड्यो । केही क्षणमै त्यो पनि हरायो र आकाशको अर्को भागमा गर्मी सरेर गयो ।

‘घाम डुब्यो, ’ बुढोले लामो सास फेर्दै भन्यो ।

 केटीले क्यानभास बाकसभित्र राखी ।

केहीबेर दुवै त्यसरी नै बसेर नदीकिनारमा उठेका स-साना ज्वारहरूको गर्जन सुनिरहे ।

उपत्यकाभरि बाक्लो बादल फैलियो ।

केटीले निकट भविष्यमा टाढा रहेको प्रिय सहर फर्किदा ऊसँग थुप्रै चित्रकला हुने कुरा सोची । यो बुढाको मुहारचित्र पनि हुनेछ । अनि उसको साथी, प्रतिभाशाली चित्रकार रिसाउँदै भन्नेछ, 'फेरि चाउरीहरू !... केका लागि ?’

जंगलभित्र कुनै रात्रिचरा लजाउँदै गाइरहेको थियो । नदीको पल्लो किनारबाट ठूलो आवाजमा प्रत्युत्तर आइरहेको थियो ।

‘ल, ठीक छ’, बुढाले विस्तारै भन्यो ।

केटीले निकट भविष्यमा टाढा रहेको प्रिय सहर फर्किदा ऊसँग थुप्रै चित्रकला हुने कुरा सोची । यो बुढाको मुहारचित्र पनि हुनेछ । अनि उसको साथी, प्रतिभाशाली चित्रकार रिसाउँदै भन्नेछ, 'फेरि चाउरीहरू !... केका लागि ?’ सबैलाई थाहा छ साइबेरियाको असाधारण मौसम । यहाँ मानिसहरू धेरै काम गर्छन् । अनि अरू ? अरू ? अरू के ?

केटीलाई थाहा छ, ऊसँग दैवीशक्ति छैन । तर पनि उसले सोची, कति कठिन जिन्दगी भोगेको छ यस बुढोले । हेर त कस्ता छन् उसका हातहरू ... चाउरिएका रेखाहरू ! 'काम गर्नुपर्छ, काम, काम...'

‘भोलि तपाईं यहाँ आउनुहुन्छ हजुरबा ? ’ उसले बुढोलाई सोधी ।

‘आउँछु,’ ऊ बोल्यो ।

केटी उठी र गाउँतिर लागी । बुढो केहीबेर बस्यो र ऊ पनि हिँड्यो । ऊ घर आयो र चुलोको छेउमा रहेको आफ्नो कुनोमा गएर बस्यो। चुलोका अगाडि बसेर ऊ छोरो कामबाट फर्किने समयको प्रतीक्षा गर्न थाल्यो । त्यसपछि सँगै बसेर रात्रिको भोजन हुनेछ । छोरो सधैं थकित तथा निन्याउरो अनुहार लिएर आउँथ्यो । बुहारीको अनुहारमा पनि सधैं एक किसिमको असन्तुष्टि हुन्थ्यो । नातिहरू ठूला भइसकेपछि सहरतिर लागे । तिनीहरूबिना घरमा शून्यता छाएको थियो ।

रात्रिभोजन तैयार भयो ।

खाना खाइसकेपछि आ-आफ्नो बिछ्यौनामा लागे । बुढो चुलोकै छेउमा ढल्कियो, छोरा-बुहारी आफ्नो कोठामा गए । केका बारेमा बोल्नु र ? सबै शब्द उहिल्यै बोलिसकिए ।

बुढाका लागि दूधमा टुक्रा पारेका रोटीहरू राखिए । टेबुलको कुनामा बसेर ऊ चबाउन थाल्यो । प्लेटमा होसियारपूर्वक चम्चा ठोक्किएर टिनिन्न बज्यो, उसले आवाज नआओस् भन्ने प्रयास गर्यो । सबै चुप लागे ।

खाना खाइसकेपछि आ-आफ्नो बिछ्यौनामा लागे । बुढो चुलोकै छेउमा ढल्कियो, छोरा-बुहारी आफ्नो कोठामा गए । केका बारेमा बोल्नु र ? सबै शब्द उहिल्यै बोलिसकिए ।

अर्को साँझ पनि बुढो र केटी नदी किनारको त्यही रूखको फेदमा बसे । केटीले हतार-हतार चित्र कोरिरही, बुढोले घामतिर हेयो र भन्न थाल्यो :

‘हामी सधैं सत्य बस्यौं, खराबमति कहिल्यै आएन । म सिकर्मीको काम गर्थे, कामबिना कहिल्यै त्यसै बस्नुपरेन । मेरा छोराहरू पनि सबै सिकर्मी छन् लडाइँमा थुप्रै मारिए - चारैजना । बाँकी छन् दुईजना । यी स्तेपानसँग म अहिले बसेको छु । भान्काचाहिँ सहरमा बस्छ, बिस्कमा । नवनिर्माणमा प्रबन्धक छ । चिट्ठी लेखिरहन्छ, ठीकै छ, सत्मा बसेको छ । यहाँ पाहुना भएर आएका थिए । नातिहरू धेरै छन् मेरा । मलाई माया गर्छन् । हिजोआज सबै सहरमै छन्...’

केटीले हतार-हतार घरीघरी मेट्दै, तनावसहित बुढाका हातहरू चित्रमा उतारी।

‘जिन्दगी गाह्रो थियो ? ’ बीच-बीचमा ऊ सोध्दै गई।

‘के गाह्रो थियो र ?’ बुढो छक्क पर्यो । - ‘मैले तिमीलाई भनिसकें, जिन्दगी राम्रो थियो ।’

‘छोराहरू गुमाउनु पर्दा  दुःख लागेन ? ’

‘किन नलाग्नु ? ’ फेरि बुढो छक्क पर्यो । ‘चार-चार जनालाई गुमाउनु, के ठट्टा हो र ? ’

केटी अन्यौलमा परी, या त बुढोप्रति उसको मनमा खेद छ या त उसमा मृत्युपूर्वको बुढौलीको विचित्र शान्ति छ ।

घाम फेरि डाँडापारि गइसकेको थियो । गर्मी विस्तारै सेलाउँदै गयो ।

‘भोलि पानी पर्छ, ’ बुढोले भन्यो ।

केटीले निर्मल आकाशतिर हेरी ।

‘किन ? ’

‘सारा जीउ कट्कट् खाइरहेछ ।’

‘आकाश त पूरै सफा छ नि ! ’

बुढो चुप लाग्यो ।

‘हजुरबा, तपाईं भोलि आउनुहुन्छ ? ’

‘भन्न सक्दिनँ, ’ केही बेर रोकिएर बुढोले भन्यो । ‘किन हो किन, सारा जीउ कटकट भइरहेछ ।’

‘हजुरबा, तपाईंहरूकहाँ यस्तो ढुंगालाई के भन्छन् ?,’ केटीले ज्याकेटको खल्तीबाट सुनौलो जलपको सेतो ढुंगा निकालेर देखाउँदै सोधी ।

‘खोइ कस्तो ?,’ बुढोले पहाडतिर हेर्दै सोध्यो ।

केटीले ऊतिर ढुंगो बढाई । बुढोले नफर्किकनै हत्केला थाप्यो ।

‘यस्तो ?, ’ उसले सोध्दै ढुंगातिर एक झलक दृष्टि दियो र सुकेका औंलाहरूमाथि फुत्तफुत्त फाल्यो । ‘यो पत्थर हो । लडाइँको बेला सलाई नहुँदा यसबाट आगो निकालिन्थ्यो ।’

विचित्रको अनुमानबाट केटी आश्चर्यचकित भई उसलाई लाग्यो, बुढो अन्धो छ । के भन्ने हो, उसलाई तुरून्त विचार नै आएन, चुपचाप बुढोलाई कोणबाट हेरिरही । ऊ सूर्यास्तको दृश्य हेरिरहेको थियो । शान्त, चिन्तनशील दृष्टिमा ।

‘पत्थर त.... ’ केटीतर्फ पत्थर बढाउँदै उसले भन्यो : ‘यिनीहरू अझ अर्कैखालका पनि हुन्छन् । पूरै सेतो र टाटेपाङ्ग्रे हुन्छन् । कुनै कुनैलाई त अण्डासँग छुट्याउनै सकिन्न । छेउ छेउमा स-साना दाग भएका अण्डाकारका पनि हुन्छन्, कुनै-कुनै त मैनाचरीका अण्डाजस्तै खैरा हुन्छन् ।’

केटीले बुढोलाई नै हेरिहेकी थिई । ऊ अन्धो हो कि होइन भनेर नसोध्ने निर्णय गरी ।

‘तपाईं कहाँ बस्नुहुन्छ, हजुरबा ? ’

‘यहाँबाट त्यति टाढा छैन । यो इभान कालाकोलिनकको घर हो, बुढोले किनारको घर देखायो त्यसपछि बेदारेभहरूको घर, अनि भोलाकितिनको, त्यसपछि जिनोभेभहरूको अन्तमा दोबाटोनेरै हाम्रो । केही चाहिएमा आउनु है ! नातिहरू हुँदा त हामीकहाँ खुसियाली नै खुसियाली थियो ।’

‘धन्यवाद ।’

‘लौ त म हिंडें । सारा जीउ कट्कट खाइरहेछ ।’

बुढो उठ्यो र खुट्किला चढ्दै डाँडातिर लाग्यो ।

उसको जीवनमा पक्कै केही भएको हुनुपर्छ, यो साधारणपन र नित्यताभित्र केही असाधारण, ठूलो र महत्त्वपूर्ण कुरो लुकेको हुनुपर्छ । 'घाम सजिलै उदाउँछ र सजिलै अस्ताउँछ पनि केटीले मनमनै गुनी ।

केटीले पर दोबाटोमा नमोडिएसम्म बुढो गएको हेरिरही । कतै ऊ ठोक्किएन, कतै उसले बाटो बिराएन । गोडाहरू मुन्तिर हेर्दै ऊ विस्तारै हिँडिरहेको थियो ।

'होइन, ऊ अन्धो छैन', केटीले बुझी । कमजोर दृष्टिमात्र हो ।

अर्कोदिन बुढो किनारमा आएन । केटी एक्लै बसेर बुढाका बारेमा के-के सोचिरही ।

उसको जीवनमा पक्कै केही भएको हुनुपर्छ, यो साधारणपन र नित्यताभित्र केही असाधारण, ठूलो र महत्त्वपूर्ण कुरो लुकेको हुनुपर्छ । 'घाम सजिलै उदाउँछ र सजिलै अस्ताउँछ पनि केटीले मनमनै गुनी । 'तर के यो त्यति सजिलो छ र !' अनि उसले आफ्नो चित्रकलालाई एकटक लाएर हेरी । उसलाई तीक्त अनुभूति भयो ।

तेस्रो दिन र चौथो दिन पनि बुढो आएन ।

केटी उसको घर खोज्दै गई। घर भेटियो। बगैंचामा खैरो रंगको ठूलो घर थियो । छानामुनि फलामे सेडमा एउटा अग्लो कदको लगभग पचास वर्षको लोग्नेमानिस सिकर्मीको बेन्चमा देवदारको तख्तामा रण्डा लाइरहेको थियो ।

‘नमस्ते, ’ केटी बोली ।

त्यो मानिसले सीधा उभिँदै केटीलाई हेयो र ठूलो हत्केलाले पसिनादार निधार पुछ्दै टाउको हल्लायो ।

‘नमस्ते ।’

‘हजुरबा यहीं बस्नुहुन्छ... ’

लोग्नेमानिसले ध्यानपूर्वक छक्क पर्दै केटीलाई हेन्यो । ऊ मौन थिई ।

‘बस्नुहुन्थ्यो, ’ लोग्ने मानिसले भन्यो । ‘यी उहाँकै समाधिका लागि काम गर्दैछु । ’

केटी ट्वाल्ल परी ।

‘उहाँको देहान्त भइसक्यो, हो ? ’

‘मर्नुभयो ।’ लोग्ने मानिस फेरि तख्तातिर निहुरियो, दुईपल्ट रण्डा लायो र फेरि केटीतिर हेर्यो । केही काम थियो कि ? ’

‘त्यसै... मैले उहाँको मुहारचित्र बनाएको थिएँ । ’

‘ए..... ’ लोग्ने मानिसले तीव्रताका साथ रण्डा लगायो ।

‘उहाँ अन्धो हुनुहुन्थ्यो ?, ’ लामो मौनतापछि केटीले सोधी 1

‘अन्धो हुनुहुन्थ्यो ।’

‘धेरै भएको थियो ? ’

‘दस वर्षदेखि । किन ? ’

‘त्यसै ...’

केटी बारीबाट बाहिर निस्की ।

सडकमा आएर क्यानभास बक्समा ढेस्सिँदै केही बेर रोई । हजुरबाको मृत्युले उसलाई असह्य पीडा भयो । पीडा यसकारणले पनि कि उसले बुढाका बारेमा बताउनै भ्याइन । तर यतिखेर उसलाई आफूभित्र कता-कता मानव जीवन एवं कृतिको गहन अर्थसहित त्यसको रहस्यको अनुभूति भयो र अप्रत्याशित रूपमा उमेरका धेरै खुड्किला चढिसकेको आत्मबोध भयो ।

अनुवाद : डा. जङ्गब चौहान  (साभार: रसियाको गहिराइमा र अन्य कथाहरू )

मूल्याङ्कन २०६४ माघमा प्रकाशित