एक ग्लोबको इतिहास
पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– १२

लेनिनग्राड, सोभियत संघ (USSR) मा, नेभा नदीको किनारमा एउटा पुरानो भवन छ जसमा एउटा टावर छ। यो पहिलो रूसी सङ्ग्रहालय, कुन्टस्कामेरा हो। सो टावरको पाँचौँ तलामा एउटा ठूलो शैक्षिक ग्लोब राखिएको छ।
अब म तपाईंलाई यसको इतिहास बताउँछु। यसलाई लेनिनग्राडका विद्वान प्रोफेसर रुडोल्फ इट्सले विस्तृत रूपमा लेखेका थिए।
सन् १७१३ को शरद ऋतुको एक ढल्कँदो साँझमा, जर्मन ड्युची स्चलेस्विग-होस्टिनको गोत्तोर्प दरबारको झ्यालहरू उज्यालो थिए। श्लाइ नदीबीचको टापुमा रहेको सो दरबार राम्रो किल्ला थियो, तर स्विडिस सेनाले त्यसलाई घेरेका थिए। रूसी सेनाहरू ड्युकलाई बचाउन आए र संयुक्त रूपमा स्विडिसहरूलाई पछाडि धकेलिदिए। सञ्चालक (रिजेन्ट) जो युवा ड्युकका संरक्षक थिए, उनले विजयोत्सव मनाए।
सञ्चालकलाई थाहा थियो कि रूसी जार—पिटर द ग्रेट, रूसी अधिकृतहरू बीच त्यहाँ थिए, र उनलाई अनौठा वस्तुहरू मनपर्थे। उनले पिटरलाई हलहरुमा घुमाउँदै सङ्ग्रहमा रहेका वस्तुहरु देखाउन थाले। जारले ती वस्तुहरूको प्रशंसा गरे, तर उनी कतै अडिइकन घुमिरहेका थिए। त्यस्तैमा अचानक उनी रोकिए।
एउटा ठूलो, अँध्यारो हलमा, तीन मिटरभन्दा ठूलो व्यास भएको एक विशाल ग्लोब थियो। यो काठबाट बनेको थियो र त्यसलाई कागजले छोपेर, यूरोपमा त्यतिबेला चिनिएका सबै महादेश र टापुहरू चम्किला रङमा चित्रित गरिएका थिए।
जार अझ बढी चकित भए जब उनका आतिथेयले सानो ढोका खोलेर उनलाई ग्लोबको भित्र जान निम्त्याए। ग्लोबको अक्ष केन्द्रीय टेबलमार्फत गएको थियो, जसको वरिपरि बेन्च थियो। भित्ताहरू बैजनी रंगमा रंगिएका थिए र तामाले बनाइएका ताराहरू टाँसिएका थिए।
जारलाई ग्लोब निकै मन पर्यो। त्यसपछि, सञ्चालकले संकेत दिए, र ग्लोब बिस्तारै पृथ्वीको जस्तै घुम्न थाल्यो। जार मोहित भए। उनी यसलाई रूसी नाविकहरूलाई नेभिगेसन सिकाउन प्रयोग गर्न लालायित भए। तपाईं अनुमान गर्न सक्नुहुन्छ, जब केही दिनपछि उनलाई सो ग्लोब उपहारस्वरूप प्रदान गरियो—स्विडिस घेराबाट दरबारलाई बचाइदिएको कृतज्ञतास्वरूप—उनी कति खुसी भए होलान्।
तर जर्मन ग्लोबका लागि रूससम्मको यात्रा लामो र कठिन थियो। यसलाई सेनामार्फत समुद्रमार्ग हुँदै ल्याइयो, त्यसपछि ठूलो स्लेजमा घोडाहरूले तानेर जङ्गलबीच बाटो बनाउँदै, दलदल र खोँचहरू पार गर्दै ल्याइयो। अन्ततः जब ग्लोब सेंट पिटर्सबर्ग आइपुग्यो, यसलाई विशेष रूपमा निर्माण गरिएको कक्षमा राखियो।
पिटरको मृत्यु भएपछि, यसलाई भर्खरै निर्मित कुन्टस्कामेरा टावरमा स्थानान्तरण गरियो।
पुनर्निर्माण र संरक्षण
बीस वर्षपछि, ठूलो आगलागीले गर्दा कुन्टस्कामेराको धेरै सङ्ग्रहहरु नष्ट भयो । सेही घटनामा गोत्तोर्प ग्लोब पनि लगभग पूर्ण रूपमा ध्वस्त भयो।
त्यो क्षतिग्रस्त ग्लोबलाई लामो समयसम्म कसैले पुनः निर्माण गर्न सकेन। अन्ततः, रूसी हस्तशिल्पी तिर्युतिन र उनका केही सहायकहरूले यसलाई पुनःनिर्माण गरे। उनले नयाँ बाहिरी संरचना बनाए, घुमाउने यन्त्रलाई सुधार गरे, र भूमध्य र देशान्तर रेखाको रुपमा पहेँलो तामाको घेरा राखे।
यसपछि, त्यसमा चित्रहरु कोर्न कलाकारहरूलाई बोलाइयो। किनभने ग्लोब बनिएको सय वर्ष भइसकेको थियो, र यस बीच धेरै नयाँ कुरा पत्ता लागिसकेका थिए।
ग्लोबको भित्री भाग आकाशे नीलो रंगमा पोतियो। नक्षत्रहरू चित्रित गरिए, सुनौलो रङ्गहरु गरिए, र ताराहरू जडान गरिए। ग्लोब पहिलाभन्दा अझ सुन्दर देखिन्थ्यो!
युद्धकालीन संकट र पुनः फेला पारिएको ग्लोब
सन् १९०१ मा, ग्लोबलाई त्सार्स्कोय सेलो (हाल पुश्किन सहर) मा सारियो। १९४१–४५ को दोस्रो विश्वयुद्धको समयमा, शहर नाजी सेनाको कब्जामा पर्यो। जब सोभियत सेनाले पुश्किन सहरलाई मुक्त गर्यो, त्यहाँ ग्लोबको कुनै अत्तोपत्तो थिएन।
लामो खोजीपछि, यो जर्मनीको लुबेक सहरमा भेटियो, जहाँ नाजीहरूले यसलाई लगेका थिए।
दुई सय वर्षअघि जस्तै यसपटक तिर्युतिनस्की ग्लोबलाई फेरि एकपटक पानीजहाजमा लोड गरियो। आर्काङ्गेल्स्क बन्दरगाहमा विशेष रेल प्लेटफर्म बनाइयो, जसले ग्लोबरुपी यात्रीलाई पुनः लेनिनग्राड फर्कायो।
अन्तिम गन्तव्य
सन् १९४८ मा, कुन्स्टकामर टावरको भित्तामा प्वाल पारियो। क्रेनले ठूलो शैक्षिक ग्लोबलाई पाँचौँ तलामा उठायो, जहाँदेखि अहिलेसम्म सुरक्षित रूपमा रहेको छ।
यदि तपाईं कहिल्यै लेनिनग्राड पुग्नुभयो भने, कुन्स्टकामर जानुहोस्। तपाईंले पछुताउनु पर्ने छैन।
क्रमश:
यस श्रृङ्खलाका लेखहरु
भाग १ |
|
भाग २ |
|
भाग ३ |
जब चीन नै सम्पूर्ण पृथ्वी हो भन्ने भाष्य स्थापित गर्न खोजियो ! |
भाग ४ |
|
भाग ५ |
|
भाग ६ |
|
भाग ७ |
|
भाग ८ |
|
भाग ९ |
संसार परिक्रमा गर्ने पहिलो समुद्री यात्रा, जसले पृथ्वी गोलो छ भन्ने प्रमाणित भयो ! |
भाग १० |
|
भाग ११ |

मानव इतिहासको पुनर्लेखन: ११०,००० वर्ष पुरानो खोजले नेन्डरथल र होमो सेपियन्सल…

ईश्वर एक भ्रम

डीएनएको अनौठो भण्डारण क्षमता !

एआई: दृष्टिकोणहरुको टकराव

अद्भूत र विचित्रको छ ब्रम्हाण्डको संरचना र इतिहास

नक्सादेखि ग्लोबसम्म

'प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति' - संक्षिप्त अध्ययन

प्रतिक्रिया