यो कस्तो गणतन्त्र ? जहाँ बग्रेल्ती राजाहरू छन् !
नेपालमा ‘शनिले सन्तान भक्षण गर्ने’ कुराको पुनरावृत्तिले राजतन्त्रका प्रेतहरु बौरिने अवसर पाइरहन्छन् !

‘राजसंस्थाको पुनस्थापना तथा हिन्दू अधिराज्य स्थापना’को अभिष्ट सहित दुर्गा प्रसाई समेतको नेतृत्वमा राजावादीले गरेको चैत्र १५ को आन्दोलनमा चलेको ‘बर्बरतापूर्ण ताण्डव’को पराकम्प जारी छ । शाहवंशको अन्तिम राजा ज्ञानेन्द्र समेतको उत्प्रेरणा रहेको भनिएको सो दिन घटेको घटनामा दुई जनाको ज्यान समेत गएको थियो भने सडकमा केही घण्टा अराजकताको कोहोराम मच्चिएको थियो । सोही घटनाको सन्दर्भमा पक्राउ परेका राप्रपाका नेताहरु रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतकालाई राज्यले राजद्रोहसँगै अपराधिक उपद्रव र सङ्गठित अपराधको आरोप लगाएर कानूनी कारवाही अघि बढाएको छ । सोही दिन भाटभटेनी डिपार्टमेन्टल स्टोरमा भएको आक्रमण, तोडफोड, लुटपाटमा संलग्नताको आरोपमा पक्राउ परेकाहरुलाई समेत आपराधिक उपद्रवको मुद्दा लगाइएको छ ।
राजावादीको उपद्रो र गणतन्त्रको रोइलो
सो घटनामा राज्यपक्षबाट भएको असंयमता र लापरवाही–हेलचेक्रयाइँ प्रश्नको घेरामा छ । अझ यतिखेर सञ्चार तथा डिजिटल माध्यमहरुमा पूर्वराजा ज्ञानेन्द्र विरुद्धको सत्तोसराप हेर्न, पढ्न र सुन्न लायक छ। गणतान्त्रिक नेताहरुले ‘पूर्व राजाको गतिविधिबाट व्यवस्थामाथि खतरा पैदा भएको’ टिप्पणी गर्दै सार्वजनिक गरेको रोइलो त झन् रोचक छ । यस्तो टिठलाग्दो प्रतिक्रिया र छटपटाहट देख्दा लाग्छ – हजारौंको बलिदान र लाखौंको योगदानले ल्याएको गणतन्त्रको जग र धरातल त अति नै कमजोर बनिसकेको रहेछ। आफूहरुको दशकौंको सङ्घर्षको उपलब्धि भन्दै गणतान्त्रिक नेपालका नेताहरूले सगौरव देखाउने गरेको गणतन्त्रको खम्बा त भित्रभित्रै मक्किइसकेको रहेछ। हाम्रो गणतन्त्र कति कमसल बनिसकेको रहेछ भने शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्रले कोल्टो फेर्दा, हाँच्छिउ गर्दा वा खोक्दा समेत त्यो धर्मराउँदो रहेछ। उनको सामान्य गतिविधिले समेत यसलाई धरापमा पार्न सक्छ वा भत्काउन सक्छ भन्ने त्रासमा आफूलाई गणतन्त्रका मसिहा ठान्नेहरू बाँचिरहेका रहेछन्।
आफूहरुको दशकौंको सङ्घर्षको उपलब्धि भन्दै गणतान्त्रिक नेपालका नेताहरूले सगौरव देखाउने गरेको गणतन्त्रको खम्बा त भित्रभित्रै मक्किइसकेको रहेछ। हाम्रो गणतन्त्र कति कमसल बनिसकेको रहेछ भने शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्रले कोल्टो फेर्दा, हाँच्छिउ गर्दा वा खोक्दा समेत त्यो धर्मराउँदो रहेछ।
तर, यथार्थता कस्तो छ भने जनशक्तिले इतिहासको रछ्यानमा मिल्याएका राजतन्त्र र त्यसका परिचालक राजसंस्था नेपालको इतिहासमा अतित भइसकेको छ। अब त्यो फेरि बौरिएर आउने सपना त देख्न पाइन्छ तर नेपालको धरातलीय यथार्थमा त्यो सम्भव छैन । त्यसो त हरेक क्रान्ति र परिवर्तनपछि सत्ताबाट गलहत्याइएका पुरातनपन्थी शक्तिहरुले नयाँ व्यवस्थालाई उल्टाउन र पुरानै व्यवस्था फर्काउन टुप्पीदेखि पाइतालासम्मको बल लगाएर कोशिश गर्ने गर्छन् । यो कुनै नौलो वा अनौठो कुरा होइन । अहिले राजसंस्थाप्रति आस्था र विश्वास राख्ने पुरातनपन्थी शक्तिहरुमा देखापरेका छटपटाहट, चलमलाहट र उपद्रव त्यही कोशिशका उत्पादनहरु हुन् । उनीहरुको त्यो प्रयत्न त्यसबेला पानीको फोका जस्तै विलाएर जानेछ जब परिवर्तनकारी शक्तिहरुका पक्षमा जनताका आस्था, विश्वास र भरोसा अटुट रहनेछ, उनीहरुप्रति जनतामा मोहभङ्गताको स्थिति पैदा भएको हुँदैन । त्यो त्यतिबेला मात्रै सम्भव हुन्छ, जब परिवर्तनकारी शक्तिहरुले जनआकांक्षाहरुलाई उचित रुपमा सम्बोधन गर्नेछन्, उनीहरुले राज्यसत्ता सञ्चालनमा पुरानो शासनसत्ताको हस्को आउने गरी आफूलाई फरक ग्रहबाट अवतरण भएको प्राणी जस्तो विशिष्ट शासक ठान्ने हैन, जनताका सेवक ठान्ने जनपक्षधरता शैली अपनाउने छन् । तर इतिहासकै दुर्दान्त पाठ के पनि हो भने, परिवर्तनकारी शक्तिहरु नै पनि सत्ताको मातमा लठ्ठ भएर कुनै पनि बेला पुरातनपन्थी प्रतिक्रियावादी शक्तिमा रुपान्तरण हुन सक्छन् । उनीहरुले जनतासँग गरेका वाचा, आफूले अपनाउँदै आएका सिद्धान्त आस्थाहरुलाई सर्पले काँचुली फेरेजस्तै परित्याग गरिदिन पनि सक्छ । उनीहरुमा नयाँ आवरणमा जनविरोधी पुरानै शासनशैलीको प्रेत हावी हुन सक्छ । सत्ता र शक्तिको मातमा परिवर्तनकारी शक्तिहरु नै कुनै पनि बेला नयाँ नयाँ राजा र युवराजाहरुमा परिणत हुने खतरा सँधै रहिरहन्छ।
त्यसले जनतामा जुन जोगी आए पनि कानै फट्टा भन्ने अनुभूति पैदा गर्न सक्छ । त्यस अवस्थामा जनताले पुरानो शासन र नयाँ शासन अनि पुराना शासक र नयाँ शासकबीचमा खासै भिन्नता देख्न छाड्छन् । मौजुदा शासन व्यवस्थामाथि पुरातनपन्थी शक्तिहरुबाट खतरा छ भन्ने रोदनलाई उनीहरुले ‘स्याल आयो, स्याल आयो भनेर कराउँदै कुखुरा चोर्ने’ छट्टु स्यालको प्रतिमूर्ति ठान्न थाल्नेछन् । जसले पुरानो व्यवस्था फर्काउन चाहनेहरुका लागि उर्वरभूमि तयार गरिदिन्छ । त्यसले नेपालमा अस्थिरता पैदा गरेर स्वार्थसिद्ध गर्न चाहने विदेशी शक्तिहरुका लागि समेत चलखेल गर्ने भावभूमि समेत पैदा गरिदिनेछ ।
दुःखको कुरा, नेपालमा अहिले त्यही परिस्थिति तयार हुँदै गएको विडम्बनाजनक स्थिति छ ।
सन्तान निल्ने शनि र गणतन्त्रका नेता
फ्रान्सेली क्रान्तिको सफलतापछि सत्ताको मदले मात्तिएका गणतन्त्रवादीहरुको चर्तिकला देखेर वाक्कदिक्क बनेका स्वीस फ्रान्सेली पत्रकार मालेट दु पानले १७९३ मा आफ्नो एक निबन्धमा लेखेका थिए– शनि ग्रहले आफ्नै सन्तानलाई निले जस्तै क्रान्तिले पनि आफ्ना अनुयायीहरुलाई नै खान्छ । (Like Saturn, the Revolution devours its chlidren.) उनले रोमन पौराणिक कथाका ‘शनि ग्रहले आफ्नै सन्तानहरुलाई खाने गरेको’ प्रसङ्गलाई उपमाको प्रयोग गर्दै परिवर्तनकारी शक्तिहरुमा पलाएको सत्ताउन्मादको कारण अधिकांश क्रान्तिहरु अक्सर चरमपन्थमा परिणत हुने कुरा संकेत गरेका थिए ।
मालेट दु पानले संकेत गरे जस्तै नेपालमा पनि क्रान्ति वा परिवर्तन जेसुकै नाम दिऔं, त्यसका उपलब्धिलाई भक्षण गर्ने काम हिजोका प्रतिक्रियावादी भनिएकाहरुबाट हैन, परिवर्तनकारी भनिएकाहरुबाटै निरन्तर भइरहेको छ ।
फ्रान्सेली क्रान्तिको सफलतापछि सत्ताको मदले मात्तिएका गणतन्त्रवादीहरुको चर्तिकला देखेर स्वीस फ्रान्सेली पत्रकार मालेट दु पानले १७९३ मा आफ्नो एक निबन्धमा लेखेका थिए– शनि ग्रहले आफ्नै सन्तानलाई निले जस्तै क्रान्तिले पनि आफ्ना अनुयायीहरुलाई नै खान्छ । उनले संकेत गरे जस्तै नेपालमा पनि क्रान्ति वा परिवर्तन जेसुकै नाम दिऔं, त्यसका उपलब्धिलाई भक्षण गर्ने काम हिजोका प्रतिक्रियावादी भनिएकाहरुबाट हैन, परिवर्तनकारी भनिएकाहरुबाटै निरन्तर भइरहेको छ ।
राजालाई संविधानको सिक्रीले बाँध्ने २०४६ को परिवर्तन भनौं या राजतन्त्र–राजसंस्थालाई इतिहासमा थान्को लगाइदिने २०६३ को आन्दोलनको सफलता– त्यो सबै परिवर्तनकारी शक्तिहरुको एकताबद्धता तथा सहकार्यबाटै मात्र सम्भव भएको हो । तर त्यसले निरन्तरता पाएन । सत्ताको सिंहासनमा जसरी भए पनि आफू आरुढ भइहाल्नुपर्ने लोभलालसाले परिवर्तनकारी शक्तिहरु हिजोकै शासन व्यवस्था फर्काउन चाहने शक्तिहरुसँग घाँटी जोड्न पुगे, उनीहरुलाई काँधमा बोक्न तयार भए । इतिहासको माग र जनताको चाहना एउटा निश्चित कालखण्डसम्म परिवर्तनकारी शक्तिहरु हातेमालो गरुन्, प्रतिगामी–पश्चगामी शक्तिहरुले टाउको उठाउन नपाउन्, जनजीविका र राष्ट्रियताका समस्याहरु छिटोछिटो हल गरिउन् भन्ने हो । तर भइदियो त्यसको उल्टो !
‘राजा नै राजा’हरूको गणतन्त्र
शब्द विन्यास गरेर हेर्दा गणतन्त्र दुईटा शब्दहरु गण र तन्त्र मिलेर बनेको छ । गणको अर्थ समूह, जनता वा समाज हुन्छ भने तन्त्रको अर्थ प्रणाली, शासन व्यवस्था हुन्छ । यी दुईलाई समष्टिमा जनताको शासन प्रणाली भनेर भनिन्छ । अर्थात् शासन सत्ताको प्रमुख स्रोत जनता नै हुन्छन् । यसमा कुनै राजा वा उत्तराधिकारी सत्तामा रहँदैन, जनताले नै प्रतिनिधिहरु चुनेर शासन सञ्चालन गर्न गर्छन् ।
यस अर्थमा नेपालमा जनताको शासन प्रणाली छ । यो सैद्धान्तिक कुरा भयो । यथार्थमा नेपालमा जनताको नाममा दलहरुको शासन प्रणाली छ । त्यो दल, जुन जनताबाट निर्वाचित भएर सत्तामा त पुग्छ तर त्यहाँ उसले जनताको अभिमतका आधारमा हैन, दलनायकको मनोकांक्षाका आधारमा सत्तासञ्चालन गर्ने गर्छ । त्यसो त शासन सञ्चालनका लागि निश्चित नियम, विधि र प्रक्रियाहरु त छन् तर ती फगत देखाउनका लागि मात्रै भए। सानालाई ऐन बडालाई चैन भन्ने नेपाली उक्ति हुबहु चरितार्थ भयो। स्थापित नियमहरू सत्तासञ्चालनको शीर्षासनमा बसेको व्यक्तिको चाहना, इच्छा र आवश्यकताको प्रतिकूल भयो भने त्यसलाई बदल्न कुनै आइतबार कुर्नु परेन ! त्यो कुनै पनि बेला सत्ताअनुकूल हुने गरी बदलिएको र फेरिएको देखियो। यस अवस्था गणतन्त्रलाई जनताले आफ्नो स्वामित्व रहेको गणतन्त्र मान्न र ठान्न सक्ने अवस्था रहेन ! जनताको ठूलो हिस्साको लागि यो दलीय अधिनायकवाद भयो– नाममा गणतन्त्र तर सारमा पञ्चायती शैलीलाई नै पछ्याउने खालको शासन व्यवस्था । अर्थात् नीतिविहीन, जवाफदेहिताविहीन– मुठ्ठीभरका लागि स्वर्ग, बाँकीका लागि कहालीलाग्दो अवस्था ! योभन्दा विडम्बना अरु के हुन सक्थ्यो ।
नेपालमा जनताको नाममा दलहरुको शासन प्रणाली छ । त्यो दल, जुन जनताबाट निर्वाचित भएर सत्तामा त पुग्छ तर त्यहाँ उसले जनताको अभिमतका आधारमा हैन, दलनायकको मनोकांक्षाका आधारमा सत्तासञ्चालन गर्ने गर्छ ।
नेपालमा यसबीचमा केही अनौठा कामहरू समेत भए। गणतन्त्रमा समेत ‘नव राजा’हरू देखा परे। पञ्चायतकालमा हुने एकाध युवराजहरुलाई बिर्साउने गरी गणतन्त्रमा उदाएका थुप्रै नयाँ युवराजहरूले सुनकाण्ड, क्यासिनोकाण्ड, बङ्गुर काण्ड, सुरा–सुन्दरी काण्ड, अस्वभाविक रुपमा अकूत जग्गाजमीन जोड्ने लगायतका थुप्रै काण्डैकाण्डहरु गरेर बितण्डा मच्चाए। राजतन्त्रलाई विस्थापित गरेका दलका टाउकेहरुले पनि आफूलाई नयाँ राजामा परिणत गरे । उनीहरुको शैली, रवाफ, रहनसहनमा शाही राजतन्त्रको भन्दा कहालीलाग्दो छायाँ देखापर्न थाल्यो । हिजो शाही कालमा एकाध युवराजहरुको वितण्डा भोगेका जनताले थुप्रै गणतान्त्रिक युवराजहरुको रजगज, वितण्डाहरु देखे–भोगे । लोकतन्त्र–गणतन्त्रमा पनि शाहीकालमा कथित ठूला बडाका पञ्चखत माफ गरिने प्रथाप्रचलनको पुनरावृत्ति भएको जनताले देखे । आफ्नो स्वार्थका लागि मौजुदा कानूनहरुलाई पाइतालामुनि किच्ने, भएका ऐन, नियम कानूनहरुलाई आफूअनुकूल हेरफेर गरेरै भए पनि स्वार्थसिद्ध गर्ने कामहरु भए, भइरहेका छन् । कानूनराजका सट्टामा दलहरुको गुण्डाराज चल्ने काम भए । राष्ट्रको अभिभावक बन्नुपर्ने शासकहरु युद्ध सरदारहरु जस्ता दलीय स्वार्थलाई चेपेर ‘आफ्ना र मेरा’ का चङ्गुलमा फसे । जनताका जीवन कष्टकर बन्न पुग्यो । त्यसले जनतामा दलहरु प्रति, राजनीतिक नेताहरु प्रति र अन्तत: दलीय व्यवस्थाप्रति नै मोहभङ्ग हुन सक्ने खतरनाक अवस्था पैदा गरिदियो ।
अब के गर्ने?
इतिहास भइसकेको राजतन्त्र वा शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको सत्तोसराप मात्रै अहिलेको समस्याको समाधान हुन सक्दैन । यो पक्कै हो– उनका अवाञ्छित गतिविधिहरुमाथि नत्थी कसिनुपर्छ, राज्यले दिएको सुविधाहरुको प्रयोग गर्दै यही शासन व्यवस्थालाई उल्टाउन खोज्ने उनका मनोकांक्षाहरुलाई बन्देज गरिनैपर्छ– त्यसमा कुनै दुईमत छैन तर त्यसो भनिरहँदा गणतन्त्रका नव राजाहरु अनि युवराजाहरुको अवाञ्छित गतिविधिहरुमाथि पनि उत्तिकै कडाइका साथ नत्थी लगाइनु जरुरी छ । ज्ञानेन्द्रका ‘अवाञ्छित कर्म’हरुको छिद्रान्वेषण गरिरहँदा कतै त्यो गणतन्त्रका नवराजाहरुको अपराधलाई ढाकछोप गरिदिने, जनताको ध्यान उनीहरुको ‘अवाञ्छित कर्म’हरुबाट अन्यत्रै मोडिदिने औजार नबनोस् भन्ने कुरामा पनि उत्तिकै सतर्क र चनाखो हुनु जरुरी छ । त्यसैले फेरि पनि राजतन्त्रशैलीको कुचक्रबाट जनतालाई मुक्त गराउन हो भने सत्ताको भागवण्डा र गठजोडमा नव राजाहरुको आपराधिक कुकर्महरुमाथि आँखा चिम्लिने, उनीहरुले उन्मुक्ति पाउने र अपराधकर्मलाई ढाकछोप गर्नकै लागि नैतिकहराम दलीय गठबन्धन गर्ने गराउने दुश्चक्रलाई तोडिनु पनि उत्तिकै जरुरी छ । यो कुरा निश्चित छ– गणतन्त्रका ‘नव राजा’हरुले आफूलाई जनभावना अनुकूल नसच्याउने र नबदल्ने हो भने पुरानो राजतन्त्रको ताण्डवले शिर उठाउने मौका पटक पटक पाइरहनेछ !
आजको चिन्ता र चासोको सवाल नागरिक बनिसकेका ज्ञानेन्द्रले किन गणतन्त्रले दिएको मानोसुविधा चुपचाप नखाएर किन यसको विरुद्ध चलखेल गर्ने दुस्साहस गरे भन्ने मात्रै हैन, त्योभन्दा ठूलो चिन्ता र चासोका सवाल त 'जेन जी' भनिने युवा पुस्ताका ठूलो हिस्साको आकर्षण र विश्वास किन ज्ञानेन्द्रप्रति बढ्न थाल्यो– यो हुनुपर्छ ।
आजको चिन्ता र चासोको सवाल नागरिक बनिसकेका ज्ञानेन्द्रले किन गणतन्त्रले दिएको मानोसुविधा चुपचाप नखाएर किन यसको विरुद्ध चलखेल गर्ने दुस्साहस गरे भन्ने मात्रै हैन, त्योभन्दा ठूलो चिन्ता र चासोका सवाल त राजतन्त्रको जूठोपुरो खाएका, पुरानै व्यवस्था उल्टाउन चाहनेहरु मात्रै हैन, 'जेन जी' भनिने युवा पुस्ताका ठूलो हिस्सामा राजनीतिप्रति किन विकर्षण बढ्यो, उनीहरुको आकर्षण र विश्वास परिवर्तनकारी शक्तिहरुको सट्टामा किन ज्ञानेन्द्रप्रति बढ्न थाल्यो– यो हुनुपर्छ । यस सवालको उत्तर खोजियो र त्यसका जड कारणहरुलाई सम्बोधन गरिने क्रमको थालनी भयो भने यो कुरा पक्का छ– गणतन्त्र मास्ने, पुरानै व्यवस्था फर्काउन खोज्ने ज्ञानेन्द्रको उत्साह र सपनामा अन्टार्कटिकाको बरफ पानी खनिनेछ !
राजतन्त्रका प्रेतहरुको नाङ्गो नाचलाई उठ्नै नसक्ने गरी थला पार्ने हो भने केही शर्तहरूको पालना अनिवार्य छन्। जस्तै: गणतान्त्रिक नेतृत्वको मुख्य ध्यान जनतामा व्याप्त असन्तोषलाई समाधान गर्नेतर्फ हुनुपर्छ न कि राजावादीहरुसंग एकहोरो दोहोरी खेलेर आफ्ना कुकृत्यहरुलाई ढाकछोप गर्दै निरन्तरता दिनेतिर । देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नु र सुशासन बहाल गर्ने कुरालाई प्राथमिकताको केन्द्रमा राख्नुपर्छ। धरासायी हुन लागेको अर्थतन्त्रलाई कसरी पुनर्जीवन दिने त्यसको ठोस कार्यदिशा तयार गरी कार्यान्वयनमा लाग्नु पर्छ। युवाहरुमा व्याप्त निरासा र पलायनको मनोबिज्ञानलाई सम्बोधोन गर्ने कामलाई भाषणबाजीबाट बाहिर निकालेर व्यवहारिक क्रियान्वयनको रणनीतिमा राख्नुपर्छ। लाखौं सहकारी पीडितहरुको सयौ अरब ठगिएको पैसा कसरी फिर्ता गर्ने भन्ने विश्वसनीय ढाँचा सार्वजनिक गर्नु पर्छ । मल नपाएर बेलैमा खेती किसानी गर्न नपाउने किसानवर्गको समस्यालाई हल गरिनुपर्छ, अवसरको खोजीमा शहर पस्ने र शहरबाट विदेश भाँसिनुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँगाउँमा रोजगारी र अवसरहरु सिर्जना गरिनुपर्छ । आम जनजिवनका यस्ता समस्याहरु सम्बोधन गर्न नसके आम मानिसहरु बिच प्रतिगामी तत्वहरुले सधै चलखेल गर्न सक्छन्। राजावादीको जरो उखेल्ने यो बाहेक अन्य उपाय आजको मितिमा छैन। पूर्व राजाको हौवा देखाएर आफ्ना कमी कमजोरी ढाक्ने कुराले केही समय त जनताको आँखामा छारो हाल्न सकिएला तर दल र त्यसका नेता–नाइकेहरु बेलैमा आत्मलोचित हुँदै, जनतासँग माफी माग्दै सच्चिने प्रक्रियाको थालनी नगर्ने हो भने त्यो धेरै लामो समयसम्म नटिक्ने पक्का छ ।

बर्बरताको ताण्डव !

मानव पुर्खाका खोजमा एउटा क्रान्तिकारी उपलब्धि लुसी !

सबैभन्दा राम्रो शिक्षक भनेको अमेरिकी साम्राज्यवाद हो: माओ त्से–तुङ

नयाँ कानून

डोनाल्ड ट्रम्पको ‘रिभर्स’ किसिन्जर रणनीति

सुनाखरी टोल

मार्क्स आफ्नै युगका सबैभन्दा बढी ‘घृणित’ र निन्दित व्यक्ति थिए !

प्रतिक्रिया