जब ह्वेलहरू चार खुट्टामा हिँड्थे

कलाकारको कल्पनामा पाकिसिटस, जसलाई ह्वेलको प्रारम्भिक पूर्वज मानिन्थ्यो

केटी प्याभिड

महासागरका ठूला जनावरहरूको प्रारम्भिक पुर्खाहरू कुनैबेला जमिनमा हिँड्थे। तिनको अद्भुतयात्रा जमीनबाट समुद्रसम्म कसरी भयो, त्यसको अवलोकन गरौँ।

यद्यपि ह्वेलहरू कुशल पौडीबाज हुन् र पानीमुनि बाँच्न पूर्ण रूपमा अनुकूलित छन्, यी समुद्री स्तनधारीहरू कुनै बेला चार खुट्टामा हिँड्थे।

तिनका स्थलवासी पुर्खाहरू करिब ५० मिलियन वर्षअघि बस्थे।

पाकिसेटसलाई भेट्नुस्— बाख्राको आकारको चार खुट्टे जीव, जसलाई वैज्ञानिकहरूले पहिलो सेटेसीयन (ह्वेल र डल्फिनसमेत पर्ने समुद्री जनावरहरूको समूह) मध्ये एकका रूपमा चिन्छन्।

पाकिसेटसका सन्ततिहरू कसरी ह्वेलमा परिणत भए भन्ने कथा विज्ञानमा थाहा भएको सबैभन्दा रोचक विकासक्रमहरूमध्ये एक हो।

पहिलो ह्वेलहरू कस्ता देखिन्थे?

(माथिको तस्बिरमा देखिएको) पाकिसेटस ह्वेलजस्तो देखिँदैनथ्यो, तर यसलाई पानीमा सहज महशुस हुन्थ्यो। यो जमिनमा बस्थ्यो, ताल र नदीकिनारमा, जुन हाल पाकिस्तान र भारतको भूभाग हो।

यसले साना स्थलजीवी जनावरहरू र मिठोपानीका माछाहरू सिकारी गर्थ्यो, र पानीमुनि सुन्न समेत सक्थ्यो।

अन्ततः यस जीवका नातेदारहरू अझै गहिरो पानीतिर सर्न थाले र नयाँ परिवेशअनुसार अनुकूलित हुँदै गए।

पानीतर्फको यात्रा

यी पुर्खा समूहहरूमध्ये एउटा प्रजातिलाई अम्बुलोसेटस भनिन्थ्यो। यो करिब ५० देखि ४८ मिलियन वर्षअघि नदीमुखहरू (एस्ट्युअरी) नजिक वा भित्र बस्थ्यो।

पाकिसेटसजस्तै, अम्बुलोसेटस पनि पानी र जमिन दुवैमा समय बिताउँथ्यो, तर यसको ठूला खुट्टा पुर्खाका लामो खुट्टाभन्दा चप्पुजस्तै देखिन्थे। यसले पौडी खेल्न पुच्छरको पनि प्रयोग गर्थ्यो।

यस विकासक्रमको थप यात्रा गर्दै जाँदा हामी डोरुडोन भेट्छौं, जुन ४० देखि ३३ मिलियन वर्षअघि बस्थ्यो।

यो पाँच मिटर लामो जीव थियो जसका वास्तविक चप्पुजस्ता अगाडिका खुट्टा (flippers) र साना पछाडिका खुट्टा थिए। यो पूर्ण रूपमा पानीमा नै बस्थ्यो र उत्कृष्ट पौडीबाज थियो। यसले आफ्ना बच्चाहरू पनि पानीमुनि नै जन्माउँथ्यो।

पाकिसेटसदेखि डोरुडोनसम्मको करिब १० मिलियन वर्षको अवधिमा सेटेसीयनहरू (ह्वेलसमूह) पूरै पानीमा बाँच्न अनुकूलित भइसकेका थिए। यो समय लामो लाग्न सक्छ, तर विकासक्रमको हिसाबले यो निकै तीव्र परिवर्तन हो।

बिना दाँतका ह्वेलहरू

डोरुडोनका सन्ततिहरू क्रमशः आधुनिक ह्वेलहरूमा विकसित भए।

करिब ३४ मिलियन वर्षअघि, ह्वेलहरूको एक समूहले नयाँ खानपान शैली विकास गर्न थाल्यो। तिनीहरूको खप्पर च्याप्टो हुँदै गयो र मुखभित्र खान छान्ने फिल्टरहरू विकसित भए।

यी बेलिन ह्वेलहरू भनेर चिनिन्छन्, जसमा ब्लू ह्वेल (blue whale) र हम्पब्याक ह्वेल (humpback whale) पर्दछन्।

अन्य ह्वेलहरू भने आफ्ना दाँत जोगाएर बसे—यस समूहमा डल्फिन, पोर्पोइज, ओरका (killer whale), र स्पर्म ह्वेल समावेश छन्।

स्रोत: https://www.nhm.ac.uk