बर्बरताको ताण्डव !
लाचार र निरीह सरकार, गैर जिम्मेवार राजनीतिक दलहरु: अब गर्ने के ?

दुर्गा प्रसाईको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आव्हान गरेको चैत्र १५ को आन्दोलनमा राजधानी काठमाडौंमा बर्बरताको ताण्डव मच्चियो । इतिहासको रछ्यानमा मिल्काइएका ‘राजा र राजतन्त्रलाई पुनस्थापित गर्ने तथा मुलुकलाई पुरानै हिन्दू अधिराज्य’ बनाउने भन्दै उनले थालेको यस ‘महाअभियान’ले आयोजना गरेको विरोध प्रदर्शन अराजक र अनियन्त्रित बन्यो, निजी घर तथा सार्वजनिक घर, कार्यालय तथा सम्पत्तिमा तोडफोड भए, पार्टी तथा सञ्चार कार्यालयहरुमा आक्रमण भए, सरकारी गाडीहरु जलाइए । तीनकुने र त्यस वरिपरिका सडक तथा क्षेत्रहरु घण्टौंसम्म अराजक झुण्डको कब्जामा देखियो । सबैभन्दा दुःखद कुरा, त्यस घटनामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भयो भने अराजक झुण्डले एक घरमा लगाएको आगजनीमा परी एभिन्यूज टेलिभिजनका फोटो पत्रकारको जलेर मृत्यु भयो ।
मौजूदा व्यवस्थालाई उल्टाएर सिंहासनबाट गलहत्याइएका पूर्व राजा ज्ञानेन्द्र तथा इतिहासको रछ्यानमा मिल्काइएका राजतन्त्रलाई पुनस्थापित गर्ने भनी हाक्काहाक्की घोषणा गरेकाहरुले आयोजना गरेको उक्त कार्यक्रमको प्रकृति र प्रवृत्ति राजनीति दलहरुको जस्तो नियन्त्रित र संयमित नभई हिंसात्मक र अराजक बन्न सक्छ भन्ने कुराको गम्भीर आँकलन गर्ने कुरामा सरकार नराम्ररी चुकेको देखियो ।
कहाँ चुक्यो सरकार ?
चैत्र १५ को आन्दोलन कुनै व्यवस्थित राजनीतिक सिद्धान्त र नीतिबाट परिचालित राजनीतिक दल वा समूहबाट आव्हान गरिएको विरोध कार्यक्रम थिएन, त्यो त मौजूदा व्यवस्थालाई उल्टाएर सिंहासनबाट गलहत्याइएका पूर्व राजा ज्ञानेन्द्र तथा इतिहासको रछ्यानमा मिल्काइएका राजतन्त्रलाई पुनस्थापित गर्ने भनी हाक्काहाक्की घोषणा गरेकाहरुले आयोजना गरेको कार्यक्रम थियो । त्यस अवस्थामा उक्त कार्यक्रमको प्रकृति र प्रवृत्ति राजनीति दलहरुको जस्तो नियन्त्रित र संयमित नभई कुनै पनि बेला हिंसात्मक र अराजक बन्न सक्छ भन्ने कुराको गम्भीर आँकलन गर्ने कुरामा सरकार नराम्ररी चुकेको देखियो ।
चैत्र १५ को आन्दोलनको ‘फिल्ड कमाण्डर’ दुर्गा प्रसाई हुन् । उनलाई प्रत्यक्ष–परोक्ष रुपमा सिंहासनबाट गलहत्याइएका पूर्व राजा ज्ञानेन्द्र तथा यस व्यवस्थालाई उल्टाएर पुरानै व्यवस्था फर्काउन चाहने ‘पुरातनपन्थी’ शक्तिहरुको साथ–समर्थन छ । दुर्गा प्रसाई राजनीतिक विचार र सिद्धान्तले निर्देशित व्यक्ति होइनन्, उनी त विशुद्ध व्यापारिक बुद्धिका व्यक्ति हुन्, जो नाफा नोक्सानको सिद्धान्तमा विश्वास गर्छन् । नेपाली जनताको सबैभन्दा ठूलो ‘ट्र्याजेडी’ चाहिँ चैत्र १५ मा राजधानीको सडकमा बर्बरताको ताण्डव मञ्चन गर्ने ‘फिल्ड कमाण्डर’ प्रसाई कुनै बेला अहिलेका राष्ट्रिय राजनीतिका ‘शीर्षनायकहरु’ प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलमा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाडी छामेका, उनीहरुको आन्द्राभुँडी थाहा पाएका व्यक्ति हुन् । उनी ती दुवै राजनीतिक नेताहरुबाट ‘विश्वास गरिएका’, ‘उपयोग गरिएका’ तथा तिनको ‘नून खाएका’ व्यक्ति हुन्, जो तिनै नेताहरुको ‘पोल खोल्दै’, ‘सत्तोसराप गर्दै’ निक्कै छोटो समयमा ‘लाइमलाइट’मा आएका छन् । नेपाली मिडियाहरुले उनको वास्तविकभन्दा निक्कै ‘भीमकाय र चमत्कारिक छवि’ निर्माण गरिदिएका छन् । पूर्व राजा ज्ञानेन्द्रले त्यसैलाई भजाउन अहिले प्रसाईलाई ‘निमित्त नायक’ बनाएर बोकेका छन् ।
नेपाली जनताको सबैभन्दा ठूलो ‘ट्र्याजेडी’ चाहिँ चैत्र १५ मा राजधानीको सडकमा बर्बरताको ताण्डव मञ्चन गर्ने ‘फिल्ड कमाण्डर’ प्रसाई कुनै बेला अहिलेका राष्ट्रिय राजनीतिका ‘शीर्षनायकहरु’ प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलमा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाडी छामेका, उनीहरुको आन्द्राभुँडी थाहा पाएका व्यक्ति हुन् ।
राजनीतिक दलहरुको गतिछाडापन र मैमत्तापनका कारण उत्पन्न मौजूदा अवस्थाको मीठो र ठेट लवजमा खिल्ली उडान माहिर तथा यदाकदा ‘स्थितिको सही चिरफार र विश्लेषण गरेर’ आम मानिसलाई लठ्ठ बनाउन सक्ने चतुर, धूर्त र वाककलाका धनी व्यक्ति हुन् प्रसाई । उनी कुनै ठोस नीति–सिद्धान्त र विचारका कुरा गरेर होइन, मौजूदा अवस्थामा जनतामा छाएको राजनीति तथा राजनीतिक दलहरुविरुद्धको निराशा र मोहभङ्गताको मानसिकतालाई भड्काउँदै, उनीहरुलाई ऋण मिनाहा गरेर ‘अहिलेको भन्दा उन्नत र वैभवशाली जीवनको अवस्था ल्याइदिने सपना बाँडेर’ आफ्ना पक्षमा मानिसहरुको भीड जम्मा गर्दै आएका व्यक्ति हुन् । मौजूदा ‘राजनीतिक मोहभङ्गताको अवस्था’को फाइदा उठाउँदै पुरातनपन्थी शक्तिहरु समेतको साथ, समर्थन र आडभरोसामा दुर्गा प्रसाईहरुले आयोजना गरेको कार्यक्रम कुनै पनि बेला अराजक र अनियन्त्रित बन्न सक्छ भन्ने कुरालाई गम्भीरतापूर्वक नलिएर सरकार चुकेको देखियो । कतिसम्म भने, वर्तमानको ‘भ्याकुम’मा निर्माण भएको तथा कथित मिडियाहरुले बढी नै हावा भरेर बेलुन जस्तो विनिर्माण गरिदिएको दुर्गा प्रसाईको ‘क्यारिश्मेटिक छवि’का सामु सुरक्षाफौज पनि गलेको देखियो । प्रसाईले गाडीमा सवार भएर निषेधाज्ञा तोड्दै ‘पारस शैली’मा सुरक्षाकर्मीहरुतर्फ गाडी दौडाएर लैजादासमेत उनलाई रोक्न र नियन्त्रणमा लिन सकेनन्, सुरक्षाकर्मीहरु निरीह र लाचार प्रतीत भए । त्यसले पनि सडकमा अराजकता र बर्बरताको ताण्डव मच्चाउख खोज्नेहरुको मनोबल बढेको देखियो ।
यस किसिमका आन्दोलनहरु अनियन्त्रित हुन सक्छ र तिनलाई अनियन्त्रित बनाउने काम हुन सक्छ भनेर आँकलन गर्ने र त्यसअनुसारको सुरक्षा बन्दोबस्त चुस्त दुरुस्त बनाउने कुरामा पनि सरकार चुक्यो । कार्यक्रममा उपस्थितिहरुको संख्यालाई न्यून आँकलन गर्ने र त्यसअनुसार नै सुरक्षा प्रबन्ध पनि कमसल खालको गरेकै कारण अराजक भीडले सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्दा उनीहरुले त्यसको सशक्त प्रतिरोध र प्रतिकार गर्न सकेनन् । कतिपय अवस्थामा सुरक्षाकर्मीहरु आफैंलाई ज्यान जोगाउन सकस पर्यो । सडकमा अराजकताको ताण्डव मच्चिरहँदा र आगलागी निभाउन आएका दमकलमाथि नै समेत आक्रमण हुँदा पनि त्यसलाई रोक्न र प्रतिकार गर्न सुरक्षाकर्मीहरुले नसकेको स्थिति पनि देखियो । त्यसमाथि थप, निजी घरहरुबाट प्रदर्शनकारीहरुमाथि अश्रुग्याँस प्रहार गरिएको घटना तथा त्यसलाई रोक्नेतर्फ उचित पहलकदमी नहुँदा पनि अराजकतालाई सहयोग पुगेको देखियो ।
दलहरुको कमजोरी
पुरातनपन्थी शक्तिहरु जुर्मुराइ रहेको बेला र उनीहरुले जतिबेला पनि स्थितिलाई अराजक बनाउन कोशिस गर्नेछन् भन्ने सामान्यजनले पनि आँकलन गर्न सक्ने कुरा हो । यो कुनै रकेट साइन्सको जटील विषय थिएन । तर राजनीतिक दलहरुले यो बुझेर स्थितिको गम्भीरताबोध गर्नुको साटो त्यसलाई हल्का रुपमा लिएको देखियो । खासगरी, समाजवादी मोर्चाको नाममा जुटेका सत्ता इतर राजनीतिक दलहरुले ‘शक्ति प्रदर्शन गर्ने’ तथा सरकार र दुर्गा प्रसाईलाई ‘देखाइदिने’ नाममा चैत्र १५ गते नै राजधानीमा विरोध प्रदर्शनको आयोजना गर्यो । त्यसले दुर्गा प्रसाईहरुको कार्यक्रममा केन्द्रीत गरिनु पर्ने सुरक्षा प्रबन्ध बाँडियो । त्यसको अप्रत्यक्ष फाइदा उनीहरुलाई भयो ।
दलहरुको नाममा हावी नयाँ खालको राजतन्त्रको चाहिँ अन्त्य होस्, त्यसबाट उत्पन्न असन्तोषलाई राजतन्त्रवादीहरुले भड्काउन तथा आफ्नो पक्षमा उपयोग गर्न पूरजोर कोशिश गरिरहेका छन् गर्नेछन् भन्ने कुरालाई नेपालका सत्ताधारी तथा राजनीतिक दलहरुले थाहा पाएर पनि थाहा नपाएजस्तो अभिनय गरिरहेका छन् । त्यसैबाट हौसिएरै पूर्व राजा ज्ञानेन्द्रले चुनौती दिन सकेका हुन् ।
यतिखेर मौजुदा राजनीतिक व्यवस्था तथा राजनीतिक दलहरुको गतिविधि तथा उनीहरुको गैरजिम्मेवारीपनबाट सिर्जित उकुसमुकुसको वातावरणले गर्दा जनताको एउटा ठूलो हिस्सामा नैराश्यता, वितृष्णा तथा मोहभंगताको स्थिति पैदा भएको छ । यतिखेर जनताको ठूलो हिस्सामा ‘व्यवस्था गए गओस् भाडमा, जसरी भएपनि अहिलेको राम्ररी खानबस्न नपाउने उकुसमुकुस वातावरणको चाहिँ अन्त्य होस्' भन्ने भावना डरलाग्दोसँग विकसित भएर गइरहेको छ । हिजो राजतन्त्रको कहालीलाग्दो अवस्था नभोगेको तथा २०६३ सालको परिवर्तनपछि हुर्केका ‘जेनजी’ पुस्तका लागि दलतन्त्रको आवरणमा मुलुकमा हावी थरिथरिका राजतन्त्रहरु अपाच्य भइसकेको छ । यस्तो अवस्थामा ‘थरिथरिका राजतन्त्रहरु खप्नुभन्दा एउटै राजतन्त्र ठीक’ भन्ने गलत भाष्यलाई उनीहरु माझ फैलाउने र स्थापित गराउने काम भइरहेको छ । 'दलहरुको नाममा हावी नयाँ खालको राजतन्त्रको चाहिँ अन्त्य होस्, त्यसका लागि जुनसुकै व्यवस्था आए पनि मतलब छैन' भन्ने हदसम्मको ढङ्गमा विकसित हुँदै गरेकाे जनअसन्तोषलाई राजतन्त्रवादीहरुले भड्काउन तथा आफ्नो पक्षमा उपयोग गर्न पूरजोर कोशिश गरिरहेका छन्, गर्नेछन् भन्ने कुरालाई नेपालका सत्ताधारी तथा राजनीतिक दलहरुले थाहा पाएर पनि थाहा नपाएजस्तो अभिनय गरिरहेका छन् । त्यसैबाट हौसिएरै पूर्व राजा ज्ञानेन्द्रले खुलेआम चुनौती दिन सकेका हुन् । त्यही आधारमा दुर्गा प्रसाईहरुले मौजुदा व्यवस्थालाई पल्टाउने र राजतन्त्रलाई पुनस्थापित गर्ने गफ हाँक्न सकेका हुन् ।
दलहरु आफूलाई सच्याउनेतिर लाग्ने हो, जनतामा निर्मित ‘सत्तालोलुप, भ्रष्टाचारी, खानका काल’ जस्ता छविलाई मेट्नेतिर लाग्ने हो, जनताले भोगिरहेका वर्तमानको कठिनाइलाई सम्बोधन गर्नेतिर सामुहिक प्रयत्न गर्ने हो, तत्काल र तुरुन्तै लागू गर्न सकिने जनराहतकारी योजना–कार्यक्रमहरु लागू गर्नेतिर सबै दलहरु मिलेर सामुहिक प्रयत्न गर्ने हो भने पुरातनपन्थी शक्तिहरुको चुरीफुरी र फूर्तिफार्ती पानीको फोको जस्तै विलाएर जानेछ भन्ने कुराको आत्मबोध सबै दलहरुमा हुनु जरुरी छ ।
यसलाई रोक्ने र मत्थर पार्ने उपाय भनेको पूर्व राजा, दुर्गा प्रसाइहरुविरुद्ध दलहरु सडकमा ओर्लिएर पैठेजोरी खोज्ने हैन, फेरि पनि आफ्ना गल्ती, कमकमजोरीहरुप्रति आत्मलोचित हुने र त्यसलाई सच्याउनेतिर लाग्नु नै हो । दलहरु आफूलाई सच्याउनेतिर लाग्ने हो, जनतामा निर्मित ‘सत्तालोलुप, भ्रष्टाचारी, खानका काल’ जस्ता छविलाई मेट्नेतिर लाग्ने हो, जनताले भोगिरहेका वर्तमानको कठिनाइलाई सम्बोधन गर्नेतिर सामुहिक प्रयत्न गर्ने हो, तत्काल र तुरुन्तै लागू गर्न सकिने जनराहतकारी योजना–कार्यक्रमहरु लागू गर्नेतिर सबै दलहरु मिलेर सामुहिक प्रयत्न गर्ने हो भने पुरातनपन्थी शक्तिहरुको चुरीफुरी र फूर्तिफार्ती पानीको फोको जस्तै विलाएर जानेछ भन्ने कुराको आत्मबोध सबै दलहरुमा हुनु जरुरी छ ।
अबको बाटो
कुनै पनि तन्त्र– चाहे त्याे दलतन्त्र होस् या राजतन्त्र– त्यसको नाम र आवरणमा गरिने कुकृत्य र अपराधहरुप्रति राज्य निर्मम बन्नै पर्छ । यस अर्थमा हिजोका बर्बरताका नायकहरु तथा पृष्ठभागमा बसेर मलजल गर्ने योजनाकारहरु, जसमा पूर्व राजा समेत पर्दछन्, लाई कानूनको कठघरामा उभ्याइनु जरुरी छ ।
सबैभन्दा मुख्य कुरा जनतामा छाएको निराशा, वितृष्णा तथा राजनीति र राजनीतिक दलहरुप्रतिको मोहभङ्गताको स्थितिलाई बदल्नेतिर लाग्नु नै हो । पुरातनपन्थीहरुको जोशजागर र हौसलाको नाभी भनेकै मौजदा अवस्थामा जनतामा छाएको निराशा र वितृष्णाको स्थिति हो ।
नेपालमा राजतन्त्र भनेको इतिहासको अतीत हो, त्यो बौरिएर फर्केर आउन सक्दैन– यस कुरामा ढुक्क भए हुन्छ, त्यसका बारेमा माथापच्ची गरिरहुन जरुरी छैन । अहिलेको मुख्य समस्या अतीत बनेको राजतन्त्र हैन, दलहरुभित्र पैदा भएको थरिथरिको राजतन्त्र हो, जसको बारेमा चिन्तन, मनन र माथापच्ची गरिनु जरुरी छ । खासगरी, नीति, सिद्धान्त र विचारलाई ताकमा राखेर दलहरुभित्रका नायकहरु आफू पुराना राजालाई विर्साउने गरी नयाँ राजामा परिणत हुने, टुप्पोमा बसेर आदेश जारी गर्ने र पार्टीका समुच्च पंक्तिले त्यसलाई विनाप्रश्न खुरुखुरु मानिदिनुपर्ने– यो अहिलेका सबै दलहरुभित्र पैदा भएको नयाँ राजतन्त्र हो । टुप्पोमा रहेका नायकले आजीवन पद ओगटेर शासन गर्ने अनि तलका पंक्तिले चुँसम्म नगरिकन, सही गलतको विवेचना नगरिकन विनाप्रश्न खुरुखुरु मानिदिनुपर्ने– यो नयाँ खालको राजतन्त्रले संघीयताको कार्यान्वयनमा भाँजो हालेको छ, गणतन्त्रलाई गाँडतन्त्र तुलाइएको छ, मुलुकलाई आर्थिक रुपमा भडखालोतिर जाँक्दै लगेको छ– मूल समस्या यो हो । हिजोको राजतन्त्रमा जस्तो शीर्षस्थहरु जवाफदेहिताविहीन बन्ने, उनीहरु प्रश्न र कारवाहीको घेराभन्दा बाहिर रहने यो पक्कै पनि संघीयता र गणतन्त्रको मर्म हैन– यसलाई बदल्नु र फेर्नु जरुरी छ ।
टुप्पोमा रहेका नायकले आजीवन पद ओगटेर शासन गर्ने अनि तलका पंक्तिले चुँसम्म नगरिकन, सही गलतको विवेचना नगरिकन खुरुखुरु मानिदिनुपर्ने– यो नयाँ खालको राजतन्त्रले संघीयताको कार्यान्वयनमा भाँजो हालेको छ, गणतन्त्रलाई गाँडतन्त्र तुलाइएको छ, मुलुकलाई आर्थिक रुपमा भडखालोतिर जाँक्दै लगेको छ– मूल समस्या यो हो ।
अहिलेको जस्तो दलका ‘टाउके’ नेताहरु जवाफदेही बन्नै नपर्ने, उनीहरु प्रश्न र कानूनको घेराभन्दा माथि हुने, दलतन्त्रको नाममा जनताको आस्था, विश्वास र भरोसा टुटिसकेकाहरुबाटै बारम्बार तर परिणामविहीन ढङ्गले शासित बनिबस्नुपर्ने हो भने पक्कै पनि यो व्यवस्थालाई मृत्युको घाटतिर उन्मुख गराउनेछ । पक्कै पनि त्यो दुर्भाग्यपूर्ण अवस्था नरोकिने हो भने, पुरातनपन्थी राजतन्त्रकै पुनरोदय त हुने छैन, तर त्यसले पराधिनतालाई स्वीकार्ने अराजक र अनियन्त्रित नयाँ खालको व्यवस्थालाई भने निम्त्याउने खतरा पक्कै रहनेछ ।
त्यसैले अबको चिन्तन र विमर्शको दिशा– इतिहासका प्रेतहरुलाई सत्तोसराप मात्रै गरिबस्ने र तिनीहरुबाट आतंकित बनिरहने हैन, नयाँ नयाँ खालका प्रेतहरुलाई जन्मनै नदिने अवस्था कसरी सिर्जना गर्ने भन्नेतिर पनि सोझिनु जरुरी छ ।

मानव पुर्खाका खोजमा एउटा क्रान्तिकारी उपलब्धि लुसी !

सबैभन्दा राम्रो शिक्षक भनेको अमेरिकी साम्राज्यवाद हो: माओ त्से–तुङ

नयाँ कानून

डोनाल्ड ट्रम्पको ‘रिभर्स’ किसिन्जर रणनीति

सुनाखरी टोल

मार्क्स आफ्नै युगका सबैभन्दा बढी ‘घृणित’ र निन्दित व्यक्ति थिए !

पारिजात नेपालमा यो युगको एक्लो व्यक्ति हुन्, उनी बराबरका अहिलेसम्म जन्मिएका पन…

प्रतिक्रिया