भोकै रहनु परेपनि पार्टीको नीति उल्लंघन गर्नु हुँदैन: चाओ एन लाई

मुस्लिम इलाकामा सुँगुरको मासु नखानू, मुसलमानहरुको स्वीकृतिबिना उनीहरुको कुनै पनि सामान नलिनू या त्यसको प्रयोग नगर्नू, कुनै पनि मुसलमानको घरमा उसलाई नसोधीकन वा उसको स्वीकृतिबिना घरभित्र नजानू ।
लामो अभियानको समय थियो । सेप्टेम्बर, १९३५ को बीचसम्ममा लाल सेनाले गगनचुम्बी पहाड मिनशान पर्वत र निर्जन दलदल मैदान पार गरेर कानसू प्रान्तको मुस्लिम क्षेत्रमा प्रवेश गरिसकेको थियो । त्यहाँ पुग्नेबित्तिकै सैनिक हेडक्वार्टरको राजनैतिक निर्देशकले हाम्रो लागि एउटा व्याख्यानको आयोजना गरेको थियो । त्यस व्याख्यानद्वारा हामीलाई त्यहाँका मुस्लिम जनताको आस्था र मान्यताका बारेमा सामान्य जानकारी दियो । यसबाट हामीले अल्पसंख्यक मुसलमानहरुको रीतिरिवाज र आदतको सम्मान गर्न सिक्यौं । त्यस व्याख्यानले हामीलाई अनुशासनको तीन मुख्य नियमहरु र ध्यान दिन योग्य ८ वटा कुराहरुको पालना गर्नमा जोड दिनुको साथै हाम्रो लागि अरु पनि केही नियमहरु निर्धारण गरियो । ती नियमहरु यसप्रकार थिए:
मुस्लिम इलाकामा सुँगुरको मासु नखानू, मुसलमानहरुको स्वीकृतिबिना उनीहरुको कुनै पनि सामान नलिनू या त्यसको प्रयोग नगर्नू, कुनै पनि मुसलमानको घरमा उसलाई नसोधीकन वा उसको स्वीकृतिबिना घरभित्र नजानू ।
उपाध्यक्ष चाओ एन लाईले पनि हामीलाई बारम्बार यी कुराहरु सम्झाइरहनु हुन्थ्यो - "हाम्रा मुसलमान भाइहरु र हामी हान जातिको रीतिरिवाज एउटै प्रकारको छैन । हाम्रो सेना मजदूर र किसानहरुको लाल सेना हो । मुस्लिमहरुको रीतिरिवाज तथा आदतको सम्मान गर्नु र हाम्रो आचरणबाट उनीहरुमाथि कस्तो प्रभाव पर्छ भन्ने कुराको ध्यान राख्नु हाम्रो कर्तव्य हो । हामीलाई दिएको व्याख्यानबाट हामी यी कुराहरुमा अत्यन्त सजग भयौं ।
त्यस गाउँमा हामीले डेरा लिएपछि उपाध्यक्ष चाओको लागि खाना पकाउन हामीलाई एउटा भाँडाको आवश्यकता भयो । भाँडा सापटी माग्नको लागि हामी एउटा परिवारकहाँ गयौं । त्यहाँ हामीले एउटा भाँडा दिनको लागि बारम्बार अनुरोध गर्यो तर उनीहरुले दिनै मानेनन् । त्यसले गर्दा मलाई सारै रीस उठ्यो । रीसको झोंकमा मेरो मुखबाट यी शब्दहरु निक्ल्यो - "यहाँका मानिसहरु कस्ता अजीब रहेछन् ।”
यो कुरा उपाध्यक्ष चाओले कसरी थाहा पाउनुभयो, मलाई थाहा भएन । पछि उहाँले मलाई यसरी सम्झाउनु भयो - "यदि उनीहरुले तिमीलाई भाँडा सापटी दिएन भने त्यसलाई वास्ता नगर । अर्कै उपाय सोच। किन उनीहरुलाई गाली गछौं ?"
“यो कुरालाई कसरी ध्यान नदिउँ । आखिर खाना पनि त पकाउनु छ । भाँडा भएन भने कसरी खाना पाक्छ ? खाना पाकेन भने के खाने ?"
मेरो यो कुरा सुनेर उपाध्यक्ष चाओले मलाई गम्भीरतापूर्वक सम्झाउनुभयो - "हामी पार्टीको नीतिलाई कुनै हालतमा पनि उल्लंघन गर्न सक्दैनौं चाहे हामी भोकै रहन किन नपरोस् । यो लालसेनाको नियम हो । तिमी यो कुरा किन सम्झदैनौं ?"
म चुप लागें र खाना पकाउनको लागि अर्को उपाय सोच्न लागें ।
अर्को दिन बिहानैदेखि हामीलाई पहाड चढ्न शुरु गर्नु थियो । त्यो पर्वत त्यति अग्लो त थिएन, तर पहाडहरू अनगिन्ती थिए । एउटा पहाड चढ्नेवित्तिकै अर्को अगाडि खडा हुन्थ्यो । त्यो पहाड़ी श्रृंखला पार गर्नको लागि हामी दिनभरि नै हिँडिरह्यौं । तैपनि त्यो श्रृंखलाको अन्त्य भएन । अँध्यारो भइसकेको थियो । त्यसैले पहाडमा अवस्थित एउटा सानो गाउँमा वास वस्यौं । त्यस गाउँमा पानीको ठूलो अभाव थियो । त्यहाँ एउटा मात्र इनार थियो । त्यो इनार ३० मिटर गहिरो थियो । त्यहाँ रहेका करीब एक दर्जन जति परिवारहरु त्यसै इनारको पानीमा निर्भर थिए । हामी पुगेपछि त पानीको समस्या झनै गम्भीर भयो ।
म पनि आफ्ना एक साथीको साथ लिएर पानी लिन त्यो गाउँमा गएँ । गाउँलेहरुसँग बाल्टिन मागेर हामी इनारमा पानी लिन गयौं । तर बाल्टिनमा बाँधेको डोरी खुस्केर बाल्टिन इनारमा खस्यो । पानी एक थोपा नलिइकनै हामी डेरामा फक्यौं । अब हामीले आलोचना पनि सुन्नुपर्नेछ र त्यो बाल्टिनको मूल्य पनि तिर्नपर्नेछ । तर योभन्दा पनि गम्भीर कुरा त दिनभरिको हिँडाइले गर्दा उपाध्यक्ष चाओलाई धेरै प्यास लागेको थियो । प्यास लागेकै अवस्थामा उहाँ काममा लागिसक्नु भएको थियो । उहाँको लागि हामीले एक थोपा पानी समेत प्रबन्ध गर्न सकेनौ ।
अब एउटै उपाय के थियो भने, गाउँमा अर्कै वाल्टिन लिएर इनारबाट
पानी ल्याउनु । हामी एक आपसमा गुन्गुनाउँदै एकजना गाउँलेसँग बाल्टिन लिएर इनारमा पानी लिन गयौं । एकैछिन पछि हामी पानी लिएर आयौं र पानी उमालेर उपाध्यक्ष चाओलाई दियौं । त्यति बेलासम्ममा ९ बजिसकेको रहेछ । यति अवेर पानी र खाना पाएकोमा उपाध्यक्ष चाओले केही गुनासो गर्नु भएन । तर गाउँलेको वाल्टिन इनारमा खसालेकोमा तीव्र आलोचना गर्नुभयो । “साथीहरु । तपाईंहरु यत्रो लापरवाहीका साथ किन काम गर्नुहुन्छ ? तपाईंहरुले गाउँलेको बाल्टिन इनारमा खसालीदिनुभयो । अब उनीहरुले कसरी इनारबाट पानी झिक्छन् ? यसबाट उनीहरुमाथि कस्तो नराम्रो प्रभाव पर्यो होला ? अब तपाईंहरुको जिम्मेदारी के भने उनीहरुको नोक्सानीको पूर्ति छिटो गरिदिनुस् र तपाईंहरुप्रति पैदा भएको नराम्रो प्रभाव निकालिदिनुस् । छिटो जानुस् र उनीहरु सँग माफी माग्नुस् र त्यो बाल्टिनको मूल्य कति हो पत्ता लगाएर पूरा रकम तिरिदिनुस् ।"
‘On the Long March as Guard to Chou En-Lai’बाट अनुदित ।
Main Image: https://www.britannica.com
प्रतिक्रिया