पारसको राष्ट्र र राष्ट्रवादी झन्डा

‘दुष्टहरुको अन्तिम आश्रयस्थल हो: राष्ट्रभक्ति !’
प्रख्यात ब्रिटिस लेखक डा. स्यामुयल जोन्सनको भनाइ नेपालमा पनि सही साबित भएको छ । आफ्ना अपराधलाई राष्ट्रवादी झन्डा ओढाएर पवित्र बनाउने क्रम यहाँ पनि तीब्र भएको छ । ‘उनले (रुबेल चौधरीले) पटक–पटक नेपाल, नेपाली र म स्वयंलाई पनि होच्याउने काम गरे, त्यो मैले सहन सकिनँ’ भन्ने पारस शाहको बयान त्यसकै दृष्टान्त हो । टाइगर टप्स गोलीकाण्डका कारण सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका पारस शाहले रिहाइपछि पोखरामा ‘देश र जनताका लागि यस्तो काम गरेको’ र ‘गोली चलाएकामा कुनै पछुतो नभएको’ दाबी अपराधलाई ‘राष्ट्रवादी झन्डा’ले छोप्ने प्रयास हो । फिस्टेल एयरबाट हर्षित मुद्रामा पोखरामा उत्रेका पारसले गलाभरि लगाएको माला र खादा निकाल्दै गरेको दाबीले ‘राष्ट्रवादी राजनीति’को हिंसात्मक पाटो पनि उजागर गर्छ ।
पारसको विजयी मुद्रा, अनेक बयानबाजी, प्रेस–विज्ञप्तिमार्फत व्यक्त राजनीतिक हुँकार अनि राष्ट्रिय झन्डा बोकेका राजावादीको ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नाराबाजीले ‘राष्ट्रवादी राजनीतिक भावभूमि’तिर संकेत गर्छ । पारस र राजावादीका विचार–व्यवहारले ‘राष्ट्रवादी राजनीति’सँग जोडेर हिंसालाई पनि महिमामण्डन गरेपछि केही ‘राष्ट्रवादी’ मनमस्तिष्कलाई भने उद्वेलितै तुल्याएको हुन सक्छ । हुन त उपप्रधानमन्त्रीका ज्वाइँ र भ्रष्टाचारमा मुछिएका बांगलादेशी रुबेल चौधरीले नेपाल, नेपाली र शाहलाई अपशब्द प्रयोग गरे कि गरेनन्, खोजीकै विषय हो । तर आफू, देश र नेपालीविरुद्ध अपशब्द प्रयोग भएकाले भनाभन हुँदा राष्ट्रियता बचाउन गोली चलाएको पारसको दाबीले केही ‘राष्ट्रवादी’ मानसलाई उत्तेजित पारेको भने सही हो ।
यहाँ राष्ट्रभक्ति र राष्ट्रवाद अत्यन्त बिकाउ विचार र भावना हुन्, जुन राणा र शाह शासकका लागि शासन बचाउने रामवाणै हो ।
विश्वको मानचित्रमा नेपाल सानो मुलुक होइन, तर दुई अति ठूला राष्ट्रबीच रहेका नेपालीमा स्वदेश सानो रहेको हीनता र ठूला छिमेकीबाट मिचिने भयको बोधले घर गर्दै आएको छ । अतः यहाँ राष्ट्रभक्ति र राष्ट्रवाद अत्यन्त बिकाउ विचार र भावना हुन्, जुन राणा र शाह शासकका लागि शासन बचाउने रामवाणै हो । ‘नेपाल, नेपाली र मलाई होच्याइएको’ दाबी गर्दै शाह–राणावंशकै पारसले पनि गोलीकाण्डको प्रतिरक्षाका लागि त्यही रामवाण प्रहार गरे । आन्दोलनबाट राजतन्त्र नफ्याँकिएको भए राजै हुने पारसले हानेको रामवाणले ‘राष्ट्रवादी’ मानसको तलाउमा ससानो तरङै ल्यायो, जसमा माओवादीका केही कच्चा नेता पनि तरङ्गित भए ।
रातारात दिइएको वक्तव्य, सिडिओ कार्यालयमा दिइएको बयान, राजावादीमाझ राखिएको मन्तव्य अनि आँधीबेहरीले विचलित नबनाउने प्रेस–विज्ञप्तिमार्फत पारसले गरेको दाबी सुविचारित प्रचारबाजीभन्दा कम थिएन । उनको दाबीको केन्द्रमा गोलीकाण्डलाई न्यायोचित ठहर्याउने आशयमात्रै होइन, विदेश र विदेशीबाट हेपिएका नेपालीको मानसिकतालाई उत्तेजित पारी आफ्नो स्वार्थअनुकूल बनाउने नियत पनि लुकेको छ । तर्क र तथ्यभन्दा भावनामा उचालिने धेरै टिभी च्यानलले पारसकै दाबीलाई वैधता दिए, गोलीकाण्डको यथार्थ खोज्नुभन्दा पनि । नेपाली वेबसाइटमा त विदेशीको विरोधमा अशिष्ट र अराजनीतिक टिप्पणीको बाढी नै ल्याइयो, पारस महान् राष्ट्रभक्त र राष्ट्रवादी भएको, उनले ‘बांगलादेशी ज्वाइँ र जर्मन सासूलाई गोली नठोकेर गल्ती गरेको’ भान पारियो । विडम्बना, विदेशीप्रतिको अन्धविरोधको क्रममा पारस–पत्नीदेखि राजपरिवारका बुहारी भारतीय नै हुने गरेको, ‘श्री’ नै ५–५ वटा हुने कुनै नेपाली नभएको भन्दै भारतीय राजघराना वा श्री ३ वटा भएका राणापरिवारसँगै बिहे गरिने तथ्यतिर ध्यानै दिइएन । त्यसमा पनि राष्ट्रवादी आवरणमा गरिएको विदेशीविरोधी हिंसाको माग र त्यसको आपूर्ति कम भएको गुनासो भएको प्रचारबाजी खतरनाक छ । त्यसले जनमानसलाई राष्ट्रवादको नाममा अन्धता र उग्रतातिर, अन्ततः ‘नेशनल सोसलिज्म’ (नाजीवाद)तिर डोर्याउन सक्छ ।
‘राष्ट्रवादी’ झन्डा उचाल्दै पारसले आफ्नो प्रतिरक्षाका लागि नेपाली जनमानसको सबैभन्दा कमजोर र संवेदनशील भावनामा आगो लगाउन खोजे, ऋतिक रोशनकाण्ड पुनरावृत्तिको आसमा । त्यस्ता नियत र शैलीको गहन चिरफार गर्नुभन्दा केही ‘राष्ट्रवादी’ र इलेक्ट्रोनिक मिडिया त्यही प्रचारकै लहलहैमा लागेर रुबेल–चरित्र उधिन्नतिर बेसी लागे । कतिसम्म पनि भने रुबेलले होच्याएकै हुन् कि होइनन्, हुन् भने पनि पारसले गोली हान्नु जायज छ कि छैन, अनेक अपराधमा मुछिएका पारसले किन ‘राष्ट्रवादी’ झन्डा उचाले, त्यसको खोजी र शल्यक्रिया गर्नु जरुरी नै ठानिएन । अनेक राष्ट्रियगान गाउँदै, राष्ट्रवादी विचार बोक्दै, राष्ट्रिय झन्डा उचाल्दै आक्रमणको तोप बांगलादेशी नागरिक रुबेल र उनकी सासू सुजाता कोइरालातिर फर्काइयो, जो गैर–राजतान्त्रिक नेपाली शासकवर्गकै सदस्य हुन् । सत्ता–शक्तिमा नाता र पहुँचकै आधारमा देशलाई खोक्रो पार्ने रुबेलको अपराधबारे खोजबिन थालियो । गणतन्त्रलाई ढाल बनाएका रुबेल–चरित्रको खोजीले लोकतान्त्रिक गणतन्त्रमा हावी भएको नव–सम्भ्रान्तवर्ग र त्यससँग टाँसिएको भ्रष्टाचारको सञ्जाललाई उजागर गरिनु पनि सराहनीय पक्ष नै हो । तर त्यस्तो खोजीको नियत पारस–काण्डलाई न्यायोचित ठहर्याउने वा ‘राष्ट्रवादी’ भएकै कारण अभियुक्तलाई माफी दिनुपर्ने विचारतिर ढल्कियो भने लक्ष्यभ्रष्ट हुन सक्छ । खोजी गर्दा देशी–विदेशी अपराधीलाई चोख्याउने, दुवै अपराधी नै त हुन् भन्दै पन्छाउने र विदेशीलक्षित हिंसा उक्साउने काम गरियो भने त्यसले राष्ट्र र राष्ट्र (जनता)लाई बलियो बनाउँदैन ।
वास्तविकता के हो भने यस्ता लक्ष्यभ्रष्ट विचार–व्यवहारले जस्तै, ‘राष्ट्रवाद’को दुहाई दिँदै पारसले गरेको प्रचारबाजीले पनि राष्ट्र र राष्ट्र (जनता)लाई बलियो बनाउँदैनन्, गणतन्त्रलाई आफ्नो अपराधको ढाल बनाउने र सत्ता–शक्तिको आडमा नेपाललाई नै खोक्र्याउने रुबेलको चालले जस्तै । यथार्थमा पारसको ‘नेपाल, नेपाली र म’को ‘राष्ट्रवादी’ दायराभित्र राष्ट्र र राष्ट्र (जनता) पर्दैनन् भन्ने तीतो तथ्य पनि बुझ्नु जरुरी छ । उनको परिभाषामा ‘नेपाल’ त्यस्तो देश मात्रै हो, जसको हैसियत राजतन्त्र चलाउन जरुरी भूगोलभन्दा बेसी छैन । जमिन्दारका लागि जमिन्दारी चाहिएझैं, उनीजस्ता देशकै सबैभन्दा ठूला जमिन्दारका लागि मुलुक भनेको पनि आफ्नो जमिन्दारी मात्रै हो । उनको व्याख्यामा ‘नेपाली’को अर्थ हो, दमित–पीडित रैती, नागरिक अधिकारबिनाका प्रजा, जमिन्दारीका हरूवा–चरुवा वा राजसत्ताको अधीनस्थ रहने मानिस । पारसका उदण्ड र हिंसात्मक व्यवहार हेर्दा शाही गाडीबाट कुल्चिएर मर्ने गायक प्रवीण गुरुङहरू हुन् वास्तविक ‘नेपाली’ । र, प्रवीण गुरुङको हत्याविरुद्ध लाखौं नेपालीको हस्ताक्षर अभियान चलाउने बागी विद्यार्थी नेता रविन्द्र अधिकारीजस्ता नागरिक ‘अराष्ट्रिय तत्त्व’ (अत) हुन्, ‘नेपाली’ होइनन् । लोकतान्त्रिक गणतन्त्रमा पनि नागरिक नभइसकेका पूर्वयुवराज पारसको ‘म’को मतलब हो, श्री ५ युवराजाधिराज । राजतन्त्र बाँकी रहेको भए भावी श्री ५ महाराजाधिराज । नेपाल र नेपालीका अधिपति, शासक र राजा । के नेपाली जनतालाई पारसको शाही परिभाषाअनुसारका ‘नेपाली’ हुन स्वीकार्य छ ?
अराष्ट्रिय विरासत थामेका राणाशासकहरूमध्ये अन्तिम महाराज मोहन शमशेरले सात सालको संघर्षमाथि हिंसात्मक दमन गर्ने क्रममा राष्ट्रियताको नारा प्रचार गर्दै हुकुमीराज टिकाउन खोजे ।
यी सबैको अर्थ हो, पारसले राष्ट्रभक्ति र राष्ट्रवादको मुकुन्डो लगाएर लोक र लोकतन्त्रको सिकार खेल्न खोज्दैछन्, आफ्ना पिता–पुर्खाले जस्तै । ‘आफू पृथ्वीनारायण शाहको सन्तान, नेपाली नागरिक भएको र नेपाली जनताको राष्ट्रिय स्वाभिमान बचाइराख्न लडेको’ दाबीसँगै उनी आफूलाई राष्ट्रियताका मसिहाका भनाउन खोज्दैछन्, शाहवंशका राजा–महाराजाले जस्तै । यथार्थमा राष्ट्र र राष्ट्रियता भनेको कुन चरोको नाम हो भन्ने शाहवंशीय राजाहरूका लागि देशको तात्पर्य हो: धेरै उब्जाउ जमिन, राष्ट्रबासीको मतलब हो: खेती गर्ने हरूवा–चरुवा अनि शासनको तात्पर्य हो: जमिन्दारी चलाएर मोजमस्ती गर्नु । शासनको विरोध गर्नुचाहिँ राष्ट्रद्रोही हुनु हो । गोरखा राज्यको सैनिक विस्तारको क्रममा उनका पुर्खाले नेपाललाई पुनः एकिकृत गर्नुको अर्थ ‘राष्ट्र’ निर्माण गरेको र राष्ट्रिय एकताको अभियान चलाएको ठान्न मिल्दैन । किनभने उनीहरूको मुख्य लक्ष्य राष्ट्रिय एकता थिएन, ठूलो गोर्खाली साम्राज्य खडा गरी शासन गर्नु र विजित क्षेत्रका स्रोत–साधन–सम्पति लुटेर मोजमस्ती गर्नु थियो, आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीका अनुसार । शाहवंशका नाबालकदेखि पागल राजाहरूको भीड, अधिकांश प्रधानमन्त्री र मन्त्रीको हत्या, राष्ट्रिय चरित्र ग्रहण नगरेको सेनामार्फत दमन अनि राष्ट्रको स्रोत–साधन–सम्पतिको व्यापक लुटले देशलाई ‘राष्ट्र’ बनाएनन् । अतः नेपाल देश बने पनि ‘राष्ट्र’ बनेन, शरीरको ढाँचाकाँचा बने पनि मासुसँगै जीवनरस भरिएन ।
त्यही अराष्ट्रिय विरासत थामेका राणाशासकहरूमध्ये अन्तिम महाराज मोहन शमशेरले सात सालको संघर्षमाथि हिंसात्मक दमन गर्ने क्रममा राष्ट्रियताको नारा प्रचार गर्दै हुकुमीराज टिकाउन खोजे । कतिसम्म भने उनले राजा त्रिभुवन र युवराज महेन्द्रलाई पनि ‘अराष्ट्रिय तत्त्व’ (अत) घोषणा गर्दै राजच्युत गरे र पारसकै पिता ज्ञानेन्द्रलाई राजा बनाए, चार वर्षकै उमेरमा । राणाशासनका अन्त्यपछि महेन्द्रले सत्र सालको शाही विप्लवसँगै राष्ट्रियताको झन्डालाई प्रजा र प्रजातन्त्रविरुद्ध डण्डाका रूपमा बर्साए, सार, भाषाशैली र प्रचार–प्रणालीमा राणाशासकीय प्रचारबाजीकै नक्कल गर्दै । राणापरिवारसँग हाडनाता जोडिएका महेन्द्र र महेन्द्र–पुत्रहरूले गरेको राष्ट्रियताको प्रचारबाजीअनुसार प्रजातन्त्रका लागि लड्ने सबै दल, नेता र प्रजा ‘अत’ साबित भए । तानाशाह मोहन शमशेरको आँखामा ‘अत’ ठहरिएका र राज्यच्युत गरिएका शाहवंशीय राजाहरूले नै महाराज मोहन शमशेरको स्थानमा पुगेपछि प्रजा र प्रजातन्त्रलाई नै ‘अत’ बनाए र सिंगो देशलाई बिर्ता ।
हुन त दक्षिणी छिमेकीसँग सन् १९५० र सन् १९६५ का राष्ट्रघाती सन्धि गरेर हुकुमी शासन टिकाउने र प्रजा–प्रजातन्त्रको घाँटी निमोठ्ने राणा र शाहवंशका शासकहरूको राष्ट्रभक्ति र राष्ट्रवाद नाङ्गिएको दसकौं भइसक्यो । र पनि महाराज जुद्ध शमशेरका पनाति ज्ञानेन्द्र र खनाति पारससँगै तिनका हुक्के–बैठकेको दल भने नेपाली जनतालाई राष्ट्रभक्ति र राष्ट्रवादको पाठ पढाउन उद्यत छन् । राज्यच्युत भइसकेपछि धर्मनिरपेक्षताको विरोधको नाममा हिन्दू धर्मको पक्षपोषण, राष्ट्रिय अखण्डताको वकालतको नाममा संघीयताको विरोध गर्दै हिँडेका पूर्वराजा, पूर्वयुवराज र पूर्वपञ्चहरू राजतन्त्र पुनस्र्थापनाका लागि राष्ट्रभक्तिरूपी अन्तिम आश्रयस्थलमा ‘शरण’ माग्दैछन् । सत्ता–शक्ति खोस्दै राष्ट्र (जनता)माथि शासन गर्न राष्ट्रभक्ति, राष्ट्रवाद, राष्ट्रियता वा गणतन्त्रलाई निजी हतियारको रूपमा उपयोग गर्ने जुनसुकै देशका धूर्त र दुष्टलाई पनि फेरि ‘शरण’ दिइयो भने मरण हुन सक्छ: राष्ट्र, राष्ट्र (लोक) र लोकतन्त्रको ।
(अहिले राजतन्त्र तथा हिन्दू राज्य पुन:स्थापनाको आवाज उठ्न थालेको पृष्ठभूमिमा यो लेख सान्दर्भिक हुने देखिएकोले समावेशी मासिकको २०६७ माघ अङ्कबाट साभार गरी पुन: प्रकाशित गरिएको छ । )
प्रतिक्रिया