ईश्वर एक भ्रम

रिचर्ड डकिन्सको पुस्तक 'द गड डिलूजन'  को अध्ययनमा आधारित विश्लेषण

धार्मिक वा ईश्वरीय विश्वास प्रायः अन्धविश्वास र अतार्किकतामा आधारित हुन्छन् । धर्मलाई प्रायः समाजलाई नियन्त्रण गर्नको लागि एक उपकरणको रूपमा प्रयोग गरिन्छ । धर्मले अन्याय, असमानता  र पश्चगमनलाई बढावा दिन्छ । यसको विपरीत नास्तिकता एक सकारात्मक र तर्कसंगत दृष्टिकोण हो । यसले मानवता,  नैतिकता र सामाजिक विकासलाई अगाडि बढाउन मद्दत गर्छ । नास्तिकहरूले कुनै धर्म र अन्धविश्वासबिना नै जीवनलाई गहिराइपूर्वक बुझ्न सक्छन् र त्यसमा अर्थ खोज्न सक्छन् । त्यसकारण नास्तिकता अन्धविश्वास र अतार्किकताको विरुद्ध हुन्छ । मानवता र समग्र समाज विकासमा विज्ञान र तर्कको धेरै महत्त्वपूर्ण योगदान हुन्छ । विज्ञानले ब्रम्हाण्ड र जीवनको अर्थात् जीवन र जगतको जटिलतालाई बुझ्नमा सहायता प्रदान गर्छ । तर्क र विज्ञानको आधारमा जीवनलाई बुझ्न सकिन्छ तर धर्मले केवल अन्धविश्वास,  अज्ञानता र अन्यौलतालाई मात्र बढावा दिन्छ र समग्र मानव समाजलाई भयानक अन्धकारतिर डोर्‍याउँछ ।

'द गड डिलूजन' पुस्तकमा प्रसिद्ध वैज्ञानिक, दार्शनिक तथा लेखक रिचर्ड डकिन्सले धार्मिक अन्धविश्वासलाई साहसपूर्वक चुनौती दिएका छन् । उनका अनुसार धर्मयुद्धदेखि लिएर समकालीन आतंकवादसम्म धार्मिक अन्धविश्वासले मानवतालाई कष्ट मात्र प्रदान गरेको छ । यसमा उनले बौद्धिक तीक्ष्णतासँगै तर्क र व्यङ्ग्यसहित ईश्वरका विभिन्न अवधारणाहरूको छानबिन गरेका छन् । उनले यसमा पुराना प्रतिशोधी देवतादेखि लिएर ज्ञानोदयका धेरै सौम्य विचारसम्म सबैको विश्लेषण गरेका छन् । उनले धार्मिक अन्धविश्वासका मुख्य तर्कहरूलाई नष्ट गरिदिन्छन् र कट्टरता,  पूर्वाग्रह,  असमानता,  अन्ध्विश्वास एवं दुर्व्यवहार जस्ता समाजका धार्मिक विकृतिहरूलाई उजागर गर्दछन् । उनले यसमा नास्तिकताको वैज्ञानिकता,  तार्किकता,  सत्यता र विश्वसनीयतालाई पनि गहन रूपमा विश्लेषण गरेका छन् ।

रिचर्ड डकिन्स (मार्च २६,  १९४१) क्रमविकासवादी जीववैज्ञानिक,  नैतिकतावादी र प्रसिद्ध लेखक हुन् । उनी विशेषगरी विज्ञान र धर्मनिरपेक्षताको व्यापक रूपमा वकालत गर्दछन् । उनी केन्याको नैरोबीमा जन्मिएका थिए । उनले अक्सफोर्ड विश्वविद्यालयमा शिक्षा हासिल गरे । उनले दर्शनशास्त्रमा पीएचडी गरेका छन् । सन् १९७६ मा प्रकाशित उनको पुस्तक 'द सेल्फिश जीन'  धेरै प्रसिद्ध भयो । यसमा उनले सबै जीव प्रतिलिपि संस्थाभित्र अस्तित्वद्वारा विकसित हुन्छन् र जीवजन्तु जीनलाई जीवित राख्ने एक माध्यम हुन् भन्ने कुरा स्पष्ट बताएका छन् । धर्मका तर्कशील आलोचक डकिन्सलाई धार्मिक अन्धविश्वासलाई चुनौती दिने र तर्क तथा वैज्ञानिक परीक्षणलाई बढावा दिने नास्तिकता आन्दोलनका एक अग्रणी व्यक्ति मानिन्छ । सन् २००६ मा प्रकाशित अति धेरै बिक्री भएको उनको पुस्तक 'ईश्वर एक भ्रम' (The God Delusion) ले ईश्वरको अस्तित्वको विरुद्धमा तर्क प्रदान गर्छ  र समाजमा धार्मिक अन्धविश्वासको नकारात्मक प्रभावको परीक्षण गर्दछ । यसबाट प्रभावशाली विचारकको रूपमा डकिन्सको स्थिति अझ प्रबल भएको देखिन्छ । यो पुस्तक लाखौं प्रति बिक्री भइसकेको छ र ३० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ ।

 गहन धार्मिक अविश्वासी

केही मानिसहरू नास्तिक शब्दलाई गलत ठान्छन् र यसलाई नकारात्मक ढंगले प्रयोग गर्छन् । नास्तिकता ईश्वरमा अविश्वास मात्र होइन,  बरु यो तार्किक सोच र वैज्ञानिक दृष्टिकोणको प्रतीक पनि हो । धर्मले आफ्ना विभिन्न स्वरूपमा संस्कृति र परम्पराहरूको माध्यमबाट मानवीय सोचलाई प्रभावित गर्दछ । धेरै मानिस स्वयंलाई धार्मिक मान्छन्, तर वास्तवमा उनीहरू आफ्ना विश्वास र तर्क प्रमाणको आधारमा परीक्षण गर्ने कुरामा डराउँदछन् । धार्मिक अनुष्ठान, प्रतीक र शब्द कुनै तार्किक आधारको सट्टा भावना र परम्परामा निर्भर हुन्छन् ।

नास्तिकता ईश्वरमा अविश्वास मात्र होइन,  बरु यो तार्किक सोच र वैज्ञानिक दृष्टिकोणको प्रतीक पनि हो ।

विज्ञान र धर्मको बीचमा धेरै ठूलो अन्तराल हुन्छ । विज्ञान साक्ष्य, प्रयोग र तार्किकतामा आधारित हुन्छ, तर धार्मिक विश्वास श्रद्धा र अन्धविश्वासमा आधारित हुन्छ । केही मानिस धार्मिक विश्वासलाई कुनै प्रश्न नगरीकन नै स्वीकार गर्छन् र यसलाई आफ्नो पहिचानको हिस्सा मान्छन् । धार्मिक विश्वासले व्यक्तिगत स्तरमा मात्र होइन, बरु सामाजिक र राजनीतिक स्तरमा पनि धेरै नराम्रो असर पुर्‍याउँदछ । धर्म केवल कल्पना र परम्पराको हिस्सा मात्र हो । यद्यपि धर्मलाई तुरुन्तै त्याग्ने कुरा सजिलो हुँदैन, किनकि यसले समाजमा धेरै गहिरो जरा गाडेको हुन्छ ।

धर्म केवल व्यक्तिगत विश्वास मात्र होइन, बरु यो सामूहिक सोच र सामाजिक दबावको पनि हिस्सा हुन्छ । धर्मले नैतिकता, जीवनको उद्देश्य, आदि मार्फत् समुदायलाई भावनात्मक रूपमा ग्रसित बनाएको हुन्छ । तर यो सबै एक भ्रम हो । धेरै मानिस स्वयंलाई धार्मिक मान्दछन्, तर तिनीहरू वास्तवमा धार्मिक हुँदैनन् । यी मानिसहरू धर्मका प्रतीक, अनुष्ठान र परम्पराहरूलाई महत्त्व दिन्छन् तर उनीहरू कुनै पनि अलौलिक शक्ति वा ईश्वरमा विश्वास गर्दैनन् । यो धारणा पनि समाजमा गहिराईपूर्वक फैलिएको हुन्छ ।

धर्म र नास्तिककताको बीचमा के फरक हुन्छ भने धर्मले प्रायः मानिसलाई परम्परा,  अन्धविश्वास र अतार्किक विश्वासतिर डोर्‍याउँछ,  तर नास्तिकता तर्क,  विज्ञान र प्रमाणमा आधारित हुन्छ ।

नास्तिकताको अर्थ नैतिकताको अभाव होइन । नास्तिकताको अर्थ ईश्वरमा अविश्वास गर्ने मात्र होइन,  यो एक सकारात्मक र तर्कसंगत दृष्टिकोण हो । नास्तिकहरू कुनै धार्मिक भ्रमबिना जीवनलाई गहिराईपूर्वक बुझ्न सक्छन् र त्यसमा अर्थ खोज्न सक्छन्  । त्यसकारण नास्तिकता अन्धविश्वास र अतार्किताको विरुद्ध एक विद्रोह हो र यसले मानवतालाई अगाडि बढाउनमा मद्दत गर्छ । धर्मले प्रायः नैतिकताको स्रोत केवल ईश्वर मात्र हो भन्ने दावी गर्छ । तर यो तर्कपूर्ण रूपले गलत छ । नैतिकताको आधार मानवीय सहानुभूति, सहयोग र तर्क हो, कुनै धार्मिक ग्रन्थ वा ईश्वर जस्तो कुनै भ्रमित चीजको आदेश मान्नु होइन । धार्मिक विश्वासमाथि प्रश्न उठाउनु र तिनीहरूलाई तर्कको कसौटीमा परीक्षण गर्नु आवश्यक हुन्छ । धर्मलाई केवल यो परम्परा वा समाजले यसलाई मान्छ भन्ने आधारमा मात्र स्वीकार गर्नु हुँदैन, यसको सट्टा आफ्नो सोचलाई स्वतन्त्र राख्नुपर्छ र हरेक चीजलाई वैज्ञानिक र तार्किक दृष्टिकोणले हेर्नुपर्छ ।

धर्म र नास्तिककताको बीचमा के फरक हुन्छ भने धर्मले प्रायः मानिसलाई परम्परा,  अन्धविश्वास र अतार्किक विश्वासतिर डोर्‍याउँछ,  तर नास्तिकता तर्क,  विज्ञान र प्रमाणमा आधारित हुन्छ । धर्म प्रायः समाजलाई अनाश्यक नियन्त्रण गर्ने एक उपकरणको रूपमा प्रयोग गरिन्छ । धर्म एकप्रकारको भ्रम हो । यो मानव समाजको लागि हानिकारक हुन्छ ।  धार्मिक विश्वास तथ्य र वास्तविकताको सट्टा कल्पना र अन्धविश्वासमा आधारित हुन्छन् । यो भ्रम यति गहिरो हुन्छ कि मानिसले यसलाई साँचो ठान्न लाग्छन् तर यसको पछाडि कुनै वैज्ञानिक वा तार्किक आधार हुँदैन । त्यसकारण अहिलेसम्म आउँदा विज्ञानले ईश्वरको आवश्यकतालई खारेज गरिदिएको छ ।  

ईश्वरीय परिकल्पना

ईश्वरको अस्तित्वलाई विज्ञान, तर्क र प्रमाणको माध्यमबाट सावित गर्न सकिंदैन । ईश्वरको धारणा परम्परागत मान्यता,  भ्रमपूर्ण विचार र पौराणिक कहानी जस्ता कुराको रूपमा प्रस्तुत गरिन्छ । ईश्वरीय विचार सांस्कृतिक र मनोवैज्ञानिक निर्माण होइन । परम्परागत रूपमा ईश्वरलाई ब्रम्हाण्ड तथा जीवको रचना गर्ने र हरेक चीजमा नियन्त्रण राख्ने एक सर्वशक्तिमान, सर्वज्ञ र सर्वव्यापी शक्तिको रूपमा हेरिन्छ । यो परिकल्पना विभिन्न धर्ममा अलग-अलग तरीकाले ढंगले प्रस्तुत गरिन्छ तर मुख्य विचार समान रहन्छ । यो परिकल्पना प्रायः धार्मिक ग्रन्थ र परम्परामा पाइन्छ । यो परिकल्पना धेरै मानिसको लागि एक सहज उत्तर हो, तर वास्वतमा यो प्रश्नहरूबाट जोगिने तरीका हो ।

ब्रम्हाण्ड र जीवनको जटिलतालाई बुझ्नको लागि ईश्वर जस्तो कुनै सर्वशक्तिमान शक्तिको आवश्यकता पर्दैन । महाविस्फोट,  क्रमविकास,  प्राकृतिक छनौटद्वारा जातिको उत्पत्ति, आदि वैज्ञानिक सिद्धान्तले ब्रम्हाण्डको उत्पत्ति तथा जीवनको उत्पत्ति र विकासलाई उत्कृष्ट ढंगले बुझाएका छन् ।

धार्मिक मान्यताहरूलाई सामान्यतः प्रमाणबिना स्वीकार गरिन्छ, तर विज्ञानले कुनै पनि दावीलाई परीक्षण, प्रमाण र तार्किकताको आधारमा स्वीकार गर्दछ । केही मानिसहरू ब्रम्हाण्डको जटिलतालाई ईश्वरको उपस्थितिको माध्यमबाट मात्र सावित गर्न सकिन्छ भन्ने दावी गर्छन् । यो तर्क केवल ईश्वरको अन्तराललाई भर्ने प्रयास मात्र हो, जहाँ मानिसहरूले बुझ्न नसक्ने चीजहरूलाई ईश्वरसँग जोड्दछन् । ब्रम्हाण्ड र जीवनको जटिलतालाई बुझ्नको लागि ईश्वर जस्तो कुनै सर्वशक्तिमान शक्तिको आवश्यकता पर्दैन । महाविस्फोट,  क्रमविकास,  प्राकृतिक छनौटद्वारा जातिको उत्पत्ति, आदि वैज्ञानिक सिद्धान्तले ब्रम्हाण्डको उत्पत्ति तथा जीवनको उत्पत्ति र विकासलाई उत्कृष्ट ढंगले बुझाएका छन् । प्राकृतिक छनौटले जीवनको विविधता र जटिलतालाई राम्रोसँग बुझाउने काम गरेको छ । त्यसकारण ईश्वरको परिकल्पना केवल अज्ञानताको कारण उत्पन्न हुन्छ ।

विज्ञानले नयाँ-नयाँ खोजहरू गर्दै गएपछि ईश्वरको भूमिका कम हुँदै गयो ।  ईश्वरको परिकल्पना स्वयंले एक समस्या उत्पन्न गर्छ । यदि ब्रम्हाण्डको जटिलतालाई बुझाउनको लागि ईश्वरको आवश्यकता छ भने ईश्वरको जटिलतालाई कसले बुझाउँछ ?  यदि हरेक जटिल चीजको लागि एक रचनाकारको आवश्यकता हुन्छ भने ईश्वरलाई पनि कसैले रचेको हुनुपर्छ । त्यसकारण ईश्वरको परिकल्पनाले एक अनन्त प्रतिगमनतिर लिएर जान्छ । यो तार्किक रूपले असंभव छ ।

ईश्वर केवल एक सांस्कृतिक निर्माण हो । अलग-अलग सभ्यताले आफ्ना अलग-अलग ईश्वरको निर्माण गरे र तिनीहरूको पूजा गरे । हरेक धर्मको ईश्वर अर्को धर्मभन्दा फरक हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने यी सबै मानिसका कल्पनाका हिस्सा हुन् । यदि ईश्वर वास्तवमा विद्यमान हुन्थ्यो भने त्यसको स्वरूप हरेक ठाउँमा समान हुन्थ्यो । ईश्वर परिकल्पना केवल एक विचार हो,  तर यो कुनै सच्चाई होइन । त्यसकारण ईश्वरको कल्पना असंभव र अनावश्यक हो । हरेक चीजलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ र प्रमाणबिना कुनै पनि धारणालाई स्वीकार गर्नुहुँदैन । वास्तविकतालाई बुझ्नको लागि तर्क, विज्ञान र प्रमाण नै सबभन्दा प्रभावकारी उपकरण हुन् ।

ईश्वरको अस्तित्वका तर्कहरू

ईश्वर मान्नेहरू ईश्वरको अस्तित्व परिभाषाबाट सिद्ध हुन्छ भन्छन्,  तर यो दोषपूर्ण तर्क हो । किनकि केवल परिभाषाले मात्र कुनै पनि चीजको अस्तित्व संभव हुँदैन । अनुकूलन वा 'डिजाइन' को तर्कले ब्रम्हाण्ड र जीवनको जटिलता र अनुकूलन एक बुद्धिमान निर्माता (ईश्वर) को अस्तित्वको प्रमाण हो भन्ने मान्यता राख्छ । तर यो गलत छ  र अज्ञानतामा आधारित छ । किनकि प्राकृतिक छनौट र क्रमविकासवादको माध्यमबाट जीव र जगतको जटिलता र अनुकूलनको व्याख्या गर्न सकिन्छ । त्यसकारण ईश्वरको परिकल्पना अनावश्यक छ,  किनकि वैज्ञानिक सिद्धान्त यी प्रश्नहरूको उत्तर दिनमा सक्षम छन् ।  विलियम पेलीको तर्क अनुसार जसरी घडीको जटिलताले घडी निर्मातातिर संकेत गर्दछ,  त्यसरी नै प्रकृतिको जटिलताले ईश्वरतिर संकेत गर्दछ । यो तर्क सरासर गलत छ,  किनकि यसको बारेमा प्राकृतिक छनौटको सिद्धान्तले धेरै राम्रो र सरल ढंगले व्याख्या गर्दछ ।

केही मानिस ईश्वरको अस्तित्वको लागि धार्मिक कला,  संगीत,  धर्मग्रन्थको दृष्टान्त दिन्छन् । तर यी सबै चीज मानिसले निर्माण गरेका हुन् । धर्मग्रन्थ मानिसले नै लेखेका हुन् ।

ईश्वर मान्नेहरूका अनुसार ब्रम्हाण्डको अस्तित्वको लागि एक प्रथम कारण ईश्वर नै हो भन्ने छ । तर यो तर्कले अनन्त निकासको समस्यालाई समाधान गर्दैन । यदि ईश्वरलाई ब्रम्हाण्डको कारण मान्ने हो भने ईश्वरको अस्तित्वको कारण के हो ?  यसकारण यो तर्कले ईश्वरको अस्तित्वलाई प्रमाणित गर्न  सक्दैन । ब्रम्हाण्डको उत्पत्तिको व्याख्या गर्नको लागि वैज्ञानिक सिद्धान्त (जस्तो कि महाविस्फोटको सिद्धान्त) पर्याप्त छ । त्यसकारण ईश्वरको अस्तित्वको परिकल्पना भ्रमपूर्ण र अनावश्यक छ । केही मानिस ईश्वरको अस्तित्वको लागि धार्मिक कला,  संगीत,  धर्मग्रन्थको दृष्टान्त दिन्छन् । तर यी सबै चीज मानिसले निर्माण गरेका हुन् । धर्मग्रन्थ मानिसले नै लेखेका हुन् ।

ईश्वर मान्नेहरूले नैतिकता र नैतिक नियमहरूको अस्तित्वलाई ईश्वरको अस्तित्वको प्रमाण मान्छन् । तर नैतिकताको उत्पत्तिलाई मानवीय समाज र विकासवादी प्रक्रियाको माध्यमबाट बुझ्न सकिन्छ । नैतिकता ईश्वरमाथि निर्भर हुँदैन,  बरु यो मानवीय समाज र सहयोगको परिणाम हो । धार्मिक नैतिकता प्रायः संकीर्ण र विवादास्पद हुन्छ र यो सार्वभौमिक नैतिकताको आधार हुन सक्दैन । नास्तिक व्यक्ति धार्मिक व्यक्तिको तुलनामा अझ बढी नैतिकवान हुन्छन् । केही मानिस ईश्वरको अस्तित्वलाई प्रार्थनाको उत्तर,  धार्मिक अनुभव,  चमत्कार जस्ता आफ्ना व्यक्तिगत अनुभवहरूको आधारमा प्रमाणित गर्ने प्रयास गर्छन् । तर यो तर्क अवैज्ञानिक र अविश्वसनीय छ । व्यक्तिगत अनुभवलाई प्रमाणको रूपमा स्वीकार गर्नु गलत हो । किनकि यी अनुभव मनोवैज्ञानिक र सांस्कृतिक प्रभावको कारण हुनसक्छन् । चमत्कार र धार्मिक अनुभव प्रायः अन्धविश्वास र मनोवैज्ञानिक प्रभावका कारण हुन्छन् । यिनीहरूलाई वैज्ञानिक रूपले प्रमाणित गर्न सकिंदैन ।

ईश्वरको अस्तित्वलाई सिद्ध गर्नको लागि दिइने जति पनि तर्कहरू वैज्ञानिक,  दार्शनिक र तार्किक रूपमा गलत छन् । त्यसकारण ईश्वरीय परिकल्पना अनावश्यक हो र यो मानवीय कल्पनाको परिणाम हो । नास्तिकता नै एक तार्किक र वैज्ञानिक दृष्टिकोण हो ।

लगभग निश्चित रूपमा ईश्वर किन छैनन् ?

ईश्वरको अस्तित्वको बारेमा धर्म र परम्पराले गरेको दावी अनावश्यक मात्र छैन,  बरू धेरै असंभव पनि छ । माथि नै उल्लेख गरिसकियो कि प्राकृतिक छनौट र विकासवादको माध्यमबाट ईश्वरको आवश्यकतालाई खारेज गर्न सकिन्छ । प्रकृतिमा पाइने सबै जटिलता र विविधता प्राकृतिक प्रक्रियाहरूकै माध्यमबाट विस्तारै-विस्तारै विकसित भएको हो । विकासवादले जटिलताको व्याख्याको लागि ईश्वरको आवश्यकतालाई समाप्त गरिदियो । प्राकृतिक छनौटको सिद्धान्तानुसार सरल रूप विस्तारै-विस्तारै जटिल हुँदै जान्छन् भन्ने स्पष्ट हुन्छ । यसले प्राकृतिक परिस्थितिबाट कुन प्रजाति विकसित हुन्छन् र कुन नष्ट हुन्छन् भन्ने कुरा प्रष्ट पार्दछ । यो सिद्धान्तले धार्मिक व्यक्तिद्वारा प्रायः ईश्वरलाई जिम्मेवार ठानिने जटिल जीवन रूपहरूलाई बुझाउँदछ । यो प्रक्रिया कुनै बुद्धिमान रचनाकारद्वारा भएको होइन ।

ईश्वर मान्नेहरू आँखा, पखेटा, आदि जस्ता जटिल विशेषतायुक्त संरचना कुनै निर्माताबिना असंभव छ भन्छन् । तर विकासको लागि लाखौं पुस्तामा लाखौं चरणको आवश्यकता हुन्छ भन्ने कुरा नबुझ्दा यस्ता तर्क गरिन्छन् ।

ईश्वरद्वारा पृथ्वीमा जीवको सृष्टि गरियो भन्ने कुराले विकासको विरुद्ध तर्कलाई पेश गर्दछ । ईश्वर मान्नेहरू आँखा, पखेटा, आदि जस्ता जटिल विशेषतायुक्त संरचना कुनै निर्माताबिना असंभव छ भन्छन् । तर विकासको लागि लाखौं पुस्तामा लाखौं चरणको आवश्यकता हुन्छ भन्ने कुरा नबुझ्दा यस्ता तर्क गरिन्छन् । प्रत्येक चरण असंभव थियो,  तर पृथ्वीको निर्माणपछि तिनीहरू घटित हुनको लागि धेरै समय बितिसकेको थियो । यो कुरा सबभन्दा जटिल जीवित संरचनाहरूमा पनि लागू हुन्छ । विशेषता विकसित हुँदै जाँदा तिनीहरूको केही उपयोग हुन्छ, जसको अर्थ के हो भने विकासवादले अर्को पुस्तामा तिनीहरूलाई अझ परिष्कृत बनाउँदै लान्छ । ईश्वरवादीहरू जीवनको उत्पत्तिलाई दिव्य मान्छन् । पृथ्वीमा जीवको उत्पत्ति एकैचोटी भएको होइन,  यसको लागि लाखौं वर्ष लाग्यो । खगोलविज्ञान र भौतिक विज्ञानका हालैका खोजहरूबाट ब्रम्हाण्डको अस्तित्वको लागि कुनै निर्माताको आवश्यकता पर्दैन भन्ने पुष्टि भइसकेको छ । ईश्वरवादीहरूले ईश्वरमा भर परेर वैज्ञानिक खोजलाई त्यागिदिन्छन् र अज्ञानताको अध्यारोमा डुबिरहन्छन् ।

धर्मले ईश्वरलाई अन्तरालको देवताको रूपमा प्रस्तुत गर्दछ । विज्ञानले कुनै चीजको उत्तर नदिएपछि त्यसलाई ईश्वरको अस्तित्वसँग जोडिदिइन्छ । तर विज्ञानले प्रगति गर्दै गएपछि यो अन्तराल कम हुँदै गएको छ । धार्मिक दृष्टिकोण आलसी मात्र छैन,  यसले मानव ज्ञानका सीमालाई पनि अवरोध गर्दछ । परिकल्पना प्रमाणसँग मेल खाने, सरल र स्पष्ट हुनुपर्छ । सर्वशक्तिमान र सर्वज्ञ रचनाकारको अवधारणामा आधारित ईश्वरको परिकल्पना जटिल मात्र छैन,  कुनै पनि वैज्ञानिक परिकल्पनाको मानकबाट पुष्टि हुँदैन ।

ब्रम्हाण्डमा जीवको उत्पत्तिलाई बुझ्नका लागि अनिश्चितता र प्राकृतिक प्रक्रियालाई स्वीकार गर्नुपर्छ । जीवन केवल ईश्वरको योजनाको परिणाम हुनसक्छ भन्ने दावीले मानिसको अज्ञानता, सीमित बुझाई र अज्ञात चीजबाट हुने त्रासलाई दर्शाउँछ । संयोग र प्राकृतिक कानून एकसाथ मिलेर जटिलता र व्यवस्था उत्पन्न गर्न सक्दछन् । जस्तो कि ब्रम्हाण्ड र जीवनका उदाहरणहरूबाट स्पष्ट हुन्छ । मानिसको मस्तिष्क यस्तो संरचनामा विकसित भएको छ,  जुन उपरिढाँचालाई देख्न र अर्थ दिनमा सक्षम छ ।

हाम्रो प्रजातिको लागि यो गुण धेरै महत्त्वपूर्ण छ । ईश्वरको अस्तित्वलाई प्रमाणित गर्न नसकेपछि त्यसलाई मानिरहनु आवश्यक हुँदैन । वैज्ञानिक दृष्टिकोणले पनि ईश्वर हुने कुराको मूल्यांकन गर्दा यसको अस्तित्व असंभावित देखिन्छ । ब्रम्हाण्ड र जीवनको व्याख्याको लागि प्राकृतिक प्रक्रिया नै पर्याप्त छ । ईश्वरको अस्तित्व कुनै पनि हिसाबले असंभव छ । त्यसकारण धार्मिक अन्धविश्वासलाई चुनौती दिंदै वैज्ञानिक दृष्टिकोणलाई अपनाउनु आवश्यक हुन्छ; किनकि यो सत्यको खोज र मानवताको प्रगतिको लागि आवश्यक हुन्छ ।

धर्मका जराहरू

धर्म केवल एक सांस्कृतिक निर्माण हो । यसलाई विभिन्न मनोवैज्ञानिक, सामाजिक र ऐतिहासिक प्रकियाहरूको परिणामस्वरूप मानव मस्तिष्कमा विकसित गरिएको हो । मानव मस्तिष्कमा धार्मिक विचारका जरा शायद उनीहरूका पूर्वज जंगली अवस्थामा हुँदादेखि नै जोडिएको हुनुपर्छ । प्राचीन मानिसले प्राकृतिक घटना र आफ्नो वरिपरिका चीजहरूलाई नियन्त्रित शक्तिको रूपमा देखे,  जसले उनीहरूलाई डर र सुरक्षाको प्रदान गर्थे । यी घटनालाई उनीहरूले कुनै प्रकारको अलौकिक शक्ति वा देवी-देवताहरूको रूपमा व्याख्या गरे । यो केवल एक मानसिक रूपक थियो, जुन पछि सांस्कृतिक रूपमा विस्तारित भयो । हरेक घटनाको पछाडि कारण खोज्ने मानव मस्तिष्को विकासकै कारण शुरूमा धर्मको उत्पत्ति भयो । मानिसले कुनै जटिल चीज देख्ने वित्तिकै स्वाभाविक रूपमा यसको कुनै कारण वा निर्माता हुनुपर्छ भन्ने मान्छन् र त्यसको कुनै उत्तर प्राप्त नभएपछि ईश्वर र वा कुनै अलौकिक शक्तिलाई त्यसको कारण वा निर्माता मान्नतिर लाग्छन् ।

मानिसको धार्मिक विश्वास कयौं प्राकृतिक प्रवृत्तिहरूको परिणाम हुन सक्छ । मानव मस्तिष्क अनजान चीजहरूको बारेमा सोच्नको लागि बनेको हो । जस्तो कि जीवन-मृत्यु र यस्तै चीजहरूसँग सम्बन्धित अनिश्चितताको सामना गर्नको लागि मानिसले एक अलौकिक शक्तिको अवधारणा बनाए । यो एक प्रकारले मनोवैज्ञानिक प्रक्रिया हो, जसबाट मानिस आफ्नो अस्तित्व र मृत्युको भयबाट बच्ने कोशिस गर्दछन् । यो विचार विस्तारै विभिन्न समाजमा गहन धार्मिक विश्वास र परम्परामा बदलियो ।

धर्म मानव समाजमा अस्तित्वमा आउने अर्को कारण सामूहिक जीवन प्रणालीको सिद्धान्त हो । मानव पुर्खा सँगसँगै समूहमा रहँदा उनीहरूले एक-अर्कोमाथि भरोसा गर्नु आवश्यक हुन्थ्यो । यो विश्वास र एकता धर्मको माध्यमबाट प्रकट भयो । किनकि धर्मले समूहलाई एकसाथ जोड्ने कार्य गर्‍यो । धार्मिक विश्वास र अनुष्ठानले एक साझा पहिचान र समुदायको भावना प्रदान गर्‍यो । यसबाट समूहका सदस्यहरूमा सहयोग र समर्थको भावना प्रबल भयो । बाहिरका मानिस संभावित रूपले शत्रुतापूर्ण हुन्छन्,  त्यसकारण मित्र र शत्रुलाई तुरुन्त पहिचान गर्ने तरीकाको रूपमा धर्मलाई अबलम्बन गरियो ।  

धर्मलाई एकप्रकारको मानसिक प्रक्रिया वा प्रणालीको परिणामस्वरूप हेरिन्छ । मानिसको मस्तिष्क समाज र समुदायमा एकताको भावना कायम राख्नको लागि विशेष रूपले तयार भएको थियो । धार्मिक विश्वास र बानी यो प्रवृत्तिको परिणामस्वरूप उत्पन्न भयो ।

बच्चाहरूलाई धार्मिक विश्वासप्रति संवेदनशील बनाउनको लागि समाज र परिवारले उनीहरूलाई धर्ममाथि विश्वास गर्न सिकाए । बालककालमा बच्चाहरूको मस्तिष्क खुला हुन्छ र उनीहरूले जुन जानकारी प्राप्त गर्छन्,  त्यसलाई उनीहरूले कुनै प्रश्नबिना नै स्वीकार गर्दछन् । मानव समाजमा समयसँगै साना-साना सांस्कृतिक प्रथाहरू जम्मा हुँदै जान्छन् र यो प्रक्रियाले धर्मको निर्माण गर्‍यो । यसरी समाज र संस्कृतिको माध्यमबाट धार्मिक विचारको प्रसार भयो र पुस्तौंपुस्ता अगाडि बढ्दै गयो । धार्मिक विश्वासको विकासमा यो प्रक्रियाको धेरै ठूलो योगदान रहेको छ । धर्मलाई एकप्रकारको मानसिक प्रक्रिया वा प्रणालीको परिणामस्वरूप हेरिन्छ । मानिसको मस्तिष्क समाज र समुदायमा एकताको भावना कायम राख्नको लागि विशेष रूपले तयार भएको थियो । धार्मिक विश्वास र बानी यो प्रवृत्तिको परिणामस्वरूप उत्पन्न भयो । धर्मको यो विकास एक प्रणालीको रूपमा भयो,  जुन समाजको विकासमा सहयोगी सावित भयो ।

धार्मिक विश्वाससँग जोडिएका कयौं जटिलता र अन्तर्विरोध कुन कुराको संकेत हो भने धर्मले प्राकृतिक छनौटको सिद्धान्तसँग मेल खान्छ । जति-जति मानव समाज विकसित भयो र तर्कशीलताको प्रसार भयो, त्यति-त्यति धर्मले आफूलाई कुनै नयाँ रूपमा ढाल्यो, तर त्यसको मूल सिद्धान्त अझै पनि उही छ । जब एक सामाजिक संरचना वा विचारधाराले आफ्नो अस्तित्वको लागि संघर्ष गर्दछ, तब त्यो स्वयंलाई बढी प्रभावकारी र सर्वव्यापी बनाउनको लागि प्रबल हुन्छ । यही कारणले गर्दा धर्मले लामो समयसम्म आफ्नो अस्तित्वलाई कायम राख्यो ।

धर्मले आफ्नो प्रासंगिकता कायम राख्नको लागि यस्ता विश्वासलाई बढावा दियो,  जसले संसारलाई केवल एक निश्चित तरीकाले हेर्नको लागि प्रेरित गर्थे । यसले समाजमा सद्भाव र स्वतन्त्रताको विचारलाई दबायो । यसप्रकारको धार्मिक विचारले समाजमा असमानताको मानसिकता पैदा गर्छ ।  विज्ञान र तर्कको माध्यमबाट जीवनलाई बुझिने आधुनिक संसारमा धर्मले अब भूमिका गुमाइसकेको छ । धर्म अब एक पुरानो सोचको प्रतीक बनिसकेको छ, जुन हाम्रो समाजको विकास र समृद्धिको लागि बाधक बन्न सक्छ । धर्मको जरा कतै न कतै कमजोर मानसिकता र भयको गहिरो स्तरमा पाइन्छ । तर मानिसले तर्क र प्रमाणको आधारमा चीजहरूलाई बुझ्ने कोशिस गर्दै जाँदा धर्मले आफ्नो प्रासंगिकता गुमायो । मानवीय सोच र तर्कलाई अपनाएपछि मात्र धर्म जस्तो अन्धविश्वासलाई हटाएर एक उत्कृष्ट एवं तार्किक संसारतिर अगाडि बढ्न सकिन्छ । 

नैतिकताका मूल आधार :  हामी किन असल छौं ?

नैतिकताको आधार धार्मिक विश्वासमा हुँदैन,  बरु मानवको विकासात्मक इतिहास र सामाजिक संरचनाहरूमा अन्तर्निहित हुन्छ । नैतिकताको स्पष्ट स्रोत नहुने हो भने मानिसले असल भावना र नैतिकताको पालन गर्दैन । मानव नैतिकतालाई बुझ्नको लागि धर्मको आवश्यकता हुँदैन, बरु मानवका सामाजिक सम्बन्ध,  विकासात्मक अनुकूलन र सहानुभूति जस्ता प्राकृतिक प्रवृत्तिहरूले नैतिकताको उद्भवमा महत्त्वपूर्ण भूमिका निभाउँछन् । नैतकताको विकास प्राकृतिक छनौटको माध्यमबाट नै भएको हो । विकासवादी दृष्टिकोणले हेर्ने हो भने हामी सामूहिक प्राणी हौं र सहयोगको भावना राख्छौं । सहजीविता र पारस्परिक लाभले मानव पूर्वजहरूलाई अरुलाई सहयोग र सहानुभूति देखाउनु उनीहरूको अस्तित्वको लागि फाइदाजनक हुनसक्छ भन्ने सिकायो । यो भावना विस्तारै विकसित भयो र एक सामाजिक तथा नैतिक ढाँचाको रूपमा प्रकट भयो । यसको अर्थ के हो भने कुनै पनि प्रजातिको सदस्यले एक-अर्कोसँग असल व्यवहार गर्यो भने जीवित रहने संभावना बढ्दछ ।  

नैतिकताको विचार केवल मानवसम्म मात्र सीमित छैन, अन्य प्रजातिहरूमा पनि सहकार्यात्मक व्यवहार देख्न सकिन्छ । यसले के दर्शाउँछ भने सहकार्य र सहानुभूतिको स्वाभाविक रूपले विकास भएको हो । उदाहरणस्वरूप कयौं प्रजातिहरू आफ्नो समूहका अन्य सदस्यहरूलाई मद्दत गर्दछन् र यो सहयोग उनीहरूको लागि प्रजातीय सुरक्षाको एक तरीका हो । यो नैतिकताको प्रारम्भिक रूप हुन सक्छ । यसलाई समयसँगै धेरै जटिल मानवीय समाज अनुरूप ढालिएको हो ।

समाज धेरै जटिल हुँदै गएपछि त्यहाँ रहने व्यक्तिहरूको बीचमा नाता-सम्बन्ध पनि जटिल हुँदै गए । एक स्वस्थ र प्रभावकारी समाजलाई चलाउनको लागि नियम र मापदण्डहरूको आवश्यकता पर्नगयो । यस समयमा नैतिकताका विचारले जन्म लिए । समयसँगै यी नियमहरूलाई धर्म, कानून र संस्कृतिको माध्यमबाट संरक्षित गरियो । नैतिकतालाई धर्मसँग जोड्ने कुनै तार्किक आधार छैन, किनकि धेरै धार्मिक ग्रन्थमा धेरै आक्रामक र अमानवीय शिक्षा दिइएका छन् । संसारमा धर्मबिना पनि धेरै समाज नैतिक रूपले विकसित भएका छन् र असल कार्यको लागि प्रेरित भएका छन् । यसबाट के थाहा हुन्छ भने नैतिकताको वास्तविक स्रोत जैविक प्रवृत्ति र सामाजिक संरचनामा हुन्छ, कुनै उच्च शक्तिमा हुँदैन ।

सहानुभूति एक प्राकृतिक भावना हो । यसले हामीलाई अरूको दुःख र खुशीलाई महसुस गर्ने क्षमता प्रदान गर्दछ । यो भावना मानिसमा मात्र होइन,  अरु केही प्रजातिहरूमा पनि पाइन्छ;  जस्तो कि डल्फिन र अन्य केही 'प्राइमेट' मा । सहानुभूतिले सामाजिक नाता-सम्बन्धलाई बलियो बनाएको छ र नैतिकताको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ । आजको समाजमा नैतिकतालाई धार्मिक शिक्षा र अन्धविश्वासबाट होइन, बरु तर्क र विज्ञानको माध्यमबाट बुझिन्छ । हामी असल र खराब निर्णय लिनमा सक्षम छौं । मानवताको प्रगतिको लागि हामीले आफ्नो नैतिक निर्णयलाई विज्ञान र तर्कको आधारमा विकास गर्नु अत्यन्तै आवश्यक हुन्छ । यसलाई धार्मिक शिक्षा र पवित्र भनिएका ग्रन्थहरूको आधारमा विकास गर्नु हानिकारक हुन्छ ।

नैतिकता समाजका आवश्यकता र त्यसको विकाससँगै बदलिंदै जान्छन् । मानव असल हुनुमा कुनै धार्मिक विश्वासको आवश्यकता पर्दैन । नैतिकता प्राकृतिक छनौट, सहानुभूति र समाजिक संरचनाहरूको परिणाम हो, कुनै अलौकिक शक्तिको होइन ।

सामाजिक संरचना र सांस्कृतिक परम्पराले पनि मानवका नैतिक निर्णयहरूलाई आकार दिन्छन् । समाजमा परिवर्तन आउँदै जाँदा नैतिकता पनि विकसित हुँदै जान्छ । उदाहरणतः महिला अधिकारमा सुधार हुँदै जाँदा र जातिवादको विरोध हुँदै जाँदा नैतिकताका नयाँ मानक पनि स्थापित हुँदै गए । यसले के दर्शाउँछ भने नैतिकता समाजका आवश्यकता र त्यसको विकाससँगै बदलिंदै जान्छन् । मानव असल हुनुमा कुनै धार्मिक विश्वासको आवश्यकता पर्दैन । नैतिकता प्राकृतिक छनौट, सहानुभूति र समाजिक संरचनाहरूको परिणाम हो, कुनै अलौकिक शक्तिको होइन । मानव समाजमा नैतिकताको विकास जैविक र सामाजिक प्रक्रियाहरूको परिणाम हो । हामी सबैमा असल कार्य गर्ने प्राकृतिक प्रवृत्ति हुन्छ, जुन हाम्रो समाजिक जीवन र विकासमा सहयोगी सावित हुन्छ ।

'असल' पुस्तक र परिवर्तनशील नैतिक युगचेतना

बाइबल जस्ता धार्मिक पुस्तकले नैतिकताको सही मार्ग देखाउँदैनन्,  बरु आधुनिक समाजमा उत्पन्न नैतिक मान्यताहरू सामाजिक विकास, तर्क र सहानुभूतिमा आधारित हुन्छन् । धार्मिक पुस्तकहरूलाई हेर्दा यिनीहरू असंवेदनशील र नृशंस देखिन्छन् । मानवीय नैतिकता समयसँगै बदलिंदै गएको छ र यो परिवर्तन धार्मिक ग्रन्थभन्दा बाहिर आएको छ । धार्मिक ग्रन्थहरूको नैतिक सन्देश कहिल्यै आदर्श थिएन । उदाहरणको लागि बाइबलमा युद्ध, नरसंहार र असंवेदनशील शर्तहरूको वर्णन गरिएको पाइन्छ । यिनै धर्मग्रन्थहरूको आधारमा राजा वा सम्राटले आफूलाई सर्वशक्तिमान मानेर केही सोचविचारै नगरीकन लाखौं मानिसहरूको हत्या गर्थे । यसकारण यी धार्मिक ग्रन्थहरूलाई एक स्थायी नैतिक अधिकारको रूपमा मानेको खण्डमा यिनीहरूले हामीलाई गलत दिशातिर धकेलिदिन्छन् । बाइबलमा उल्लेखित धेरै घटनामा निर्दोष मानिसहरूको वध गरिएको छ र यसलाई धर्मको आदर्शको रूपमा प्रस्तुत गरिएको छ । यी घटनाहरूलाई अमानवीय र नैतिक रूपले गलत मानिन्छ । यसकारणले गर्दा धार्मिक ग्रन्थलाई नैतिकताको स्रोत मान्नु आजको समयमा सर्वथा अनुचित हुन्छ । बाइबलमा दीनहीन मानिसहरूको विरूद्ध हिंसा, महिलाहरूको विरूद्ध भेदभाव र धार्मिक कट्टरतावाद जस्ता अनैतिक क्रियाकलापहरूको उल्लेख गरिएको छ । बाइबल र अन्य धार्मिक ग्रन्थमा दयालुता, सहानुभूति र न्यायको सिद्धान्तको धेरै कम उल्लेख गरिएको छ ।

बाइबलमा युद्ध, नरसंहार र असंवेदनशील शर्तहरूको वर्णन गरिएको पाइन्छ । यिनै धर्मग्रन्थहरूको आधारमा राजा वा सम्राटले आफूलाई सर्वशक्तिमान मानेर केही सोचविचारै नगरिकन लाखौं मानिसहरूको हत्या गर्थे । यसकारण यी धार्मिक ग्रन्थहरूलाई एक स्थायी नैतिक अधिकारको रूपमा मानेको खण्डमा यिनीहरूले हामीलाई गलत दिशातिर धकेलिदिन्छन् ।

समाजमा जसरी समयसँगै परिवर्तन आएको छ, त्यसरी नै मानिसमा नैतिकता पनि परिवर्तन भएको छ । बाइबल र अन्य धार्मिक पुस्तकहरूको अनुशरण गर्ने चलन भएको बेलामा समाजमा धेरै अमानवीय कुराहरूलाई पनि सामान्य मानिन्थ्यो, जस्तो कि महिलाहरूलाई पुरुषहरूभन्दा हीन ठान्नु, दासता र सामूहिक हत्या, आदि । आज यी चीजलाई अमानवीय र गलत मानिन्छ । आजको समाजमा धर्मबिना पनि नैतिकता विद्यमान हुन सक्छ भन्ने कुरा बुझ्न सकिन्छ । नैतिकता प्रगति, तर्क र मानव अधिकारका विचारहरूबाट प्रभावित हुन्छ । हरेक पुस्तामा नैतिकतालाई नयाँ तरीकाले हेरिन्छ र यो परिवर्तन धार्मिक विचारको विरुद्धमा हुन्छ । बाइबलको समयमा जुन मूल्यमान्यता र नैतिक विचार थिए, तिनीहरू आजको समाजको तुलनामा धेरै पिछडिएका थिए । समाज परिवर्तन हुँदै गएपछि नैतिकताका मानक पनि बदलिंदै गए ।

धर्मको नैतिकतासँग कुनै अनिवार्य सम्बन्ध हुँदैन । यदि धर्म नैतिकताको स्रोत भएको भए संसारका सबभन्दा बढी धार्मिक देश सबभन्दा बढी नैतिक हुन्थे, तर यस्तो कतै पाइँदैन । धेरै धार्मिक देशहरूमा आज पनि भ्रष्टाचार, असमानता र भेदभाव छ । यसको विपरीत धार्मिक अन्धविश्वास कम भएका देशका मानिस धेरै सहानुभूतियुक्त र न्यायपूर्ण हुन्छन् । उदाहरणको लागि स्केन्डेनिभियन देश (स्वीडेन, नर्वे, डेनमार्क….)  हरूमा धर्मको प्रभाव धेरै कम छ, तर त्यहाँको समाज-व्यवस्था र मानव अधिकारप्रति सम्मान धेरै बलियो छ । त्यसकारण नैतिकताको विकास धर्मबाट भएको होइन, बरु मानवताको विकास सामाजिक र जैविक अनुभवबाट भएको हो ।

धार्मिक ग्रन्थहरूमा नैतिक शिक्षालाई मानवताको नैतिक विकासको एक अवशेषको रूपमा हेर्ने  गरिन्छ । तर्क र विज्ञानको माध्यमबाट मानिसले स्वयंलाई बुझेपछि यी धार्मिक ग्रन्थमा दिइएका नैतिक विचार भ्रमपूर्ण कथन सावित भए । यी विभिन्न कारणले गर्दा धार्मिक ग्रन्थलाई कदापि असल पुस्तकको रूपमा हेर्न सकिंदैन । यद्यपि यी ग्रन्थमा भएका केही असल विचार भने लिन सकिन्छ, तर यिनीहरू समाजको नैतिकताका अन्तिम स्रोत हुन सक्दैनन् । समाजको नैतिकता समयसँगै आफ्ना अनुभव, तर्क र संवेदनाहरूको आधारमा विकसित हुन्छन्, जुन केवल एक धार्मिक ग्रन्थ वा अन्धविश्वासमा सीमित हुँदैनन् । त्यसकारण धार्मिक ग्रन्थमा उल्लेख गरिएका धेरै नैतिक मुद्दाहरू आजको समाजमा गलत सावित भएका छन् । नैतिक विचारलाई धार्मिक ग्रन्थहरूबाट होइन, बरु तर्क, विज्ञान र मानवताका अनुभवहरूबाट परिभाषित गर्नुपर्छ ।

धर्ममा के खराबी छ ?  यति शत्रुतापूर्ण किन छ ?

धर्म किन गलत छ र किन धर्मप्रति विरोधाभासपूर्ण भावना र घृणा उत्पन्न हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । धर्म केवल अज्ञानता र मानवताको विरुद्ध मात्र छैन,  बरु यसले मानव समाजको विकासलाई अबरुद्ध गर्दछ । धर्मको कारणले जुन विभाजन,  असहिष्णुता र अन्याय हुन्छन्, तिनीहरूले मानवीय विचारधाराको विकासलाई रोक्दछन् । धर्मको सबभन्दा ठूलो दोष यसले तथ्य र तर्कलाई नकार्दछ र मानिसलाई कुनै विषयमा विश्वास गर्न वा कुनै सिद्धान्तलाई स्वीकार गर्न तर्क र प्रमाणको सट्टा केवल विश्वासमा आधारित हुनुपर्छ भन्ने कुरा सिकाउँछ । यसले समाजमा भ्रम फैल्याउँछ  र वैज्ञानिक दृष्टिकोणलाई अस्वीकार गर्दछ । यसको परिणामस्वरूप धार्मिक विश्वासको कारण समाजमा अनावश्यक विभाजनको अतिरिक्त मानसिक र बौद्धिक विकास पनि पछाडि धकेलिन्छ । धार्मिकहरूले आफ्ना मान्यतालाई अचूक ठान्छन् । यो कट्टरतावादी विचार हो । विज्ञानले कट्टरतावादलाई स्वीकार्दैन । धार्मिक कट्टरतावादले आतंकवाद र अविश्वास पैदा गर्छ ।

धर्मको सबभन्दा ठूलो दोष यसले तथ्य र तर्कलाई नकार्दछ र मानिसलाई कुनै विषयमा विश्वास गर्न वा कुनै सिद्धान्तलाई स्वीकार गर्न तर्क र प्रमाणको सट्टा केवल विश्वासमा आधारित हुनुपर्छ भन्ने कुरा सिकाउँछ ।

धर्म इतिहासमा धेरै युद्ध, नरसंहार र विभाजनको कारण बनेको छ । धर्मले प्रायः मानिसलाई उनीहरूको विश्वासबाहेक बाँकी सबै गलत छ भन्ने सिकाउँछ । यही कारणले गर्दा धर्मले समाजमा यति धेरै विभाजन उत्पन्न गरेको छ । यी सबै कुराको परिणामस्वरूप धर्मले मानसिकतालाई संकुचित गर्नुका साथसाथै प्रगतिलाई पनि अबरुद्ध गर्दछ । धर्मको एउटा अर्को नकारात्मक पक्ष के हो भने यसले शिक्षा र स्वतन्त्र विचारलाई दबाउँछ । धार्मिक शिक्षामा तथ्य र वास्तविकताको सट्टा अन्धिवश्वासमा जोड दिइन्छ । केही धार्मिक समूहले आफ्ना बच्चाहरूलाई विज्ञान, इतिहास र प्राकृतिक घटनाहरूको बोधको बदला आफ्नो धार्मिक अन्धविश्वासको बारेमा मात्र सिकाउँछन्  । यसबाट बच्चाहरूको सोच र बोधलाई सीमित बनाइन्छ । किनकि तिनीहरू केवल एक निर्धारित विचारधाराको आधारमा सोच्नका लागि प्रशिक्षित हुन्छन् ।

अध्ययनले कुनै विचारलाई गलत सावित गर्‍यो भने पुरानो विचारको अन्त्य हुन्छ । चार्ल्स डार्विनले प्रस्तावित गरेको क्रमविकासको सिद्धान्त यति लामो समयसम्म पनि कायम रहेको छ,  किनकि यसलाई अहिलेसम्म कसैले पनि गलत सावित गर्न सकेको छैन । धर्मले मानिसलाई वैज्ञानिक विचार र तर्कको सट्टा अन्धविश्वास र अवैज्ञानिक विचार अपनाउन प्रोत्साहित गर्दछ । धार्मिकहरूले विकासवादको सिद्धान्तलाई अस्वीकार गर्दछन् र यसलाई धार्मिक विश्वासको विरुद्ध मान्दछन् । धार्मिक अन्धविश्वासले तर्कको उपेक्षा मात्र गर्दैन, बरु यसले समाजमा अज्ञान र भ्रम पनि फैल्याउँछ । समाजमा धर्मको प्रभाव केवल मानसिक र बौद्धिक स्तरमा मात्र नभएर राजनीतिक र सामाजिक स्तरमा पनि हुन्छ । धार्मिक नेताले आफ्ना अनुयायीहरूलाई उनीहरूले विशेष धर्मबाहेक अरु कुनै धार्मिक विचारधारा स्वीकार गर्नुहुँदैन भन्दछ, त्यसकारण यसले समाजमा असहिष्णुता र भेदभावलाई बढावा दिन्छ । यसको परिणामस्वरूप धार्मिक समूहहरूको बीचमा संघर्ष उत्पन्न हुन्छ र यसले समाजको विकासलाई रोक्छ ।

धर्मको एउटा अर्को महत्त्वपूर्ण समस्या के हो भने यसले प्राधिकृत दृष्टिकोणलाई बढावा दिन्छ । धर्मले प्रायः मानिसलाई उनीहरूको धार्मिक नेता, ग्रन्थ वा विश्वास पूर्ण रूपले सही छ र यसको विरुद्ध हुने गलत छन् भन्ने कुरा सिकाउँछ । यो विचारधाराले मानसिक संकीर्णता उत्पन्न गर्नुका साथै यसले सामाजिक समरसता र भातृत्वका विचारलाई पनि नष्ट बनाउँछ । मानिसले आफ्नो धार्मिक सच्चाई सबैको लागि सही छ भन्ने मान्न लागेपछि, यसबाट उनीहरूमा अरुको विचार अस्वीकार गर्ने मानसिकता उत्पन्न हुन्छ ।  धार्मिक संस्थाहरूको अधिकार समाजका सबै पक्षमा हानिकारक हुन्छ । धर्मको प्रभावले राजनीति, शिक्षा र अन्य महत्त्वपूर्ण क्षेत्रमा पनि गहिरो असर पार्छ । धार्मिक समूहले आफ्ना विश्वासलाई कानून र समाजका नियमहरूमा छिराएका हुन्छन् र यसले धार्मिक विश्वास नगर्ने र अलग-अलग विचार राख्नेहरूलाई समस्या पैदा गर्दछ ।

समाजको विकास धर्मबाट होइन, बरु तर्क, विज्ञान र मानवताका सिद्धान्तहरूबाट भएको हो ।

धर्मले प्रायः असल कार्य र धर्मार्थ कार्यसँग जोड्ने कोशिस गर्दछ, तर धर्मको असल कार्यको तुलनामा यसको कारण हुने असमानता र अन्याय धेरै महत्त्वपूर्ण हुन्छ । धर्मको असल कार्यको तुलनामा समाजले आफ्नो नैतिकता, मानवता र समानताका सिद्धान्तहरूलाई धार्मिक विश्वासभन्दा बाहिर नै उत्कृष्ट ढंगले विकसित गरेका छन् । यो कुराले के प्रमाणित गर्छ भने समाजको विकास धर्मबाट होइन, बरु तर्क, विज्ञान र मानवताका सिद्धान्तहरूबाट भएको हो । त्यसकारण धर्मले समाजमा विभाजन उत्पन्न गर्ने मात्र होइन, यसले मानिसको विचारधारा र मानसिकतालाई संकुचित बनाउँछ । मानिसले धर्मका सिद्धान्तलाई कुनै प्रमाण वा तर्कबिना मानेपछि यसले उनीहरूको व्यक्तिगत र सामाजिक विकासलाई अवरुद्ध गर्दछ । यही कारणले धर्मप्रति विरोधाभासी भावना र घृणा उत्पन्न हुनु स्वभाविक हुन्छ । त्यसकारण समाजले धर्मभन्दा बाहिर एक नयाँ दिशाको खोज गर्नुपर्दछ, जसमा विज्ञान, तर्क, समानता र मानवतालाई प्राथमिकता दिइयोस् । धर्मबिना समाजको प्रगतिको परिकल्पना गरेको खण्डमा वास्तविकता,  सत्यता र तर्कमा आधारित भविष्यतर्फ अगाडि बढ्न सकिन्छ,  अन्धवश्वासमा आधारित होइन ।

बाल्यकाल,  दुर्व्यवहार र धर्मबाट भाग्ने काम

धर्मद्वारा बाल्यकालमा बच्चाहरूलाई धार्मिक विश्वास अन्तर्गत मानसिक र भावनात्मक रूपमा शोषित गरिन्छ । धार्मिक शिक्षाले बच्चाको दिमागलाई अवरुद्ध गरिदिन्छ र उनीहरूलाई वैज्ञानिक सोच र तर्कबाट टाढा बनाइदिन्छ । बाल्यकालका बच्चाहरूको लागि धर्म एकप्रकारले बाध्यता बन्छ । साना बच्चाहरूलाई तिनका मातापिता,  परिवार वा समाजद्वारा एक निश्चित धार्मिक दृष्टिकोण अन्तर्गत शिक्षित गरिन्छ र तिनीहरूले शिक्षालाई कुनै प्रश्नबिना नै स्वीकार गर्दछन् । बच्चाहरूलाई सानै उमेरमा कुनै धार्मिक विश्वासमा ढालियो भने यो उनीहरूको मानसिक र भावनात्मक विकासको लागि घातक हुन्छ । बच्चाहरूको दिमाग नाजुक हुन्छ र उनीहरूलाई कुनै विचारधाराप्रति तर्क वा प्रमाणबिना पूर्ण रूपमा समर्पित गरिदिनुले उनीहरूको व्यक्तित्व र सोचलाई सीमित बनाउँदछ ।

धर्मले बच्चाहरूलाई डर, अपराधबोध र पापका विचारहरूले भरिदिन्छ । कयौं धार्मिक परम्परामा बच्चाहरूलाई पापी करार गरिन्छ र त्यो पाप जानीबुझिकन गरिएको हो वा होइन भन्ने कुरालाई ध्यान नदिइकन दण्डित गरिन्छ । यसबाट बच्चाहरूमा अपराध र भयको भावना उत्पन्न हुन्छ । धर्म (विशेष रूपले ईसाई धर्म)  ले बच्चाहरूलाई उनीहरूले सधैं ईश्वरसँग डडाउनुपर्छ भन्ने सिकाइन्छ । यसप्रकारको विचारले बच्चाहरूको मानसिक स्वास्थ्यमा दीर्घकालिक नकारात्मक प्रभाव पार्न सक्छ । यो मानसिक शोषण धार्मिक तानाशाही हो । यसले बच्चाहरूलाई स्वतन्त्र सोच र निर्णय लिने क्षमताबाट वंचित गरिदिन्छ ।

बच्चाहरूलाई बालककालदेखि नै धार्मिक शिक्षा दिएपछि उनीहरूले यसलाई आफ्नो मानसिकताको हिस्सा बनाउँदछन् र यसलाई चुनौती दिने वा यसमा संशोधन गर्ने उनीहरूको क्षमता सीमित हुन्छ । यसले बच्चाहरूको लागि एकप्रकारको बन्धनको स्थिति उत्पन्न गर्छ । किनकि उनीहरू स्वयंले आफूलाई सिकाइरहिएको कुरा सही हो वा गलत भन्ने प्रश्न गर्न सक्दैनन् । धार्मिक शिक्षाले बच्चाहरूलाई सहानुभूति, सहिष्णुता र अन्य सामाजिक गुणहरूको सट्टा भय र अपराधबोधको भावना सिकाउँछ । बच्चाहरूलाई ईश्वरको कृपा प्राप्त गर्न धार्मिक नियमको पालना गर्नुपर्छ भन्ने कुरा बताएपछि उनीहरूले मानवता र नाता-सम्बन्धलाई बुझ्नुको सट्टा बाहिरी भयभीत दृष्टिकोणबाट संसारलाई हेर्छन् । परिणामस्वरूप बच्चाहरूमा तर्क र वैज्ञानिक सोचको क्षमता विकसित हुँदैन । र, उनीहरू केवल अन्धविश्वासमा आधारित जीवन जिउनको लागि बाध्य हुन्छन् ।

धर्म बच्चाहरूको लागि एक मानसिक र भावनात्मक अवरोध हो । धार्मिक शिक्षा अन्तर्गत बच्चाहरूलाई के सिकाइन्छ भने जीवनमा केही प्रश्नहरूको उत्तर केवल विश्वास र धार्मिक ग्रन्थहरूबाट प्राप्त हुन्छ, तर्क र वैज्ञानिक दृष्टिकोणले होइन । यसबाट बच्चाहरूमा आलोचनात्मक सोचको कमी हुन्छ र उनीहरू जीवनका जटिलताहरूलाई बुझ्नमा असमर्थ हुन्छन् । त्यसकारण बच्चाहरूलाई धार्मिक शिक्षाबाट मुक्त गर्नु उनीहरूको मानसिक र बौद्धिक विकासको लागि आवश्यक हुन्छ ।

बालककालमा धार्मिक शिक्षाको प्रभावबाट बाहिर निक्लिएपछि मानिस धर्मको बारेमा आफ्नो सोचलाई पुनः आकार दिन सक्छन् । मानिस धर्मबाट बाहिर निक्लिएपछि उनीहरूले स्वयंलाई एक स्वतन्त्र सोचको रूपमा पहिचान गर्न सक्छन् र आफ्नो जीवनलाई तर्क, विज्ञान र मानवताका सिद्धान्तमा आधारित बनाउन सक्छन् । यसले उनीहरूको जीवनमा निर्णय लिने स्वतन्त्रता र सही एवं गलतको बोध प्रदान गर्दछ । यो कुरा धर्म अन्तर्गत कहिल्यै संभव हुँदैन ।

धर्मबाट मुक्त हुनु कुनै पनि प्रकारको नोक्सानी होइन, बरु यो एक जीवनभरिको प्रक्रिया हो, जहाँ व्यक्तिले आफ्नो जीवनलाई वास्तविकता, तर्क र वैज्ञानिक दृष्टिकोणले अगाडि बढाउँछ ।

बच्चाहरूलाई धार्मिक शिक्षा दिनुको सट्टा उनीहरूलाई स्वतन्त्र रूपले सोच्न, प्रश्न गर्न र आफ्नो बोधलाई विकसित गर्ने अवसर प्रदान गर्नुपर्छ । बच्चाहरूलाई यो स्वतन्त्रता प्रदान गरेपछि उनीहरू नैतिकता र जीवनको उद्देश्यलाई बुझ्नमा सक्षम हुनेछन् । मानिसहरू धर्मबाट बाहिर आएपछि उनीहरूले आफ्नो जीवनमा धेरै सहानुभूति, प्रेम र दयाको भावना विकसित गर्न सक्छन् । किनकि उनीहरूले यो संसार र यहाँका मानिस हाम्रा आफ्नै हुन् भन्ने कुरा बुझ्नेछन् र यसलाई कुनै धार्मिक आधारमा होइन, बरु मानवीयताका आधारमा बुझ्छन् । धर्मबाट मुक्त हुनु कुनै पनि प्रकारको नोक्सानी होइन, बरु यो एक जीवनभरिको प्रक्रिया हो, जहाँ व्यक्तिले आफ्नो जीवनलाई वास्तविकता, तर्क र वैज्ञानिक दृष्टिकोणले अगाडि बढाउँछ । व्यक्ति धर्मका अवशेषहरूबाट बाहिर आएपछि उसले संसारलाई एक नयाँ दृष्टिकोणबाट हेर्छ र आफ्ना वरिपरिका मानिसहरूसँग धेरै सहानुभूति र समझदारीपूर्वक पेश हुन्छ ।

एउटा धेरै आवश्यक अन्तराल

धर्म र विज्ञानको बीचमा एक अन्तराल हुनुपर्छ । यो अन्तराल समाज र मानवताको लागि सकारात्मक विकासलाई बढावा दिनको लागि आवश्यक हुन्छ । विज्ञान र धर्मको बीचमा हुने फरकलाई स्पष्ट बनाउने अन्तराल मत्त्वपूर्ण हुन्छ । किनकि यसले कुनै पनि प्रकारको भ्रम र शंकालाई समाप्त बनाइदिन्छ र स्वतन्त्र रूपले तर्क र प्रमाणमा आधारित सोचलाई बढावा दिने अनुमति दिन्छ । धेरै मानिस के मान्छन् भने विज्ञान र धर्म दुवैको आ-आफ्नो ठाउँ छ र दुवै एकसाथ सह-अस्तित्वमा रहन सक्छन् । यो सही होइन । धर्म र विज्ञानको दृष्टिकोण एक-अर्कोबाट बिल्कुल भिन्न हुन्छ । विज्ञान तथ्य र प्रमाणमा आधारित हुन्छ,  तर धर्म अन्धविश्वासमा आधारित हुन्छ । त्यसकारण यी दुवैको दृष्टिकोणलाई मिलाउनु मानव समाजको लाग हानिकारक हुन्छ । किनकि यसले ज्ञान र तर्कको विकासलाई प्रभावित बनाउँदछ । विज्ञानले पृथ्वीको आकार, ब्रम्हाण्डको उत्पत्ति, जीवनको विकास जस्ता धेरै प्रश्नहरूको हल गरेको छ । यिनीहरूको बारेमा धार्मिक दृष्टिकोण पूर्ण रूपले गलत थियो । विज्ञानले यी सबै कुरालाई तथ्य र प्रमाणहरूको आधारमा स्पष्ट बनायो । यसबाट के स्पष्ट हुन्छ भने विज्ञानले जति महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिएको छ, यसमा धर्मको कुनै स्थान छैन । त्यसकारण विज्ञान र धर्मको बीचमा एक स्पष्ट अन्तराल हुनुपर्छ र तिनीहरूलाई एक-अर्कोबाट अलग गरिनुपर्छ ।

विज्ञानले सधैं मानिसको अज्ञानतालाई चुनौती दिएको छ र मानवीय दृष्टिकोणलाई विस्तारित गरेको छ, जबकि धर्मले सधैं सीमित दृष्टिकोणलाई बढावा दिएको छ ।

धर्म र विज्ञानको बीचमा अन्तरालले समाजलाई कुनै पनि भ्रमबाट बचाउँछ । र, विज्ञान एक तर्कसंगत र प्रमाणमा आधारित प्रक्रिया हो भन्ने कुरा बुझ्न सकिन्छ । धर्मलाई विज्ञानसँग जोड्ने कोशिस गरियो भने यसबाट झूटो समानता कायम हुन्छ । यसले समाजमा भ्रम पैदा गर्छ, बच्चाहरूलाई अन्धविश्वास र प्रमाण समान हुन्छन् भन्ने सिकाउँछ । यो भ्रम केवल धर्मको पक्षमा हुँदैन, यो समाज र मानवताको लागि पनि खतर्नाक हुन्छ । धर्म र विज्ञानको बीचमा स्पष्ट अन्तराल रहेपछि मात्र मानवताको विकासको लागि वास्तविक मार्गमा अगाडि बढ्न सकिन्छ ।

विज्ञानले सधैं मानिसको अज्ञानतालाई चुनौती दिएको छ र मानवीय दृष्टिकोणलाई विस्तारित गरेको छ, जबकि धर्मले सधैं सीमित दृष्टिकोणलाई बढावा दिएको छ । त्यसकारण यो अन्तराल हुनुले विज्ञानलाई प्रोत्साहित मात्र गर्दैन, यसले धर्मको संकीर्ण दृष्टिकोणलाई पनि चुनौती दिन्छ । धर्म र विज्ञानलाई एकसाथ ल्याउँदा यसले भ्रम मात्र उत्पन्न गर्छ, जसले कुनै पनि प्रकारको वैज्ञानिक तर्कलाई नकार्दछ । कयौं धार्मिक नेता विज्ञान र धर्म दुवैमा कुनै विरोधाभास छैन भन्छ्न्, किनकि विज्ञान केवल हामीले देख्ने चीजहरूको बारेमा मात्र हो । यो तर्क भ्रामक छ, किनकि यसले विज्ञानको वास्तविकतालाई अस्वीकार गर्छ र यसलाई केवल एक सीमित दृष्टिकोणको रूपमा प्रस्तुत गर्दछ ।

धर्म र विज्ञानले एक-अर्कोसँग मेल खाने कोशिस गर्दा तिनीहरूले वास्तविकतालई लुकाइदिन्छन् र बच्चाहरूलाई ती दुवै समान छन् भनेर सिकाउँछन् । यसले बच्चाहरूको विकासमा धेरै ठूलो अवरोध उत्पन्न गर्छ । बच्चाहरूलाई विज्ञानले प्रमाणित गर्न नसकेका केही चीजलाई विश्वासका आधारमा बुझ्नुपर्छ भन्ने सिकाइन्छ । यसप्रकारका विचारबाट बच्नको लागि धर्म र विज्ञानको बीचमा एक स्पष्ट अन्तराल हुनु आवश्यक हुन्छ । यो अन्तराल तर्कको विकासको लागि मात्र महत्त्वपूर्ण छैन, यो मानवताको लागि पनि आवश्यक हुन्छ । विज्ञानका प्रमाण र तर्कको आधारमा निर्णय लिएपछि कुनै पनि प्रकारको धार्मिक विश्वास वा अन्धविश्वासबाट बाहिर रहँदै एक धेरै खुला र समावेशी सोचलाई बढावा दिन सकिन्छ । यसबाट समाजमा वैज्ञानिक दृष्टिकोणलाई प्रोत्साहन मिल्छ । र, मानिस केवल अन्धविश्वासमा आधारित नभएर तर्क र प्रमाणमा आधारित जीवन जिउँछन् ।

धर्म र विज्ञानको बीचमा स्पष्ट अन्तराल कायम राखेपछि मात्र समाजमा वास्तविक प्रगतिलाई देख्न सकिन्छ । यसले विज्ञान केवल तथ्य र प्रमाणमा आधारित हुन्छ,  तर धर्म अन्धविश्वासमा, भन्ने कुरा बुझ्नमा मद्दत गर्दछ । त्यसकारण यो अन्तराललाई कायम राख्नु समाजको लागि महत्त्वपूर्ण हुन्छ, ताकि कुनै पनि प्रकारको भ्रमबाट बच्न सकियोस् र आफ्नो सोचलाई एक स्वतन्त्र एवं तर्कमा आधारित दृष्टिकोणबाट प्रोत्साहित गर्न सकियोस् । धर्म र विज्ञानको अन्तराललाई बुझ्नु व्यक्तिगत सोचको लागि मात्र होइन, बरु समग्र रूपले समाजको विकासको लागि पनि आवश्यक हुन्छ । यो अन्तरालाई बुझेपछि मात्र अन्धविश्वासमा आधारित समाजतिर होइन, वास्तविकता र तर्कमा आधारित समाजतिर अगाडि बढ्न सकिन्छ ।

सन्दर्भ स्रोत

  1. THE GOD DELUSION - Richard Dawkins, Published 2006 by Bantam Pressa division of Transworld Publishers.
  2. https://marxistnkrumaistforum.wordpress.com/wp-content/uploads/2014/05/richard_dawkins_-_the_god_delusion.pdf
  3. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.