'अछुत पृथिवी'

दलितले कुल्चेको धर्ती र

दलितका लासहरू बगेका अपवित्र नदीहरू बहने

यो बिटुलो पृथ्वीमा

किन आश्रय लिइरहेको छ

शुद्धीकरणको छोइछिटो गरिरहनुपर्ने

उच्च जातको मान्छे

 

सजिलोका लागि त खोज्नू बरु

दलित बस्ती नभएको

कुनै पवित्र ग्रह

फेर्नू कुनै अछुतले नछोएको

शुद्ध हावामा सास

 

सिउनू आफ्नो लागि लुगा आफैँ

तुन्नू जुत्ता आफैँले

जाँतोको आडमा बनाइराख्नू एउटा आरन

अर्चाप्नू आफ्नो लागि आँसी आफैँ

 

यो पृथ्वी त

अछुत भइसकेको छ

बाँधिएर दलितसीपको अँगालोमा

यहाँ फेर्छन् सास

पृथ्वीका राैँजस्ता रूखहरूले

दलितको तातो ओठबाट निस्किएको

उच्छ्वासपूर्ण कार्बनडाइअक्साइड हावामा

तिनै जुठा रूखहरूमा फल्ने फल र फूल

चोखो मानेर चढाइन्छन् ईश्वरमा

 

दलितलाई छोएर बहने हावामा लिएर सास

दलितको घर छोएर बहने

वर्षाको पानीले सिँचित अन्न खाएर

बाँचेको अर्को मान्छे

बिर्सिदिन्छ आफ्नो शरीरको रगत

जुन कुनै दलितले काटेको घाँस खाएर

दिएको वस्तुभाउको दूधबाट बनेको हो

 

यो बतास

कुनै परिश्रमी कामीदाइको

पसिनाले भिजेको निधार सुमसुमाउँदै

कुनै दमिनी दिदीको लर्कंदो चुल्ठो खेलाउँदै

पस्छ निर्बन्ध सबैका

कोठाचोटा र मन्दिरमा

 

कुनै सार्कीले पुल हुँदै नाघेको

कुनै कुर्मी भाउजीले नुहाएको

उही नदीको पानी

धारा हुँदै

कुनै दलितले बनाएको गाग्रोमा भरिएर

पुग्छ सबैको भान्छामा

बन्छ त्यसैले भगवानकाे प्रसाद

सजिन्छ शुभकार्यको कलशमा पानी

 

बिटुलो हावापानीले

अन्तर्यसम्म भिजेको यो पृथ्वी

किन घोप्टिएको छैन आजसम्म

किन घोप्टिरहन्छ मान्छेको मात्र टाउको

जातीय छुवाछुतको खाडलमा

 

दलितले नछोईकन सिइँदैन कपडा

बन्दैन जुत्ता

लिँदैन फलामले

हँसिया, कुटो, कोदालोको आकार

पुग्दैन चुलोमा बसाल्ने भाँडा

 

घर-मन्दिर

पाटीपौवा-चौतारो

गाउँ-सहर

प्रदेश-देशबाट

झिकिदिने हो भने

दलितसीप र सिर्जनाहरू

गैरदलित बन्नेछन्

अर्धनग्न र अर्धसभ्य मान्छे।