उडायो सबै हुरीले

'तिम्रो बाउले घिउ खाएकोमा शंका भएन, तिम्रो हातमा उस घिउको गन्ध आउँछ त्यो पनि मानियो । त्यो गन्धले दुनियाँको पेट भरिदैन क्यारे ।'

उसले भन्यो, 'अब म नेतृत्वमा आउने बेला भयो ।'

अर्कोले आश्चर्य मान्दै जान्न चाह्यो, ' किन र ?!'

'नत्र आकाश खस्छ ।'

अर्कोले गम्यो, 'हुन त हो टाउकामाथिको आकाश खस्न के बेर ?! खस्नु भन्दा त रोक्नु राम्रो हो ।'

तर अहिलेलाई अर्कोको कौतुहलता अर्कै थियो ।

अर्कोले सोधिहाल्यो, 'आउछौं चाहिँ कसरी ?!"

उसले  झट्ट भनी हाल्यो,'सिम्पल, सबले मान्नु पर्‍यो ।'

'यो त माने मान न माने मै तेरो मेहमानको पारा भो ।' अर्कोले स्पष्टीकरण माग्यो, 'किन सबले मानु पर्ने ?!'

उसले आत्मविश्वासका साथ भन्यो, 'सुकिलो-मुकिलो छु, खान्दानी हुँ । अब के चाहियो ?!'

'त्यो त अरु पनि छन् । तिमी नै चाहिँ कसरी ?'

उसले औचित्य प्रस्तुत गर्‍यो, 'अरु लोतिकर्ने भए । म कुछ हुँ ।'

अर्कोले जान्न चाह्यो, 'त्यो भनेको के ?'

उसले प्रष्ट्याउँदै भन्यो, 'म घिउ खा'को बाउको छोरा हुँ । न पत्याए मेरो हात सुँघे हुन्छ ।'

अर्कोको अझै चित्त बुझेन, थप जान्न चाह्यो, 'तिम्रो बाउले घिउ खाएकोमा शंका भएन, तिम्रो हातमा उस घिउको गन्ध आउँछ त्यो पनि मानियो । त्यो गन्धले दुनियाँको पेट भरिदैन क्यारे !'

'उहिलेका कुरा खुइलिसके । अर्कालाई उकास्दा उकास्दै आफ्नै बिल्लिबाठ सहाल्न फुर्सद छैन रे ! यसै पनि जोर नाम्लो भिर्न त गाह्रै हुँदो हो ।'

उसले सम्झाउन कोसिस गर्‍यो, 'म आए पछि त भई हाल्छ नि !'

अर्कोले शंका व्यक्त गर्‍यो, 'तिमीले भनेका लोतिकर्ने पनि त्यसै भनेर आ'का हुन् ।'

'होइन, म कायापलट गर्न आउँछु । ती अर्काको बुइँ चढेर आका हुन् ।'

अर्कोले शंका व्यक्त गर्यो, फेरि देखिने, बोलिने, सुनिने कसरी संभव होला र ?! असफल र अमान्य प्रयोग ।'

'अब्डेरो कुरो न गर न ।' उसले लट्याङ-पट्याङ गर्न चाह्यो, 'मेरो तिनको जस्तो होइन, यो त समयको माग हो ।'

अर्कोको फेरि पनि चित्त बुझेन, 'आउछौ चाहिँ कसरी ।'

'वसन्त क्रान्ति भएर आउँछु ।'

उसले ओंठ लेप्र्यायो, 'त्यो समय त घर्की सक्यो । मुहानै सुकि सक्यो । वायुदेवले मुन्टै बटारिसके । अनि तिमीले चाहिँ अर्काको बुईँ चढ्नु कसरी पवित्र ?!'

'होइन, मलाई वायुदेवका भित्र्याहाले आश्वस्थ पारेका छन्, उनी आउँछन रे सामलतामल बोकेर । प्रेम र युद्धमा सब कुछ जायज हुन्छ ।'

'उहिलेका कुरा खुइली सके । अर्कालाई उकास्दा उकास्दै आफ्नै बिल्लिबाठ सहाल्न फुर्सद छैन रे ! यसै पनि जोर नाम्लो भिर्न त गाह्रै हुँदो हो ।'

'मेरो सपना !'

'उडायो सबै हुरीले ।'