घर जलाउने आगलागीका लागि पेट्रोल र मचिसको थुप्रो चाहिन्न, एउटा सानो झिल्को नै काफी हुन्छ !
'मुकुन्देपथ'का नवपथिकहरु !

२०६३ सालको आन्दोलनको सेरोफरोमा रत्नपार्कसँगै जोडिएको हाल सबैको लागि बन्द रहेको खुलामञ्चमा राजनीतिक आमसभाहरु करिब करिब दिनहुँ हुने गर्थे । त्यस्ता आमसभामा नेताका जोशिला भाषणहरु सुन्न हज्जारौं मानिसहरु सहभागी हुने गर्थे । रमाइलो कुरा के हुन्थ्यो भने खुलामञ्चमा त्यसरी जोशिला भाषणहरुसहित आमसभाहरु चलिरहँदा छेवैको रत्नपार्कको कुनै रुखमा चढेर एक नवयुवा पनि भाषण गरिरहेका हुन्थे । अचम्म लाग्दो चाहिँ के हुन्थ्यो भने उनका उटपट्याङ कुरा सुन्नका लागि पनि सयौंको संख्यामा मानिसहरु झुम्मिएका हुन्थे । सुन्दा रोमाञ्चकारी लाग्ने तर यथार्थमा करिब करिब असम्भव हुने खालका उनका उटपट्याङ कुरा मानिसहरु चाख मानेर सुनिरहेका हुन्थे र बेला बेलामा तालीका पर्रा पनि छुट्ने गर्थे ।
रुखमा चढेर त्यसरी उट्पट्याङ कुरा गर्ने मानिस आजभोलि ‘मुकुन्दे’ भनेर चिनिन्छन् । ‘युट्युबरे’ पत्रकारहरु माझ निक्कै लोकप्रिय र बेलाबेलामा उनीहरुले आफ्ना च्यानलहरुमा निक्कै महत्त्वका साथ पेश गर्ने ती व्यक्ति आफूलाई मुकुन्द हैन, ‘मुकुन्दे’ नामले नै सम्बोधित हुन रुचाउँछन् । उनी स्वघोषित दार्शनिक पनि हुन् र हाक्काहाक्की नै ‘युट्युबरे पत्रकार’हरुलाई आफ्ना कुराहरु बेचेर ‘स्वास्नी पाल्ने गरेको’ आरोप लगाउने गर्छन् । उनको कुरा सुनेर ‘युट्युबरे पत्रकार’हरु पनि मज्जाले हाँसिदिन्छन्, त्यसमा उनीहरुलाई कुनै लाज र ग्लानिको अनुभूति भएको देखिन्न ।
Image: https://upload.wikimedia.org/
हिजो रुखमा चढेर हावादारी गफ हाँक्ने मुकुन्देका कुरा सुनेर तालीका पर्रा छाड्नेहरुको कमी थिएन भने अहिले मञ्च वा कार्यक्रमको डायसमा उक्लेर उडन्ते कुरा गरिरहेका मुकुन्दे पथका नवपथिकहरुको हावादारी कुरा सुनेर तालीका पर्रा छाड्नेहरुमा कुनै कमी आएको छैन ।
त्यसो त वाकपटुताका आधारमा हिजो पनि हावादारी कुरालाई पनि साँच्चिकै हो कि जस्तो लाग्ने गरी प्रस्तुत गर्ने कलाका धनी हुन् ‘मुकुन्दे’ । तर उनका भाउ यतिखेर सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरुमा निक्कै कम भएको छ । उनलाई उनी जस्तै अन्टसन्ट र हावादारी कुरा गर्ने थुप्रै ‘मुकुन्देपथका नवपथिकहरु’ले विस्थापित गरिदिएका छन् । डिजिटल माध्यमको बजारमा ‘मुकुन्दे’ स्वघोषित ‘दार्शनिक’ हुन् भने दुर्भाग्यवश मुकुन्देपथका नवपथिकहरु चाहिँ नेपालीहरुमाझ ‘राजनीतिज्ञ’का रुपमा चिनिने गर्छन् । भन्नलाई राजनीतिज्ञ भनिए पनि त्यस्ता नवपथिकहरुले हावादारी गफ र मिथ्याचारको हिसाबले ‘मुकुन्दे’लाई माइलौं पछाडि छाडिदिने गर्छन् । हावादारी कुराहरु सुनेर मनोरञ्जन लिन चाहनेहरुले अब मुकुन्देका कुरा सुन्नका लागि कुरिबस्ने पर्दैन । उनका नवपथिकहरुले डिजिटल माध्यमहरु, सार्वजनिक सभा सम्मेलनहरुमा त्यस्ता हावादारी गफको वान्ता गरेर सित्तैमा उनीहरुलाई थर्ड क्लास मनोरञ्जन गराइरहेका हुन्छन् । गज्जब त के छ भने हिजो रुखमा चढेर हावादारी गफ हाँक्ने मुकुन्देका कुरा सुनेर तालीका पर्रा छाड्नेहरुको कमी थिएन । अहिले मञ्च वा कार्यक्रमको डायसमा उक्लेर उडन्ते कुरा गरिरहेका मुकुन्दे पथका नवपथिकहरुको हावादारी कुरा सुनेर तालीका पर्रा छाड्नेहरुमा कुनै कमी आएको छैन । ‘मुकुन्दे’ वास्तवमा एक व्यक्ति मात्रै हैन, प्रवृत्तिको रुपमा विकसित भएको छ ।
राजनीतिक दलहरुमाथि जनताको बहुसंख्यक हिस्साको आशा भरोसा टुटदै गइरहेको र उनीहरुमा निराशा, वितृष्णा र अवसादको अवस्था पैदा हुँदै गइरहेको मौका छोपी पुरानै शासन व्यवस्थाका हिमायतीहरुको आँट हिम्मत बढेको छ । खतरनाक कुरा चाहिँ के हो भने आम जनतामा उनीहरु नै वर्तमान निराशाजनक अवस्थाको त्राणहरणकर्ता विकल्प हो भन्ने गलत भाष्य विस्तारै निर्माण हुँदै गइरहेको छ ।
मुलुक यतिखेर गम्भीर संकटको अवस्थाबीच गुज्रिरहेको छ । २०६३ सालको भीषण जनआन्दोलन तथा त्यसअघि चलेको १० वर्षे जनयुध्दको बलले राजतन्त्रलाई मुलुकबाट विदागरेयता मुलुकले भोग्नु परिरहेको अहिलेको संकटपूर्ण अवस्था सम्भवतः सबैभन्दा गम्भीर छ । राजतन्त्रको विकल्पमा उन्नत व्यवस्थाका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था त स्थापित भयो तर त्यसका चालकहरु अर्थात् राजालाई विस्थापित गरेर राष्ट्रिय राजनीतिको रङ्गमञ्चमा हर्ताकर्ता बनेका राजनीतिक दलका नेताहरुको चाल, चलन, आचरण र व्यवहारहरुले हिजोका राजतन्त्रकालीन हर्ताकर्ताहरुलाई माथ खुवाइसकेको छ । मुलुक आर्थिक कङ्गालीकरणको दिशामा तीब्र छलाङ मारेर गइरहेको छ । नेपालको कूल ग्राहस्थ उत्पादनको करिब एक चौथाई अर्थात् २५ प्रतिशत रेमिट्यान्सले धानिएको छ, जुन आफैंमा घातक र कुनै पनि बेला तासको घरजस्तै ढल्न पनि सक्छ । रेमिट्यान्समाथिको यो निर्भरताले एकातिर मुलुकमा गरिखाने अवस्था नरहेको भयानक चित्रलाई प्रदर्शित गर्दछ । अर्कोतिर यसले नेपालमा ‘ब्रेनड्रेन’को खतरनाक अवस्थालाई समेत देखाउँछ । युवाहरुको ठूलो तप्का एसईई र १२ कक्षाको अध्ययनपछि देशमा आफ्नो कुनै भविष्य नदेखी डरलाग्दो रुपमा विदेश पलायन भइरहेका छन्। काम र अवसरको अभावमा युवाशक्तिको ठूलो हिस्सा विदेशिएका छन् । जनतामाथि करको बोझ अचाक्ली थोपरिएको छ तर कर तिरेवापत आमजनताले राज्यको तर्फबाट कुनै खास सेवा सुविधाहरु प्राप्त गर्न सकेका छैनन् । दलतन्त्रको छत्रछायाँमा भ्रष्टाचार, कुशासन संस्थागत भएको छ र विधिको शासन भन्ने कुरा एकादेशको कथा बनेको छ । यी सबैको जम्मा जोड के हो भने, राजनीतिक दलहरुमाथि जनताको बहुसंख्यक हिस्साको आशा भरोसा टुटदै गइरहेको छ, उनीहरुमा निराशा, वितृष्णा र अवसादको अवस्था पैदा हुँदै गइरहेको छ । वर्तमानप्रति विरक्ति बढ्दो छ । यो मौका छोपी पुरानै शासन व्यवस्थाका हिमायतीहरुको आँट हिम्मत बढेको छ । मौजुदा व्यवस्थालाई उल्टाएर पुरानै खालको शासन व्यवस्था स्थापित गर्ने भन्दै खुलेआम उनीहरुको गतिविधि बढेको छ । सबैभन्दा खतरनाक कुरा चाहिँ के हो भने आम जनतामा उनीहरु नै वर्तमान निराशाजनक अवस्थाको त्राणहरणकर्ता विकल्प हो भन्ने गलत भाष्य विस्तारै निर्माण हुँदै गइरहेको छ ।
हुनुपर्ने र गरिनुपर्ने कुरा चाहिँ राजनीतिक दलका नेताहरुबाट आफ्ना कमी कमजोरीहरुको सार्वजनिक स्वीकारोक्ति र त्यसलाई सच्चाउने प्रतिबद्धता आउनुपर्ने हो । त्यसमाथि थप, अहिलेको हाहाकारपूर्ण स्थितिमा आमजनतालाई त्राण दिने कार्यक्रमहरुको घोषणा तथा तिनीहरुको तुरुन्तै कार्यान्वयनको थालनी हो ।
यो स्थितिमा हुनुपर्ने र गरिनुपर्ने कुरा चाहिँ राजनीतिक दलका नेताहरुबाट आफ्ना कमी कमजोरीहरुको सार्वजनिक स्वीकारोक्ति र त्यसलाई सच्चाउने प्रतिबद्धता आउनुपर्ने हो । त्यसमाथि थप, अहिलेको हाहाकारपूर्ण स्थितिमा आमजनतालाई त्राण दिने कार्यक्रमहरुको घोषणा तथा तिनीहरुको तुरुन्तै कार्यान्वयनको थालनी हो । दुर्भाग्यको कुरा चाहिँ के भएको छ भने, राजनीतिक दलका ‘टाउके’ नेताहरु त्यसो गर्न तयार छैनन् । उनीहरुको आचार व्यवहारमा हिजोका राजतन्त्रकालीन नायकहरुको छायाँछवि नमेटिने गरी प्रतिबिम्बित हुने गरेको छ । उनीहरु त्यसलाई मेट्न र हटाउन तयार देखिन्नन् । आफ्ना कमी कमजोरीहरुलाई स्वीकार्ने र आत्मलोचित हुँदै आफूहरुलाई सच्याउनेतिर लाग्नु उनीहरु पटक्कै चाहँदैनन् । सट्टामा उनीहरु इतिहासको रछ्यानमा मिल्काइसकेको राजतन्त्रको हौवा देखाएर, उनीहरुलाई सत्तोसराप गरेर तथा राजतन्त्रवादीहरुलाई सत्तोसराप गरेर कोकोहोला मच्याइरहेका छन् । स्थितिको गम्भीरतालाई बोध गरेर गम्भीर बन्ने र जिम्मेवार कुरा गर्नेतिर लाग्नुको सट्टा ‘मुकुन्दे गफ’लाई माथ गर्ने गरी हावादारी र हल्काफुल्का कुराहरु गर्ने कुरामा उनीहरु मस्तमगन छन् । एउटा जिम्मेवार नेता–नेतृत्वको ओज, छवि र मर्यादालाई धूलोपीठो पार्ने गरी बगम्फुसे–अप्रमाणित कुराहरु गरेर उनीहरु आफ्ना ‘भक्त’हरुको तालीमा रमाइरहेका छन् ।
अहिले मुलुकमा धेरै लक्षणहरु विद्यमान देखिन्छन्, जसले राज्य असफल बन्ने दिशातिर त अघि बढिरहेको छैन ? भन्ने गम्भीर प्रश्नलाई जन्म दिन्छ ।
जब राज्य राजनीतिक, आर्थिक, सामाजिक र सुरक्षाको दृष्टिकोणले आमजनताबाट विश्वास गुमाउँदै जान्छ, त्यो भनेको राज्यको असफलतातिरको यात्राको संकेत हो । कानूनी व्यवस्था कमजोर हुनु, सुरक्षकर्मीहरु प्रभावहीन बन्नु तथा भ्रष्टाचारमा संलग्न हुनु, न्याय प्रणालीमा राजनीतिक दवाब हावी हुनु अदालतहरु स्वतन्त्र रुपमा काम गर्न नसक्नु, सरकार बारम्बार गठन र विघटन हुने परिस्थिति निर्माण हुनु, धार्मिक कट्टरता, चरम राष्ट्रवाद र जातीय द्वन्द्वको अवस्था पैदा हुनु त्यसका लक्षणहरु हुन् । त्यसैगरी नागरिक स्वतन्त्रतामाथि राज्यको हस्तक्षेप व्यापक रुपमा बढ्नु, मानवाधिकार उल्लंघनका घटनाहरुमा बढोत्तरी हुनु, दण्डहीनताको संस्कृतिले प्रश्रय पाउनु, राज्यको आर्थिक प्रणाली धराशायी बन्दै जानु, मूल्यबृद्धि अनियन्त्रित रुपमा बढ्दै जानु, उत्पादनमुखी आर्थिक कर्महरु तथा व्यवसायिक गतिविधिहरु ठप्प बन्ने अवस्थाका कारण रोजगारका अवसरहरु गुम्दै जानु पनि राज्यको असफलतातिरको यात्राकै सूचक हो । सरकारले कर्मचारीलाई तलब खुवाउन समेत धौ धौको अवस्था सिर्जना हुँदै जानु, मुलुकको अर्थतन्त्र अन्तर्राष्ट्रिय दातृ निकायहरुमाथि अत्यधिक निर्भर रहनु, भ्रष्टाचार व्यापक हुनु तथा उच्च पदस्थ व्यक्तिहरु नै भ्रष्टाचार तथा घुसखोरीमा संलग्न हुनु, राज्यका स्रोतहरु सीमित व्यक्तिहरुको हातमा केन्द्रित हुनु जस्ता कुराहरुले राज्यको स्वास्थ्य निको नरहेकाे संकेत गर्छ । अन्तर्राष्ट्रिय समुदायबाट विश्वास गुम्नु तथा उनीहरुबाट पाउँदै आएको सहयोगहरुमा कटौती हुनु, मुलुकको कुटनीतिले अन्तर्राष्ट्रिय मान्यता र विश्वास गुमाउँदै जानु जस्ता कुराहरु हुनु भनेको मुलुक असफल राष्ट्र बन्ने दिशातिर उन्मुख हुँदैछ भन्ने नै हो । अहिले मुलुकमा माथि उल्लेख गरिएका मध्येका धेरै लक्षणहरु विद्यमान देखिन्छन् । यसले राज्य असफल बन्ने दिशातिर त अघि बढिरहेको छैन ? भन्ने गम्भीर प्रश्नलाई जन्म दिन्छ ।
यतिखेर विश्वव्यापी रुपमा दक्षिणपन्थको हावा तीब्र गतिमा चलिरहेको छ । वैश्विक भूराजनीतिमा दक्षिणपन्थी शक्तिहरुको चलखेल तीब्र भइरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्धहरुमा उथलपुथलकारी अवस्था देखापर्दैछन् र त्यसले कतिखेर कुन मोड लिने हो यसै भन्न सकिने अवस्था छैन । विश्व शान्तिको साझा मञ्च भनिएको राष्ट्रसंघ यतिखेर इतिहासकै सबैभन्दा निरिह र पङ्गु देखिएको छ । शक्तिराष्ट्रको बलियो साथसमर्थन र आडभरोसा नहुने हो भने विश्व रङ्गमञ्चमा साना राष्ट्रहरुको आवाज नसुनिने तथा शक्तिसम्पन्न राष्ट्रहरुले साना राष्ट्रहरुमाथि गरेका ज्यादतिहरुको उचित सनुवाइ नहुने डरलाग्दो अवस्था छ । मुलुकभित्र जनतामा निराशा र अवसादको भावना तीब्र रुपमा जम्मा भइरहेको छ, जसलाई पक्रेर वैदेशिक शक्तिहरुले चलखेल गर्न सक्ने भावभूमि बन्दै गइरहेको छ । यस्तो विषम परिस्थितिमा ससानो घटनाहरुले पनि राष्ट्रिय स्वाधिनतालाई समेत दाउमा राख्न सक्ने विस्फोटक स्थिति पैदा हुन सक्छ भन्ने हेक्का राजकीय सत्तामा पुगेका तथा सत्ता बाहिर रहेका राजनीतिक दलहरुले राख्न सकेको छैन ।
जनतामा छाएको निराशालाई भजाउँदै सडकमा आगो बाल्न र अराजक स्थिति सिर्जना गर्न पुरातनपन्थी शक्तिहरुले मौका खोजीरहेको बेला उनीहरुसँग पौठेजोरी खोज्दै त्यसका लागि भावभूमि तयार गरिदिनेतिर लाग्ने हैन, जनताका असन्तोषलाई सम्बोधन गर्नेतिर राजनीतिक दलहरु गम्भीर हुनु जरुरी छ ।
खासमा अहिलेको विषम र संवेदनशील परिस्थितिमा राज्यसत्ताका सञ्चालकहरु, त्यसका मुख्य अवयव वा घटकका रुपमा रहेका राजनीतिक दलहरुले देखाउनुपर्ने भनेको उच्च संयममता, गम्भीरता र जनतामा पैदा भएको निराशा र वितृष्णालाई चिर्ने खालको व्यवहार नै हो । ट्युनिसियाबाट शुरु भएको अरब स्प्रिङको घटना, अनि श्रीलंका, बंगलादेशहरुको घटनाबाट पाठ सिके हुन्छ– घर जलाउने आगलागी शुरु हुनको लागि पेट्रोल र मचिसको थुप्रो चाहिन्न, एउटा सानो झिल्को नै काफी हुन्छ । जनतामा छाएको निराशालाई भजाउँदै सडकमा आगो बाल्न र अराजक स्थिति सिर्जना गर्न पुरातनपन्थी शक्तिहरुले मौका खोजीरहेको बेला हो अहिले । उनीहरुसँग पौठेजोरी खोज्दै त्यसका लागि भावभूमि तयार गरिदिनेतिर लाग्ने हैन, जनताका असन्तोषलाई सम्बोधन गर्नेतिर राजनीतिक दलहरु गम्भीर हुनु जरुरी छ । त्यसका लागि खाँचो छ, गम्भीर आत्मालोचना, शासकीय व्यवहारमा परिवर्तन गरी जनव्यवहार अपनाउनु । अनि आवश्यकता छ– पार्टीभित्र टाउकोमा नेता बसेर एकल हुकुम चलाउने र तलकाले खुरुखुरु विना प्रश्न मान्नैपर्ने बेथितिको अन्त्य गरेर सामुहिक निर्णय प्रणााली स्थापित गर्नेतिर लाग्नु । आफ्ना कमी कमजोरीहरुप्रतिको गम्भीर आत्मस्वीकृतिसहित तिनलाई सच्याउने पहलकदमी तथा तद्अनुरुपको व्यवहारिक रुपान्तरणको अनुभूत आमजनतालाई देखिने गरी हुनु । त्यसका साथसाथै तत्काल र तुरुन्तै प्रभावी हुने गरी राहतकारी कार्यक्रमहरुको घोषणा र लागू गर्नु अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।उदाहरणको लागि त्यसको शुरुवात सहकारी पीडितको पैसा फिर्ता, भत्केका राजमार्गहरुको युद्धस्तरमा पुनर्निर्माणबाट गर्न सकिन्छ। शिरदेखि पाउसम्म जरो गाडेको भ्रष्टाचारविरुद्ध निर्मम युद्धको थालनी गरेर गर्न सकिन्छ । सत्ता र राजनीतिक दलको आवरणमा उन्मुक्ति दिइएका तथा रोकिएका ठूला ठूला भ्रष्टाचार र कूकर्महरुविरुद्ध छानविन र कानुनी कारवाहीलाई थालनी गरेर पनि त्यो आशा र भरोसा जगाउने कामको शुरुवात गर्न सकिन्छ । त्यसैगरी, दिनरात मेहनत मजदुरी गर्दा तथा दश नङ्ग्रा खियाउँदा पनि आमजनताले आर्थिक रुपमा निराश बन्नु पर्ने अहिलेको तीतो वास्तविकता हो । यो स्थितिमा राजनीतिक दल वा सत्ताको आशिर्वादमा कुनै उद्यमकर्मबिनै मुख्य शहरहरुमा घरजग्गा जोड्न सक्ने तथा भव्य विलासी जीवन बिताउन सक्ने, राजनीतिलाई धन्दा बनाएर अकूत सम्पत्ति कमाउन सकेका सबै तह तप्काका मानिसहरुको सम्पत्ति छानविनको थालनी गरेर पनि जनतामा वर्तमान व्यवस्थाप्रति विश्वास जगाउन सकिन्छ । राजतन्त्रलाई विस्मृत गराउने गरी आमजनताको बाटो छेकेर कानको जाली फुट्ने गरी कर्कश ध्वनिका साथ गरिने ‘सवारी’ ले आममानिसमा खराब छाप पार्ने गरेको छ। हिजोको त्यो शाही तौरतरिकालाई बदलेर सत्तामा रहेका तथा सत्तास्वाद भोगिसकेका राजनीतिक दलका नेताहरु हिजोका जस्ता शासक हैनन्, जनपक्षीय प्रतिनिधि हुन् भन्ने भावनालाई स्थापित गर्न सकिन्छ । कार्यक्रम–सभासम्मेलनमा जाँदा शरीरले भार थेग्न नसकिने गरी कुकुर तिहारमा कुकुरलाई माला लगाइदिने गरेकाे जस्तो गरी माला लगाइदिने चलन–प्रथा जनतालाई सबैभन्दा खट्किने अर्को कुरा हो । त्यसलाई बन्द गरेर त्यस्ता दृश्यहरु देख्दा जनतामा पैदा हुने भयानक एलर्जीको अवस्थालाई अन्त्य गर्न सकिन्छ । राजकीय सुविधाहरुकाे अतिदोहनलाई घटाएर तथा त्यस्ता कर्महरुलाई अनुभूत हुने गरी निषेध गरेर जनतामा राजनीति भनेको लुट्ने खेल–प्रपञ्च बनेको विद्यमान भाष्यलाई परिवर्तन गर्नु जरुरी छ । देख्दा सामान्य लाग्ने तर गम्भीर अर्थ लाग्ने यी र यस्ता कामहरुको थालनी गरियो भने पक्कै पनि जनतामा छाएको निराशामा मल्हमपट्टि लाग्न सक्छ, उनीहरुमा मौजदा व्यवस्थाप्रति आशा भरोसा जाग्न सक्छ । यतिखेर गरिनु पर्ने मुख्य कुरा भनेकै हरेक कालो बादलको घेरामा चाँदी हुन्छ, अहिलेको अवस्था स्थायी पक्कै होइन्, अँध्यारो सुरुङको पारी उज्यालो छ भन्ने भावनाको जागृति गराउनु र त्यो विश्वास जगाउनु हो ।
नेतृत्वको अधोवायुमा पनि अत्तरको बासना महसूस गर्ने भक्तहरुमाझ हाँकिने ‘मुकुन्देगफ’ले क्षणिक वाहीवाही र तालीको पर्रा त पाउन सकिएला तर त्यसले जनअसन्तोषलाई सम्बोधन गर्न सक्दैन भन्ने कुरा सबै राजनीतिक दलका नेतृत्वहरुले बेलैमा बुझ्नु पर्छ ।
सत्ता (चाहे त्यो राजनीतिक होस् या राजकीय) को निकटतामा रहँदा प्राप्त गर्न सकिने अवसर, मौका र आर्थिक लाभका लागि नेतृत्वको अधोवायुमा पनि अत्तरको बासना महसूस गर्ने भक्तहरुमाझ हाँकिने ‘मुकुन्देगफ’ले क्षणिक वाहीवाही र तालीको पर्रा त पाउन सकिएला तर त्यसले जनअसन्तोषलाई सम्बोधन गर्न सक्दैन । यो कुरालाई सबै राजनीतिक दलका नेतृत्वहरुले बेलैमा बुझ्नु पर्छ । आफ्ना कमी कमजोरीहरुलाई सच्याउनेतिर नलाग्ने हो, आमजनतालाई राहत र आशाको अनुभूति हुने गरी कामहरुको थालनी नगर्ने हो र सबै कुराको दोष अहिलेको व्यवस्था उल्टाउन चाहने पुरातनपन्थीहरुलाई दिएर सत्तोसराप मात्रै गरेर बस्ने हो भने ‘भक्तमा रुपान्तरण भएका’ आसेपासे कार्यकर्ताहरुको आँखामा त त्यसले छारो हालिदेला तर आमजनताले भने त्यसलाई पत्याइबस्नेवाला छैनन्, उनीहरुले त्यसलाई ‘बाघ आयो, बाघ आयो’ भनेर सदैव झुक्याउने कथाको भद्दा प्रहसन मात्रै ठान्न बेर छैन ! भनिबस्नु नपर्ला, जतिसुकै उन्नत र प्रगतिशील व्यवस्था भए पनि सर्वसाधारण जनताले खोज्ने भनेको ‘परिणाममुखी नतिजा’ नै हो । त्यसको अभावमा जनताको असन्तोषलाई ससानो कुराले पनि सम्हाल्नै नसक्ने गरी विस्फोटक बनाइदिन सक्छ भन्ने कुराको बेलैमा हेक्का राखिनु जरुरी छ ।
प्रतिक्रिया