पारिजातका कविताहरु

एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता

एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता

ज्यू,
काम गरेको मात्र थाहा छ

दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडौरी गुन्यू

लगाएको मात्र थाहा छ

जोबन सोध्नु भएको ?

त्यो त हजूर आएको, गएकै थाहा छैन ।

खै, जान्ने-सुन्नेले भनेको

मेरो जोबन त जिम्मुवालको उ त्यो

गहुँबारीमा सप्रिसक्यो रे !

उसैको करेसावारीको सयपत्रीमा फुलिसक्यो रे !

खै कुन्नि कस्तो अनौठो

मेरो आँखा र ओंठमा नफुलेर मेरो जोवन

अर्काको सम्पत्तिमा फुल्ने रे !

के भन्नु भयो, निकै हिस्सी परेकी छ रे ?

ज्यू, त्यो दहको पानीमा हेर्दा

त्यस्तै-त्यस्तै लागेको थियो

तर के भरपर्दो हुन्छ र पानीमुनिको छायाँ ।

ढाँटेकी भए हजुरको मासु खाने

मेरी बास्सै !

लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी

टोपीमा लालुपातेको फूल घुसारेर

निधारमा तीनवटा सितारा टाँसेर

गालामा अलि-अलि लाली घसेर

आएको मेरो अधबैसे दुल्हा

आरन जस्तै अँध्यारो र

खलाँती जस्तै धुस्रो थियो ।

ए, हाँस्नु भएको हजूर त !

यसको गोडा पखालेको पानी खानु, साँझ-विहान

यो तेरो देवता हो भनी

बुढी बज्यैले भन्दा घुम्टोभित्र म रोएकी

खै, कसरी देखाऊँ

गालामा आँसुको डोब बस्दैन हजूर

पहरामा खहरेको डोब बसे जस्तो ।

ज्यू, माईत सात खोला सात डाँडा उता छ

मैले बालखकालमा देखेकी सपना जस्तै

मेरो मुटुभित्रै भएर पनि कति-कति टाढा ।

जै-जन्म सोध्नु भएको ?

ज्यू, यिनै दुईटा छोरा

च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ

ढाँटेकी भए यो आगो हातैमा छ हजुर ।

यो च्याँसे

मुखियाको घर बनाउने ढुंगा बोक्दा बोक्दै पाएकी

नाम्लो त थाप्लो मै थियो गाँठे

फरियामा पोको पारेर ल्याएँ

छाप्रोमा साल-नाल काटें

फेरि मुखियाको धान गोड्दा-गोड्दै हिलो मै जन्म्यो

यो पुन्टे

हिलोमा जन्मनेहरूलाई

कहाँ लेखेको हुँदो रहेछ र सिमलको भुवा ?

ज्यू, हुर्काउदैछु हजूर, हुर्काउँदैछु

नांगे-भुतुंगे

जनावरहरू जस्तै

कुकुर र सुँगुरका बच्चाहरू जस्तै ।

ज्यू, माया लाग्छ यै बूढा कामीको

गरीबीभन्दा अर्को छनौट नै के छ र जीवनमा ?

म पनि त चायाँ र कलेटीले

तर्साउने जस्तै भई सकें

के म स्वास्नीमान्छे जस्ती छु र ?

 ल फेरि हाँस्नु भयो हजुर त !

जीवनको अर्थ

ज्यू केही बुझ्या छैन

मेरो कामीको रंग र फलामको रंग

एउटै छ हजूर ।

च्याँसे-पुन्टेको छालाको रंग र बाटोको धुलोको रंग

एउटै छ,

म पनि त हजूर फोहर, मयल ध्वाँसो जस्तै छु

कामी रूने होइन कहिल्यै

उस्का पसिनाको रंग

र मेरो आँसुको रंग

एउटै छ हजूर ।

ज्यू, ज्यू काम गर्नेहरूले खान पाउनु पर्छ

भन्ने कुरा

भर्खर-भर्खर पो थाहा पाउन लागेकी छु हजूर !


मृत्यु

धेरै अघि एक साँझ

चराहरू निन्याउरा भएर हाँगातिर

बसिरहेको बेला

घरका समस्याहरूले पिल्सिएर

आफैं पनि झोक्रिएर बसिरहेको बेला

मलाई एउटा कविता लेख्न मन लागेको थियो

मृत्यु अभिशाप हो,

मृत्यु विसंगति हो,

मृत्यु जीवनको अन्त हो भनेर ।

 

मृत्युको कुरालाई धर्म ग्रन्थहरूबाट

जस्ताको तस्तै ग्रहण गरेकी छु मैले

तथापि मसँग मृत्युको केही आलो व्यथा छ,

जीवनको विकराल दुःखहरूबाट तर्सेर

एकपल्ट मैले मृत्युको पछ्यौरामा

मुख लुकाउने दुष्प्रयास गरेकी छु

तथापि मसँग मृत्युको केही साक्षात कथा छ ।

 

भट्मास दिएर नून साट्न आएकी

साँघुरो भिरालो बाटोमा

पेटभरि आहार नभएर बांगोटिंगो हिंडिरहेकी,

एउटी गरीब आमाको थुन्सेबाट

आँत सुकेको बालख छोरो अरल्लिएर रूँदा

फुत्कर कालीको बौलाहा छालमा खस्यो,

उसको मृत्यु भयो ।

ज्वरोको धङ् धङीमै ठालुले जोताको

एउटा निर्धो तन्नेरी

रूखको हाँगा काट्दा काट्दै

असन्तुलित भएर भुईंमा खस्यो,

उसको मृत्यु भयो ।

रक्सी खाएर रंग साइडतिर हाँकिरहेको

महानगरको एउटा सफेद पोशले

एउटा झुम्रे रिक्सावालालाई

हाकाहाकी चेप्ट्याएर मार्‍यो

उसको मृत्यु भयो ।  

अझ थुप्रै थुप्रै सामूहिक मृत्युहरू भए

खान नपाउनेहरूको,

अधिकार खोज्नेहरूको

दुई पाइलो जग्गा माग्नेहरूको

अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन,

 

आज मलाई फेरि एउटा कविता लेख्न मन लागेको छ

मृत्यु विसंगति होइन,

मृत्यु जीवनको अन्त होइन भनेर

मृत्यु त शहीद भएर रातो झण्डाभित्र सुरक्षित

भीडहरू बीच हिंड्दो रहेछ

मृत्युको अर्को नाउँ बलिदान रहेछ,

मृत्यु बाँच्दा रहेछन्,

जिउँदाहरूको मानसमा संझना भएर

अन्यायमा परेर मरेका मृत्युहरू

डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्

प्रतिशोध भएर जताततै फुंकार गरी हिंड्दा रहेछन्,

कहाँ मर्दा रहेछन् र मृत्युहरू

मृत्यु त संगठन भएर

अंगालोहरूतिर बाँधिइदा रहेछन्

नारा भएर भित्ताहरूतिर लिपिंइदा रहेछन्

पर्चा भएर हातभरि छरिइदा रहेछन्

कहाँ मर्दा रहेछन् र

भोका किसान र जिउँदै डढ्ने सुकुम्वासीका मृत्युहरू

उनीहरूका मृत्यु त

संघर्ष गर्न तम्तयार आएको

विशाल विशाल जुलुसमा हिड्ने संघर्षकारीहरूको

पाखुरी पाखुरीमा, मुठ्ठी मुठ्ठीमा,

कसम भएर

अठोट भएर

प्रतिज्ञा भएर

ज्यूँदै ज्यूँदै जाग्दा रहेछन्, बल्झिदा रहेछन्

मृत्यु त संगीन भएर

वर्ग शत्रुको छातीतिर तेर्सिइदा रहेछन्

बन्दूक भएर पड्किंदा रहेछन् ।

मूल्याङ्कन २०५१ जेठमा प्रकाशित