वास्तविक अछूत को ?

एकपटक वैशालीबाहिर धम्म प्रचारका लागि गौतम बुद्ध जाँदै थिए । त्यत्तिकैमा उनले तीव्र गतिमा भागिरहेकी एउटी किशोरी र तिनलाई पछ्याइरहेका केही सैनिकहरूलाई देखे । डरले काँपिरहेकी ती बालिका दौडेर एक इनारको छेउमा गएर उभिइन्। उनी स्वाँ स्वाँ गरेर लामो स्वास फेरिरहेकी थिइन् । उनी अत्यधिक तिर्खाएकी पनि थिइन्। त्यत्तिकैमा किशोरीलाई पिछा गरिरहेका सैनिकहरू पनि त्यहाँ आइपुगे। बुद्धले हातको संकेत गर्दै उनीहरूलाई रोकिन भने।
बुद्धले ती किशोरीलाई आफूतिर बोलाएर भने, "नानी ! तिमी इनारबाट पानी निकाल, आफू पनि पिउ, र मलाई पनि पिलाऊ।"
बुद्धका कुरा सुनेर ती बालिकाले केही अन्कनाउँदै भनिन्, "भगवान, म एक अछूत कन्या हुँ। मेरो हातले इनारबाट पानी निकाल्दा पानी अशुद्ध हुनेछ!"
बुद्धले ती किशोरीको भनाइलाई वेवास्ता गर्दै फेरि भने, "छोरी, मलाई निकै तिर्खा लागेको छ, पहिला तिमी मलाई पानी पिलाऊ।"
बुद्ध र किशोरीबीच यस्तो सम्वाद चलिरहेको बेला वैशालीका महाराजा पनि त्यहाँ आइपुगे। उनले बुद्धलाई प्रणाम गरे । बुद्धलाई तिर्खा लागेको थाहा पाएपछि उनले सुनको भाँडामा सुवासयुक्त मीठो पानी अर्पण गरे। तर बुद्धले त्यो पानी लिन अस्वीकार गरे। बुद्धले फेरि बालिकालाई इनारबाट पानी निकालेर आफूलाई पिलाउन आग्रह गरे। यसपटक ती बालिकाले साहस बटुलिन्, इनारबाट पानी निकालिन्, पहिले आफूले पिइन् र त्यसपछि गौतम बुद्धलाई पनि पिलाइन्।
पानी पिएपछि बुद्धले उनलाई डरको कारण सोधे। बालिकाले भनिन्, "मैले संयोगले राजा दरबारमा गीत गाउने अवसर पाएकी थिएँ। राजाले मेरो गीत सुनेर प्रसन्न भई आफ्नो घाटीमा लगाइरहनुभएको माला पुरस्कारस्वरूप दिनुभएको थियो। तर कसैले राजालाई बताए कि म अछूत कन्या हुँ। यो थाहा पाएपछि राजाले मलाई जेलमा हाल्न आदेश दिए। म त्यहाँबाट भागेर बच्दै यहाँसम्म आइपुगेकी हुँ।"
त्यो सुनेर बुद्ध खिन्न बने । वैशालीका राजालाई सम्बोधित गर्दै बुद्धले भने, "सुन्नुहोस् राजन, यो कन्या अछूत होइन, बरु तपाईं अछूत हुनुहुन्छ । जसको मधुर कण्ठबाट निस्किएको गीतको तपाईंले आनन्द उठाउनुभयो, जसलाई कदर गरेर तपाईंले पुरस्कार दिनुभयो, ऊ अछूत हुनै सक्दैन ।"
गौतम बुद्धको यो कुरा सुनेर राजा लज्जित बने । उनले बुद्धसँग माफी मागे ।
बौद्ध जातक कथाबाट

भोकै रहनु परेपनि पार्टीको नीति उल्लंघन गर्नु हुँदैन: चाओ एन लाई

लेनिनको सूट

सुन्दरी अभिनेत्रीलाई जर्ज बर्नाड शाको चतुर जवाफ

पुत्र वियोगले शोकाकूल गौतमी र महात्मा बुद्ध

नेताका छोराहरू: बलिदान, संघर्ष, र विवादका प्रसंग

जब मैले माओ र चे पढेँ, म झन् बढी सत्ता विरोधी भएँ: माइक टाइसन

बुद्धिको शक्ति

प्रतिक्रिया