मार्क्स र चेस

मार्क्स ड्राफ्ट धेरै राम्रो खेल्थे । उनी यो खेलमा यति निपुण थिए कि उनलाई हराउनु निकै गाह्रो थियो। चेस खेल्न पनि उनलाई रमाइलो लाग्थ्यो, तर त्यसमा उनी त्यति माहिर थिएनन्। त्यस खेलमा दक्षताको अभावलाई उनी जोश, उत्साह र अचानक आक्रमण गरेर पूरा गर्ने प्रयास गर्थे।

सन् १८५० को दशकको सुरुवाततिर हामी आप्रवासीहरूमाझ चेस एउटा सामान्य खेल थियो। हामीसँग प्रशस्त खाली समय हुन्थ्यो, र हामी प्रायः रेड वोल्फको नेतृत्वमा चेस खेल्थ्यौं। उनले पेरिसका उत्कृष्ट चेस खेलाडीहरूसँग खेलिसकेका थिए र खेलका केही जटिल चालहरू सिकेका थिए। त्यसैले, हामी "बुद्धिमानहरूको खेल" भनेर चिनिने चेस खेल्न निकै रुचाउँथ्यौं।

कहिलेकाहीं हाम्रो बीच निकै उत्साहजनक चेस प्रतिस्पर्धा हुन्थ्यो। जो हार्थ्यो, उसको खुब मजाक उडाइन्थ्यो। खेलको दौरान माहोल निकै जीवन्त हुन्थ्यो र प्रायः ठूलो  हो-हल्ला समेत हुन्थ्यो।

मार्क्स कठिन परिस्थितिमा पर्दा झर्किन्थे, र जब हार्थे रिसले आगो हुन्थे। लन्डनको ओल्ड कम्प्टन स्ट्रिटस्थित मोडल लजिङ हाउस मा, जहाँ हामीमध्ये धेरैजना केही समयका लागि साप्ताहिक साढे तीन शिलिङ भाडामा बस्थ्यौं हामी सधैं अङ्ग्रेजहरूबाट घेरिएका हुन्थियौ । उनीहरू हाम्रो खेललाई निकै चासोका साथ हेरिरहन्थे (किनभने बेलायती मजदूरहरू माझ पनि शतरंज लोकप्रिय थियो) र खेलसँगै हुने हाँसो-ठट्टा तथा कोलाहलको मजा लिँथे। किनकि दुई दर्जन अङ्ग्रेजहरूसँग तुलना गर्दा, दुईजना जर्मनले नै धेरै हल्ला गर्ने गर्छन् ।

एक दिन मार्क्सले हर्षपूर्वक खबर सुनाए कि उनले एउटा नयाँ चाल पत्ता लगाएका छन्, जसले हामी सबैलाई पराजित गर्नेछ।

उनको चुनौती स्वीकार गरियो, र उनले साँच्चै नै हामी सबैलाई पालैपालो हराए। तर, हामीले छिट्टै आफ्नो हारबाट पाठ सिक्यौं, र अन्ततःहामीहरु मार्क्सलाई पराजित गर्न सफल भयौ। बेलुकी ढल्किसकेको थियो, त्यसैले उनले अर्को बिहान आफ्नै घरमा पुनः खेल्न आग्रह गरे।

ठीक बिहान ११ बजे, जुन लन्डनका लागि निकै चाँडो मानिन्थ्यो, म मार्क्सको घर पुगेँ। उनी आफ्नो कोठामा थिएनन्, तर मलाई जानकारी दिइयो कि उनी चाँडै नै आइपुग्नेछन्। श्रीमती मार्क्स कतै देखिइनन्, र हेलेनको मुड पनि ठीक देखिँदैनथ्यो। म केही सोध्न खोज्दै थिएँ कि त्यहीबेला "मूर" (मार्क्स) आइपुगे। उनले मसंग हात मिलाए र चेसको बोर्ड निकालेर खेल सुरु गर्न तयार भए।

खेलको माहोल तयार भयो। मार्क्सले रातभर आफ्नो चाल झन् सुधार गरेका थिए, र चाँडै नै म नराम्ररी फँसेँ। अन्ततः म हारें, र मार्क्स अत्यन्तै प्रसन्न भए। उनले स्यान्डविचसँगै केही पिउने व्यवस्था गराए। त्यसपछि हामीले दोस्रो खेल खेल्यौं, जसमा म विजयी भएँ। यसरी, हाम्रो जित-हारको उतारचढ़ावसँगै खेल अघि बढिरह्यो।

पूरे खेल अवधिभर श्रीमती मार्क्स एक पटक पनि देखापरिनन, न कुनै बच्चाले नजिक आउने हिम्मत गरे । खेल निरन्तर चलिरह्यो—कहिले मार्क्सको पक्षमा, त कहिले मेरो। अन्ततः, मैले मार्क्सलाई लगातार दुई पटक पराजित गरें। उनी अझै खेल्न चाहन्थे, तर ठीक त्यही बेला हेलेनले दृढ स्वरमा भनिन्: " भयो, अब धेरै भइसक्यो!"