एकसेएक राजा र बहुदलीय राजतन्त्र

कस्तो रुख रोप्यौ आमा
राजा फले हाँगा हाँगामा
– अर्जुन पराजुली, व्यंग्यकवि
हिजोसम्म एकजना मात्र थियो राजा, आज एकसेएक राजा देखिए । हिजोसम्म एकजनामात्रै राजाको निरंकुश शासन थियो, जुन शासनलाई निरंकुश राजतन्त्र भन्थ्यौं । आज थुप्रै छोटे–बडे राजाहरुको अंकुशहीन राज चल्न थालेको छ । यो राजलाई कस्तो तन्त्र भन्ने ? बहुराजतन्त्र भन्ने कि ?
हामीलाई एकजनाको शासन चल्ने राजतन्त्रसमेत असह्य थियो, त्यसैले निरंकुश राजतन्त्र फ्याँक्न हामीले विद्रोह गर्यौं । आज नेता, मन्त्री र सांसदहरुको बहुराजतन्त्र चल्न थालेको छ । अनिर्वाचित राजतन्त्रको ठाउँमा आएको छ निर्वाचित राजाहरुको तानाशाही । यो तन्त्रमात्रै हामीलाई कहाँ सह्य र स्वीकार्य हुनसक्छ र ?
नेताहरु राजा र राजतन्त्रसँग ‘लड्दालड्दै’ आफै राजा भए । यो देखेर २१ औं शताब्दीको निरंकुश राजतन्त्रका पुजारी (पूर्व)राजा ज्ञानेन्द्र हर्ष र खुसीले कति गद्गद् भइरहेका होलान् ! ज्ञानेन्द्रको राजतन्त्रसँग ‘भिड्दाभिड्दै’ लोकतान्त्रिक नायकहरु स्वयं नयाँ राजतन्त्रका संस्थापक भए । लोकतन्त्रको नाममा राजतन्त्रको यस्तो विस्तार भएको देखेर भूतपूर्व राजा ज्ञानेन्द्र आफ्ना पूर्व सेनापतिहरु प्यारजंग र रुक्मांगतमार्फत् हाम्रा नयाँ राजाहरुको अभिषेक गर्दैहोलान् !
राजनीतिशास्त्र भन्छ, राजा र राजतन्त्र सामन्तवादका ज्वलन्त नमूनाहरु हुन् । व्यवहारले भन्छ, हाम्रा अधिकांश नेता, मन्त्री र सांसदहरु सामन्त र राजाभन्दा फरक छैनन् । कोही वंश, जाति, भाषा, लिङ्ग, क्षेत्रका आधारमा सामन्त र राजा भए । कोही संस्कृति, नीति–नैतिकता र राजनीतिले गर्दा महाराजहरु भए । पत्यार नलागे उनीहरुको परिवार, पार्टी वा सरकारको सामन्ती र अलोकतान्त्रिक आचरणको ऐनामा हेरे पुग्छ ।
यसरी एकसेएक नयाँ राजा हुनु यतिखेरको नेपाली समयको त्रासदी हो । त्यसैले उनीहरु कहिले सेरेमोनियल राजाको कर्कश गीत गाउँछन् त कहिले भूतपूर्व बनिसकेका राजाकी नातिनीलाई राजा बनाउने नीतिको प्रहसन देखाउँछन् । यस्ता गीत र प्रहसनहरु उनीहरुको मनमस्तिष्कमा छाएको राजत्वका त्रासद अभिव्यक्तिहरु हुन् ।
‘राजा’ शब्दको उत्पति भएको थियो, ‘रञ्जन’बाट । पहिले लोकलाई रञ्जन गर्ने (आनन्द दिने) संस्था थियो राजा भन्ने पद । जनतालाई मनोरञ्जन दिनसक्ने व्यक्तिहरु निर्वाचित हुथे राजा पदमा । एउटै राज्यमा, एउटै केन्द्रीय सभामा पनि थुप्रै राजाहरु हुन्थे । प्रत्येक कुलीन प्रतिनिधिलाई राजाकै उपाधि दिइन्थ्यो र तिनीहरुबाटै छानिन्थे मुख्य राजा अर्थात् महाराजा अर्थात् महाराजधिराज ।
पच्चीस सय वर्षअगाडि वैशालीको लिच्छवि गणराज्यमा मात्रै ७७०७ जना राजा थिए । अब त असंख्य राजाबाट एकजना राजामा सर्वाधिकार केन्द्रित हुने निरंकुश राजतन्त्रको जमाना पनि गइसक्यो । तर विडम्बना, आज नेपाललाई अधिराज्यबाट गणराज्य बनाउने आन्दोलन चलिरहेको बेला यहाँ पनि थुप्रै राजा देखापरे, अनेक मायावी अवतारका साथ । आज ‘सेरेमोनियल राजा’जस्तो अश्लील गीत र ‘नातिनी राजा’जस्तो हास्यास्पद प्रहसन देखाउनेहरु यहाँका एकसेएक नयाँ राजा भएका छन् ।
हिन्दू अधिराज्यका अधिष्ठाता ज्ञानेन्द्र त बढारिए ! तर प्रश्न उठ्छ, नयाँ राजाहरुले उनीसँगै घाँटी जोडेर विश्व–सम्राट र क्षेत्रीय महाराजहरुको आशीर्वादमा नयाँ बहुराजतन्त्रलाई संस्थागत गरे भने के गर्ने होला ? तिनै सम्राटहरुको निर्देशनमा जनविद्रोह: २०६३ लाई समेत ज्ञानेन्द्रसँगको सम्झौतामा टुंग्याएका ठूला दलका ठूला राजाहरुले तिनीहरुकै ‘संवैधानिक शक्तिहरुबीचको एकता’को सिद्धान्तअनुसार असंवैधानिक शक्ति मानिने जनता, जनताको तन्त्र र जनशक्तिहरुविरुद्ध युद्ध छेडे भने के गर्ने होला ? त्यसो भयो भने के हामीसँग सबैखाले राजा र राजतन्त्रविरुद्ध विद्रोह गर्नेबाहेक अरु केही विकल्प बाँकी होला त ?
नव युवामा प्रकाशित
प्रतिक्रिया