हाम्रो आमाशयलाई किन एसिडले क्षति गर्दैन !

हाम्रो पेटमा हाइड्रोक्लोरिक एसिड भोक लागेको बेलामा मात्र हैन, तनाव वा चिन्ताको बेलामा पनि अत्यन्त धेरै मात्रामा  पैदा हुने गर्छ ।

हामीले खाएको खानेकुरा भोजननली हुँदै आमाशयमा पुग्छ ।  आमाशयमा हामीले खाएका खानेकुराहरूलाई मिहिन पारेर टुक्रयाउने तथा आन्द्राले पोषणतत्व सीस्न सक्ने किसिमको तुल्याउने काम हुन्छ । त्यसका लागि हाम्रो आमाशयको भित्ताबाट पेप्सीन र हाइड्रोक्लोरिक नाम गरेका अम्लहरू पर्याप्त मात्रामा निस्कन्छन् । यी रसहरूलाई 'पाचन रस पनि भनिन्छ ।

'हामीले खाना खाएपछि मात्र हैन, हामीलाई भोक लागेको बेला, हाम्रो दृष्टि खानेकुराहरूमा परेको बेला वा खानेकुराको गन्ध हाम्रो नाकसम्म आइपुग्दा पनि आमाशयमा ती पाचन रसहरू निस्कन्छन् ।

ती दुई रसहरुमध्ये हाइड्रोक्लोरिक एसिड अत्यन्तै कडा हुन्छ । गाढा तरल अवस्थामा हुने यो रसको केही थोपा मात्रै पनि हाम्रो कपडामा
पर्ने हो भने, त्यो कपडामा प्वाल नै पर्छ ।  सामान्यत: आमाशयमा रहेको हाइड्रोक्लोरिक एसिड अत्यन्तै कडा एसिड हो, जसको pH 1.5 - 3.5 को बीचमा हुन्छ। यस्तो अम्लीय वातावरणले प्रोटीन पाचन, ब्याक्टेरियाको नाश, र आमाशयको पाचन प्रक्रियामा सहयोग गर्छ। तर, यति शक्तिशाली एसिड हुँदा पनि यसले आमाशयको भित्ताहरूलाई चाहिँ प्वाल पार्दैन । यस्तो कसरी सम्भव हुन्छ होला ?

हाम्रो आमाशयलाई त्यस कडा एसिडबाट जोगाउनका लागि विभिन्न खाले रक्षात्मक संयन्त्रहरुले काम गरिरहेको हुन्छ । त्यो मध्येमा मुख्य भूमिका भित्तामा पैदला हुने चिपचिप लाग्ने म्युकसको तहले निर्वाह गरिरहेको हुन्छ ।

आमाशयको भित्ताका गोब्लेट कोशिकाहरू (Goblet Cells) ले बाक्लो र चिप्लो म्यूकस (Mucus) उत्पादन गर्छन्, जसले एसिडलाई आमाशयको भित्तामा प्रत्यक्ष सम्पर्क हुन दिँदैन।यो म्यूकसले एक क्षारीय (Alkaline) तह बनाउँछ, जसको pH 6-7 को हाराहारीमा हुन्छ।यसले हाइड्रोक्लिरिक एसिडको असरलाई निष्क्रिय पार्दै आमाशयको भित्ता जल्नबाट जोगाउँछ।

त्यसबाहेक, आमाशयको भित्तामा हुने म्यूकस ग्रन्थिहरू (Mucous Glands) ले बाइकार्बोनेट (HCO₃) उत्पादन गर्ने गर्छ । त्यस बाइकार्बोनेटले हाइड्रोक्लोरिक एसिडको असरलाई सामान्यीकरण (Neutralize) गर्ने काम गर्छ । त्यसले  एसिडको असर कम गर्दै आमाशयको pH सन्तुलित राख्न मद्दत गर्छ।

त्यसमाथि थप,  हामीले खाएर आमाशयसम्म आइपुगेको भोजनले पनि उक्त एसिडलाई पातलो तुल्याएर त्यसको असरलाई कम पारिसकेको हुन्छ ।

हाइड्रोक्लोरिक एसिडले हाम्रो आमाशयलाई क्षति तुल्याउन नसक्नुको अर्को कारण पनि छ । त्यो कारण हो- आमाशयको भित्ताका कोशिकाहरू निरन्तर रूपमा फेरिइरहनु ! कोशिका पुनःनिर्माणको क्षमता (Cell Regeneration) ले पनि आमाशयलाई क्षति हुनबाट बचाउने गर्छ । यसअनुसार,आमाशयको एपिथेलियल कोशिकाहरू (Epithelial Cells) प्रत्येक ३-५ दिनमा पुनः उत्पन्न हुन्छन्, जसले एसिड वा अन्य हानिकारक तत्वहरूको असरलाई कम गर्छ। यदि कुनै कोशिका एसिडको सम्पर्कमा आएर क्षतिग्रस्त भइहाल्यो भने ती कोशिकाहरू छिट्टै बदलिन्छन्। प्रत्येक मिनेटमा आमाशयको भित्ताबाट करिब १० लाख पुराना कोशिकाहरू हट्ने र त्यति नै संख्यामा त्यहाँ नयाँ कोशिकाहरू बन्ने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । कोशिकाहरूको यो तीव्र परिवर्तनको कारण पनि हाइड्रोक्लोरिक एसिडले हाम्रो आमाशयका कोशिकाहरूको बाहिरी पत्रलाई गलाउने अवसर नै पाउँदैन ।

त्यसैगरी, आमाशयको भित्ताका कोशिकाहरूबीच टाइट जंक्शनहरू (Tight Junctions) हुन्छन्, जसले हाइड्रोक्लोरिक एसिडलाई भित्र छिर्न दिँदैन। केही गरेर यी जंक्शनहरू कमजोर भएमा एसिडभित्र पस्न सक्छ र पेप्टिक अल्सर (Peptic Ulcer) जस्ता समस्या पैदा हुन सक्छ।

हाम्रो आमाशयमा रहेको पेप्सिन (Pepsin) भन्ने पाचन एन्जाइम HCl को उपस्थितिमा सक्रिय हुन्छ र हामीले खाएको प्रोटीनलाई पचाउन मद्दत गर्छ। तर, यदि पेप्सिन अनियन्त्रित रूपमा सक्रिय भयो भने आमाशयकै प्रोटीनहरूलाई पचाउन सक्छ, जसले आमाशय घाउ (Ulcer) निम्त्याउन सक्छ।

तर यो कुरा स्वास्थ्य र आहार विहारको कुरामा सचेत व्यक्तिको हदमा मात्र लागू हुन्छ । आहार विहारमा असचेत र ज्यादा चिन्तित र तनावग्रस्त हुने मान्छेहरूको हकमा कुरा लागू हुन सक्दैन । किनभने, हाम्रो पेटमा हाइड्रोक्लोरिक एसिड भोक लागेको बेलामा मात्र हैन, तनाव वा चिन्ताको बेलामा पनि अत्यन्त धेरै मात्रामा पैदाहुने गर्छ । यसर्थ, कोही मान्छे ज्यादा तनावग्रस्त र चिन्तित हुने खालको छ भने, स्वभाविक रूपमा उसको आमाशयमा जरूरतभन्दा ज्यादा हाइड्रोक्लोरिक एसिड पैदा हुन थाल्छ । यस अवस्थामा उक्त एसिडलाई पातलो बनाइदिनको लागि हाम्रो आमाशयमा खानेकुराहरू पनि नहुने हो भने, स्वाभाविक रूपमा त्यसले आमाशयका भित्ताहरूलाई क्षति पुयाउन थाल्छ । यही कारण नै, नियमित रूपमा ठीक समयमा खाना नखाने तथा बेसी चिन्ता र तनावमा बाँच्ने मानिसहरूलाई बढी ग्यास्ट्रिक तथा अल्सर जस्ता समस्याहरूले सताउने गर्छन् ।

माथि उल्लिखित लगायन अन्य कुनै पनि कारणले आमाशयमा म्यूकस उत्पादन कम भयो, बाइकार्बोनेटको असर कमजोर भयो, वा कोशिका पुनःनिर्माण प्रक्रियामा समस्या आयो भने, ग्यास्ट्रिक अल्सर (Gastric Ulcer): पेटको भित्तामा घाउ बन्ने।

ग्यास्ट्राइटिस भई पेटको भित्तामा जलन हुने, हेलिकोब्याक्टर पाइलोरी (Helicobacter pylori) नामक ब्याक्टेरियाले संक्रमण गरी म्यूकस तहलाई कमजोर बनाउन सक्छ । यस्तो अवस्थामा एसिडले हाम्रो आमाशयमा क्षति पुर्याउन सक्छ ।

आमाशयमा हुने हाइड्रोक्लोरिक एसिडले ब्लेडलाई पगाल्न सक्दैन !

इन्टरनेट तथा सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै कतिपयले आमाशयमा हुने हाइड्रोक्लोरिक एसिडले ब्लेडलाई समेत पगाल्न सक्छ भन्ने भ्रामक प्रचार गरिरहेको पनि पाइन्छ । तर  यो कुरा पूर्ण रूपमा सत्य होइन। आमाशयमा हुने हाइड्रोक्लोरिक एसिड अत्यधिक कडा भएमा धेरै धातुहरूसँग प्रतिक्रिया गर्न सक्छ, तर मानवीय आमाशयमा पाइने HCl को कडापना (लगभग 0.5% देखि 1% वा pH 1.5-3.5) मात्र हुने भएकाले स्टेनलेस स्टील वा रेजर ब्लेडजस्ता धातुहरूलाई पूर्ण रूपमा पगाल्न सक्दैन।

तर, लामो समयसम्म एसिडको सम्पर्कमा रहँदा त्यस्ता वस्तु बिस्तारै खिइन भने सक्छ। सन् 1997 मा Gastrointestinal Endoscopy पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार, केही घण्टा वा दिनहरूसम्म पेटमा रहँदा ब्लेडको बाहिरी सतहमा क्षरण (corrosion) देखिन सक्छ, तर यो पूर्ण रूपमा पग्लेर विलीन हुँदैन।

अत: प्रष्ट हुनुपर्ने कुरा के हो भने पेटको हाइड्रोक्लोरिक एसिडले ब्लेडलाई तुरुन्तै वा पूर्ण रूपमा पगाल्न सक्दैन।लामो समयसम्म सम्पर्कमा रहँदा सतहमा क्षरण हुन सक्छ, विशेष गरी यदि वातावरणमा अन्य पाचन एन्जाइमहरू पनि सक्रिय छन् भने।

त्यसैले कोहीले गल्तीले ब्लेड निलेमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ, आफैं पग्लेर जान्छ भनेर बस्नु हुँदैन । त्यसो गरिएको खण्डमा निलिएको ब्लेडले पाचन तन्त्रलाई घाइते तुल्याउन सक्छ।

 

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।