चौतारीको कम्युनिस्ट

ऊ भन्छ

हाम्रो सपना एउटै हो गन्तव्य एउटै हो!

तर...

तर ऊ हिँड्दैन!

बस्छ चौतारिमा

पेल्दै ज्ञान र गफ

चौतारीमा

ऊ भन्छ

हाम्रो सपना एउटै हो गन्तव्य एउटै हो!

 

उसले अनेक कुरा चलाउँछ!

हल्ला चलाउँछ, चिया गफ चलाउँछ

क्याम्पस प्रशासन चलाउँछ

घाउ चलाउँछ, घाइते चलाउँछ

ऊ मोबाइल निकै राम्रो चलाउँछ!

कस्तो मिठो मिठो पो लेख्छ

उसले चलाउन नजानेको त

सिर्फ कलम, हसिया अनि बन्दुक हो।

 

ऊ उपत्यका भित्र सजिलै पाइने

कम्युनिस्ट नामक जिनिस हो।

बिचरा आन्दोलनप्रति इमान्दार छु भन्छ।

तर...

ऊ हिँड्दैन!

बस्छ फेर्छु राज्यसत्ता भन्दै

बिज्ञानसंगत मोबाइलबाटै

पेल्दै ज्ञान र गफ

मोबाइलबाटै

ऊ भन्छ– हाम्रो सपना एउटै हो गन्तव्य एउटै हो!!