प्रेम गीत

एकदिनको कुरा हो, कविले एउटा सुन्दर गीत लेखे । त्यसका  थुप्रै प्रतिलिपि बनाए । भएभरका साथीसंगीलाई पठाए । भेटेका जति सबैलाई । महिलालाई पनि, पुरुषलाई पनि । डाँडावारीकालाई पनि, डाँडापारीकालाई पनि ।

एकाध दिन के बितेको 'थ्यो, एउटा हुलाकी कविकहाँ एउटी युवतीको चिट्ठी लिएर टुप्लुक्क आइपुग्यो । चिट्ठीमा उनले लेखेकी 'थिन्, 'तपाईंले मबारे लेखेको प्रेमगीतबाट म यति गदगद छु कि भनिसाध्ये छैन । अब ढिलो नगरी पहिले आएर मेरा बा आमालाई भेट'नोस् र मगनीको काम टुङ्ग्याउ'नोस् ।'

कविले उनलाई जवाफ पठाए, 'मेरी हितैषी साथी, मैले लेखेको त्यो गीत त कविको भक्कानो फुटेर बगेको प्रेमको गीत न हो, फगत प्रेमगीत । जो कोही लोग्नेमान्छेले कुनै पनि स्वास्नीमान्छेलाई लेखिने गीत ।'

ती युवतीले कविलाई तुरुन्त जवाफ पठाइन्, 'कहीं नभ'को ढोंगी ! पाखण्डी ! शब्दजाली !  सत्ते सत्ते, आजका दिनदेखि म मेरो लास नउठून्जेलसम्म तिमी जस्ता भएभरका कविहरुलाई थुक्न थाल्छु ।'

(कति मीठो भाषामा जिब्रान सम्झाउँदै छन्, 'कवि' तिम्रो 'गीत' शब्दहरुको संगालो मात्र होइन, त्यो तिम्रो निष्ठाको उद्बोधन पनि होस् । - अनुवादक)

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार