चिकित्साको पाठ

रुबेन ओमार सोसाले ब्युनस आयर्समा एक सघन उपचार कक्षमा अध्ययनको बेलामा म्याक्सिमिलियानाको पाठबारे सुने। उनले आफ्नो विद्यार्थी जीवनकालमा सिकेका कुरामध्ये यो नै सबैभन्दा महत्वपूर्ण थियो।

एक प्राध्यापकले एउटा विरामी डोना म्याक्सिमिलियानाको बारेमा सुनाए । उनको जीवन विश्रामबिनाको थकाइले भरिएको थियो । उनी केही दिनदेखि अस्पतालमा भर्ना भएकी थिइन्, र हरेक दिन आग्रह गर्थिन्, ‘‘डाक्टर, कृपया मेरो नाडी जाँचिदिनुहोस् न !"

औँलाको हल्का दबाब नाडीमा राखेर डाक्टरले भन्थे, "एकदम राम्रो। अठहत्तर। एकदम सही।"

"हो डाक्टर, धन्यवाद। अब, कृपया फेरि मेरो नाडी जाँचिदिनुहोस् !" अनि डाक्टरले  फेरि जाँच्थे र फेरि सम्झाउँथे– सबै ठीक छ, उत्तम छ।

हरेक दिन त्यही दृश्य दोहोरिन्थ्यो। जबजब उनी डोना म्याक्सिमिलियानाको ओछ्यान नजिक पुग्थे, त्यो स्वर, त्यो कमजोर आवाजले फेरि बोलाउँथ्यो, सुक्खा हाँगा जस्तै हात बढाउँथ्यो, पटक-पटक।

उनी अभिनय गर्दै गए, किनभने एक असल डाक्टरले आफ्ना बिरामीहरूसँग धैर्य देखाउनुपर्छ, तर उनले सोच्न पुगे, "यो बूढी त कति घाँडो खालकी रहिछ!" अनि सोच्थे, "यसको केही त गडबड छ !"

वर्षौं लाग्यो उनलाई यो बुझ्न कि डोना म्याक्सिमिलियाना वास्तवमा कसैको स्पर्श चाहन्थिन् !  

भावानुवाद: केदार सिटौला