नेपाल किन गरिब रहिरह्यो ?

नयाँ क्रान्तिको सोच किन ?
यो तिक्तता किन लेखेको होला ? करिब चालिस वर्षको समय आफ्नो समाज र देश नियालेर । हाम्रो देश नजिकबाट देखेर । यहाँका मानिसहरुको सोच र नेतृत्व क्षमता हेरेर । समग्र सकारात्मकताको वातावरण नियालेर । समुहमा काम गर्ने संस्कार नदेखेर । अरुको दुःखमा सुख खोज्ने संस्कारको विकास देखेर । आफ्नो मात्र दुनो सोझ्याउने सस्कृतिको विकास भएको देखेर । गब्बर सिंह संस्कार र छोटे अनि मोटे राजाहरुको बिगबिगी भोगेर । समय र ब्यवस्था बदलियो तर मानिसको सोच र संस्कार जस्ताको तस्तै भयो । कछुवा गतिमा गयो । त्यसैले । प्राय सबै नेतृत्व पङ्तिहरु कसैका गोटी भएको देखेर । हिमाल, दुई साँढेहरु बिचको, ढाल भएको देखेर । शक्तिशाली छिमेकी ढुंगाहरुको बिचमा च्यापिएको, नेपाल तरुल देखेर । त्यो बडेमानको तरुल न निकाल्न सकिन्छ, न कसैले खन्न दिन्छन् । अनि त्यो सुन्दर अनि मिठो तरुल कुहिएर त्यसै सकिएला कि भनेर ।
जुटाएर हैन फुटाएर रमिता हेर्नेको भिड देखेर । धर्म र जातको आत्मघाती कुस्ती खेल खेलाएर रमाउनेहरुको घुइँचो देखेर । अनि हामी स्वाँठहरु पाखुरा सुर्केर एक आपसमा कुस्ती खेल्न रिङ्ग भित्र छिरेको देखेर । एकाघरका सदस्यहरु काटाकाट गरेर रमाएको देखेर । लुकेर, भुकेर, बोकेर, ठोकेर नेतृत्वमा पुग्ने र मनोमानी गर्ने नवसामन्ती संस्कारको विकास भएको देखेर । वर्षौंदिख असारे विकास देखेर र त्यसैको निरन्तरता देखेर । नेपाली आमाहरु अरब र अमेरिकाको विकासका लागि चाहिने सबै खाले जनशक्ति उत्पादन गर्ने मेसिन मात्र भएको देखेर । ब्यक्तिगत स्वार्थ र भ्राष्टाचारको जालोले समाज र देश जतै जेलिएको देखेर । असल, सोझा र इमान्दार मानिस सधै पछि पर्ने छेक देखेर । उनीहरुको रस निचोरिएको र अस्तित्व संकटमा रहेको देखेर ।
प्राय सबै नेतृत्व पङ्तिहरु कसैका गोटी भएको देखेर । हिमाल, दुई साँढेहरु बिचको, ढाल भएको देखेर । शक्तिशाली छिमेकी ढुंगाहरुको बिचमा च्यापिएको, नेपाल तरुल देखेर ।
बुढा गोरुहरुको सधैँ राज देखेर । सित्तैमा आएको स्वर्गलाई झन् राम्रो स्वर्ग बनाउनुको सट्टा भत्काईएको स्वर्ग सधैँ हेर्नुपरेर । राम्रा ब्रेन जतै बगेको देखेर । कुहिएका र काम नलाग्ने जति कतै नडगेको देखेर । बल, छल र बन्दुकको मल, जतै छरिएको भएर । ज्ञान र कामको हलो अति कम चलेको देखेर । ज्ञान र ध्यानको बल सुस्त, तर धन र छलको फसल झाँङ्गिएको देखेर ।
त्यसैले, गब्बरशिंहहरुको गुदिमा सुद्धि भर्नको लागि । सद्विचारको नयाँ खेती थाल्न । नयाँ सोच र सद्भावको कहिल्यै ननिभ्ने दिर्घकालीन दियो बाल्न । हावामा प्रेम र करुणाको कणहरु फैलाउन । केही नहुनु भन्दा, केही गतिलो गर्न शुरुवात गर्न । एक लेखकले पढेर, देखेर, लेखेर छर्ने र सोचको गुदीमा नयाँ सोच भर्ने कोसिस हो यो । आफ्नो रुची र खुवीको सदुपयोग गर्दै आफ्नो र अरुको सेवामा समर्पित एक मानिसको राष्ट्रप्रेमको र योगदानको एक कण हो ।
नेपाल किन गरिब रहिरह्यो ?
समस्याहरुको चुरो ।
– ज्ञान र कामको मात्रा कम भयो अनि त्यो पनि सामुहिक रुपमा र सकारात्मक सोचका साथ अघि बढ्न सकेन ।
– ब्यबहारिक अनि सिपमुलक शिक्षाको चरम अभाव, त्यसलाइ एक संस्कारको रुपमा लैजान नसक्नु, काम गर्ने भन्दा नि बढि, अलि अलि जानेको बोक्रे ज्ञानको गुड्डी हाँकेर बस्ने र काम भने सिन्को नभाँच्ने शैली र संस्कारको चाहिँ बढि विकास भएर जानु ।
– लामो समयको धैर्यता, श्रम र लगानी लगाएर पढ्नु भन्दा, छिटो छिटो भिसा लगाएर खाडी वा कुनै मुलुकमा दश बर्ष बितायो भने त्यसको उपलब्धि बढि देखिनु र उसको इज्जत समाजमा पनि बढि हुनु । जसरी पनि धन बढि हुनु नै जीवन हो भन्ने भावना र संस्कार बढेर जानु । ज्ञान र धनको सन्तुलन मिल्न नसक्नु अनि बाँच्नको लागी अति आवश्यक तत्व धनमा बढि जोड जानु । त्यै धनको मोहले देश छोडाउनु, परिवार तोडाउनु अनि तस्करी, भ्राष्टाचार तिर थाहै नपाइ घिसारेर लैजानु । अनि करोड र अरब बोकेर तस्करहरुले जरा गाडेपछि, शक्ति उनीहरुमा नै केन्द्रित हुनु । अरुले आँखा डुलाउन पनि नसक्नु । धनले पेल्ने पद्धतिको पुरै विकास भैसक्नु । ज्ञान र सीपको महत्व कम हुनु अनि त्यसमा लगाएको पुरै समय र शक्ति त्यसै खेर गएको भान हुनु वा पारिनु ।
– ज्ञानका निकै ठूला भन्डार भएका भनाउँदाहरु पनि कसैको चम्चा बनेर गद्दार निस्कनु र कुनै गतिलो अनि ठोस काम गर्न नसक्नुले पनि तस्करहरुलाइ प्रोत्साहन हुनु । अब झन् शक्ति र पैसा दुवै तस्करहरुको हातमा परेपछि, प्रोफेसनल मानिसहरु मुख्य र कार्यकारी पदमा पुग्न लगभग असम्भब जस्तै बन्नु । उनीहरु न धन खर्च गर्न सक्छन् न आवश्यक समय दिन । त्यसैले, अब दिर्घकालीन रुपमा देश, शासन र शक्ति तस्करहरुको हातमा जाँदै गरेको अवस्था छ । दुवै छिमेकी लगायत धेरै देशलाइ नयाँ नयाँ चम्चाहरु प्रयोग गर्दै आफ्नो स्वार्थ पुरा गर्न सजिलो हुँदै जानु । जो सजिलै पैसामा बिक्छ, उसलाइ आफ्नो स्वार्थ अनुसार चलाउन जो कोहीलाइ पनि सजिलो हुन्छ । भैरहेको पनि त्यही छ । तर यो दुस्चक्र अब टुक्र्याउन हतार गर्नुपर्ने भएको छ । यसले साधारण मानिसको जीवन भड्खालोमा हाल्दैछ । कहिल्यै बाहिर निस्कन नसक्ने गरी झन् भन्दा झन् तल झार्दैछ ।
जो सजिलै पैसामा बिक्छ, उसलाई आफ्नो स्वार्थ अनुसार चलाउन जो कोहीलाइ पनि सजिलो हुन्छ । भैरहेको पनि त्यही छ ।
– नेपालमा लामो समयदेखि थोरै अल्प बिद्या भयंकरी तर सर्वज्ञाताको छनक दिने केही औलामा गन्न मिल्ने मानिसहरुले शासन गरिरहे । उनीहरुले सबै नीति नियम यसरी बनाए कि आफ्नो लाभ नै लाभ तर त्यो लाभको लागी ठूलो जनमानसबाट अपत्यारिलो बलिदान भयो । क्रान्तिको नाम दिइयो । परिवर्तन भएको ढोल पिटाइयो तर बास्तबमा गति अगाडि हैन पछाडि गयो । सिमित मानिसहरुले छलाङ्ग मारे तर अरु सबै बाँच्नेहरुको लागि त्यो परिवर्तन मन्द बिष भयो । मर्ने त मरे सकिइ गयो तर बाँच्नेको जीवनमा पनि कमा लगाए । मद्यौरो बनाएर छोडे । न मर्नु, न बाँच्नुको दोसाँधमा ठेले ।
– ठूलो पुँजी अनुत्पादक घर जग्गामा गयो ।अन्य उत्पादनमुलक ठाउँमा लगानी गरिएन वा प्रोत्साहन भएन ।
– पाखुराको मानबिय पुँजी अरब मलेशिया पलायन भयो ।
– अलि बढि साक्षर जनशक्ति अमेरिका, युरोप र अष्ट्रेलिया लाग्यो ।
– आएको विप्रेषण पनि सही र उत्पादनशिल ठाउँमा प्रयोग भएन । सीप र ज्ञानको अभावले ।
– आत्मनिर्भरता हराउँदै गयो, आयातले आकाश छोयो ।
– आफ्नो धर्म, मुल्य र मान्यताहरुमा ¥हास आउँदै गयो।
– इन्टरनेटको सुबिधा र त्यसको सदुपयोग हुन नसक्नु तर अझ त्यसले नयाँ पुस्तालाइ सुखभोगी र रमाइलोमा नशा लगाउनु र कामको संस्कार हराउँदै जानु ।
– अल्पविद्या वा कु–सोचले भरिएका विद्धानहरुको राजनीतिमा हावी हुनु ।
– भौगोलिक र बैदेशिक नीतिमा कमजोर हुनु अनि सधै र इतिहाँसदेखि कसैमा आश्रित हुने परम्पराको विकास हुनु वा गोटी वा पपेट बन्ने पद्धतीको विकास भएर जानु ।
– बाह्य हस्तक्षेप र जातिय, धार्मिक अनि सास्कृतीक बिभाजनकालागी चारै दिशाबाट आक्रमण हुनु ।
– ब्यक्तिगत स्वार्थ, शंका, नकारात्मकता बढ्नु तर सामुहिक कार्यको बिजारोपण हुन नसक्नु र हावामा नै बढि नकारात्मकताको प्रदुषण बढ्नु ।
– राजनैतिक अस्थिरता र दलहरु प्राय कसै न कसैको गोटी हुने पद्धती लामो समय सम्म हावी भइरहनु ।
– नीतिगतदेखि, दुले भ्राष्टाचार भइरहनु र त्यसमा राजनैतिक संरक्षण रहिरहनु ।
– समग्र देशको शिक्षा नीति, पद्धती कमजोर रहनु र राज्यको प्राथमिकतामा नपर्नु ।
– मुन्द्रे, जुल्फे र डनहरुको हालीमुहाली हुनु र सो समुहमा राजनैतिक नेताहरु पनि फेददेखि टुप्पैसम्म लाग्नु ।
– पढेका र बिद्धान बर्गहरु स–साना जागीर र कामहरुमा अड्कनु र राजनीतिमा पहुँच राख्न नसक्नु । उनीहरुमा कुनै बिन्दुमा नैराश्यता आउनु र उत्तम समाधान बिदेश पलायन हुनमा देख्नु ।
– औपचारिक शिक्षाको समय अति लामो हुनु र सीपमुलक र ब्यबसायीक शिक्षाको विकासमा कुनै थप जोड नआउनु ।
– ब्यापार पुरै नाफाखोरी मात्र हुनु र सामाजिक दायित्वको भावको टुसो पलाउन नसक्नु । युनुस र ग्रामिण मोडलको विकास आउन नसक्नु वा कसैको गुदी त्यसमा नपुग्नु ।
– पढेका र विद्वान मानिसहरु पनि मुन्द्रे र भ्रष्ट नेताहरुको ब्यक्तिगत संबृद्धि देखेर उनीहरुको पुच्छर भएर गलत सोचतिर नै बग्नु ।
– न्यायालय, कर्मचारी र सुरक्षा संयन्त्र पनि नेताहरुको पछि लाग्नु अनि कमाउ धन्दाको गुटमा सामेल हुनु ।
– प्राय सबै उच्चस्तरका नेताहरु कुनै न कुनै छिमेकी देशको शक्ति, स्वार्थ र लोभको फन्दामा फस्नु र सोही अनुसार कार्य गर्नु र गरिरहनु ।
– समग्र गलत संस्कारको विकास भएपछि नव–तस्कर र नव–माफियाहरुको आगमन हुनु र तिनलाइ जहिल्यै पनि उच्च तप्काका राजनैतिक ब्यक्तिहरुको संरक्षण भइरहनु ।
– पढेर के हुन्छ ? दलाल, नेतागिरी वा बिदेश नै सबै भन्दा छिटो र छोटो बिकल्प हो भन्ने भान हुनु र स्वाध्यायनको संस्कार नआउनु, स्व–अन्वेषणको वातावरण नहुनु । समग्रमा ज्ञान र विद्धानहरु पछाडि परेको देखिनु ।उनीहरु मात्र हड्डी घोटेर काम गर्ने अनि कर तिर्ने र तिनै कुनै काम नगरी राजर्शी जीवन बाँच्ने तस्करहरुको स्याहारे र सुसारे झैँ बनिरहनु ।
– सोच र संस्कारबाट सकारात्मकता र एकता, समाजमा र विकासमा पोखिनुपर्नेमा नकारात्मकता जतै छताछुल्ल हुन थाल्नु ।
– नेपालले शक्तिशाली छिमेकी राष्ट्रहरु चीन र भारतसँग विकासका कार्यहरुमा सही साझेदारी गर्न नसक्नु र उनीहरुसँग ज्ञान र प्रबिधिमा काँधमा काँध मिलाएर अघि बढ्न नसक्नु । उनीहरुको तुलनामा निकै पछि रहनु र हेपिइरहनु ।
– सही र दिर्घकालिन विकास भनेको मानविय पुँजीको विकास हो भन्ने गाँठी कुरो नबुझ्नु । अनि हात्तीजत्रो प्रशासनिक खर्चमा दाम जति सकेर, कमिला जत्रो विकास खर्च पनि केही कमिसनका लागी भौतिक संरचनाहरुमा फालिनु र त्यो पनि अन्तिम असार महिनामा । विकासका कुनै पनि काम गर्ने पद्धतीमा नै निकै ठूलो भ्वाङ्ग पर्नु र त्यै रहिरहनु ।
अब गर्ने के त ?
– नेपाल यस्तो देश हो जहाँ संसारका लगभग सबै प्रकारका हावापानी पाइन्छ अनि माटोको प्रकारमा पाइने बिबिधता पनि संसारमै अनौठो नै छ । त्यसैले नेपालको मुख्य रोजाइको केन्द्र कृषी नै हो । त्यसको लागी पहिलो चीज शिक्षा र सीप हो । अनि सरकारले बनाइदिने पुर्वाधार, मुख्यतया, राम्रा र चिल्ला सडक । उर्जामा बिद्युतले नेपाललाई आत्मनिर्भर लगभग बनाउन लागिसक्यो । अर्को हो पर्यटन ।
– सरकारबाट नीति निर्माण गर्दा पहिलो शिक्षा र तालिममा लगानी । दोस्रो, कृषीको सामुहीक र ब्यबसायीक पद्धतीको विकास र त्यै कृषीजन्य बस्तुमा आधारित साना तथा मझौला उद्योग स्थापना । कृषी र पर्यटन जोड्ने । संसारभरिका मानिसलाइ चीसो ठाउँमा बसाएर, हिमाल र पहाडहरुका सुन्दर दृष्यहरु नियाल्दै अर्गानिक खानेकुरा खुवाएर, केही दिन बिताउने रिसोर्ट कन्ट्रीको रुपमा नेपाललाइ बनाउन किन पो सकिँदैन र ?
यो देश संसारका मानिसहरुको बिदा मनाउने, प्रकृति हेर्ने अनि हिमाल हेरेर रमाउने, बसेर चिसो हावा खाँदै बिनाबिषादीको खानेकुरा खाएर केही दिन ध्यान गरी मन शान्त पार्ने ठाउँको रुपमा चिन्न र चिनाउन सकिन्छ ।
– यो देश यी पाँच शब्दहरुले मात्र पनि बन्छ । उर्जा, सडक, शिक्षा, कृषी, पर्यटन । उर्जामा आत्मनिर्भर भएर यातायातदेखि घरायसी सम्मका सामानहरु बिद्युतिय चलाउन सके अरब खरबको आयात प्रतिस्थापन हुन्छ । अनि सडकको सञ्जाल गतिलो र चुस्त बनाउन सके कुनाकानिबाट निस्कने कृषीजन्य बस्तुले सजिलै बजार भेट्छ । खाद्य सामग्रीमा आत्मनिर्भर बने, झन् अर्को अरब बच्छ । डलर सञ्चिती बढेर जान्छ । अर्थतन्त्र भित्रैबाट मजबुत बन्दै जान्छ । कृषीमा आधारित उद्योग बनाएर सहकारी वा इजरायलको किबुज जस्ता सामुहिक संस्था र लगानीमा सुनिश्चितता बढाउने हो भने, साना उद्योगबाट निस्केको उत्पादनलाइ बजार पनि देश भित्र नै हुन्छ र बजारको र उपभोग्ताको आकारले पुग्छ । अनि सरकारले कुनै ब्यक्ति वा संस्थालाइ थप लगानीका लागी हरेक नीति सहज र सरल बनाएर उद्यमशिलताको वातावरण बनाइदिने हो भने लगभग सबै युवा पुस्ताहरु त्यता आकर्षित हुन्छन् ।
– यो देश संसारका मानिसहरुको बिदा मनाउने, प्रकृती हेर्ने अनि हिमाल हेरेर रमाउने, बसेर चिसो हावा खाँदै बिना बिषादीको खानेकुरा खाएर केही दिन ध्यान गरी मन शान्त पार्ने ठाउँको रुपमा चिन्न र चिनाउन सकिन्छ । शिक्षाको र सीपको लगानी भनेको यी सबै चीजहरुको लागी मूल जग बसाउने काम हो । नत्र हामीले कृषीदेखि सडक बनाउने अनि हाइड्रो अनि होटल चलाउने मानिस पनि आयात गरेर ल्याउनु पर्ने हुन सक्छ । हरेक क्षेत्रमा योग्य र सीपवान अनि गुणवान मानिसहरु नभए, न त ब्यक्ति सफल बन्छ न त कुनै संस्था नै । अनि कसरी समाज र देशको रुप परिवर्तन हुन सक्ला ? त्यसैले शिक्षा ठाडो उभिनको लागी मेरुदण्ड नै हो । त्यो सहि चेतना र शिक्षाको लागी, एक पाइला यो लेख ।
– शिक्षा सबै विकासहरुको जग हो । त्यसकै माथी अनेक संरचनाहरु बनाइन्छन् र सदुपयोग गरिन्छन् । यदि जग बलियो रहेन भने माथीका संरचनाको हाल कस्तो होला ?सहजै अनुमान गर्न सकिन्छ । राम्रो शिक्षा एक उन्नत जातको बीऊ हो । बीऊमा फल देखिन्न तर त्यसभित्र एक बडेमानको रुख र हजारौं फलहरु लुकेर बसेका हुन्छन् । शिक्षा र काम । ज्ञान र काम, काम र ज्ञान, यो अभियानको मूल नारा नै हो । सही ज्ञान र सही काम गर्ने क्रममा हरेक मानिसले एक सही संस्कार र आफ्नो मुल्य मान्यताको विकास गरिसकेको हुन्छ । सही सिप र गुणहरु आफुमा भरिसकेको हुन्छ । आफुमा एक तह सम्म भरिसकेर, बाहिर छर्न पनि थालिसकेको हुन्छ । आफुभित्र भर्नु, आफ्नो सेवा हो, बाहिर छर्नु, अरुको सेवा हो । जीवन यस्तै सेवा नै सेवा त हो । सबै सेवा, धर्म हो । सबै धर्म, धन पनि हो । सबै तवरबाट धनी हुनु नै विकास हो । सही विकास हो ।
– सही शिक्षा, सही सीप र सही गुणहरुको विकास गर्न सके, स्थानिय स्तरमै अनेक रोजगारी सिर्जना गर्न सकिन्छ । त्यहिँका उपलब्ध साधन र स्रोतहरुको सदुपयोग गर्ने आँखा खुल्दछन् । लघुउद्यमशिलताको विकास हुँदै जान्छ । लगानी वा पैसा नहुनु मात्र सबै कुराको बाधक होइन । पैसा भएर वा लगानी गर्ने क्षमता भएर पनि सही राजनैतिक, सामाजिक र संस्थागत संस्कारको अभावमा कुनै पनि उद्यमशिलता फस्टाउन सक्दैन र भएको बीऊ–पुँजी पनि नासिन सक्छ । घाटामा जान सक्छ । हाम्रो देशमा भएको यस्तै छ । अनि बिरक्तिएर बिदेश पलायन हुने जन ठूलो छ ।
– त्यसैले त छिटै एक नयाँ क्रान्तिको नयाँ बिऊ रोप्ने दिन आउँदैछ । सोचम् । राम्रो र सक्षम रोजम् ।
– जय देश, जय नेपाल, जय मातृभूमि ।।।
– जय राजनीति ।
(निरौला, लेखक तथा उत्प्रेरक वक्ता हुन् । )

प्रचण्डले रोल्पालाई ‘स्वईटो’ बनाइ दिन्छु भनेपछि...

युएसएड ध्वस्त: ट्रम्प र मस्कको अनुदारवादी क्रान्ति जारी

विचारहीन राजनीतिको गन्तव्य सत्ता मात्रै बन्न पुग्यो

यादव सरको प्रेरणा र तेस्रो जनआन्दोलन

अभिव्यक्तिबारे

लुटपाटको अधिकार

फिनिक्सको पुनर्जन्म र सुन्दर भविष्यको आकांक्षा

प्रतिक्रिया