होसियार र मादक बुद्धिको संगम: प्राचीन फारसको अनौठो परम्परा
रक्सी खाएर वा मात्तिएर कुनै पनि कुराको निर्णय गर्ने कुरा तपाईंलाई कस्तो लाग्छ ? शायद सुन्दैमा पनि हाँसो उठ्छ होला । कहीँ होसहवास गुमाएको बेला, जड्याहा बुद्धि राखेर गरिएको निर्णय पनि सही हुन्छ त ? तर पख्नोस्, हाँसोमा यो कुरालाई उडाइनहाल्नुहोस् है । यसै संसारको कुनै भूगोलमा गम्भीर निर्णयहरुको सत्यापन गर्नका लागि मादक पदार्थ सेवन गरेरै पनि निर्णयहरु लिने अनौठो चलन थियो ।
हो, महत्त्वपूर्ण विषयहरूमा लिइएको निर्णयको सत्यता जाँच्नका लागि प्राचीन फारसमा दुई पटक छलफल गरिन्थ्यो—एक पटक सचेत अवस्थामा र अर्को पटक मादक पदार्थ सेवन गरेर ! उनीहरूले विश्वास गर्थे कि यदि कुनै निर्णय दुवै अवस्थामा सही देखियो भने, त्यो निर्णय वास्तवमै सही र वैध हुन्छ।
प्राचीन फारसका मानिसहरूले, विशेषगरी अखमेनिड साम्राज्य (५५०–३३० ईसापूर्व) को समयमा, महत्त्वपूर्ण विषयवस्तुहरू पूर्ण होसोहवासको अवस्थामा र मादक पदार्थ सेवन गरेर छलफल गर्ने प्रचलन थियो।
यो प्रचलनबारे प्राचीन ग्रीक इतिहासकार हेरोडोटस ले आफ्नो पुस्तक Histories मा उल्लेख गरेका छन्। हेरोडोटसका अनुसार, फारसीहरूले विश्वास गर्थे कि कुनै निर्णय होसियार र मादक दुवै अवस्थाहरूमा सही देखिएमा, त्यो निर्णयलाई वैध र विश्वासयोग्य मान्न सकिन्छ।
यस प्रचलनको पछाडि मादक पदार्थ सेवन गर्दा र होसियार हुँदा मानिसको सोचाइ र भावना फरक-फरक रूपमा प्रकट हुन्छ भन्ने विश्वासले काम गर्ने गर्थ्यो ।
त्यसबेलाको सामाजिक विश्वास अनुसार मादक पदार्थले मानिसको मनलाई सामाजिक बन्धन, पूर्वाग्रह र दबाबबाट मुक्त पार्छ। यसले कुनै विषयवस्तुबारे निडर तथा आग्रह–पूर्वाग्रहरहित भएर व्यक्तिले कुनै पनि विषयमा आफ्नो वास्तविक भावना वा स्वाभाविक प्रतिक्रिया प्रकट गर्न सक्छ।
सोही विषयवस्तुलाई पुनः होसियार अवस्थामा पुनः मूल्यांकन गरिँदा मानिसले कुनै मादक पदार्थको प्रभावबिना नै, सोचेर विचार गरेर आफ्नो निर्णयहरु लिन सक्थ्यो । त्यसले कुनै पनि विषयमा लिइएको निर्णयलाई तार्किक र व्यावहारिक बनाउन सहयोग पुर्याउँथ्यो।
यी दुई दृष्टिकोणलाई संयोजन गरेर, फारसीहरूले सन्तुलित र राम्रो सोचाइमा आधारित निर्णय लिने प्रयास गर्थे।
ऐतिहासिक र सांस्कृतिक सन्दर्भ
यो प्रचलन फारसी समाजमा दाखमद्य (वाइन) को सांस्कृतिक महत्त्वलाई पनि झल्काउँछ। दाखमद्य फारसीहरुको दैनिक जीवनको मात्र हिस्सा थिएन, यसले धार्मिक र औपचारिक समारोहहरूमा पनि महत्त्वपूर्ण भूमिका खेल्थ्यो। अखमेनिडहरू आफ्नो भव्य भोज र समारोहका लागि प्रसिद्ध थिए, जहाँ दाखमद्य प्रशस्त मात्रामा प्रयोग गरिन्थ्यो।
त्यसो त हेरोडोटसले यस बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गरे पनि, उनको विवरणलाई केही सावधानीका साथ लिनु पर्ने मत केही इतिहासकारहरुको छ। उनीका अनुसार, हेरोडोटस फारसी संस्कृतिका वाहक नभई फरक संस्कृतिबाट आएका व्यक्ति थिए । त्यस आधारमा उनका लेखनहरूमा कहिलेकाहीँ अतिरञ्जना वा ग्रीक दृष्टिकोणबाट भएको गलत व्याख्या मिसिएको पनि हुन सक्छ। तथापि, अन्य स्रोत र पुरातात्त्विक प्रमाणले फारसमा दाखमद्यको महत्त्व र यसको सांस्कृतिक भूमिकालाई भने पुष्टि गर्छ ।
प्राचीन फारसको उक्त प्रचलन आजको दृष्टिकोणले असामान्य देखिन सक्छ तर त्यसले प्राचीन संस्कृतिहरूको विविध निर्णय-प्रक्रियाको चित्र हामीलाई देखाउँछ । त्यसले ऐतिहासिक रूपमा समाजहरूले भावनात्मक र तार्किक सोचाइलाई सन्तुलनमा राख्न के कस्ता तरिकाहरु अपनाउने गरेका थिए भन्ने कुराको पनि जानकारी दिन्छ ।
प्रतिक्रिया