पृथ्वीको जनसंख्या वृद्धि दर कस्तो छ ?

पृथ्वीको जनसंख्या वृद्धि दरको अध्ययन गर्दा, अघिल्लो १०० वर्षमा यसमा व्यापक उथलपुथल आएका छन् । खासगरी २०औँ शताब्दीको प्रारम्भदेखि २१औँ शताब्दीको प्रारम्भसम्म, पृथ्वीको जनसंख्यामा उल्लेखनीय वृद्धि भएका छन् ।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार १९२० तिर पृथ्वीको जनसंख्या लगभग १.८ अरब (१,८०० मिलियन) थियो । त्यसको करिब ३० वर्षभित्रमै त्यसमा अत्यधिक बृद्धि भएर सन् १९५० मा आइपुग्दा पृथ्वीको जनसंख्या लगभग २.५ अरब (२,५०० मिलियन) पुगेको थियो ।

अझ अचाक्ली ढंगले पृथ्वीको जनसंख्या बृद्धि त्यसको ५० वर्षभित्र भएको देखिन्छ । सन् २००० मा आइपुग्दा पृथ्वीको जनसंख्या लगभग ६.१ अरब (६,१०० मिलियन) भएको थियो भने २०२३ मा पृथ्वीको जनसंख्यामा झनै बढोत्तरी भएर लगभग ८.० अरब (८,००० मिलियन) पुगिसकेको छ ।

वृद्धि दरको विश्लेषण

२०औँ शताब्दीको सुरुमा अर्थात् सन् १९२० तिर जनसंख्या वृद्धिको दर कम रहेको थियो ।  औसत वार्षिक वृद्धि दर लगभग ०.७% थियो। २०औँ शताब्दीको मध्यतिर आइपुग्दा वृद्धिको दर अत्यन्तै बढेको थियो। १९५० देखि १९७० को दशकमा, वार्षिक वृद्धि दर लगभग २.२% पुग्यो, जसले जनसंख्या बृद्धिमा तीव्र वृद्धि ल्यायो।

२१औँ शताब्दीको शुरुतिर: वर्तमानमा, वार्षिक वृद्धि दर घटेर लगभग १.०% भएको छ, र आगामी दशकहरूमा यो दर अझै घट्न सक्ने सम्भावना छ।

यसरी तथ्याङ्कहरुलाई हेर्दा बितेका १०० वर्षको अवधिमा पृथ्वीको जनसंख्या बृद्धि दरमा महत्वपूर्ण परिवर्तन देखिएको छ । यसरी जनसंख्याको बृद्धिदरमा समाजिक, आर्थिक, र स्वास्थ्य सम्बन्धी कारकहरूमा निर्भर गर्दछ।

पृथ्वीको धान्न सक्ने क्षमताको तुलनामा जनसंख्या

वितेका सय वर्षमा पृथ्वीको जनसंख्या जसरी अचाक्ली बृद्धि भएको छ, त्यस सन्दर्भमा बेलाबखतमा पृथ्वीको धान्न सक्ने क्षमताबारे पनि चर्चापरिचर्चाहरु चल्ने गरेका छन् । वास्तवमा कति जनसंख्यालाई पृथ्वीले धान्न र थेग्न सक्छ भन्ने कुरालाई  आर्थिक, पर्यावरणीय, र सामाजिक दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ।

पृथ्वीमा खाद्य, पानी, ऊर्जा, र भूमि लगायत प्राकृतिक स्रोतहरूको सीमितता छ। पृथ्वीमा हुने जनसंख्याले तिनै सीमित स्रोतहरूको अधिकतम उपयोग गर्नुपर्ने हुन्छ । यसले गर्दा संसाधनहरूको अत्यधिक दोहन गर्नुपर्ने बाध्यताले वातावरणीय समस्याहरू त निम्त्याउँछ नै, त्यसले मानवबीचमा भयानक द्वन्द्व र प्रतिस्पर्धा समेत सिर्जना गराइदिन्छ ।  

यद्यपि, प्रविधि र कृषि क्षेत्रको प्रगति, जस्तै खाद्य उत्पादन प्रविधिहरू, जलवायु नियन्त्रण, र उन्नत उर्वरकहरूको प्रयोगले जनसंख्या वृद्धिको आवश्यकतालाई प्रबन्ध गर्न मद्दत पुर्याउँछ। यसले जनसंख्या वृद्धि र स्रोतहरूको क्षमताबीचको सन्तुलन कायम राख्नमा योगदान पुर्‍याउन सहयोग गर्न सक्छ ।

सामाजिक र आर्थिक दृष्टिकोणले हेर्दा  उच्च जनसंख्या वृद्धि दरसँगै आर्थिक विकासले जनसंख्या व्यवस्थापनलाई चुनौती दिने गर्दछ। विकासशील देशहरूमा जनसंख्या वृद्धि दर उच्च छ, जसले तीव्र शहरीकरण र संसाधनहरू माथिको चाप सिर्जना गर्दछ ।

उच्च जनसंख्या वृद्धिले प्राकृतिक आवासको क्षति, जलवायु परिवर्तन, र जैव विविधता संकट निम्त्याउँछ। यसले पर्यावरणीय सन्तुलनलाई प्रभावित गर्छ र दीर्घकालीन स्थिरता चुनौतीमा पार्न सक्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।