अल्जाइमर मस्तिष्क रोग हैन,  स्वप्रतिरक्षा रोग हुन सक्ने  !

अल्जाइमर भन्नाले त्यस्तो रोग हो, जसमा मानिसको नियमित स्मरणशक्ति र सोच्ने क्षमतामा गम्भीर ह्रास आउँछ । त्यस समस्याले गर्दा उसको दैनिक  व्यवहारमा समेत गम्भीर असर पार्छ। सामान्यत: यो रोगलाई अहिलेसम्म मस्तिष्कसँग सम्बन्धित समस्या वा रोग मानिँदै आइएको छ । तर पछिल्ला अध्ययनले यो रोग मस्तिष्क रोग नभएको हुन सक्ने देखाएको छ । करिब ३० वर्षको अनुसन्धानका आधारमा प्रतिपादित नयाँ सिद्धान्तअनुसार अल्जाइमर मस्तिष्क रोग नभइ मिनसको स्वप्रतिरक्षा (autoimmune)  प्रणाली का कारण हुने रोग हुन सक्छ ।

वैज्ञानिकहरूले अल्जाइमरलाई मस्तिष्क रोग नभएको हुनसक्ने बताएका छन्: नयाँ सिद्धान्तका अनुसार अल्जाइमर एउटा स्व-प्रतिरक्षा रोग हुन सक्छ।

अल्जाइमर रोगको मुख्य कारणमा मस्तिष्कमा हुने बिटा-एमाइलोइड प्लाक्सको जमावटले हुने गर्छ ।  सामान्यता असामान्य प्रोटिन मानिने बिटा-एमाइलोइड वास्तवमा मस्तिष्कको प्रतिरक्षा प्रणालीको एक भाग हो भन्ने कुरा उक्त नयाँ सिद्धान्तले देखाएको छ ।
सामान्य अवस्थामा बिटा एमाइलोइड प्लाक्सको भूमिका मस्तिष्कलाई चोटपटक र संक्रमणबाट जोगाउनु हो। तर, कहिलेकाहीँ हाम्रो त्यस बिटा एमाइलोइड प्लाक्सले ब्याक्टेरियाका झिल्ली (membranes) मा रहेका बोसोका अणु र मस्तिष्कका कोशिकाका झिल्लीबीच फरक छुट्याउन सक्दैन, त्यसले दुवैलाई एउटै देख्छ । फलत: ब्याक्टेरियाहरुमाथि मात्रै आक्रमण गर्नुपर्ने बिटा-एमाइलोइडले गल्तीले आफूले रक्षा गर्नुपर्ने मस्तिष्कका कोशिकामाथि नै आक्रमण गर्दछ । यसले गर्दा मस्तिष्क कार्यक्षमतामा क्रमिक र प्रगतिशील रूपमा कमी आउँछ, जसको अन्त्यमा डिमेन्सिया (मनोभ्रंश) हुन्छ।

यो स्व-प्रतिरक्षामा पैदा हुने गडबडी वा गल्तीले अल्जाइमर गराउने गर्छ । यस आधारमा अल्जाइमर विशुद्ध मस्तिष्क रोग नभई प्रतिरक्षा प्रणालीको विकारको रूपमा हुने रोग हो भन्ने देखाउँछ।

अल्जाइमर रोगको कारक पक्षमा स्व-प्रतिरक्षा प्रणालीको गडबडी हो भन्ने कुराले यसको उपचारमा नयाँ उपायहरुको बाटो खोलिदिएको छ । हालसम्म अल्जाइमरको उपचारको लागि केवल बिटा-एमाइलोइडलाई लक्षित गरिँदै आइएको छ । तर पछिल्लो पटक पत्ता लागेको यस नयाँ तथ्यले अल्जाइमरको उपचारको क्रममा मस्तिष्कका प्रतिरक्षा-नियमन गर्ने मार्गहरूमा समेत ध्यान केन्द्रित गरिन्छ। यसले अल्जाइमरको बारेमा अनुसन्धान र उपचारमा थप प्रभावकारी उपायहरु विकास गर्न सहयोग पुर्‍याउन सक्छ।

मानिसलाई स्व-प्रतिरक्षा रोगहरू तब हुन्छन्, जब तपाईँको प्रतिरक्षा प्रणालीले गल्तीले शरीरका आफ्नै कोषहरूलाई  बाहिरी शत्रु ठानेर आक्रमण गर्छ र त्यसलाई नष्ट गरिदिन थाल्छ । स्वप्रतिरक्षाका कारण हुने यस्ता ८० भन्दा बढी प्रकारका रोगहरू पहिचान गरिएका छन्, जसमा रुमेटोइड आर्थ्राइटिस, ल्यूपस, र मल्टिपल स्क्लेरोसिस लगायतका रोगहरु समावेश छन्। यस्ता रोगहरुको प्रारम्भिक र सामान्य लक्षणहरूमा थकान, जोर्नी दुखाइ, छालाका राता धब्बादाग हरू, र ज्वरो पर्छ। यस्ता रोगको ठ्याक्कै कारण प्रष्ट छैन, तर वंशानुगत, संक्रमण, र वातावरणीय प्रभावजस्ता कारकहरूले यस्ता रोगलाई बढी उत्तेजित तुल्याउन सक्छ ।

कस्तो रोग हो अल्जाइमर ?

अल्जाइमर रोग मनोभ्रंश (dementia) को सबैभन्दा सामान्य प्रकार हो, जसले व्यक्तिको स्मरणशक्ति, सोच्ने क्षमता, र व्यवहारमा गम्भीर असर पार्छ। यो प्रायः बिस्तारै सुरु हुने र समयसँगै गम्भीर बन्दै जाने प्रगतिशील मस्तिष्क विकार हो। यस रोगको ठ्याक्कै कारण स्पष्ट छैन । पहिले मस्तिष्कसँग सम्बन्धित रोग मानिए पनि पछिल्ला अध्ययनले यसलाई स्वप्रतिरक्षा प्रणालीका कारण हुने रोग देखाएको छ ।

अल्जाइमर रोगका लक्षणहरू

अल्जाइमरको प्रमुख लक्षण भनेको स्मरणशक्ति कमजोर हुनु हो। शुरुवातमा व्यक्तिले सामान्य कुराहरू बिर्सने गर्छ । उदाहरणको लागि, यो रोग लाग्न थालेपछि मानिसले चाबी कहाँ राखेको हो वा हालसालै गरेका गतिविधिहरू सम्झन कठिनाईको अनुभव गर्छन्। समयक्रममा, सोच्ने र समस्या समाधान गर्ने क्षमता गुम्ने, दैनिक क्रियाकलापमा कठिनाई हुने, र बोल्न वा लेख्न समस्या देखा पर्न सक्छ।

अल्जाइमरका प्रमुख लक्षणहरु

– दैनिक जीवनका घटनाहरू सम्झन गाह्रो हुने,

– योजना बनाउन र निर्णय लिन कठिनाई,

– ठाउँ वा समयको ज्ञान गुम्ने,

– चिडचिडापन, डिप्रेसन, र सामाजिक व्यवहारमा परिवर्तन हुने,

– अन्ततः शरीर चलाउन असमर्थ हुने जस्ता समस्या पर्छन्।

अल्जाइमर रोगका चरणहरू

अल्जाइमर रोगलाई तीन प्रमुख चरणहरूमा वर्गीकृत गर्ने गरिन्छ:

प्रारम्भिक चरण: रोगको सुरुवातमा सामान्य बिर्सने समस्या देखा पर्छ। रोगीलाई दैनिक क्रियाकलापमा थोरै मात्र सहयोग आवश्यक पर्छ।

मध्यम चरण: यो चरणमा रोगीले दैनिक कामहरू गर्न सहयोग माग्छन्। मानिसहरूको नाम, अनुहार, र सम्बन्ध चिन्ने क्षमता गुम्न सक्छ।

गम्भीर चरण: रोगी पूर्ण रूपमा अरूको सहायतामा निर्भर हुन्छन्। उनीहरूले बोल्न, हिँड्न, वा कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा पुग्छन्।

दैनिक जीवनमा प्रभाव

अल्जाइमरले व्यक्तिको मात्र होइन, परिवार र हेरचाह गर्ने व्यक्तिहरूको जीवनमा पनि गम्भीर प्रभाव पार्छ। रोगी आत्मनिर्भर रहन नसक्ने भएकाले आफ्ना आधारभूत आवश्यकता (जस्तै खाना, नुहाउने, वा कपडा लगाउने) पूरा गर्न अरूको सहयोगमा निर्भर हुनुपर्छ।

परिवारका सदस्यहरूले मानसिक तनाव, थकान, र चिडचिडापन अनुभव गर्न सक्छन्। साथै, दीर्घकालीन हेरचाह, औषधि, र उपचारको खर्चका कारण आर्थिक बोझ पनि थपिन्छ। रोगीले भ्रमका कारण घरबाट हराउने वा दुर्घटनामा पर्ने सम्भावना पनि उच्च रहन्छ।

रोकथाम र उपचारका उपाय

अहिलेसम्म अल्जाइमर रोगको पूर्ण उपचार फेला परेको छैन। तर, स्वस्थ जीवनशैलीले यस रोगको सम्भावना घटाउन वा प्रगतिलाई ढिलाइ गर्न सक्छ।

स्वस्थ आहार: सन्तुलित आहारको सेवन तथा खानपीनमा फलफूल, तरकारी, माछा, र जैतुनको तेल समावेश गर्नु ।

नियमित व्यायाम: शारीरिक रूपमा सक्रिय रहनु, नियमित व्यायाम गर्नु।

दिमागी व्यायाम: नयाँ कुराहरू सिक्ने, पुस्तक पढ्ने, वा समस्या समाधान गर्ने गतिविधिमा संलग्न हुने।

सामाजिक सक्रियता: परिवार र साथीभाइसँग समय बिताउने, सामाजिक कार्यक्रमहरूमा सहभागी हुने।

मानसिक स्वास्थ्यको ख्याल: तनाव व्यवस्थापन र पर्याप्त निद्रामा ध्यान दिने।

उपचारका लागि औषधि

हाल उपलब्ध औषधिहरूले रोगको प्रगतिलाई पूर्ण रूपमा रोक्न नसके पनि, केही लक्षणलाई कम गर्न मद्दत पुर्‍याउँछन्। कोलिनेस्टरस इनहिबिटर (जस्तै डोनेपेजिल) र मेमेन्टिन जस्ता औषधिहरू रोगीको मानसिक कार्यक्षमता सुधार्न प्रयोग गरिन्छ।

पारिवारिक सहयोग र हेरचाह

अल्जाइमर भएका व्यक्तिहरूलाई माया, धैर्य, र सहानुभूतिपूर्ण हेरचाहको आवश्यकता पर्छ। परिवारका सदस्यहरूले रोगीलाई हेरचाह गर्ने बारेमा प्रशिक्षण लिन सक्छन्। साथै, समुदाय र सहायताका समूहहरूबाट सहयोग लिन सकिन्छ।