पुत्र वियोगले शोकाकूल गौतमी र महात्मा बुद्ध

गौतमी नामकी एक महिलाको छोराको अकाल मृत्यु भयो । पुत्रवियोगले उनी मुर्छा परिन् । मुर्छाबाट ब्युँझिएपछि उनी फेरि छोराको शोकमा आलापविलाप गर्न लागिन् । उनको दशा देखेर गाउँलेको आँखामा आँसु भरियो । उपस्थितमध्ये कसैले गौतमीलाई सल्लाह दिए– ‘गाउँको नजिकै रुखको छहारीमा महात्मा बुद्ध बसेका छन् । तिमी उनीसमक्ष जाउँ । पक्कै पनि तिम्रो दु:ख निवारण गरिदिनु हुनेछ ।’

शोकले व्याकुल गौतमी महात्मा बुद्धकहाँ पुगिन्। उनी बुद्ध समक्ष विलाप गरिन् र केही शान्त भएपछि भनिन्, "महात्मा बुद्ध ! तपाईं सिद्ध पुरुष हुनुहुन्छ । कृपया मेरो छोरालाई जीवित गरिदिनुहोस्। कुनै मन्त्र वा उपायले भए पनि मेरो छोरालाई फेरि ब्युँताइदिनुहोस् !"

मरिसकेका मानिसलाई फेरि ब्युँताउनु असम्भव कुरा हो, यो कुरा बुद्धलाई थाहा थियो । तर गौतमी शोकमा थिइन्, उनको मनस्थितिले यो सत्यलाई सजिलै ग्रहण गर्न सक्दैन थियो । त्यसैले महात्मा बुद्धले उनीप्रति सहानुभूति देखाउँदै भने, "गौतमी, शोक नगर। म तिम्रो छोरालाई फेरि जीवित गरिदिन्छु। तर त्यसका लागि तिमी यस्तो घरबाट तोरीको केही दाना ल्याऊ, जहाँ कहिल्यै कुनै व्यक्तिको मृत्यु भएको छैन।"

बुद्धको कुराले गौतमीलाई ठूलो सान्त्वना मिल्यो । उनी गाउँभरि यस्तो घर खोज्न थालिन्, जहाँ कसैको मृत्यु भएको नहोस्। धेरै खोजी गरे पनि उनले त्यस्तो घर फेला पार्न सकिनन्। अन्ततः निराश भएर फर्केर बुद्धकहाँ पुगिन् र भनिन्, "भन्ते, यस्तो त कुनै घर भेटिनँ, जहाँ कोही मरेको नहोस्।"

यो सुनेर बुद्धले भने, "गौतमी, अब तिमी बुझ, यो संसारमा यस्तो दुःख तिमीलाई मात्र परेको होइन। मृत्यु र दुःख जीवनका अंग हुन्। मानिसहरूले यसलाई धैर्यपूर्वक सहनु पर्छ।"

महात्मा बुद्धको कुराले गौतमीको आँखा खुल्यो । उनले पुत्रको मृत्युलाई स्वीकार्नुको विकल्प छैन भन्ने बुझे ।