पृथ्वीको सबैभन्दा सुक्खा स्थानमा पनि फूल फुल्यो !

जलवायु परिवर्तनका असरहरु विभिन्न रुपमा रङमा देखिने गर्छन् । त्यस्तै एउटा घटना चिलीको अटाकामा मरुभूमिमा देखापरेको छ ।

एटाकामा मरुभूमि  पृथ्वीको सबैभन्दा सुक्खा स्थानमध्ये एक मानिन्छ । अनौठो कुरा चाहिँ के भएको छ भने यो दशकमा पहिलो पटक,  उक्त स्थानमा जाडो महिनामा पनि  बिरुवाहरू फुलेका छन्।

अहिले त्यहाँको मरुभूमिका केही भागहरूलाई चम्किला रंगले ढाक्दै फूलहरु फुलेका छन् । वैज्ञानिकहरुका अनुसार यो असामान्य घटना हो । यो असामान्य फुल्ने घटनाले वैज्ञानिकहरूको ध्यान आकर्षित गरिरहेको छ।
सामान्यत: उक्त मरुभूमिमा यस्ता फुल्ने घटना प्रायः वसन्त ऋतुमा मात्रै हुने गर्छ । त्यही भएर अहिले जाडो मौसममा पनि त्यहाँ फूल फुल्नुलाई असामान्य मानिएको हो । त्यसो त अन्धानकर्ताहरूको भनाइमा गत अप्रिलको मध्यमा उक्त क्षेत्रमा परेको दुर्लभ वर्षा र स्थानीय रूपमा कामानचाका (camanchaca) भनेर चिनिने बाक्लो बिहानको कुहिरोले यो जाडोयामको फुल्ने प्रक्रिया सुरु गराएको हो ।गति अप्रिलमा दक्षिणी गोलार्द्धको पतझड क्षेत्र उत्तरी चिलीमा लगभग ०.४ इन्च (११ मिमी) वर्षा भएको थियो, जसले पाटा डे गुआनाको (pata de guanaco) नामका गुलाबी फूलहरू र साइघ्स अफ द फिल्ड (sighs of the field) नामका सेता कोमल फूलजस्ता सुप्त प्रजातिहरूलाई सक्रिय बनायो।

अहिले त्यस स्थानमा फूल फुलेको क्षेत्र ११५ देखि १५५ वर्ग माइलसम्म फैलिएको छ । त्यसो त पछिल्ला वर्षहरुमा फूल फुल्ने सिजनमा फुलेका फुलहरु हजारौं वर्ग माइलमा फैलिन्छ।

तर यो असामान्य फूल्न प्रक्रियाले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। विज्ञहरूले जलवायु ढाँचामा भइरहेको परिवर्तन, जसमा ला निन्याको सम्भावित प्रभाव पनि समावेश छ,ले यस्ता दुर्लभ घटनाहरूमा अवरोध पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

सन् २०१५ मा, यस्तै प्रारम्भिक वर्षाले व्यापक फूल्ने घटना सुरु गराएको थियो, तर वैज्ञानिकहरू यसपटक पनि त्यस्तै हुने कुरामा सुनिश्चित छैनन्।
यस किसिमका घटनाहरुले पैदा गर्ने एक प्रमुख चिन्ता भनेको मौरी, पुतली, र बिटल कीराजस्ता परागणकर्ताहरू पर्याप्त रूपमा र समयमै नआउनु हो।
पोन्टिफिकल क्याथोलिक युनिभर्सिटी अफ चिलीकी पर्यावरणविद् एवं सह-प्राध्यापक मारिया फर्नान्डा पेरेजले के चेतावनी दिएका छन् भने फूल फुलेको बेलामा  परागणकर्ता जीवहरुहरू अनुपस्थित रहे भने, फुलेका बिरुवाहरूले बीउ उत्पादन गर्न सक्दैनन् । फलत: त्यसले भविष्यमा वनस्पतिक चक्रहरूलाई नै खल्बल्याउन तथा जोखिममा पार्न सक्छ।

जलवायु परिवर्तनले वर्षा ढाँचाहरू र परागणकर्ताहरूको व्यवहारमा परिवर्तन गराइरहेको छ । यस सन्दर्भमा यस्ता दुर्लभ फूल्ने घटनालाई झन् झन् अनियमित पारिदिन सक्छ । त्यसको परिणामस्वरुप यस वर्षको जाडोयाममा त्यस क्षेत्रमा देखिएको  फूल्ने घटना सम्भवतः आगामी वर्षौं वर्षसम्म फेरि नदेखिन पनि सक्छ ।

Image source: https://avatars.dzeninfra.ru

 

अटाकामा मरुभूमिबारे केही रोचक तथ्यहरु

https://cdn.zmescience.com

अटाकामा मरुभूमि (Atacama Desert) दक्षिण अमेरिका महाद्वीपको चिली देशमा अवस्थित छ। पश्चिमी दक्षिण अमेरिकामा रहेको यो मरुभूमि प्रशान्त महासागरको किनारामा फैलिएको छ।

 

यस मरुभूमिको उत्तरमा पेरु, पूर्वमा एन्डीज पर्वत शृंखला र पश्चिममा प्रशान्त महासागर पर्दछ । यसको दक्षिणमा चिलीको कोक्विम्बो क्षेत्र तथा चिलीको मध्य भागमा पर्ने विभिन्न क्षेत्रहरू पर्दछन्।

अटाकामा मरुभूमि विश्वकै सबैभन्दा सुक्खा मरुभूमि मानिन्छ। यसका केही क्षेत्रहरूमा धेरै कम अर्थात् वर्षको १ मिमी भन्दा कम वर्षा हुने गर्छ । यो मरुभूमि सुख्खा हुनुको मुख्य कारण ‘रेन श्याडो इफेक्ट’ हो । यहाँको केही स्थानहरूमा कैयौं शताब्दीदेखि पानी परेको छैन।

करिब १,०५,००० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस मरुभूमिको मौसम अत्यन्तै सुख्खा र रुखो  छ।यहाँ राति अत्यधिक चिसो र दिनमा निकै गर्मी हुने गर्छ।

संसारकै सबैभन्दा सुख्खा क्षेत्र भए पनि अटाकामा मरुभूमि  प्राकृतिक स्रोतहरुले भरिपूर्ण छ । यस क्षेत्र लिथियम, तामा (Copper), र नाइट्रेटजस्ता खनिजहरूको लागि प्रख्यात छ।विश्वव्यापी रुपमा नै चिली लिथियम उत्पादनको प्रमुख स्रोत मानिन्छ र यसमा यो मरुभूमिले महत्त्वपूर्ण भूमिका खेल्छ।

यहाँको सुक्खा वातावरण मंगल ग्रहको सतहजस्तै रहेको मानिन्छ । त्यसैले वैज्ञानिकहरूले अन्तरिक्ष अनुसन्धानका लागि यो स्थान प्रयोग गर्छन्।  धेरैजसो खगोल अध्ययन गर्ने दूरबीनहरू यहाँ अवस्थित छन्।

सुख्खा क्षेत्र भए पनि यो मरुभूमि चिलीको प्रमुख पर्यटन स्थलमा पर्दछ । यहाँको स्यान पेड्रो डे अटाकामा (San Pedro de Atacama) मुख्य पर्यटक केन्द्र हो।त्यसैगरी, विश्वकै उच्च उचाइमा रहेका गिजर क्षेत्र एल टाटियो गिजर (El Tatio Geysers) पनि यसै क्षेत्रमा पर्दछ । यहाँको मून भ्याली (Valle de la Luna) क्षेत्र चन्द्रमाको सतहजस्तै देखिने भएकोले पर्यटकहरुको लागि प्रमुख आकर्षणको केन्द्र बन्ने गरेको छ । त्यसै गरी, यसै मरुभूमिमा पर्ने लालास्का साल्ट फ्ल्याट्स (Salar de Atacama) चिलीको सबैभन्दा ठूलो नुनको मैदान पनि हो ।

यो मरुभूमि चिलीको संस्कृति, खगोलशास्त्र, र खनिज सम्पदाका लागि महत्त्वपूर्ण रहेको छ ।