विश्व अपेक्षाभन्दा छिटो तातिरहेको छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुन सक्छ कारण !

पछिल्लो वर्ष सबैभन्दा तातो वर्ष थियो। महासागर उम्लिरहेका थिए, हिमनदीहरू डरलाग्दो रूपमा पग्लिरहेका थिए, र यसले वैज्ञानिकहरूलाई यो कुरा बुझ्न उद्वेलित गरायो कि वास्तवमै यस्तो किन भयो?

वैज्ञानिकहरूलाई थाहा छ – यो असाधारण तातोपन धेरै कारकहरूका कारणले भएको हो, मुख्यतया जीवाश्म इन्धन बालेर हुने ग्रह-तातो बनाउने प्रदूषण र प्राकृतिक जलवायु ढाँचा 'एल निन्यो'। तर यी कारणहरू मात्रैले तापक्रमको असामान्य रूपमा तीव्र वृद्धि व्याख्या गर्न सकेन।

Science नामक जर्नलमा प्रकाशित  नयाँ अध्ययनले यस पहेलीको हराएको टुक्रा पहिचान गरेको दाबी गरेको छ: त्यो हो बादल।

अनुसन्धानको नतिजा अनुसार महासागरहरूमा कम-उचाइका बादलहरूको कमीले तापक्रम वृद्धिमा तीव्रता थपेको छ । त्यसले भविष्यमा बढ्दो तातोपनका सवालमा चिन्ताजनक प्रभाव पर्न सक्ने संकेत दिन्छ।

जर्मनीको अल्फ्रेड वेगेनर इन्स्टिच्युटका रिपोर्ट लेखक र जलवायु भौतिकशास्त्री हेल्ग गोसलिङका अनुसार कम चम्किला, कम-उचाइका बादलहरूले ग्रहलाई ‘अँध्यारो’ बनाएको छ, त्यसले सूर्यको प्रकाशलाई बढी सोस्न सक्षम बनाएको छ ।

यस घटनालाई ‘एल्बिडो’ भनिन्छ, जसले पृथ्वीका सतहहरूले सूर्यको ऊर्जा फिर्ता गर्ने अर्थात् अन्तरिक्षमा परावर्तित गर्ने क्षमतालाई जनाउँछ।

उक्त अध्ययनका अनुसार, सन् १९७० को दशकदेखि पृथ्वीको एल्बिडो घटिरहेको छ। यसको एउटा कारण हल्का रङका हिउँ र समुद्री बरफ पग्लनु हो, जसले पृथ्वीको गाढा भू-भाग र पानीलाई उजागर गरिरहेको छ। यसले सूर्यको ऊर्जा बढी सोस्न सक्षम बनाउँछ र ग्रहलाई अझ तातो बनाउँछ।

कम उचाइका बादलहरूले पनि यस प्रभावलाई बढावा दिन्छन् किनभने तिनीहरूले सूर्यको प्रकाशलाई परावर्तित गर्ने गर्छन्।

वैज्ञानिकहरूले नासाको स्याटलाइट डाटा, मौसमसम्बन्धी तथ्यांक र जलवायु मोडेलहरू छानबिन गरी पत्ता लगाएअनुसार कम उचाइका बादलहरूमा आएको कमीले गत वर्ष पृथ्वीको एल्बिडोलाई ऐतिहासिक रूपमा सबैभन्दा न्यून स्तरमा पुर्‍यायो। अध्ययनले देखाएको छ कि उत्तर एटलान्टिक महासागरका केही भागहरूमा यो गिरावट विशेष रूपमा महत्त्वपूर्ण थियो।

गोसलिङका अनुसार गत वर्षको अवस्था कम उचाइका बादलहरूको दशकीय गिरावटसँग मेल खान्छ ।

उनको भनाइमा ‘अध्ययनले अहिले यसलाई निश्चित रूपमा किन भइरहेको हो भनेर ठ्याक्कै व्याख्या गर्न सकेको छैन। यो यति जटिल विषय हो कि यसलाई अलग छुट्याउन निकै कठिन छ ।’

उनको बुझाइमा यो सम्भवतः विभिन्न कारकहरूको संयोजनको परिणाम हो। पहिलो कारण हो: उद्योगको हानिकारक सल्फर उत्सर्जनलाई घटाउने उद्देश्यले लागू गरिएका नियमहरूको कारण शिपिङ प्रदूषणमा आएको कमी। यद्यपि यो मानव स्वास्थ्यका लागि सकारात्मक कदम हो । त्यस खालको प्रदूषणले बादललाई चम्किलो बनाउँदै ग्रहलाई चिसो पार्न मद्दत गरिरहेको थियो।

महासागरका ढाँचाहरूमा आइरहेका परिवर्तन समेत समावेश प्राकृतिक जलवायु परिवर्तनशीलता सम्भवतः योगदानकर्तामध्ये एक हुन सक्छ। तर गोसलिङले तेस्रो र झन् चिन्ताजनक कारणतर्फ औंल्याउँछन्: ग्लोबल वार्मिङ आफैं।

कम उचाइका बादलहरू चिसो र भिजेको तल्लो वायुमण्डलमा फस्टाउँछन्। जब ग्रहको सतह तातो हुन्छ, यसले तिनीहरूलाई पातलो बनाउन वा पूरै विलय गराउन सक्छ। यसले जटिल ‘फिडब्याक प्रणाली’को अन्तहीन श्रृङ्खला सिर्जना गर्दछ, जहाँ ग्लोबल वार्मिङका कारण कम बादलहरू हराउँदैछन्, र तिनीहरू हराउनाले फेरि थप तातोपनलाई बढावा दिन्छ।

गोसलिङको भनाइमा ‘यदि यस्तो भइरहेको छ भने, भविष्यको तातोपनको प्रक्षेपण कम अनुमान गरिएको हुन सक्छ, र "हामीले भविष्यमा अझ तीव्र तातोपन अपेक्षा गर्नुपर्छ ।"

उक्त अध्ययनमा समावेश नरेहका लरेन्स लिभरमोर नेशनल ल्याबरेटरीका वायुमण्डलीय वैज्ञानिक मार्क ज़ालिन्का भन्छन्, ‘पृथ्वीको बढ्दो तापक्रममा बादलहरूले प्रमुख भूमिका खेल्छन् भन्ने कुरा अर्थपूर्ण छ, किनकि तिनीहरूले पृथ्वीको लागि सनस्क्रिनको रूपमा काम गर्छन्।’ त्यसैले त्यसमा आउने सानो परिवर्तनले पनि ‘पृथ्वीको एल्बिडोमा निकै ठूलो प्रभाव पार्न सक्छ,’ उनको भनाइ छ ।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका जलवायु वैज्ञानिक टापियो स्नाइडरका अनुसार, अनुसन्धानको चिन्ताजनक निहितार्थ यो हो कि ग्लोबल वार्मिङले बादलको आवरणमा महत्त्वपूर्ण मात्रामा परिवर्तन ल्याएको हो भने, ‘हामीले यसअघि अनुमान गरेभन्दा झनै चर्को ‘ग्लोबल वार्मिङ’ देख्न सक्छौं।’

गोसलिङको भनाइमा ‘बादलहरू सामान्य वा साधारण देखिन सक्छन्, तर तिनीहरू असीमित रूपमा जटिल छन्। वैज्ञानिकहरूले अझै तिनीहरूको व्यवहारलाई पूर्ण रूपमा बुझ्नबाट टाढा छन्। ‘तिनीहरू जलवायु विज्ञानमा ‘सबैभन्दा ठूलो टाउको दुखाइहरू’ मध्येका हुन् ।’

जालिन्काको भनाइमा ‘ग्लोबल वार्मिङप्रति बादलहरूले कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरा पत्ता लगाउनु अत्यन्तै महत्त्वपूर्ण छ । त्यसले  भविष्यमा कति तातोपन हुन सक्नेछ भन्ने कुरा निर्धारण गर्छ।’

स्रोत: सीएनएन