ब्रिक्सको १६औं शिखर सम्मेलन

आजदेखि रुसको कजान शहरमा ब्रिक्सको १६औं शिखर सम्मेलन सुरु हुँदैछ। यो सम्मेलनमा ब्रिक्सका पूर्ण सदस्यहरू—ब्राजिल, रुस, भारत, चीन, र दक्षिण अफ्रिका—सहित नयाँ सदस्यहरू पनि सहभागी हुँदैछन्। यस वर्षको सुरुवातमा नै इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र यूएईलाई ब्रिक्सको सदस्य बनाइएको थियो। त्यस्तै, यस पटकको ब्रिक्स सम्मेलनमा दुई दर्जनभन्दा बढी देशहरूलाई पर्यवेक्षकको रूपमा आमन्त्रित गरिएको छ। यसमा नयाँ सदस्यहरु थपिएपछि ब्रिक्स प्लस पनि भन्ने गरिन्छ ।

ब्रिक्स एक निकै महत्वाकांक्षी समूह हो। यसको घोषित उद्देश्य सदस्य राष्ट्रहरूबीच आर्थिक वृद्धि, विकास, र सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको छ। तर यसले पश्चिमी राष्ट्रहरूको बर्चस्वलाई चुनौती दिने उद्देश्यसमेत बोकेको छ। ब्रिक्स समूहको आयतन अत्यन्त व्यापक छ। ब्रिक्समा समावेश भएका देशहरूको जनसंख्या लगभग ३.५ अर्ब छ, जसले विश्वको जनसंख्याको ४५ प्रतिशत हिस्सा ओगटेको छ। यस्तै, यी सदस्य देशहरूको संयुक्त अर्थतन्त्र २८.५ ट्रिलियन डलरभन्दा बढी छ, जसले विश्व अर्थतन्त्रको २८ प्रतिशत ओगट्छ। साथै, इरान, साउदी अरेबिया, र यूएई सहभागी भएपछि यस समूहका देशहरूले विश्वको कच्चा तेलको ४४ प्रतिशत उत्पादन गरिरहेका छन्। यस समूह बलियो भू-राजनीतिक शक्ति बन्दै गएको छ। ब्रिक्सले विश्वको रिजर्भ मुद्राको रूपमा डलरको विकल्पमा एउटा वैकल्पिक मुद्रा विकास गर्ने प्रयास गरिरहेको छ।

ब्रिक्सको सुरुवात २००९ मा भएको थियो। त्यसबेला यस समूहमा ब्राजिल, रुस, भारत, र चीन सहभागी भएका थिए। २०१० मा दक्षिण अफ्रिका पनि सामेल भएपछि यसको नाम बदलिएर ब्रिक्स (BRICS) राखियो। त्यसयता १५ पटक ब्रिक्सको शिखर सम्मेलन भइसकेको छ, र यो १६औं सम्मेलन हो। रुसले अहिलेसम्म ४ पटक ब्रिक्स सम्मेलन आयोजना गरिसकेको छ। राष्ट्रपति पुटिनले ब्रिक्सको अध्यक्षता गरेको यो चौथो पटक हुनेछ।

Image: https://www.examveda.com