मासा नानी

मासा नानीलाई छिट्टै ठूली हुन मन लाग्यो । त्यसैले उनले आमाको जुत्ता, हजुरआमाको कोट लगाइन् र काकीको जस्तो कपाल बनाइन् । ठूलो मान्छेले जस्तै गरी गलामा पोते लगाइन् र नाडीमा घडी पनि बाँधिन् । तै पनि उनलाई आफू ठूली भएजस्तो लागेन । कसैले उनलाई ठूली भई पनि भनेनन्, बरू उनलाई देखेर हाँस्न थाले ।

त्यसपछि एक दिन मासा नानीले कोठा बढार्न थालिन्, मटान पनि बढारिन् । उनले त्यस्तो गरेको देखेपछि आमाले खुसी हुँदै भन्नुभयो, ‘अहो ! मेरी छोरी मासा त अब साँच्चै ठूली भइछन् ! हगि ?’

 त्यसपछि त मासाले थाल, कचौरा, रिकापीहरू माझिन्, राम्ररी सुकाइन् र सफासँग पुछि एकएक गरी थान्को लगाइन् ।

मासाका बाबाले यो सबै देख्नुभयो र उहाँले भात खाँदा सबैलाई सुनाउनुभयो, ‘लौ हेर, हाम्री छोरी मासा कति ठूली भइसकिछन् । हामीलाई त थाहै थिएन । मासाले बढारकुँडार मात्र होइन, भाडाकुँडा पनि सफा गर्न जानिसकेकी छिन् ।’

सबैले ‘हो, हो’, भन्दै मासालाई हेरे, मासा नानीले आमाको जुत्ता लगाएकी थिइनन्, काकीको जस्तो कपाल बनाएकी थिइनन् र हजुरआमाको कोट पनि लगाएकी थिइनन् ।

मासा नानीले पनि आफूलाई हेरिन्, उनको खुट्टा आफ्नो सानो जुत्तामा थियो र आङमा आफ्नै सानो घाँघर थियो । तर मासा नानीलाई पनि अब भने आफू ठूली भएँ भन्ने लाग्न थाल्यो ।